+

खानामा चिल्लो घटाउँदा के भयो ?

२०७९ माघ  ४ गते ८:२९ २०७९ माघ ४ गते ८:२९

खानामा कुनै एउटा खाद्य समूहमा मात्रै ध्यान दिनुभन्दा चिनी, चिल्लो तथा नुन धेरै हुने प्रशोधित खानाको खपत अत्यन्तै कम गर्नु, ठिक्क मात्र भोजन (अथवा अल्पभोजन) गर्नु र तौल बढ्न नदिनु नै आफ्नो समग्र स्वास्थ्य स्थिति राम्रो बनाउने उत्तम उपाय मानिन्छ।

खानामा चिल्लो घटाउँदा के भयो ?

सन् १९६० को दशकसम्म गरिएको खाना र स्वास्थ्यबीचको अनुसन्धानको प्रभाव सत्तरीको दशकतिर आएर देखिन थाल्यो।

त्यसको सुरुवात संसारकै उच्च हृदयघातजन्य मृत्युदर भएको फिनल्याण्डबाट नै भयो। त्यतिबेला फिनल्याण्डका मानिसमा अत्यन्तै उच्च कोलेस्टेरोलको मात्रा भएको पाइएको थियो। प्रेसर पनि उच्च थियो। ६० प्रतिशतभन्दा धेरै पुरुष चुरोट पिउँथे।

यो समस्या पूर्वी फिनल्याण्डको रसियाको बोर्डर नजिकै रहेको नर्थ करेलियामा अझै धेरै थियो। खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने नर्थ करेलियाका मानिसको जीवनस्तरमा दोस्रो विश्व युद्धपछि निकै सुधार भएको थियो। त्यसै अनुरूप उनीहरूको खानामा पनि परिवर्तन आएको थियो। दूध, बटर, चिज लगायत डेरीको व्यापक उपलब्धतासँगै खपत पनि धेरै हुन थालेको थियो। पाउरोटी तथा खाना पकाउन पनि बटरको प्रयोग लगभग शत-प्रतिशत थियो। मासुको प्रयोग पनि त्यस्तै उच्च थियो।

सन् साठीको दशक पछि एन्सेल किइज ( दयघतकसमबनधबकसरौं ?) लगायतले गरेकै अनुसन्धानको सिकाइ पश्चात हृदयघातका जोखिम-तत्वहरूमा नयाँ प्रकाश पार्‍यो। उच्च कोलेस्टेरोल, उच्च प्रेसर तथा चुरोट सेवनले हृदयघातको जोखिम बढ्ने रहेछ भनेर बुझियो। दूध, बटर, चिज, मासुमा हुने ‘स्याचुरेटेड फ्याट’ ले कोलेस्टेरोल बढाउने र त्यसैले हृदयघातको जोखिम कम गर्न ‘स्याचुरेटेड फ्याट’ हुने खानेकुराको कमी गर्नुपर्ने बुझाइले व्यापकता पायो।

‘स्याचुरेटेड फ्याट’ को खपतले हृदयघातको जोखिम बढाउँछ भन्ने बुझाइ आज आएर धेरै परिष्कृत भएको छ। ‘स्याचुरेटेड फ्याट’ को सट्टा के खानेकुरा खाइन्छ भन्ने कुरा महत्वपूर्ण रहेछ भनेर बुझिंदैछ। तर सन् सत्तरीको दशकमा ‘स्याचुरेटेड फ्याट’ को खपत जसरी पनि कम गर्नुपर्छ भन्ने बुझाइ हावी हुने क्रममा थियो। त्यही बुझाइ अनुरूप विभिन्न देशमा हृदयघातका विरुद्ध प्रतिकार्यका विधिहरू तर्जुमा गरिए। फिनल्याण्डमा पनि त्यही बुझाइको आधारमा एउटा बृहत् प्रयासको सुरुवात गरियो।

नर्थ करेलियामा समुदायस्तरमा गरिएको त्यो प्रयासको महत्वपूर्ण हिस्सा समुदायस्तरमा नै ‘स्याचुरेटेड फ्याट’ को खपत कम गरेर कोलेस्टेरोल घटाउने थियो। कोलेस्टेरोल घटाउनुका साथ-साथै, प्रेसर घटाउने, चुरोट सुर्तीको प्रयोग कम गर्ने जस्ता गतिविधिलाई पनि व्यापकता दिइयो।

