+

खाना र हृदयघातको सम्बन्धबारे कसरी जान्यौं ?

२०७९ पुष  १९ गते १०:०० २०७९ पुष १९ गते १०:००

हृदयघातलाई अज्ञानताको कालो कोठाबाट उज्यालोमा ल्याउने कामको सुरुवात यिनै अध्ययनहरूले गरेका हुन्। सन् १९५० यता अमेरिका जस्ता देशमा हृदय रोगबाट हुने मृत्युको दर दुई-तिहाइले घटेको छ।

खाना र हृदयघातको सम्बन्धबारे कसरी जान्यौं ?

सन् १९४० को दशकको सुरुवाततिर युनिभर्सिटी अफ मिनेसोटाका अनुसन्धाता एन्सेल किइजलाई एउटा अत्यासलाग्दो तथ्यांकले ध्यानाकर्षण गरायो। अमेरिका तथा अरू पश्चिमा देशका मानिस, अझ विशेषगरी धनीमानी व्यवसायी-व्यापारी उच्च दरमा हृदयघातको शिकार भइरहेका थिए। यसको कुनै कारण भने प्रष्ट थिएन। मोटोपन तथा अल्पभोजनका बारेमा महत्वपूर्ण अनुसन्धान गरिरहेका किइजले हृदयघातको कारण बारेमा अध्ययन अनुसन्धान सुरु गर्ने विचार गरे।

त्यतिबेलासम्म हृदयघातका कारण के हुन् भन्ने विषयमा समस्त चिकित्साविज्ञान अनभिज्ञप्रायः नै थियो। हृदयघात एउटा बुढ्यौलीजन्य रोग हो भन्ने सतही बुझाइ थियो। त्यसैले यसको रोकथाम तथा निराकरणका लागि के गर्न सकिन्छ भन्नेमा पनि केही प्रष्टता थिएन। कोलेस्ट्रोलको हृदयघातमा महत्वपूर्ण भूमिका हुनसक्ने भनेर प्रारम्भिक अनुमान हुन थालेका त थिए तर त्यस्तो अनुमानको ठोस वैज्ञानिक प्रमाण भने नगण्यप्रायः थियो।

त्यसैले सन् १९४८ मा किइजले यस विषयमा एउटा अनुसन्धान सुरु गरे। ‘मिनेसोटा बिजनेस ‍एण्ड प्रोफेशनल मेन्स स्टडी’ नाम दिइएको त्यो अनुसन्धान १५ वर्षसम्म चल्यो। सन् १९६३ मा प्रकाशित यो अनुसन्धानको पहिलो चरणको नतिजाले उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप र अधिक वजनको हृदयघातसँग नजिकको सम्बन्ध हुने देखायो।

यस्तै नतिजा अन्य अध्ययनले पनि देखाउन थाले। सन् १९४५ मा राष्ट्रपति फ्र्याङ्क्लिन रुजबेल्टको अनियन्त्रित रक्तचापबाट मृत्यु भएपछि अमेरिकी सरकारले ऐन नै पास गरेर एउटा महत्वाकांक्षी अध्ययन सुरु गराएको थियो। ‘फ्रेमिङह्याम हार्ट स्टडी’ नाम दिइएको उक्त अध्ययनका प्रारम्भिक नतिजाहरूले पनि सन् साठीको दशकको सुरुतिर त्यस्तै तथ्यहरू उजागर गरे।

हो, हृदयघात हुने धेरै व्यक्तिको रगतमा कोलेस्ट्रोलको मात्रा उच्च देखिन्छ। तर यतिकै भरमा उच्च कोलेस्ट्रोलले नै हृदयघात गराउँछ भनेर ढुक्क हुन सकिने किसिमको वैज्ञानिक प्रमाण जुट्दैनथ्यो।

यसैबीच हृदयघात भएका धेरै मान्छेको मुटुका रक्त-नलीहरूमा लेउ लागेजस्तै गरेर कोलेस्ट्रोल जम्मा भएको पाइएको भनेर अध्ययन प्रकाशित हुन थाले। त्यसपछि भने हृदयघातमा उच्च कोलेस्ट्रोलको नकारात्मक भूमिका हुन्छ भन्ने दलिल बलियो हुँदै गयो। पछि यो दलिललाई ‘कोलेस्ट्रोल हाइपोथेसिस’ भनेर नामकरण गरियो।

