
५ माघ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारुढ गठबन्धन टुटाउनका लागि राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् ।
सभामुखमा देवराज घिमिरे निर्वाचित भएलगत्तै उनले पत्रकारसँग सरकार बनाउने बेला माओवादीसहितका आफूहरुको गठबन्धन टुटाएकाले अब आफूहरुले पनि सत्ता गठबन्धन टुटाउनका लागि प्रयास गर्नु स्वभाविकै भएको तर्क समेत गरे ।
सांसद भण्डारीले सभामुखलाई मिसन बनाएर सत्तारुढ गठबन्धन टुटाउने गरिएको प्रयास सफल नभएकाले अव राष्ट्रपतिलाई मिसन बनाएर सो कामलाई अघि बढाउने पनि स्पष्ट परे ।
उनले भने, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अव यो गबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि । पहिला हामी माओवादीसहित ४ वटा पार्टी गठबन्धनमा गयौं । सरकार बनाउने बेलामा त्यो गठबन्धन टुट्यो नि । जसको गठबन्धन टुटेको छ । त्यसले अर्को गठबन्धन टुटाउन लागि रहन्छन् नि । त्यो निरन्तर प्रक्रिया हो । ’
सांसद भण्डारीले गठबन्धनलाई टुटाउने काम राजनीतिमा निरन्तर भइरहने पनि बताए ।
उनले भने, ‘यो राजनीतिमा आउने स्वभाविक प्रक्रिया हो । त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि।’
प्रतिक्रिया 4