+
+

‘यसकारण हामी भाते भयौं’

हामीले धानलाई खास महत्व दियौं । सरकारले पनि धान दिवस मनायो तर अन्य उत्पादनलाई आफ्नो उत्पादन र संस्कृति हो भन्ने आभास नै गराएन । यो सबै देख्दा, हेर्दा मानिसलाई स्वाभाविक रूपमा लाग्यो कि- सबै कुरा धान हो, चामलको भात हो ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७९ माघ २ गते १८:०२

हाम्रो भूभागको प्राकृतिक उत्पादनको वार्षिक मौसमी पात्रो वसन्त ऋतुको स्वागतसँगै सुरु हुन्छ।खानाका लागि गरिने सबै कर्म र प्रकृतिको सृष्टि थाम्ने मर्मको सम्मान गर्ने उत्सवहरू यही बेला सुरु भएर वर्षभरि नै भइरहन्छन् ।

शिवरात्रि, वसन्तपञ्चमी, होली (रङ दिवस) उँभौली–उँधौली खेतीपाती गर्ने किसानले सृष्टि थाम्न जुर्मुराएको बीउ, पालुवा र फक्रिंदै गरेको कोपिलाको स्वागत गर्ने उत्कृष्ट उत्सव हुन्।अरू यस्ता हजारौं उत्सव विभेदको पर्खालमा चेपिएर बसेका छन् ।

हरेक वर्ष चैत १२ देखि कर्णालीको मानवीय जीवनमा ऊर्जाको सुरुवात हुन्छ। माथिल्लो कर्णालीमा यही दिन धानको बीउ राख्ने प्रक्रिया सुरु हुने गर्छ।धान उत्पादनका हिसाबले त्यति धेरै महत्वको नभए पनि सदियौंदेखि यो कर्णालीको पहिचान बनेको छ।

जुम्लाको छुमचौर जिउलो धान फल्ने संसारकै उच्च ठाउँ हो।यो ठाउँ कर्णालीको गौरवमयी पहिचान पनि हो । यो सँगै सुरु हुन्छन् खानेकुरा (गेडागुडी) र खेतीपातीका महत्वपूर्ण चाड– खेतीपाती जोगाउने भ्यागुता पूजा गर्ने दिवस, गेडागुडीको प्रवद्र्धन गर्ने जनैपूर्णिमा आदि।

यस्तै सबै नेपालीका खानेकुरासँग जोडिएका सांस्कृतिक पर्वहरूको शृंखला– दशैं, तिहार, छठ, ल्होसार, माघी।यी पर्व र दिवस मात्र हैन, न्वाई या न्वागी (नयाँ फसल भित्र्याउनुअघि गरिने पूजा), बीउ जोगाउन मन्दिर र घरका जगमै अन्नका दाना राख्ने चलन जस्ता विवेकशील संस्कृतिको रक्षा गर्दै खाने संस्कृति विकसित भएको हो।

यी संस्कृतिलाई यिनै बीउ जस्तै उम्रिन र कोपिला जस्तै फक्रिन दिने दिन नआएसम्म हाम्रो खाने संस्कृति उन्नत हुँदैन । विज्ञान र प्रविधिको विकाससँगै खानाको पौष्टिकता र शारीरिक तथा मानसिक वृद्धि विकासमा यसको महत्व उजागर हुँदै आएको छ ।

यसले रैथाने खाना मात्र हैन खाने संस्कृति र स्थानीयतामा आधारित उत्पादन बढाउन जोड दिनुपर्ने देखाउँछ । खानेकुरा भन्ने बित्तिकै यो तीन आयामबाट प्रभावित हुन्छ । पहिलो खाने स्थानीय विशेषताको खानेकुरा हुन्छ, यसबाट समुदायको स्थानीय विशेषतामै आधारित खाने संस्कृति बनेको हुन्छ ।