तर कोलेस्ट्रोल सम्बन्धी यो नयाँ ज्ञानले पनि व्यावहारिक रुपमा हृदयघातका बिरामी तथा संभावित बिरामीलाई खासै फाइदा हुँदैनथ्यो। किनभने रगतमा कोलेस्ट्रोलको मात्रा घटाउँदा हृदयघातको जोखिम घट्छ या घट्दैन भन्ने पनि प्रष्ट थिएन, न त खानामा कोलेस्ट्रोल घटाउँदा (कोलेस्ट्रोल शरीरलाई आवश्यक तत्व हो र कलेजोले आफैं पनि बनाउँछ) रगतमा कोलेस्ट्रोलको मात्रा के हुन्छ भन्ने नै प्रष्ट थियो। यी प्रश्नहरूको उत्तर पनि किइजका अरु अनुसन्धानहरूले दिए।

मेडिटरेनियन समुद्रको सार्डिनिया टापुमा गरिएको एउटा अनुसन्धानमा स्वस्थ पुरुषहरूलाई केही महिनासम्म उस्तै खाना खान दिइयो, तर कोलेस्ट्रोल धेरै पाइने अण्डाको संख्या भने फरक पारियो। अण्डा धेरै या थोरै जति खाए पनि रगतमा कोलेस्ट्रोलको मात्रा भने खासै फरक पाइएन। अन्य अनुसन्धानहरूले पनि त्यस्तै प्रकारका नतिजा दिए। कोलेस्ट्रोल धेरै खाए पनि थोरै खाए पनि रगतमा कोलेस्ट्रोलको मात्रा खासै फरक पाइएन।

तर खानामा कोलेस्ट्रोलको साथ-साथै चिल्लो (फ्याट र कोलेस्ट्रोल उही होइनन्) पनि थप्दा भने रगतमा कोलेस्ट्रोलको मात्रा निकै बढेको पाइयो। त्यसपछिका अनुसन्धानहरूमा खानामा चिल्लो धेरै हुने विभिन्न किसिमका खाद्य पदार्थको कोलेस्ट्रोलसँगको सम्बन्धको बारेमा अध्ययन गरियो। ती अध्ययनबाट धेरैजसो अवस्थामा मासुजन्य (विशेषगरी रातो मासु) चिल्लोले रगतमा कोलेस्ट्रोल बढाउने रहेछ भने कतिपय अवस्थामा वनस्पतिजन्य चिल्लोले त उल्टै कोलेस्ट्रोल घटाउन सहयोग गर्ने रहेछ भन्ने पुष्टि भयो। रातो मासुमा ‘स्याचुरेटेड फ्याट’ धेरै हुनेरहेछ। जैतुनको तेल र ओखर जस्ता वनस्पतिजन्य चिल्लो हुने खाद्यमा ‘अनस्याचुरेटेड फ्याट’ हुनेरहेछ। त्यसपछि ‘स्याचुरेटेड फ्याट’ का कारणले नै रगतमा कोलेस्ट्रोलको मात्रा बढ्ने रहेछ भन्ने बुझाइ गहिरिंदै गयो।

खाना र रगतमा कोलेस्ट्रोलको मात्राको सम्बन्धको बारेमा त यसरी प्रमाण जुट्यो, तर रगतमा कोलेस्ट्रोलको मात्रा घटाउँदा हृदयघात हुने सम्भावना घट्छ या घट्दैन भन्ने विषयमा प्रष्ट हुन भने लामो अध्ययन गर्नु पर्‍यो। त्यो प्रमाण दुई महत्वपूर्ण अध्ययनबाट जुट्यो। अगाडि भनिएको अमेरिकी सरकारकै विशेष पहलकदमीबाट सन् १९४८ मा सुरु भएको ‘फ्रेमिङह्याम हार्ट स्टडी’ र एन्सेल किइजले सन् १९५८ मा सुरु गरेको ‘सेभेन ‍कन्ट्रिज स्टडी’।

बीसौं शताब्दीमा चिकित्साविज्ञानले हृदयरोग र त्यसको उपचारको बारेमा गरेको प्रगति अभूतपूर्व र अकल्पनीय नै छ। यो प्रगति र बुझाइको विकासमा माथि भनिएका यी दुई अध्ययनको सायद सबैभन्दा ठूलो भूमिका छ। सन् १९५० को दशकतिर सुरू भएका यी अध्ययनका सहभागी वा तिनका सन्तानको स्वास्थ्य स्थिति र रहनसहनलाई आजसम्म कुनै न कुनै हिसाबले निगरानीमा राखिएको छ।

