+
+

काठमाडौंको शंखरापुरमा प्रहरीले बल प्रयोग गर्दा वडा सदस्यको हात भाँचियो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १६:४५
फाइल तस्वीर

२८ पुस, काठमाडौं । काठमाडौंको शंखरापुरमा सब स्टेसन निर्माणका विषयमा प्रहरीसँग विवाद हुँदा वडा सदस्य घाईते भएका छन् ।

काठमाडौंको शंखरापुर नगरपालिका – ३ का वडा सदस्य विजय लामा घाईते भएका हुन् । प्रहरीसँगको झडपमा आज बिहीबार उनको हात भाँचिएको छ ।

प्रहरीले अरु तीन जनालाई पक्राउ समेत गरेको छ ।

सब स्टेशन निर्माणको विरोधमा १२ दिनदेखि शंखरापुर–३ आन्दोलित छ । गाउँलेले आफ्नो गाउँमा सब स्टेशन निर्माण गर्न नहुने माग राखेका छन् ।

आज बिहीबार प्रहरीको सहयोगमा नेपाल विद्युतय प्राधिकरणले सब स्टेशन निर्माण सुरु गरेको छ ।

आफूहरुको अनुमति बेगर सब स्टेशन निर्माणका लागि प्रहरी परिचालन गरिएको भन्दै स्थानीयबासिन्दाले राष्ट्रिय मानव अधिकार आयोगमा यस अगाडि नै उजुरी पनि दिएका छन् ।

शंखरापुर नगरपालिका– ३ मा पर्ने बोझनीको करिब २ सय रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको सब स्टेशनले आफ्नो उठिबास लाग्ने भन्दै स्थानीयबासिन्दाले विरोध गरिरहेकाछन् । ०७४ देखि नै सुरु भएको यो आयोजनाको स्थानीयबासीले सुरुवातदेखि नै विरोध गर्दै आईरहेकाछन् ।

४ सय ५६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली काठमाडौं उपत्यका तथा देशका अन्य क्षेत्रमा पठाउन शंखरापुरको बोझनीमा विद्युत् प्रसारण आयोजनाले सब स्टेसन निर्माण गर्न लागिएको प्राधिकरण बताउँछ ।

यो सब स्टेसनले माथिल्लो तामाकोशीसँगै एमसीसीले निर्माण गर्ने प्रसारण लाइन र भक्तपुरको खरिपाटीस्थित वितरण केन्द्रलाई जोड्नेछ ।

बोझनी बस्तीको बीचमा निर्माण गर्न लागिएको यो सब–स्टेसनमा तीनतिरबाट ४ सय किलो भोल्ट (के.भी) क्षमताका ‘हाई भोल्टेज’ प्रसारण लाइन विस्तार हुनेछन् ।

आफूहरुलाई झुक्याएर जग्गा अधिग्रहण गरेको, मानव बस्तीको बिचमा सब स्टेशन निर्माण गर्न लागिएको भन्दै स्थानीयले विरोध गरिरहेका छन् । प्राधिकरण भने सब स्टेशन निर्माणका लागि आफूहरुले जग्गा लिइसक्दा पनि स्थानीयबासिन्दाले अनाहकमा विरोध गरेको बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?