+
+

सडक सुधारका लागि उपप्रधामन्त्री श्रेष्ठले गरे काठमाडौं र ललितपुरका मेयरसँग छलफल 

गुणस्तरीय सडक निर्माणका लागि साझा संयन्त्र बनाउने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १७:३०

४ माघ, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यका भित्रका सडक सुधार गर्ने विषयमा काठमाडौं र ललिपुरका मेयरसिहत सरोकार निकायका प्रमुखहरुसँग छलफल गरेका छन् ।

मन्त्री श्रेष्ठले काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) साह, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायत सडक निर्माणसँग सम्बन्धित निकायका प्रमुखहरुसँग बुधबार छलफल गरेका हुन् ।

छलफलका क्रममा मन्त्री श्रेष्ठले मन्त्रालय, स्थानीय निकाय र अन्य आयोजनाहरूले छुट्टाछुट्टै सडक निर्माण गर्दा सडकको गुणात्मक विकास हुन नसक्ने भन्दै साझा संयन्त्र बनाएर अगाडि बढ्ने उद्देश्यका साथ छलफल आयोजना गरिएको जानकारी दिए ।

मन्त्री श्रेष्ठले सबै निकायबीच एउटा साझा संयन्त्र बनाएर आपसी समन्वयमा सडक निर्माण र सुधारको काम हुनुपर्नेमा जोड दिए ।

‘आ-आफ्नो काम गरौं तर समन्वयमा,’ मन्त्री श्रेष्ठले भने, ‘सडकमा खाल्डाखुल्डी छन्, कुन निकायले बनाएको सडक हो थाहा छैन, सडक नबनाएको आरोप भौतिक पूर्वाधार मन्त्रालयलाई आउँछ ।’

काठमाडौं महानगरका मेयर साहले आफूहरु मन्त्रालयसँग समन्वय गरेर काम गर्न तयार रहेको र अवैध घरटहरा हटाउन सरकारको मद्धत चाहिएको बताए ।

ललितपुर महानगर मेयर महर्जनले सार्वजनिक खरिद ऐन ०६३ लाई संशोधन गरेर नीति नै परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याए ।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकाल र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले पनि साझा संयन्त्र, काममा समन्वय र गुणात्मक विकासको उपप्रधानमन्त्री श्रेष्ठको अवधारणालाई आत्मसात गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सडक र समस्याको पहिचान गरेर कामलाई गति दिइने र हरेक महिनाको १५ गतेपछिको शुक्रबार सरोकार निकायबीच अन्तरक्रियात्मक बैठक बस्ने सहमति पनि भएको छ ।

बैठकमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा लगायत सडक निर्माणसँग सम्बन्धित निकायका दुई दर्जन भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

यसअघि नेपाल विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेड र मेलम्ची खानेपानी आयोजना र सडक विभागबीच पनि संयुक्त संयन्त्र बनाएर अगाडि बढ्ने निर्णय भइसकेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?