+
+

टी–२० लिग : नेपाली क्रिकेटको छविमा धब्बा

नेपाल टी–२० लिगले क्रिकेट संघको व्यवस्थापकीय क्षमतालाई उदाङ्गो मात्र बनाएको छैन, क्रिकेटको उदीयमान देशका रुपमा नेपालले बनाएको छविमा धक्का लागेको छ ।

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ पुष २७ गते २२:२४
फाइल तस्वीर : नेपाल टि-२० क्रिकेट लिगको टिम घोषणाको पत्रकार सम्मेलन ।

२७ पुस, काठमाडौं । एकपछि अर्को विवादमा मुछिएको नेपाल टी–२० क्रिकेट लुम्बिनी अल स्टार्सलाई बिजेता चुन्दै सकिएको छ । तर यो प्रतियोगिताले नेपाल क्रिकेट संघको व्यवस्थापकीय क्षमतालाई उदाङ्गो मात्र बनाएको छैन, क्रिकेटको उदीयमान देशका रुपमा नेपालले बनाएको छविमा धक्का लागेको छ । यदि स्पट फिक्सिङ नै प्रमाणित भयो भने त नेपाली क्रिकेटले ठूलै क्षति व्यहोर्नुपर्नेछ ।

११ असोज २०७६ मा चुनिएको चतुरबहादुर चन्द नेतृत्वको कार्यसमितिको पहिलो लक्ष्य थियो, नेपालको आधिकारिक टी–२० लिग प्रतियोगिता गर्ने । पछिल्लो समय टी–२० लिग मनोरञ्जनसँगै क्रिकेटको विकासका लागि आर्थिक स्रोत जुटाउने माध्यम बनेको थियो । त्यसैले क्यानले नेपाल टी–२० लिग गर्न चाहनु स्वभाविक थियो ।

तर क्रिकेट संघले सुरुदेखि नै यसलाई विवादास्पद र अपारदर्शी रुपमा अघि बढायो । २०७७ मंसिरमा भएको साधारणसभामा करिव ४०÷४२ करोड रुपैयाँ लिने र भारतीय कम्पनी सेभेन थ्री स्पोटर््सलाई १० वर्षका लागि नेपाल प्रिमियर लिग आयोजना गर्न दिने प्रस्ताव आयो ।

बोर्डभित्र र बाहिर पनि प्रश्न उठेपछि क्रिकेट संघका अध्यक्ष चन्द रोकिए । तर उनले भारतीय पक्षसँग प्रारम्भिक समझदारी गरिसकेका थिए, त्यसले अलग निर्णय पनि गर्न सकेनन् ।

कोरोना महामारीका कारण खेल गतिविधि ठप्प भयो, सेभेन थ्री स्पोर्ट्सले कुनै दबाव दिएन । जब कोरोना माहामारी कम भयो, क्रिकेट संघले ‘व्यापारिक तथा रणनीतिक साझेदार’का नाममा फेरि सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिता जिम्मा लगायो र पटक पटक मिति सार्दै उसले नेपाल टी–२० लिग पुस ८ को मिति तोक्यो ।

खेल सुरु हुनुपर्ने दिनसम्म फ्रेन्चाइज टिमबारे प्रष्ट जानकारी दिइएन, पुरस्कार राशी, प्रायोजक केही खुलाइएको थिएन । खेल एक दिन सार्दै पत्रकार सम्मेलन गरेको क्रिकेट संघ र सेभेन थ्री स्पोट्र्सले १ करोड २५ लाख पुरस्कार राशी घोषणा ग¥यो । प्रमुख प्रायोजकका रुपमा भारतीय कम्पनी वान एक्स ब्याटलाई सार्वजनिक गरेको थियो, जुन बेटिङ कम्पनी हो ।

एकातिर ३ करोड ९० लाख रुपैयाँ क्रिकेट संघलाई बुझाउनुपर्ने र प्रतियोगिताको तयारीमा लाग्ने सबै खर्च पनि आफैं व्यहोर्नुपर्ने कम्पनीले प्रायोजकहरु देखाउन नसक्नु र बेटिङ कम्पनीलाई प्रमुख प्रायोजक बनाएसँगै आशंका बढेको थियो ।

९ पुसमा त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा खेल सुरु भएसँगै विवाद र शंसय झन् बढ्यो । श्रम स्वीकृति नलिई केही विदेशी खेलाडीलाई मैदान उतारिए, केही फर्किए । स्पट फिक्सिङको आशंका बढ्यो । नेपालमा बेटिङ (सट्टेबाजी) गैरकानूनी छ, तर विदेशी बेटिङ बजारमा नेपाल टी–२० लिग उपलब्ध थियो ।

बेटिङबारे प्रश्न उठ्न थालेपछि प्रतियोगिताको सञ्चालनको जिम्मा लिएको सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालिया एकाएक सम्पर्कविहीन भए । क्यान अध्यक्ष चतुरबहादुर चन्द स्वयंले साझेदार कम्पनीको मालिक सम्पर्कविहीन हुँदै भागेको बताए । उनले नेपालबाट एउटा कारण देखाएर भारत पुगेका जतिनले त्यहाँ बसेर अनेक बहानाबाजी गरेको उनको आरोप लगाए ।

