
८ माघ, काठमाडौं । इटालियन महारथी क्लब युभेन्टसले आर्थिक पक्षमा गडबढी गरेपछि जारी लिगमा ठूलो कारबाहीको भागिदार भएको छ ।
खेलाडी ट्रान्सफर कारोबारको सही आँकडा सार्वजनिक नगरेको भन्दै इटली फुटबल महासंघले उसलाई जारी सिरी ए मा १५ अंक घटाउने कारबाही गरेको छ । क्लबका केहि पदाधिकारीलाई प्रतिबन्धसमेत लगाइएको छ ।
पदाधिकारीहरुलाई उनीहरुको गल्तीका आधारमा ६ महिनादेखि २ वर्षसम्मको प्रतिवन्ध लगाइएको हो ।
खेलाडी ट्रान्सफर लगायत अन्य हिसाबकिताबसमेतको प्रतिवेदनमा प्रक्रिया नपुर्याएको आरोप युभेन्टसलाई लागेको हो । विशेषगरी कोभिडको समय र क्लबले क्रिस्टियानो रोनाल्डो, आर्थर, डी लिग्ट लगायतका अनुबन्धनमा पारदर्शी नभएको आरोप प्रमाणित भएको छ ।
युभेन्टसमाथि दुईपल्ट छानबिन गरेपछि गल्ती प्रमाणित भएको महासंघले जनाएको छ । यस प्रकरणमा क्लबले पनि अध्यक्ष आन्द्रे एग्लेनीसहित ११ जनालाई ८ महिनादेखि ३० महिनासम्मको प्रतिबन्ध लगाएको छ ।
महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफैं स्रोत जम्मा गरेको थियो । क्लबले भने महासंघको आरोपमाथि असहमति जनाउँदै अन्य निकायमा अपील गर्ने तयारी गरिरहेको छ । क्लब अहिले इटालियन राष्ट्रिय ओलम्पिक कमिटीमा जाने तयारी गरिरहेको छ ।
हाललाई यो प्रतिबन्ध इटालीको फुटबलमा मात्र लागू छ । तर महासंघले युईएफएए र फिफालाई पनि प्रतिबन्धको दायरा बढाउन अनुरोध गरेको छ । एग्नेलीको नेतृत्वमा युभेन्टसले लगातार ९ वर्ष लिग जितेको थियो । तर, गत वर्ष भने क्लबले इटाली फुटबलमा सर्वाधिक घाटा बेहोर्नुपरेको थियो ।
१८ खेलमा ३७ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको युभेन्टस १५ अंक घट्दा दशौं स्थानमा झरेको छ । क्लब अब च्याम्पियन्स लिगमा छनोट नहुने सम्भावना बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4