सन् १९७२ मा सुरु गरिएको त्यो प्रयास १९७७ सम्म योजनाबद्ध अभियानकै रूपमा संचालन गरियो। ‘स्याचुरेटेड फ्याट’ को विरुद्ध व्यापक जनचेतना फैलाउने गतिविधि संचालन गरिए। खानामा ‘स्याचुरेटेड फ्याट’ धेरै हुने मासु तथा डेरीबाट पाइने चिल्लोको प्रयोग गर्न नहुने भनेर सचेतना फैलाइयो। ‘लो-फ्याट’ दूध प्रयोग गर्न प्रोत्साहित गरियो, बटरको सट्टा वनस्पतिजन्य तेलको प्रयोग गर्न र मासुबाट बोसो हटाएर खान सिकाइयो। खाना तारेर पकाउनु भन्दा उमालेर पकाउन सिकाइयो।

सचेतना फैलाउनका लागि सयौं स्वास्थ्य शिक्षाका कार्यक्रमहरू संचालन गरिए, पत्रपत्रिकामा लेखहरू लेखिए, गृहिणीका समूहलाई ‘स्वास्थ्यबर्धक खाना’ का भोजहरू संचालन गर्न प्रेरित गरियो। यस्तै गतिविधि चुरोटको खपत कम गर्न तथा प्रेसर कम गर्नका लागि पनि गरियो। नर्थ करेलियामा ५ वर्ष संचालन गरिसकेपछि यी गतिविधिलाई फिनल्याण्डभरि संचालन गरियो। यस्ता प्रयासहरू अन्य देशमा पनि सुरु गरिए।

सत्तरीको दशकको अन्त्यतिर अमेरिकी सरकारको तालुकदार निकायले नियुक्त गरेको खाना तथा पोषण सम्बन्धी विज्ञहरूको एउटा प्रभावशाली समितिले आफ्नो प्रतिवेदन पेश गर्‍यो। त्यही प्रतिवेदनको आधारमा अमेरिकी सरकारले पहिलो पटक ‘डायटेरी गोल्स फर अमेरिकन्स्’ भनेर एउटा रिपोर्ट प्रकाशन गर्‍यो। त्यो प्रतिवेदनले पहिलो पटक औपचारिक रूपमै सर्वसाधारणलाई खानामा ‘स्याचुरेटेड फ्याट’ कम हुनुपर्ने भनेर सिफारिस गर्‍यो। यस्तै सिफारिस केही वर्षपछि बेलायती सरकारको सम्बन्धित निकायले पनि गर्‍यो।

सन् १९७२ मा नर्थ करेलियाबाट सुरु गरेर देशभरि संचालन गरिएका गतिविधिको प्रभावले फिनल्याण्डमा केही दशकभित्रै ‘स्याचुरेटेड फ्याट’ को प्रयोगमा लगभग आधाले कमी आयो। हृदयघातको मृत्यु दर पनि यसैबीच ८० प्रतिशतले घटेर गयो। हृदयघातविरुद्ध जनस्वास्थ्यका प्रतिकार्यका गतिविधिका कारणले समुदायस्तरमै रगतमा कोलेस्टेरोलको मात्रा घट्नु यसको प्रमुख कारण रह्यो। अमेरिकालगायत अन्य केही देशमा पनि उस्तै उत्साहप्रद नतिजा देखियो। तर हृदयघातको मृत्युदर घटाउन ‘स्याचुरेटेड फ्याट’को प्रयोगको कमीको कस्तो भूमिका हो भन्ने बहस भने अझै टुंगिएको छैन।

साठीको दशकतिर गरिएका अध्ययनहरूले ‘स्याचुरेटेड फ्याट’, कोलेस्टेरोल र हृदयघातबीच नजिकको सम्बन्ध रहेको भनेर देखाएपछि यस विषयमा अरू अझै मिहिन किसिमका अध्ययन सुरु गरिए। नब्बेको दशकको सुरुवाततिर दशौं करोड डलरको खर्चमा ‘विमेन्स हेल्थ इनिसिएटिभ’ भन्ने एउटा अध्ययनको प्रारम्भ भयो। ६० हजारभन्दा धेरै महिलामा गरिएको यो अध्ययनको एउटा महत्वपूर्ण लक्ष्य कम फ्याट भएको खाना र हृदयघातबाट हुने मृत्युको सम्बन्धबारे बुझ्नु थियो।

किइज लगायतले पहिला गरेका ‘अब्जर्भेसनल’ किसिमका अध्ययनहरूले यी दुई बीच सम्बन्ध रहेको भने पनि ‘स्याचुरेटेड-फ्याट’ ले नै हृदयघात गराएको भनेर पुष्टि गर्न सक्ने किसिमका थिएनन्। ‘विमेन्स हेल्थ इनिसिएटिभ’ भने एउटा ‘र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’ थियो, यसमा सहभागीहरूलाई दुई समूहमा विभाजित गरिएको थियो, एउटा समूहलाई लामो समयसम्म ‘फ्याट’ कम र त्यही अनुपातमा कार्बोहाइड्रेट धेरै भएको खाना खान दिेइयो, अर्को समूहलाई साबिककै खाना खान दिइयो। यस्तो अध्ययनबाट ‘फ्याट’ कम खानाले साँच्चै हृदयघातबाट हुने मृत्यु कम गर्छ या गर्दैन भन्ने कुराको वास्तविक प्रमाण जुट्थ्यो। ८ वर्ष पछि हेर्दा दुवै समूहमा हृदयघातबाट हुने मृत्युको दर बराबर नै पाइयो। ‘फ्याट’ कम खाएको समूहमा उल्टै डायबिटिजको समस्या पाइयो।