त्यसको भोलिपल्ट १९ पुसमा सम्झौताअनुसार पारिश्रमिक नपाएको भन्दै काठमाडौं नाइट्स र बिराटनगर सुपर किङ्सका खेलाडीले खेलमा टस गर्नै मानेनन् । क्रिकेट संघका पदाधिकारीहरुले साँझसम्म समय दिन आग्रह गरेपछि ९ ओभरको खेल त भयो, तर खेलपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टिमका एक खेलाडीलाई स्पष्ट फिक्सिङको प्रस्ताव आएको खुलासा गरिदिए ।

संयोग ! त्यही खेलबाट विराटनगरको कप्तान फेरिएको थियो । वेस्ट इन्डिजका खेलाडी आन्द्र म्याककार्थीबाट जिम्मेवारी खोसेर विराटनगरले रोहिकुमार पौडेललाई कप्तान दिएको थियो । रोहितकुमार, नेपाली राष्ट्रिय टोलीका कप्तान समेत थिए ।

बिराटनगरले सुरुमा रोहितलाई नै कप्तान तोकेको पनि हो । तर रातारात उनको साटो नाम नै नचलेका म्याककार्थीलाई कप्तान तोकेसँगै शंका बढेको थियो । त्यही बेला प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि स्पट फिक्सिङका प्रष्ट संकेत देखिएको भन्दै विवादित प्रतियोगिताको हिस्सा नहुने घोषणा गरे ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बेटिङ, सम्भावित स्पट फिक्सिङ र श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेल्न दिएकोबारे अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि लिगबारे छानबिन गर्न कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको नेतृत्वमा समिति बनायो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले पनि आकस्मिक रुपमा एन्टी करप्सन युनिटका अधिकृतहरुलाई काठमाडौं पठायो । नेपालमा अध्ययन गरेर फर्किएको आईसीसीको टोलीले केही बोलेको छैन तर सीआईबीका अधिकृतहरुले भने प्रारम्भिक अनुसन्धानले फिक्सिङको प्रष्ट संकेत देखाएको बताएका छन् ।

सम्भावित फिक्सिङको अनुसन्धान गरिरहेको सीआईबीले स्पट फिक्सिङमा सेभेन थ्रीको पनि संग्लग्नता देखिएको संकेत गरेको छ । सीआईबीले ३ नेपाली र ४ विदेशी खेलाडी स्पट फिक्सिङमा संग्लग्न गरेको आशंकामा अनुसन्धान गरिरहेको छ ।

सेभेन थ्रीसँग जोडिएका ब्यक्तिहरुले खेलाडीहरुको एजेन्टको काम गरिरहेको सीआईबी स्रोतको दावी छ । नेपाल प्रहरीको अनुसन्धान र आईसीसीको निगरानीबाट बच्न पनि सेभेन थ्रीका सञ्चालक जतिन भारत पुगेको हुनसक्ने घटनाक्रमले संकेत गरेका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने भारतमा भए पनि जतिन नियमित सम्पर्कमा रहेको बताए । उनले भने, ‘उनी नियमित सम्पर्कमा छन् र आवश्यक बजेटको जोहो गरिरहेको बताएका छन् ।’

क्रिकेट संघको निकम्मापन

क्रिकेट संघका पदाधिकारीहरले नेपाल टी–२० को आयोजक क्यान भएको र सेभेन थ्री स्पोर्टस ‘व्यापारिक र रणनीतिक साझेदार मात्र भएको दाबी गर्दै आएका थिए । जब प्रतियोगिता सुरु भयो, सबथोकमा सेभेन थ्री स्पोट्र्स र, यसका मालिक जतिन हाबी भए ।

सेभेन थ्री स्पोटर््ससँग गरिएको सम्झौतामाथि सुरुदेखि नै प्रश्न उठाउँदै आएका राष्ट्रिय टिमका पूर्व कप्तान एलबी क्षेत्री भन्छन्, ‘सेभेन थ्री स्पोट्र्ससँग सहकार्यको सुरुवात नै गलत थियो । त्यसको परिणामहरु आज भोग्दैछौं ।’

क्षेत्रीले भने जस्तै सुरुमा सम्झौता गर्दाको त्रुटिलाई ढाकछोप गर्न क्रिकेट संघले एकपछि अर्को झुट बोल्यो । त्यसको सेभेन थ्री स्पोट्र्सले लाभ लियो र एकपछि अर्को विवाद आयो ।

कतिसम्म भने ६ शहरको नामबाट निर्मित अधिकांश फ्रेन्चाइज टिम समेत पारदर्शी भएन ।

नेपाल स्पोर्टस् भेन्चरको स्वामित्व रहेको काठमाडौं नाइट्सले सोमबार इलिमिनेटर खेल खेल्दा त टिममा न विदेशी खेलाडी थिए, न प्रशिक्षक, न व्यवस्थापक नै थिए । ११ जनामात्र खेलाडी उपस्थित हुँदा मैदानमा पानी लगिदिने समेत कोही भएनन् ।

