
काठमाडौं । अभिनेता हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठ र आफू बिजुलीको पोजेटिभ र नेगेटिभ तार भएको बताएका छन् । ‘मदन दाइ पोजेटिभ र म नेगेटिभ तार । यी दुई तार मिलेरै अहिलेसम्म बत्ती बलिरहेको छ,’ फिल्म ‘महापुरुष’को सफलता सेलिब्रेसन गर्न दहचोकमा आयोजित कार्यक्रममा हरिवंशले भने, ‘दर्शक र मिडिया अर्थिङ । सबै मिलेर हामी बत्ती बालिरहेका छौं ।’
मदनकृष्णले चाहिं हरिवंश आफ्नो जीवनको अचिभमेन्ट अवार्ड भएको बताए । ‘हरिवंश र मेरो सहयात्रा ४२ वर्षमा हिंडेको छ । हरिवंश बिना म अधुरो छु । उसले बिर्संदा मैले सम्झाउँछु र मैले बिर्संदा उसले सम्झाउँछ । हरिवंश भगवानले दिएको मेरो जीवनको अभिमेन्ट अवार्ड हो ।’ वनभोजसहित कार्यक्रममा महजोडीले एकअर्कालाई प्रशंसा गर्दै ‘महापुरुष’लाई सफल बनाउन योगदान दिने दर्शकलाई धन्यवाद दिए ।
‘महापुरुष’मा चरित्र चित्रण गर्न आफूले तीन महिनासम्म दाह्री नकाटेको र यसबीचमा आफू सार्वजनिक कार्यक्रममा नदेखिएको अनुभव हरिवंशले सुनाए । उनले आफूलाई पूर्णरुपमा महापुरुषमा समर्पित हुन पत्नीले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे । ‘महापुरुष’ बलिदानपछि आफ्नो जीवनको महत्वपूर्ण फिल्म रहेको भन्दै हरिवंशले निर्माता म्याक्स दीपेश खत्री, रविन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईसँग आगामी प्रोजेक्टहरुमा पनि सहकार्य हुने बताए ।
कलाकारहरु गौरी मल्ल, राजाराम पौडेल लगायतले पनि फिल्मको सफलताप्रति दर्शकलाई धन्यवाद दिए ।
दहचोकस्थित एक रिसोर्टमा फिल्म युनिटले कास्ट एण्ड क्रिउ, कलाकार, पत्रकार, प्रदर्शकसहितका अतिथिसँग सफलताको खुसी साटेको थियो । सो अवसरमा प्रदर्शनमा योगदान दिने सबैलाई फिल्मले सम्मान समेत व्यक्त गरेको थियो । कात्तिक ११ गतेदेखि रिलिज भएको फिल्मले प्रमुख मल्टिप्लेक्समा ५१ दिन समेत मनाएको थियो । फिल्मले उक्त अवधिसम्म झण्डै ११ करोड ग्रस कमाइ गरेको निर्माता खत्रीले अनलाइनखबरलाई बताए ।
तस्वीरहरु
प्रतिक्रिया 4