यस्तै किसिमका नतिजाहरू अन्य ‘र्‍यान्डमाइज्ड कन्ट्रोल्ड ट्रायल’हरूले दिए। थुप्रै अध्ययनका नतिजालाई सँगालेर हेर्दा पनि नतिजा उस्तै नै आयो। खानामा फ्याट कम गरेर, उति नै क्यालोरी दिने कार्बोहाइड्रेट खाँदा हृदयघातको दर खासै घटेको पाइएन।

पश्चिमी देशहरूमा बीसौं शताब्दीमा आएको आर्थिक उन्नतिसँगै खाना (अझ विशेषगरी प्रशोधित खाना) को खपत निकै बढेको थियो। खानामा क्यालोरी धेरै हुने चिल्लो र चिनीको मात्रा पनि निकै बढेको थियो। त्यसैले शक्तिशाली सरकारी अथवा अर्धसरकारी निकायले गरेका सिफारिसहरू समाजमा उपलब्ध तथा खपत हुने खानाको प्रकृति बदल्ने उद्देश्यले ल्याइएका थिए। सरकारी नीतिकै रूपमा आएका यी सिफारिसहरू कतिपय हिसाबले बाध्यकारी पनि थिए। यी सिफारिसपश्चात विशेषगरी प्रशोधित खाना उत्पादन गर्ने उद्योगले खानामा चिल्लोको सट्टा चिनी तथा अन्य स्वादवर्धकहरूको प्रयोग बढाए। प्रशोधित खानाको प्रयोग बढेसँगै समाजमा खपत हुने खानाको प्रकृति पनि निकै बदलिन पुग्यो। जनस्वास्थ्यमा त्यसको प्रभाव पनि दूरगामी रह्यो।

सन् १९८० यता अमेरिकामा स्याचुरेटेड फ्याटको खपत त केही घटेको छ, तर त्यसको स्थान चिनी, मैदा र अन्य कार्बोहाइड्रेटले लिएका छन्। यसै अवधिमा दैनिक क्यालोरीको खपत भने एक-तिहाइ जतिले बढेको छ। खानामा प्रशोधित खानेकुराको हिस्सा आधाभन्दा धेरै पुगेको छ। सरकारी तवरबाटै स्वास्थ्यवर्धक खानालाई बढावा दिने प्रयास भए पनि मोटोपन तथा डायबिटिजको दर बढ्दो छ। खानामा परिवर्तन ल्याउन गरिएका प्रयासले समाजको समग्र स्वास्थ्य स्थितिमा ल्याएको कुल प्रभाव सकारात्मक या नकारात्मक रह्यो भन्ने कुरा ठूलो बहसको विषय छ।

अहिले केही पश्चिमी देशहरूमा दुई-तिहाइभन्दा धेरै मानिस मोटोपनको शिकार भएका छन्। विगत चार दशकमा यी देशहरूमा डायबिटिजको दर दश गुणाले बढेको छ। चीनमा त अझै विगत तीन दशकमा नै मोटोपन तथा डायबिटिजको दर १० गुणा भन्दा धेरैले बढेको छ। नेपाल जस्ता देशमा यो समस्या त्यति विकराल त छैन तर पनि हामी त्यही बाटोमा हिंड्ने क्रममा छौं।

आजको बुझाइ अनुसार खानामा कुनै एउटा खाद्य समूहमा मात्रै ध्यान दिनुभन्दा चिनी, चिल्लो तथा नुन धेरै हुने प्रशोधित खानाको खपत अत्यन्तै कम गर्नु, ठिक्क मात्र भोजन (अथवा अल्पभोजन) गर्नु र तौल बढ्न नदिनु नै आफ्नो समग्र स्वास्थ्य स्थिति राम्रो बनाउने उत्तम उपाय मानिन्छ। यसैबीच मोटोपनको दर अचाक्ली बढेसँगै विभिन्न किसिमका खानाको प्रयोगले मोटोपन घटाउने बारेमा पनि अत्यधिक जनचासो छ।

क्रमशः

खाना चिल्लो स्वास्थ्य
लेखक
डा. किरणराज पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?