भारतीय कम्पनी भनिएको डायमण्ड डिजीक्याप प्रालिको स्वामित्वमा रहेको विराटनगर सुपर किंग्स र गोल्ड स्पोर्टस प्रालिको स्वामित्वमा रहेको जनकपुर रोयल्सका खेलाडीले पनि आफ्नो व्यवस्थापनबाट अपेक्षाअनुसार व्यवहार पाएनन् ।

प्रतियोगिताको लिग चरणबाटै बाहिरिएको फारवेष्टका खेलाडीले प्रतियोगिता सकिसक्दा एक सुको नपाएको गुनासो गरेका थिए । यो टिमलाई बेलायतको भनिएको एसएस इभेन्ट एण्ड भेन्चर्सले स्वामित्व लिएको थियो ।

लुम्बिनी हेल्थकेयर ग्रुपले स्वामित्व लिएको भनिएको पोखरा एभेन्जर्स र नेपाल अल स्टार्स, अमेरिकाले स्वामित्व लिएको लुम्बिनी अल स्टार्समा भने पारिश्रमिकको समस्या सुनिएन । अरु टिमका खेलाडीले भने पारिश्रमिक पाएका छैनन् ।

नेपाल टी–२० मा नेपाली खेलाडीहरुले वर्गीकरणअनुसार क्रमशः १५, १० र ५ लाख रुपैयाँ पारिश्रमिक तोकिएको थियो । विदेशी खेलाडीको हकमा ए क्याटागोरीका खेलाडीले ४० हजार, बी क्याटागोरीका खेलाडीको २० हजार र सी क्याटागोरीका खेलाडीको १२ हजार ५०० अमेरिकी डलर पारिश्रमिक निर्धारण गरिएको थियो । तर लुम्बिनी र पोखराबाहेक चार टिमका खेलाडीहरुले पारिश्रमिक पाउनेमा संशय छ ।

क्रिकेट संघसँग भएको सम्झौताअनुसार प्रतियोगिताको सम्पूर्ण पुरस्कार दिने जिम्मा सेभेन थ्री स्पोट्सको हो । बुधबार फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गरेर च्याम्पियन बनेको लुम्बिनी अल स्टार्सले ५५ लाख पाउनुपर्छ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले ५ लाख रुपैयाँ पुरस्कार पाउनुपर्छ ।

व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी बनेका विराटनगरका हुसेल तलतले ५ लाख, उत्कृष्ट ब्याटर र बलर क्रमसः फारवेष्ट युनाइटेडका हस्मतुल्लाह शाहिदी र काठमाडौंका अविनाश बोहराले जनही २ लाख ५० हजार तथा उदीयमान खेलाडी बनेका काठमाडौंका सूर्य तामाङले १ लाख ८० हजार रुपैयाँ पुरस्कार पाउनुपर्छ ।

हरेक खेलका प्लेयर अफ द म्याचले पाउनुपर्ने ४० हजार रुपैयाँ पनि अहिलेसम्म कसैले पाएका छैनन् ।

क्रिकेट संघका अध्यक्ष चन्द भने ढिलोचाँडो सेभेन थ्रीले पुरस्कारबापतको रकम भुक्तानी गर्ने विश्वास व्यक्त गर्छन् । ‘यति समयभित्रै पुरस्कार उपलब्ध गराउने भनेर सम्झौतामा उल्लेख छैन । पैसा जुटाउने प्रयास गरिरहेको छु, भुक्तानी गर्छु भनेको छ’, उनले भने, ‘सबैले पुरस्कार पाउँछन्, पाउनुपर्छ ।’

सम्झौताअनुसार यो वर्ष क्रिकेट संघले सेभेन थ्रीबाट पाउनुपर्ने ३ करोड ९० लाखमध्ये १ करोड ७० लाख रुपैयाँ उठ्न बाँकी छ । यही रकमका कारण क्रिकेट संघले सम्झौता रद्द गर्ने निर्णय गर्न सकेको छैन । ‘हामी बोर्ड बैठक बस्नेछौं, यो विषय साधारणसभाबाटै पारित भएकाले त्यहाँ पनि लैजान सक्छौं’, उनले थपे, ‘लिगमा अलिकति तलमाथि भयो । तर सानोतिनो विषय उछाल्नुभन्दा लिगका अरु पक्षहरुलाई सुधार गर्दै अगाडि बढ्नुपर्छ ।’

क्रिकेट संघले भने भोलिका दिनमा पनि ठूला प्रतियोगिताहरु गर्न चाहिने विश्वास अहिले नै गुमाइसकेको छ । पूर्व कप्तान क्षेत्रीले अनलाइनखबरसँग भनेका छन्, ‘प्रतियोगिताका नाममा जे जस्ता नाटक मञ्चन भयो, यसले नेपाली क्रिकेटले प्राप्त गरेको उपलब्धी पनि गुम्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?