अर्को नवीनतम विज्ञान र सोचहरूका कारण खानेकुरा अझै पोषणयुक्त, अझै खानायुक्त र हाम्रो सामाजिक तथा मानसिक विकासका लागि उपयुक्त खानेकुराहरू उत्पादन र प्रशोधन विधिहरूको खोज भइराखेको हुन्छ । यो आजको मात्रै होइन दशौं हजार वर्षदेखि चल्दै आइरहेको कुरा हो । तर, हामीले यी विशेषतालाई विस्तारै गुमाउँदै गइरहेका छौं ।

तर वितेका चार दशकमा नेपालको खाना र खेतीपाती प्रणालीमा व्यापक फेरबदल आएको छ।अहिले औषधि नै खाना, खानामै औषधि हुनुपर्ने खाना पत्रु हाम्रो शत्रु भएको छ । खासगरी, आम नेपालीको खानाका लागि गरिने खेतीपाती भने उल्टो बाटो हिंडेको छ। साना किसान, रैथाने खेती, स्थानीय बीउ, जैविक विविधता जस्ता दिगो विकासका सर्वव्यापी शब्दजालको उल्लेख गर्न आयातित खानेकुरा र परनिर्भर खाद्य तथा कृषि अर्थ-राजनीति सपार्नेतर्फ खासै काम भएको छैन ।

सँगै, वातावरणीय ह्रास, कोभिड–१९, युक्रेनको युद्ध जस्ता कारणले निम्त्याएको अहिलेको खाद्य संकटले पर्याप्त र पोषणयुक्त खानेकुराको उत्पादन र वितरणमा पहुँचको खाँचो र यसका जटिलता थप उजागर गरिदिएको छ।

यसको प्रभावले विश्वव्यापी खाद्य संकट, गरिबी, कुपोषण र जलवायु परिवर्तनको बढ्दो प्रभावसँगै खाद्य असुरक्षा भोगिरहेका लाखौं मानिसको खाद्यमा पहुँच बढाउन भविष्यमा अपनाउनुपर्ने खाद्य तथा कृषि प्रणालीमा विश्वव्यापी बहस चलिरहेको छ।

यसले स्वच्छ खेतीबाट स्वस्थ खाना खाने र खुसी जीवन बिताउने हाम्रो आशालाई साकार पार्न नयाँ र पुराना चुनौतीको सामना गर्दै अगाडि बढ्ने अवसर दिएको छ।रोजगारी र आम्दानीको खोजीमा दशकौंदेखि विदेशिन बाध्य भइरहेका गरिखाने वर्गको रोजगारी र आम्दानीको बन्दोबस्त मिलाउन पनि साना किसानमैत्री स्थानीय स्रोत–साधनमा आधारित दिगो खाद्य तथा कृषि प्रणाली अपनाउनुको विकल्प छैन।

विश्वभरि भोकमरी निरन्तर बढिरहेको छ।सन्तुलित आहाराको अभावसँगै मोटोपना र शारीरिक तथा मानसिक वृद्धिमा असन्तुलन पनि बढिरहेको छ।यस्तो अवस्थालाई ख्याल गर्दै सागपात, फलफूल, जराजुरी, बदाम जातका खानेकुरा र सुख्खा क्षेत्रमा सजिलै हुने अन्न जस्ता खेतीपातीको प्रणाली बलियो बनाउनु नै हाम्रो प्रकृति, वातावरण जोगाउँदै खाना र जीविका उन्नत बनाउने एकमात्र विधि हो।यसले मात्र जलवायु परिवर्तन सम्बोधन, माटो र मानव स्वास्थ्य बचाउन सम्भव बनाउँछ ।

यस्ता सवालमा चिन्तन–मनन, खोजी, बहस गर्दै उपयुक्त विकल्प खोज्नमा सहजीकरण गर्ने कुरा त परै जाओस्, उल्टै खाने पेट बढेका र मीठो–मसिनो खान पल्केका भनेर स्थानीयस्तरमै उत्पादन नभए पेटभरि खान नपाउने अवस्थामा रहेका सीमान्तकृत समुदाय, महिला र बालबच्चाको खान पाउने अधिकारको उपहास गर्ने गरिन्छ।

