+
+

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोचेजस्तै नचल्दा होटल व्यवसायी निराश

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष २० गते २०:१८
फाइल तस्वीर

२० पुस, काठमाडौं । भैरहवामा सञ्चालनमा आएको नयाँ विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोचेजस्तै चल्न नसक्दा होटल व्यवसायीमा निराशा सुरु भएको छ । लुम्बिनी, भैरहवा र बुटवलसम्म पर्यटकस्तरीय भन्दा ठूला होटलको संख्या झण्डै २ सय हाराहारी छ । यी मध्ये नयाँ लगानीमा खुलेका र खुल्ने क्रममा रहेका होटलका पहिलो प्राथमिकता भैरहवामा बनेको नयाँ विमानस्थल हो । तर, भैरहवामा सुरुवाती चरणको नतिजा राम्रो नदेखिएसँगै व्यवसायीमा निरासा छाएको होटल संघ नेपाल मातहतको सिद्धार्थनगर क्षेत्रीय होटल संघका अध्यक्ष सीपी श्रेष्ठले बताए ।

‘पुराना होटलका आफ्ना ग्राहक छन्, ग्राहक तान्ने आफ्नो रणनीति छ,’ उनी भन्छन्, ‘तर, नयाँ होटल आउनुको उद्देश्य नै नयाँ विमानस्थल हो ।’ उनका अनुसार भैरहवामा पर्याप्त मात्रामा बौद्धमार्गी पर्यटक आउने सम्भावना अझै जीवित भएपनि विमानस्थलबाट पटक-पटक अन्तर्राष्ट्रिय उडान अवरुद्ध हुँदा निरासा देखिएको उनले बताए ।

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठ २०७९ देखि व्यावसायिक रुपमा सञ्चालनमा आएको हो । सुरुमै जजिरा एयरवेजले यहाँ उडान गरेको थियो । पछि हिमालयले उडान थालेको थियो । अहिले दुवै कम्पनीले भैरहवाको उडान रोकेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हिउँदयाममा बढी हुस्सु लाग्ने विमानस्थल हो ।

यो विमानस्थलमा आईएफआर सिस्टमबाट उडान गर्न सकिने गरी उपकरण जडान भएको छ । यो सञ्चालन गर्दा भारतीय एयर स्पेस छुने बताइएको छ । यसका लागि भारतसँग अनुमति लिनुपर्छ । भारतबाट यस्तो अनुमति प्राप्त नहुँदा पाइलटले देख्ने दृष्यमा मात्र आधारित भएर यहाँ जहाज अवतरण गर्नुपर्छ । सोहीकारण वायुसेवा कम्पनीहरुले भैरहवामा हुस्सुको समस्या रहेसम्म आकर्षित हुने अवस्था नरहेको प्राधिकरणका एक अधिकारीले बताए ।

उनी भन्छन्, ‘एक त एयर रुट नै नमिल्दो छ, भारतले त्यो सहज गरिदिएको छैन, अर्कोतर्फ आईएफआर सिस्टम समेत चलाउन नपाएपछि वायुसेवा कम्पनी आकर्षित गर्न सकिएन ।’ यो विमानस्थल हुँदै विदेश यात्रा गर्न चाहने भारतीय नागरिकलाई समेत भारतले अनुमति दिएको छैन । यसले पनि भैरहवाको उडान प्रभावित बनेको छ । अर्कोतर्फ भारतीय शहरको तुलनामा नेपालमा इन्धनको मूल्य झण्डै दोब्बर रहेका कारण समेत यो विमानस्थलमा वायुसेवा कम्पनी आकर्षित हुन सकेका छैनन् ।

होटल व्यवसायी समेत भारतबाट भइरहेको यो समस्या प्रति अपडेट छन् । अध्यक्ष श्रेष्ठ भन्छन्, ‘सरकारको उच्चस्तरीय पहलबाट मात्र समाधान हुने विषय हुन्, समस्या समाधान नभएसम्म व्यवसायीमा त्रास जारी नै रहने भयो ।’ उनका अनुसार लुम्बिनी क्षेत्रका होटल व्यवसायीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग समय लिएर भेट्न खोजिरहेका छन् । ‘उहाँ आफैं पनि धार्मिक व्यक्तित्व हुनुहुन्छ,’ श्रेष्ठ भन्छन्, ‘लुम्बिनीमा पर्यटक आउँदा भारतले पनि यसको लाभ लिने छ भन्ने बारेमा उहाँसँग हामी कुरा गर्नेछौं ।’

भैरहवा विमानस्थल निर्माणको योजना बन्दै गर्दा नेपालले देखेको सपना चीन, थाइल्याण्ड, म्यानमार, भियतनाम, कम्बोडियासहितका मुलुकबाट बौद्धमार्गी यात्रु सहजै ल्याउन सकिन्छ भन्ने थियो । तर, अहिलेसम्म ती मुलुकका वायुसेवा कम्पनीबाट एउटा पनि प्रस्ताव गौतमबुद्धमा आएको छैन । यसो हुनुमा वायुसेवा कम्पनीले देखेको जोखिम नै मुख्य कारण रहेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

‘नेपालको तर्फबाट बजारीकरण र छुट तथा सहुलियतमा गुनासो गर्ने ठाउँ दिएका छैनौं,’ ती अधिकारी भन्छन्, ‘तर, व्यवसायीले लामो समयसम्मको लाभ हेर्छन्, अहिले सबै पर्ख र हेरको अवस्थामा छन् ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिले वैदेशिक रोजगारीमा गएका र फर्कने यात्रुकै बढी बाहुल्य छ ।

स्थलमार्गबाट भित्रिने भारतीय पर्यटक नै मुख्य ग्राहक 

अहिले लुम्बिनी, भैरहवा र बुटवलका ठूला होटलका मुख्य ग्राहक भारतीय नागरिक हुन् । आन्तरिक पर्यटकको चाप पनि बढ्न थालेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘भारतीय पर्यटकको चाहना लुम्बिनी भ्रमणभन्दा पनि मनोरञ्जनमा बढी केन्द्रित हुन्छ,’ उनी भन्छन्, ‘क्यासिनो, बार, स्पाजस्ता गतिविधिमा भारतीय पर्यटकको आकर्षण छ ।’

भैरहवा औद्योगिक क्षेत्र भएका कारण आन्तरिक पर्यटकको समेत राम्रो व्यापार रहेको उनले जानकारी दिए ।

लुम्बिनी भ्रमणमा पुगे झण्डै २४ हजार पर्यटक

लुम्बिनीमा सन् २०२२ मा झण्डै २४ हजार पर्यटक पुगेका छन् । लुम्बिनी विकास कोषका अनुसार सन् २०२२ मा २३ हजार ९ सय ९२ जना विदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । यो कोभिड–१९ कालयताकै सबैभन्दा धेरै हो ।

सन् २०२१ मा मात्र १ हजार १९७ जनाले लुम्बिनी भ्रमण गरेका थिए । सन् २०२२ मा भियतनामबाट सबैभन्दा धेरै ६ हजार ६७३ जना पर्यटक आएका छन् । भियतनाम बौद्धमार्गी मुलुक हो । यस वर्ष थाइल्याण्डबाट ४ हजार ३८० जना पर्यटक आएको तथ्यांक छ । म्यानमारबाट १ हजार ४९५ जना पर्यटक आएको तथ्यांक छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?