
मलाई स्वर्ग चाहिन्न
मलाई केबल मेरै देशमा
स्वाभिमानपूर्वक जिउन देऊ
मलाई ठूला सपना चाहिन्न
मेरा आँखामा केबल हरदिन
सेता हिमालहरू टल्किन देऊ
मलाई नि:शुल्क टिकट दिएर
मरूभूमिमा बज्रिन बाध्य नबनाऊ
महंगै टिकट किनेरै पनि
अन्नपूर्ण र रारासँग पिरती साट्न देऊ
मलार्इ राहदानीका लागि
राजधानी धाउने नबनाऊ
मेरै घर-आँगनमा
संसारभरका राहदानी तँछाडमछाड गर्दै आउने बनाऊ
मलाई पीआरको भोकमा रन्थनिने सिकारी होइन
आफ्नै नागरिकतामा गौरव गर्ने नेपाली बनाऊ
मलाई भोक मेटाउनु छ
भोक मेटाउने नाममा आफैंलार्इ गुमाउनु छैन
मलाई परजीवी नबनाऊ
मेरो सभ्यताको ज्ञान
जल, जमिन र जंगलको ज्ञान
वीर र परिश्रमी नेपालीको पहिचान
आफ्नै माटोमा प्रमाणित गर्न देऊ
परदेश उन्नत बनाएर
परदेशी भएर
स्वर्गको टुक्रालाई धिक्कारेर
म कहिलेसम्म बाँचु
झलमल्ल सहरमा निस्सासिएर
नेताज्यू
मलाई उद्धार गर्नुस्
के दोष छ यो स्वर्गको टुक्राको ?
के दोष छ मेरो बिन्तीमा ?
के विदेशिएको मैले मत र अभिमत
दिन पाउन्न ?
–म्याग्दे–६ तनहुँ
प्रतिक्रिया 4