+
+

सरोज यादव : मुख्यमन्त्रीलाई पन्छाउँदै मुख्यमन्त्री

सुरेश बिडारी सुरेश बिडारी
२०७९ पुष २७ गते १९:२६

२६ पुस, वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव मधेशको राजनीतिमा परिचित नाम हो । बुवा परमानन्दप्रसाद यादवले पञ्चायत कालमा बसाएको राजनीतिको जगलाई उनले बहुदलीय व्यवस्थामा मात्रै होइन, संघीय गणतन्त्रमा समेत हल्लिन दिएनन् । संघीय व्यवस्थाले उनका लागि झनै अवसरको ढोका खोल्यो ।

०७४ सालमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट बारा-१(२) मा प्रदेश सभा सदस्य निर्वाचित भएका उनी मधेश प्रदेशको सभामुख बने । पार्टीका अर्का नेता जीतेन्द्र सोनलले संसदीय दलको नेता चुनिएर सरकारमा सहभागी हुँदा सरोज सभामुख बनेका थिए ।

तत्कालीन संघीय समाजवादी पार्टी र राजपा एकीकरण भएर जसपा बन्यो । पछि जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा पुरानो राजपाका धेरै नेताले लोकतान्त्रिक समाजवादी पार्टी गठन गर्दा सभामुख भएका कारण सरोज कतै खुलेका थिएनन् ।

४ मंसिरको चुनावका लागि उनले जसपाबाट बारा–१(२) का लागि प्रदेश सभा सदस्यको टिकट मात्रै ल्याएनन्, निकटतम प्रतिद्वन्द्वीलाई चार हजार ८८७ मतान्तरले पराजित गरे । सरोजले १५ हजार ९ सय २७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेन्द्र प्रसाद कानुले ११ हजार ४० मत ल्याएका थिए ।

यसपटक मधेश प्रदेशमा सबैभन्दा ठूलो दल नेकपा एमाले हो । तर केन्द्रमा सत्ता साझेदार दलहरुबीच प्रमुख पद भागवण्डा गर्दा मधेशको मुख्यमन्त्री पद जसपाले नै पायो । जसपाबाट यसपटक प्रदेशसभामा यसअघिका मुख्यमन्त्री लालबाबु राउत पनि निर्वाचित भएका थिए । तर संसदीय दलको नेता चयनमा सरोज सर्वसम्मत चयन हुन सफल भए ।

मधेश प्रदेशसभामा १०७ सदस्य छन् । सरकार गठनका लागि ५४ सांसदको समर्थन भए पुग्छ, तर बुधबार मुख्यमन्त्री निर्वाचित भएका सरोजलाई ६३ सांसदले समर्थन गरेका छन् ।

मुख्यमन्त्री यादवको विगत

२०२८ साल माघ १७ गते बाराको तत्कालिन हरिहरपुर गाविस वडा न.७ मा जन्मिएका उनले सिम्रौनगढको कंकाली माविबाट एसएलसी गरे । भारत बिहारको सीतामढीस्थित लक्ष्मी किशोरी महाविद्यालयबाट आइएस्सी गरेका उनले बिएसस्सीसम्मको अध्ययन गरेका छन् ।

बुवाको राजनीतिक उठबसलाई नजिकैबाट नियालेका उनी ०५० सालदेखि राजनीतिमा लागे । २०२२ सालमै हरिहरपुर गाउँ पञ्चायतको प्रधानपञ्च बनेका बुवा परमानन्द ०५१ सालदेखि संसदीय राजनीतितिर लागे । त्यसपछि सरोजले पनि जनताको माझमा जाने मौका पाइहाले । उनी ०५४ सालमा तत्कालिन हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित पनि भएका थिए ।

०६४ सालको संविधानसभा निर्वाचनमा उनी बारा–१ बाट तत्कालिन सद्भावना पार्टीबाट निर्वाचित भए । ०६६ सालमा माधव नेपाल नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र ०६८ मा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमास्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री समेत बने । उनी ०६९ सालमा सद्भावना पार्टीको महासचिव र ०७३ मा उपाध्यक्ष भए ।