समुदायको संस्कृति, स्थानीय विशेषता र सन्तुलित पोषणको लागि विविध रैथाने उत्पादनका आधारमा खानाको जगेर्ना, बढ्दो जनसंख्यालाई पोषण र यसको उत्पादन प्रणालीलाई दिगो बनाउनु हामी सबैको साझा दायित्व हो ।

किसानीमा आधारित खेतीपाती सल्ट्याउन सके मात्र यसतर्फको यात्रा सम्भव हुन्छ तर सरकार भने यसका लागि वैचारिक र भावनात्मक प्रयास गर्नुको साटो खानेकुराको बन्दोबस्तमा किसानलाई भरथेग गर्न नै आलटाल गरिरहेको छ।

विश्वव्यापीकरणसँगै स्थानीय विशेषता अनुसारको खानेकुरा खाने शैली हामीले परिवर्तन गर्‍यौं । प्रशोधित खानाको आयातले स्थानीय खाना भन्दा बाहिरको खानामा आकर्षण बढ्यो । पहिला खाना मौसममा उत्पादन गर्ने र बेमौसममा खाने चलन थियो । हामीकहाँ अहिले मौसमी भन्ने खानेकुरा नै बाँकी रहेन । हाम्रो मौसममा खानेकुरा अहिले बाहिरबाटै जहिले पनि आउन थाल्यो । यसले स्थानीय विशेषताका खानेकुरा ओझेलमा पर्दै गए ।

यस्तै संस्कृतिलाई प्रभाव पार्ने विज्ञान र प्रविधिले शारीरिक तन्दुरुस्तीका लागि खाने भन्दा पनि सजिलोका लागि खाने जस्तो प्याकेटमा राखेको खाने, कारखानामा बनाएको खाने संस्कृति बन्यो । यसरी भूगोल र संस्कृति अनुसारको खानेकुरा हामीले गुमायौं ।

अर्को चैं पोषणयुक्त भनेर विज्ञापन र बजारसँग हामी आकर्षित भयौं । यसले हाम्रो परनिर्भरता बढायो । खेती भनेको किसानले गर्ने हो । हाम्रो जस्तो भूभागमा किसानले गर्ने खेती औद्योगिक प्रकृतिको नभएका कारण उत्पादन लागत महँगो हुनपुग्यो ।

अनि लागतका कारण किसान सस्तोमा बिक्री गर्न नसक्ने र बजारमा आयातका कारण किसानको मूल्य भन्दा सस्तोमा पाइने अवस्था भएपछि नेपाली किसानका उत्पादन बिकेनन् । किसानहरू पलायन भए । वर्षमा ४० अर्बभन्दा धेरैको धान, चामल आयात गर्नुपर्ने कारण यहींबाट सृजना भयो ।

सांस्कृतिक र मौलिक खानेकुरा फलाउने मात्र हैन भान्सामा बनाउन समेत धेरै समय जान्छ । रैथाने खाना तयारी अवस्थामा पाइन्न । किनकि यो बजारबाट निर्देशित हुन्न । तर, शहरमा व्यस्त जीवनशैली भएकाहरूसँग यो समय छैन । यसरी व्यावसायिक जीवनमा मानिसहरू प्रवेश गरेसँगै हाम्रो खाने संस्कृति ‘इन्स्ट्याण्ड’ (तयारी) भयो ।

यसमा हामीसँग भएको मध्ये भात सबैभन्दा सहज भयो । सँगै भात ठूलाको खान्की भएकोले विशेष मान्यता छँदैथियो । भात खान सजिलो समेत छ । फेरि चामलको आफ्नै विशेषता पनि छ । चामल सुपाच्य र स्वादिलो छ । सबै उमेरका लागि खानयोग्य हुन्छ । कुनै बेला सक्नेले, हुनेले, मुखियाले, खेत हुनेले खाने गरेको हुनाले पनि देखासिखीमा भात खाने कुरा संस्कृति पनि बन्यो ।

