९ माघ, काठमाडौं । टिकटकको उदय नहुँदो हो त उदयपुर बेलकाका बहार चाम्लिङ राई गाउँटोलमै चर्चित भइरहेका हुन्थे । सामाजिक सञ्जालको समयमा हुर्किंदै गरेका उनी यतिबेला ‘भाइरल’ छन् । कुनै बालगीत, नृत्य वा बालसुलभ सिकाइका कारण होइन, ‘ससुराली, साली, ह्विस्की, बियर’ जस्ता शब्द बोल्न लगाएर उनलाई सेलेब्रिटी बनाउन खोजिएको छ ।
सम्भवतः कुनै पढे–लेखेको वयस्कले सिकाएको प्यारोडी गीत ‘ससुराली जाने हो…’ बहारको मुखबाट निस्कियो । यसको रेकर्ड भर्सनलाई भारत नागाल्यान्डका शिक्षामन्त्री तेन्जिङ इम्ना एलोङले रमाइलो मान्दै हल्काफुल्का ट्वीट गर्न पुगे ।
शिक्षामन्त्री तेन्जिङ भारतीय जनता पार्टीको नागाल्यान्ड प्रदेशका अध्यक्ष समेत हुन् । उनले बहार राईले आफ्नो स्कुलको कक्षामा खिचिएको भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘बस् इत्ना कन्फिडेन्स चाहिए !’ नागाल्यान्डका शिक्षामन्त्रीकै ताल यस्तो छ ।
भारतको एउटा उल्लेखनीय ट्वीटर ह्यान्डल सम्पादकजी अर्थात्, ‘एडिटरजी’ ले त नागाल्यान्डका एक बालकले इन्टरनेटमा सबैको मन जितिरहेको भन्दै तिनै पूर्वी नेपालका बालकको भिडियो पोस्ट गरेका छन् । भिडियोमा कस्तो शब्द परेको छ, सम्भवतः उनलाई थाहा छैन ।
यो रिपोर्ट तयार पार्दै गर्दा उक्त भिडियो ती मन्त्रीको ह्यान्डलबाट मात्रै साढे पाँच लाखपल्ट हेरिसकिएको छ ।
धरानका मेयर हर्क साम्पाङसँग तिनै बहारले अघिल्लो साता टुक्का भनेका थिए, ‘चुरोट होइन प्रिय, मलाई खैनी मन पर्छ । तिमी होइन प्रिय, मलाई तिम्रो बैनी मन पर्छ ।’
मेयर हर्क साम्पाङ खित्का छाडेर हाँसेको भिडियो सामाजिक सञ्जालमा व्याप्त छ । नेपालका मेयरहरूको शैली हेर्दा उनीहरूलाई पनि प्रश्न सोधेर ‘जोखिम’ लिने कुरै भएन । तर यसले हाम्रो समाजको समग्र मनोविज्ञानलाई भने राम्रैसँग उजागर गर्छ ।
युट्युब जमानाका अन्तर्वार्ताकारहरूलाई बहारको बाइट लिन तँछाडमछाड छ । उनको नियमित शैक्षिक समयतालिका नै प्रभावित हुने गरी अत्यधिक कभरेज बढेका छन् ।
मानसिक स्वास्थ्यविद्हरूका अनुसार यति सानो बालकलाई मनलाग्दी तुक्का भन्न लगाउनु, अनि त्यसलाई भाइरल गराउनु गम्भीर समस्या हो । उनीहरूले युट्युबका संचालकहरूलाई त्यस्ता गीत गाउन लगाएर मनोरञ्जन नलिन आग्रह पनि गरेका छन् ।
‘उनीहरू यो उमेरमा सही–गलत छुट्याउन नसक्ने, पढ्नमा ध्यान नजाने, दुःख, सामाजिक जीवनको वास्तविकता नै नबुझ्ने अवस्थाका हुन्छन्’ मनोविद् नन्दिता शर्मा भन्छिन्, ‘टिकटकमा चर्चा आउने र सबैमाझ लोकप्रिय हुने लोभले अभिभावकले नै उनीहरूको आफैं भिडियो बनाउने र बनाउनको लागि पनि प्रोत्साहित गरिरहँदा उनीहरू खुलेर बाल्यकाल जिउन पाउँदैनन् ।’
