+
+

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सत्तामा, कसले चलाउँछ पार्टी ?

‘अध्यक्ष प्रधानमन्त्री र उहाँ पछिको वरिष्ठ उपाध्यक्ष पनि मन्त्री भएपछि उहाँहरु सरकारको काममा नै केन्द्रित हुनुपर्छ,’ माओवादी केन्द्रका एकजना नेता भन्छन, ‘यो अवस्थामा पार्टी कसले चलाउने हो भनेर छलफल चलाउनु पर्दैन ?’

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष २१ गते १५:५४

२१ पुस, काठमाडौं । ‘पार्टी अध्यक्ष प्रधानमन्त्री हुनुभयो । वरिष्ठ उपाध्यक्ष पनि मन्त्री हुनु भएको छ । अब पार्टी कसले चलाउने हो ?’

सरकारको सहायत्रीबाट हालै मात्र नेतृत्वकर्तामा बढुवा भएको माओवादी केन्द्रको कार्यालय पुग्दा धेरैमा भेट्टाइने चिन्तामिश्रित जिज्ञासा हो यो ।

माओवादीको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समेत उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेर सरकारमा गएका छन् । प्रधानमन्त्री, उप प्रधानमन्त्री मुलतः सरकारकै काममा बढी केन्द्रित हुनुपर्छ ।

‘कम बोल्ने र धेरै काम गर्ने’ भनेकाले यस पटक प्रचण्डलाई पार्टीको मुल काम बाहेकका गतिविधिमा सामेल हुने सुविधा नहुन सक्छ ।

‘पार्टी अध्यक्ष प्रधानमन्त्री र उहाँ पछिको वरिष्ठ उपाध्यक्ष पनि मन्त्री भएपछि उहाँहरु सरकारका काममा केन्द्रित हुनुपर्छ,’ माओवादी केन्द्रका एकजना नेता भन्छन, ‘यो अवस्थामा पार्टी कसले चलाउने हो भनेर छलफल चलाउनु पर्दैन ?’

अध्यक्ष प्रधानमन्त्री बन्दा उनी पछिको वरीयताका नेता सरकार बाहिरै रहेको भए सायद यो प्रश्न नउठ्न सक्थ्यो । नेताहरुका अनुसार पार्टीको दिनदिनैका गतिविधिको नेतृत्व कसले गर्ने भनेर कसैलाई तोकिएको छैन ।

छैनन् स्वीकार्य नेता

प्रचण्ड र नारायाणकाजी पछिको वरीयतामा रहेकामा उपाध्यक्ष कृष्णबहादुर महरा र महासचिव देव गुरुङ अहिले सांसद छैनन् । महरा चुनाव नै लडेनन् भने देव गुरुङ लमजुङमा पराजित भए ।

सात उपमहासचिव मध्ये वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेत मात्रै सांसद छन् । पुन र शर्मा दुबै सरकारमा नजाने निश्चित जस्तै छ । बस्नेत सरकारमा जानसक्ने चर्चा माओवादी भित्र छ ।

चुनाव हारेका कारण उपमहासचिवहरु पम्फा भुसाल, गिरिरजामणि पोखरेल र मातृका यादव कुनै राजकीय र संसदीय भूमिकामा हुने छैनन् । उपमहासचिव हरिबोल गजुरेलले भने चुनाव नै लडेका थिएनन् ।

उपाध्यक्ष, महासचिवपछि उपमहासचिवहरु र सचिवहरुको भूमिका पार्टी संचालन र संगठन निर्माण हुने ठानिन्छ । तर, संगठनमा प्रभाव भएका अन्य नेताहरुले पनि आआफ्नो गुट चलाउने भएकाले कसैलै कसैलाई स्वीकार गर्ने अवस्था नरहेको माओवादी नेताहरु नै बताउँछन् ।

त्यस्तै सचिवहरुमध्ये देवेन्द्र पौडेलले मात्रै चुनाव जितेका छन् । माओवादी उच्च स्रोतका अनुसार, यसअघिको सरकारमा शिक्षा मन्त्री भएका उनी अहिले दोहोरिने सम्भवना छैन ।