०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भने उनी संविधान सभा सदस्यमा पराजित भए । सरोजको ठूलो बुवाको छोरा रामकिशोर यादव पारिवारिक द्वन्द्वले त्यसबखत उनी पराजित भएको बताउँन् । ‘हामी दाजुभाइबीच त्यतिबेला राजनीतिक द्वन्द्व थियो । दुवै चुनावमा उठ्यौं, त्यसको फाइदा रामअयोध्या प्रसाद यादवलाई भयो’, उनले भने ।

काम गर्ने अवसर

सातमध्ये मधेश प्रदेशको मुख्यमन्त्री लालबाबु राउत गद्दीले पाँच वर्षको कार्यकाल पूरा गरे । बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत साइकल खरिद प्रकरणमा विवादित बने । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयका सचिवसमेतका कर्मचारीलाई भ्रष्ट्राचार मुद्दा दायर गर्‍यो । राउत पर्सा–१ (२) बाट पुनः प्रदेश सभा सदस्यमा निर्वाचित भएपनि यसपटक जसपाले नै उनलाई मुख्यमन्त्री दोहोर्‍याउने चाहना गरेन ।

निवर्तमान मुख्य मन्त्री राउतले भने आफूले पाँच वर्ष काम गरिसकेकोले अरु साथीलाई अवसर दिएको बताउँछन् । ‘मैले लोक सेवा पास गरेको त हैन नि, पाँच वर्ष पूरा काम गरिसकेको थिएँ’, उनले भने ‘मेरो इन्ट्रेस्ट पनि थिएन, अरु साथीले पनि अवसर पाउनुपर्छ भन्ने मेरो सोच हो । पार्टीले पूर्व सभामुख सरोजजीलाई अघि सार्‍यो । मैले पनि सघाएँ ।’

जसपा मधेश प्रदेश समिति अध्यक्ष रामबाबु यादव जसपाबाट निर्वाचितमध्ये सबैभन्दा सक्षम पात्र मुख्यमन्त्री बनेको बताउँछन् । ‘५ वर्षसम्म सभामुख भइसक्नुभएको व्यक्ति हो । पार्टीले सर्वसम्मतिले छान्यो, विकासको भिजन र नीतिको हिसाबले उहाँ समक्ष हुनुहुन्छ’, उनले भने ‘कहिँ कतै आर्थिक दाग लागेको पनि छैन । काम गर्ने जोस र सबै साथीहरुलाई मिलाएर लैजान सक्ने खुबी पनि उहाँसँग छ ।’

सरोज दुई पटक संघीय सरकारको राज्यमन्त्री हुँदा उनको मन्त्रालयको नेतृत्व राजेन्द्र महतोले गरेका थिए । त्यतिबेला काम देखाउने मौका नपाएक पनि अहिले अवसर आएको जसपाका नेताहरु बताउँछन् ।

‘संविधानले प्रदेशलाई दिएको अधिकार त सबै पाएको छैन, तर प्रदेशको मुख्यमन्त्री कार्यकारी पद हो । पार्टीका नेता र समर्थकलाई मात्रै हैन, विपक्षीलाई पनि मिलाएर हिँड्न सक्ने खुबी उहाँमा छ’, दाजु रामकिशोर यादव भन्छन् ।

‘आफैं ५० विघा जमिनको मालिक हुनुहुन्छ । लोभ लालचमा नपरी मधेश प्रदेशमा सुशासन र विकास दिनुहुन्छ भन्ने विश्वास छ’ उनले थपे ।

सोझो र कम बोल्ने बानी भएकै कारण मुख्यमन्त्री सरोजलाई धेरैले रुचाउने भन्दै रामकिशोरले अब विकास निर्माणसँगै मधेशी जनताको हितमा काम गर्ने अवसर आएको बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?