बहार पहिलो बालक होइनन्, जसलाई यस्तो मानसिक लफडामा फसाइएको छ । कसैलाई जुँगा लगाएर, कसैलाई वयस्कहरुकै जस्तो बानीबेहोरा देखाउन लगाएर अस्वभाविक तरिकाले बाँच्न सिकाउँदैछन् अभिभावकहरु ।
केही महिना अघि टिकटकमा भाइरल भएकी अर्की बालिका हुन्, एभेलिना खड्का । उनी टिकटकमा अपलोड भएको भिडियोमा बलिउड गीत ‘सामी–सामी’ मा मस्त नाचिरहेकी थिइन्, आफ्नै स्कुलको प्रांगणमा ।
बालिकाको नृत्य पक्कै राम्रो थियो । उनको ‘डान्सिङ स्टेप’ हेरेर फ्यान हुनेहरू टन्नै देखिए पनि । हुँदाहुँदा ब्लकबस्टर फिल्म ‘पुष्पा’ की अभिनेत्री रश्मिका मन्डना नै उनको तारिफमा ओर्लिइन् । ‘म यी बच्चीलाई भेट्न चाहन्छु’, उनले ट्वीट गरेकी थिइन् । एभेलिनाको डान्समा उत्रो आपत्तिजनक केही थिएन, तर स्कुलभित्र उक्त भिडियो खिचिनु भने सहजै पाच्य देखिँदैन ।
साइलिन श्रेष्ठ यस्तै अर्की भाइरल बालिका हुन् । उनका पिताले सुरु–सुरुमा उनको तोतेबोलीको मात्रै भिडियो राख्ने गर्थे । मान्छेको ध्यान ती भिडियोमा तानिंदैछ भन्ने बुझेपछि उनले छोरीलाई विभिन्न अभिनय गर्न लगाउन थाले । लकडाउनताका उनको क्रेज सबैभन्दा बढी देखिन्थ्यो । उनी देश–विदेशमा भएका सबै नेपालीको प्रिय बन्न थालिन् । हिजोआज उनको पोस्ट आउन छाडेको छ ।
भारतमा अभिनेत्री आलिया भट्टको अभिनय रहेको गङ्गुबाई प्रदर्शन भएपछि उनको तारिफको वाहवाही सर्वत्र भएको थियो । कोठीमा बेचिएकी नारीको रूपमा प्रस्तुत उनको प्रस्तुति वास्तवमै दमदार पनि थियो । यही क्रममा उनको सोही अभिनयको एक टुक्राको हुबहु नक्कल गर्दै एक बालिका चर्चामा आइन् ।
उनको अभिनयले पनि उत्तिकै चर्चा पायो, जति आलियाले पाइन् । उनलाई जुनियर आलियाको संज्ञा पनि दिइएको थियो । कमैले मात्र ती बालिकालाई त्यस्ता अभिनय नगराउन अभिभावकलाई सल्लाह दिएका थिए ।
माथि उल्लिखित बालबालिकाको उमेर १० वर्षभन्दा तल छ । अनलाइनखबरले ट्वीटर, फेसबुक र टिकटकमा यस्ता थुप्रै बालबालिका भेट्यो । यीमध्ये बहार आफ्नो कक्षाकोठामा र एभेलिन खड्का आफ्नो विद्यालयको प्रांगणमा आफ्नो प्रस्तुति देखाएकै कारण भाइरल हुन पुगे । तिनको प्रतिभामा किञ्चित शंका छैन, तर कक्षाकोठा र प्रांगणभित्र जुन शब्द र शैलीमा उनीहरूलाई प्रस्तुत हुन लगाइएको छ, यसले भने हाम्रो समाजमा बढ्दै गएको तत्क्षण प्रसिद्धिको लोभलाई प्रतिविम्बित गर्छ ।
खासमा यो ती बालबालिकाको मात्रै नभएर सम्बन्धित स्कुल, शिक्षक र अभिभावकसँग जोडिएको प्रश्न हो । तर के उनीहरूलाई यसबारे हेक्का होला ?