भूगोलमा सानो भए पनि धेरै धान हुने देशहरूमध्येमा नेपाल पनि पर्छ । नेपालको प्रमुख बाली पनि हो, धान । हामीले पनि धानलाई खास महत्व दियौं । सरकारले पनि धान दिवस मनायो तर अन्य उत्पादनलाई आफ्नो उत्पादन र संस्कृति हो भन्ने नै आभास गराएन । यो सबै हेर्दा मानिसलाई स्वाभाविक रूपमा लाग्यो सबै कुरा धान र चामलको भात नै हो ।

यसबाट उन्मुक्ति पाउने हो भने हाम्रो भूगोल, मौसम, संस्कृति र हाम्रो उत्पादन सम्भाव्यता अनुसारको खानेकुरा खानुपर्छ । समग्रतामा हाम्रो नेपाल सुख्खा क्षेत्र हो । यहाँ सजिलै उत्पादन हुने भनेको फलफूल, जरायुक्त खानेकुरा र गेडागुडी, रूखमा फल्ने नट्सहरू हुन् ।

यस्तै हामीले कुअन्न भनेर हेला गरेका फापर, जौ, जुनेलो, कोदो जस्ता खानेकुरा सुख्खामा सजिलै उत्पादन हुन्छन् । यी सबै हिसाबले पोषिला छन्, हामीले यी अन्नपात खानुपर्ने हो । अहिले स्वास्थ्यका दृष्टिकोणले पनि यसलाई सबैतिर महत्व दिइएको छ । हामी यता लाग्यौं भने हाम्रै उत्पादनबाट स्वस्थ र राम्रो खानेकुरा खान सक्छौं ।

सरकारी तथ्यांक हेर्ने हो भने हामीलाई खानका लागि अन्नपातको कमी छैन भन्ने देखाउँछ । उनीहरूको तथ्यांक ठिक बेठिक जे भए पनि एउटा सांकेतिक हिसाबले खानेकुरा नभएका कारण हामी परनिर्भर भएका त होइनौं नि ! तर, हामीले रैथाने खानाहरूलाई प्रवर्धन गर्ने काम गरेनौं । यसो हुनुका पछाडि कारण छन् । त्यो भनेको हामीले अध्ययन, अनुसन्धान र चेतना फैलाउन काम नै गरेनौं ।

जसका कारण यी वस्तुको उत्पादनशीलतामा शिथिलता आयो । त्यो आशंका हटाउन राज्यले लगानी गर्नुपर्‍यो । विश्वमा अन्य देशले कोदो प्रतिहेक्टर ५ टन फलाउन थालिसके तर हामी किन ०.५ टनमै रह्यौं ? हामीले कोदाको पाउरोटी किन बनाउन सकेनौं ? सानैदेखि केटाकेटीलाई कोदो राम्रो कुरा हो, खानयोग्य कुरा हो भनेर सिकाएको भए त उनीहरूले पनि कोदोको महत्व बुझ्थे !

म उत्पादन प्रविधि, जनचेतना र राज्यको जवाफदेही बढाउन आवश्यक देख्छु । किनभने दुई तिहाइभन्दा धेरै मानिस कृषिमा भएको देशमा किसानको स्वाभिमान जोगिने, कृषकको जीवनस्तरमा सुधार हुन्छ भन्ने सोचहरूमा राज्यले लगानी गर्नुपर्छ । खानेकुरा र संस्कृतिलाई जोडेर आयात रोक्ने गरी नीति बनाइनुपर्छ । फेरि कृषि अर्थतन्त्रमा बुझ्ने गरी राजनीतिक सहमति पनि हुन सकेन ।

(खानाका लागि खेतीपाती अभियानका अभियन्ता डा.पौडेलसँग अनलाइनखबरका लागि नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?