चक्रपाणि खनाल, हितमान शाक्य, डिलाराम आचार्य लगायतका संगठन गर्न सक्ने सचिवहरु यस पटक सांसद छैनन् । त्यसैले उपाध्यक्षदेखि सचिवहरु धेरैलाई पार्टी निर्माणमा खट्ने समय छ ।

कम्युनिष्ट पार्टीमा अध्यक्षपछि महासचिवलाई शक्तिशाली मानिन्छ । अध्यक्षलाई नीति र महासचिवलाई संगठनको नेता मानिन्छ ।

प्रचण्डको अनुपस्थितिमा पार्टी संचालनको जिम्मेवारी उपाध्यक्ष महरा र महासचिव गुरुङकै भागमा पर्ने सम्भावना देखिन्छ । ‘पार्टीको दैनिक काम हामी सत्तामा नभएका साथीहरुले चलाउँछौं,’ उपाध्यक्ष महरा भन्छन्, ‘म छु, देव गुरुङजी हुनुहुन्छ ।’

फुर्सदिला बनेका महरा र गुरुङ आक्कलझुक्कल पार्टी कार्यालमा देखिने गरेका छन् । उपत्यका बाहिरका कतिपय पार्टी कार्यक्रममा गुरुङले सहभागिता बढाएका छन् ।

तर, माओवादीभित्र उनीहरुले संगठन चलाउँछन् भनेर विश्वस्त हुने नेताहरु खासै छैनन् । ‘स्वाथ्यका कारणले उपाध्यक्ष महराले सक्नुहुन्न,’ एकजना पदाधिकारी भन्छन्, ‘महासचिवको पनि पुरानै शैली छ ।’

उपाध्यक्ष, महासचिवपछि उपमहासचिवहरु र सचिवहरुको भूमिका पार्टी संचालन र संगठन निर्माण हुने ठानिन्छ । तर, संगठनमा प्रभाव भएका अन्य नेताहरुले पनि आआफ्नो गुट चलाउने भएकाले कसैलै कसैलाई स्वीकार गर्ने अवस्था नरहेको माओवादी नेताहरु नै बताउँछन् ।

माओवादीमा अध्यक्ष प्रचण्डपछि उपमहासचिवद्वय पुन र शर्मा संगठनमा पकड भएका नेता मानिन्छन् । तर, देशैभर पुन र शर्माका आआफ्ना गुट छन् । यसतर्फ लक्षित गर्दै अध्यक्ष प्रचण्डले बेला बेला पार्टीभित्रको गुटबन्दीले आफूलाई आजित बनाउने गरेको अभिव्यक्ति दिने गरेका छन् । ‘गुट मात्रै चलाउने भए पार्टी किन चाहियो, विघटन गरौं,’ प्रचण्डले बारम्बार भन्ने गरेका छन् ।

गुटकै कारण लुम्बिनी, मधेश प्रदेश, सुदूरपश्चिम र प्रदेश १ का धेरै ठाउँमा पराजित हुनु परेको भन्दै माओवादीले स्थानीय चुनाव लगत्तै छानबिन समिति बनाएको थियो । अनुशासन आयोग प्रमुख टंक राईं नेतृत्वको समितिले स्थलगत अध्ययन समेत गरेर बुझाएको प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन ।

पार्टी नेतृत्वका लागि समेत पुन र शर्माले दाबी गर्ने गरेका छन् । महासचिवमा दुवै जनाले दावी गरेका कारण प्रचण्डले तेस्रो व्यक्तिका रुपमा देव गुरुङलाई अघि बढाएका थिए । संसदीय दलको उप नेतामा समेत उनीहरुको दाबी छ ।

‘पार्टी बनाउने चिन्ता कसैमा छैन,’ माओवादीका एक नेता भन्छन्, ‘उहाँहरु पार्टी हैन, आफ्नो गुट मात्रै चलाउनुहुन्छ ।’