मदन भण्डारी मेमोरियल कलेजकी शिक्षिका निरुजा फुयाल भन्छिन्, ‘बालबालिकाको कला र क्षमता प्रस्फुटन गराउने र तिनलाई शैक्षिक विकाससँग जोड्ने उपाय छन् । त्यसलाई बिर्सेर जथाभावी भिडियो खिच्नु, सोसल मिडियामा पठाउनु गलत हो ।’
त्यसमाथि टिकटकले सिर्जनशीलता निखार्ने भन्दा पनि अरूले सिर्जेको सामग्रीमा अभिनय गराएर आफूलाई स्थापित गराउने गर्छ । फुयालका अनुसार ज्ञानको गहिराइसम्म पुर्याउनु साटो तत्क्षणको रमाइलोमा बानी पार्दै लैजान्छ । ‘हेर्दा यो रोचक देखिए पनि दीर्घकालीन असर हुन्छ’, उनले भनिन् ।
सामाजिक सञ्जालमा एउटा बच्चाले पाउने चर्चाले गर्दा अन्य बालबालिका चाहेर वा नचाहेर त्यस्तै लहडमा लाग्न बाध्य हुनसक्ने फुयाल बताउँछिन् ।
‘पहिला फलानोको जस्तो पढ्नुपर्छ भन्ने बुवाआमा अहिले फलानो भाइरल भइसक्यो तिमीहरूमा कुनै प्रतिभा छैन भन्दै अभिभावकले नै तुलना गर्ने गरिरहेका छन्’ उनी भन्छिन्, ‘यसले अर्को बालकलाई पनि दबाव पर्न जानेसम्मको अवस्था सिर्जना भएको देखिन्छ ।’
पछिल्लो दशकमा इन्स्टाग्राम, स्न्यापच्याट, फेसबुक, ट्वीटर तथा टिकटक जस्ता सामाजिक सञ्जालका प्लाटफर्महरू लोकप्रिय भएको देखिन्छ । सामान्य व्यक्ति पनि सहजै र छिटो चिनिने माध्यम बनेको छ, टिकटक । यो यस्तो सहज प्लाटफर्म बनेको छ कि एउटा भिडियो हाल्यो भने क्षणभरमै भाइरल हुनसक्छ । पछिल्लो समय नाचेर होस् या अभिनय गरेर अधिकांश बालबालिका पनि टिकटकमा बढी प्रयोग भएको देख्न सकिन्छ ।
उनीहरू स्वेच्छाले भन्दा पनि बढी आफ्नो अभिभावकको झुकावकै कारण बढी टिकटकमा छाइरहेको देख्न सकिन्छ ।
बालबालिकाको मनोविज्ञानमा असर पर्ने भएकै कारण टिकटकले १३ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले टिकटकमा खाता खोल्न बन्देज लगाएको छ । धेरैजसो अभिभावकलाई यो वैधानिक बन्देजबारे कुनै हेक्का भएको देखिंदैन । चर्चित हुने होडमा बालबालिका पढाइ–सिकाइको बेलामा पनि भाइरल भिडियोकै गफ गरेर बसिरहेको समेत देख्न सकिन्छ ।
उमेरले बन्देज गर्ने भएकाले बालबालिकाकै नाममा सोसल मिडिया एकाउन्ट खोल्दा जन्म साल र अरू व्यक्तिगत विवरण झूटो पेश गरी अफिसियल अकाउन्ट बनाउने प्रचलन बढेको देखिन्छ । कतिपयले आफ्नै एकाउन्टलाई आफ्ना बालबालिकाको भिडियो सेयर गर्ने माध्यम बनाएका छन् ।
टिकटक जस्ता माध्यमबाट बालबालिकालाई प्रयोग गर्ने कार्यमा सरकारले ठोस भूमिका खेल्न आवश्यक रहेको अधिवक्ता स्वागत नेपाल बताउँछन् । विद्युतीय कारोबार ऐनले बालबालिकालाई असर गर्ने सामग्री राख्न प्रतिबन्ध लगाए पनि सरकारले यसको अनुगमन गर्न कुनै संयन्त्र नअपनाएको उनको तर्क छ ।
