
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन्।
- सांसद भण्डारीले शिक्षकहरूको सरुवामा खाली ठाउँमा सरुवा हुन पाइने कुरा स्पष्ट लेखिनुपर्ने धारणा राखेका छन्।
- उनीहरूले प्राध्यापकहरूलाई नयाँ संघसंगठन खोल्न नदिइने वा पेशागत संघसंस्थामा मात्र आवद्ध हुन दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।
५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद भण्डारीले पाठ्यक्रममा प्रविधिलाई अद्यावधिक गर्नु अपरिहार्य भइसकेको बताएका हुन् ।
‘हामीले पाठ्यक्रममा अहिले जसरी भएपनि नयाँ प्रविधिको विकास भएको कुरा महसुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्वन गर्नेकुरा राख्नुपर्छ,’ उनले भने ।
अहिले भएको सरुवाको दफामा शिक्षकहरूले आपत्ति जनाएको भन्दै खाली ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने धारणा राखे ।
‘शिक्षकहरूले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला, गाउँमा एक पटक अवसर दिइयोस्, हामी खाली भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ’ उनले भने, ‘यस्तो कुरा बुझिने गरी राखौँ । यसबाट अब म कहिले पनि सरुवा हुन पाइनँ भन्ने मान्छेलाई फाइदा गर्दछ ।’
सांसद भण्डारीले प्राध्यापकहरूलाई कुनै नयाँ संघसंगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने धारणा राखे ।
‘प्राध्यापकहरूलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरूले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ’ उनले भने, ‘कि त संघसंस्थामा आबद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ ।’
समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।
प्रतिक्रिया 4