त्यस्तै मधेश प्रदेशमा उपमहासचिवद्वय गिरिराजमिण पोखरेल र मातृका यादवको गुट छ । दुवै जनाको गुटगत लडाइँका कारण मधेशमा माओवादी निकै कमजोर बन्दै गएको छ ।

२०७४ को स्थानीय चुनावमा मधेशमा २० पालिका जितेको माओवादी यसपल्ट ९ पालिकामा सीमित भएको छ । संघीय चुनावमा पोखरेल र यादव नै पराजित भए । नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादवले माओवादीलाई मधेशमा शून्य हुनबाट जोगाए ।

गत वर्षको मंसिर २५ गते प्रदेश सम्मेलन भएको भए पनि गुटको झगडाकै कारण माओवादीले अहिलेसम्म मधेश प्रदेश समिति समेत बनाउन सकेको छैन् । प्रचण्डकै उपस्थितिमा बैठक बस्दा समेत विवाद मिल्न सकेको छैन् ।

विभाग छैनन्, चुनावी समीक्षा बाँकी

माओवादी केन्द्रको आठौं महाधिवेशन (२०७८ पुस ११–१९) भएको एक वर्ष पुगेको छ । महाधिवेशन भएको एक वर्ष पुग्दा समेत स्थायी समिति र पोलिटब्युरोले पूर्णता पाएको छैन । आठ महिनापछि मात्रै प्रचण्डले गत भदौमा पदाधिकारी चयन गरेका थिए ।

महाधिवेशनपछि विभाग समेत गठन हुन सकेका छैनन् । महाधिवेशनअघि माओवादीका ३३ विभाग, एक सम्पर्क समिति र नीति प्रतिष्ठान थिए ।

विभाग नबन्दा कतिपय नेताले पुरानै जिम्मेवारी अनुसार काम गरिरहेका छन् । उपाध्यक्ष महराले पार्टी प्रवक्ताको पुरानै जिम्मेवारी सम्हालिरहेका छन् ।

उपमहासचिव जनार्दन शर्माले पुरानै संगठन विभाग सक्रिय बनाउने प्रयास गरेका छन् । उनले १७ पुसमा संगठन विभागको बैठक बोलाएर छलफल गरेका थिए । अर्को बैठक आज बस्दै छ ।

यी सब काम टुंग्याउन अध्यक्ष प्रचण्डले समय दिन नसक्ने हुँदा यो जिम्मेवारी कसले पूरा गर्ला भन्ने प्रश्न माओवादी वृत्तमा छ ।

माओवादी केन्द्रले चुनावी समीक्षा समेत गरेको छैन । नेपाली कांग्रेससहितको गठबन्धनबाट चुनावमा गएको माओवादी पहिले भन्दा झन कमजोर बन्दै ३२ सिटमा सिमित भएको छ । प्रत्यक्षमा १८ सिट जितेको माओवादी समानुपातिक मतमा पनि खुम्चिदै गएको छ ।
पदाधिकारीको अनौपचारिक बैठकमा प्रारम्भिक समीक्षा गरिएको भनिए पनि माओवादीले औपचारिक समीक्षा गर्न कुनै बैठक बोलाएको छैन् । चुनावी समीक्षा नगर्दै माओवादी सरकारमा गएको छ ।

‘अहिलेसम्म बैठकबारे केही कुरा भएको छैन,’ माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत लिएपछि यसबारे केही छलफल गरेर बैठक तय होला ।’

चुनावको गम्भीर समीक्षा हुनुपर्ने र विशेष महाधिवेशनमा जानुपर्ने माग गर्दै लेखनाथ न्यौपानेसहितका युवा केन्द्रीय सदस्यले छुट्टै छलफल समेत सुरु गरिसकेका थिए ।

आठौं महाधिवेशनकै बेला ‘संगठनको रुपान्तरण र विचारको विकास’का लागि चुनावपछि विशेष महाधिवेशन गर्ने घोषणा भएको थियो । पार्टी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर गएपछि यी विषय कसरी अगाडि बढाइन्छ भन्ने अन्योल छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?