‘लङगिच्युडिनल कोहर्ट स्टडी’ किसिमका यी र अन्य यस्तै केही अध्ययनको आधारमा नै हामीले हृदयघातका कारण के हुन् भन्ने पत्ता लगाएका हौं। उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, अधिक वजन, चुरोट सेवन हृदयघातका ‘क्लासिक’ जोखिम-तत्वहरू हुन् भनेर सिकेका हौं। र, यी जोखिमहरूको न्यूनीकरण गर्दा हृदयघात हुने सम्भावना निकै घटाउन सकिन्छ भनेर जानेका हौं।

पचासको दशकतिर नै अनुसन्धाताहरूले हृदयघातको दर देश अनुसार निकै फरक रहेको पाएका थिए। जापान र ग्रीस जस्ता देशमा यो दर निकै कम थियो भने फिनल्याण्डलगायतका देशमा यो दर उच्च थियो। यी देशहरूमा सामान्यतया खाइने खानामा पनि निकै अन्तर रहेको पाइएको थियो। त्यसैले पनि खानाले हृदयघात हुने सम्भावनालाई फरक पार्छ या पार्दैन भन्ने विषयमा अध्ययन जरुरी भएको थियो।

यिनै प्रश्नहरूको उत्तर खोज्न किइजले एकै पटक सातवटा देशमा ‘सेभेन ‍कन्ट्रिज स्टडी’ सुरू गरे। अमेरिका, इटली, ग्रीस, नेदरल्याण्ड्स, जापान, फिनल्याण्ड र तत्कालीन युगोस्लाभियामा गरिएको यो अध्ययनको पहिलो चरणको नतिजा सन् १९६६ मा प्रकाशित गरियो। खानाको बारेमा गरिएको अध्ययनको नतिजा भने सन् १९७० मा प्रकाशित भयो।

एक दशकसम्म सहभागीको स्वास्थ्य स्थिति, खानपान र रहनसहनलाई निगरानीमा राखेर गरिएको अध्ययनले चिल्लो खाना र हृदयघातको बीचमा सम्बन्ध देखाउला भन्ने अड्कल थियो, तर नतिजा भने ठ्याक्कै त्यस्तो आएन। खानामा चिल्लोको अनुपात फरक पर्दा हृदयघात हुने दर खासै फरक परेको पाइएन। तर चिल्लोको प्रकार छुट्याएर हेर्दा ‘स्याचुरेटेड फ्याट’ को अनुपात धेरै हुँदा हृदयघात हुने दर पनि बढेर गएको पाइयो। यो तथ्यपछि ‘स्याचुरेटेड फ्याट’ ले नै हृदयघात गराउँछ भन्ने बुझाइले जरा गाड्दै गयो।

वास्तवमा सेभेन ‍कन्ट्रिज (र फ्रेमिङह्याम) को नतिजाले सम्बन्ध देखाउँदैमा ‘स्याचुरेटेड फ्याट’ ले नै हृदयघात गराउँछ भनेर प्रमाणित गरेको त थिएन, न त किइजले पनि त्यसो भनेका थिए। तर हृदयघात एउटा बुढ्यौलीजन्य रोग हो भन्ने सतही बुझाइबाट यसका कारण तथा जोखिम, हृदयघात र खानाको सम्बन्धको गहिरो बुझाइको सुरुवात भने यिनै अध्ययनहरूबाट भएको हो। त्यही बुझाइको आधारमा हृदयघातको रोकथाम र निराकरणका विधि तर्जुमा गरिएका हुन्।

हृदयघातलाई अज्ञानताको कालो कोठाबाट उज्यालोमा ल्याउने कामको सुरुवात यिनै अध्ययनहरूले गरेका हुन्। सन् १९५० यता अमेरिका जस्ता देशमा हृदय रोगबाट हुने मृत्युको दर दुई-तिहाइले घटेको छ, त्यसमा यी अध्ययनहरूका सिकाइले अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन्।

त्यसपछि गरिएका अनुसन्धानले फ्याट, कोलेस्ट्रोल र हृदय-रोगका बारेमा हाम्रो बुझाइ थप गहिरो बनाउँदै लगेका छन्। आजको बुझाइ अनुसार ‘स्याचुरेटेड फ्याट’ लाई त्यस्तो खराब मानिंदैन, जुन कुनै बेला मानिन्थ्यो। न त कोलेस्ट्रोलको बारेमा हाम्रो बुझाइ पहिलेको जस्तो सीधा र सरल छ। तसर्थ सेभेन कन्ट्रिज र फ्रेमिङह्याम जस्ता अध्ययनबाट सुरुमा सिकेका कुराहरू परिमार्जित र परिष्कृत हुने क्रममै छन्।

क्रमशः

खानपिन खाना हृदयघात
लेखक
डा. किरणराज पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?