‘बालबालिकालाई टिकटकमा खाता खोल्न कानुनले प्रतिबन्ध लगाएको भए पनि उनीहरू त्यसमा सक्रिय देखिन्छन्’ नेपाल भन्छन्, ‘उनीहरूको क्षमता छ भने प्रस्तुत गर्नु कुनै गलत काम होइन, तर पैसा कमाउन र भाइरल हुनकै लागि प्रयोग गर्नेदेखि बालमनोविज्ञानमै असर पर्ने खालका विषयवस्तु पस्काउन लगाइएको देखिन्छ । यसबारे सरकारले नियमन गर्न सक्छ, गर्नै पर्छ ।’
बालबालिकालाई प्रयोग गरेर नाम र पैसा कमाउने सोचले लाग्नु भनेको अन्जानमा आफ्नै बालबालिकामाथि शोषण गर्नु रहेको उनको भनाइ छ । उनीहरूलाई सामाजिक सञ्जालमा सहभागी गराउनुअघि यसले निम्त्याउने असरको बारेमा पनि सोचिदिन उनको आग्रह छ ।
बच्चाहरूलाई बाल्यकाल जिउन नदिने गल्ती
काँचो माटोसँग दाँजिन्छ बच्चाहरूलाई । परिवार, स्कुल र समाजले उनीहरूलाई जस्तो बनाउन चाह्यो, त्यस्तै बन्न सक्छन् । उनीहरूको शारीरिकसँगै मानसिक विकासक्रम पनि यही समयमा हुने भएकाले जुनसुकै कुरा छिट्टै टिपिहाल्छन् । सोही अनुसार प्रस्तुति दिन्छन् ।
तसर्थ, यस्तो समयमा आफ्ना बालबालिकालाई अन्य रचनात्मक कार्य गराउनु साटो सस्तो लोकप्रियताको लोभमा टिकटकतिर झुलाउँदा उनीहरूका अन्य रुचि तथा प्रतिभा छायाँमा पर्ने गरेको मनोविद् नन्दिता शर्मा बताउँछिन् ।
अभिभावकले नै आफ्ना सन्तानलाई बाल्यकाल जीवनको महत्व बुझ्ने समयमा वयस्क बनाउन हतारिएको मनोविद् शर्माको तर्क छ ।
‘बालबालिकालाई विकासको लागि मानसिक तथा शारीरिक रूपले विस्तारै विकास हुनु जरूरी छ । यसबाट नै उनीहरूको भविष्य तय हुन्छ । तर, सानै उमेरमा महत्व दिएर सामाजिक सञ्जाल चलाउन प्रोत्साहन गर्दा भविष्य नै डामाडोल बन्न सक्छ ।’
हुन पनि माथि उल्लेखित बालबालिका बालगीत वा अभिनयबाट नभई वयस्कका लागि बनेका मनोरञ्जनको माध्यमका कारण भाइरल भएको देखिन्छ । यसरी बालबालिकालाई प्रयोग गरेर अभिभावकले क्षणिक आनन्द लिइरहेको शर्मा बताउँछिन् ।
त्यस्तै, पछिल्लो समय सामाजिक सञ्जालमा चर्चित बालगायिका कमला घिमिरेले इन्द्रेणीमा लोकदोहोरी गाइन् । उनलाई फोहोरी शब्द र संकेत राखेर एक लोकगायिकाको मानमर्दन गर्न लगाएको भन्दै चर्को आलोचना भएको थियो ।
उमेर भन्दा भारी शब्द भएको सो गीतको स्क्रिप्ट अरू कसैले लेखेको हुनसक्ने धेरैको अनुमान छ । सानै उमेरमा चर्चा कमाएकी घिमिरे यसैकारण चरम विवादमा फस्न पुगिन् । आफ्नो निर्णयबाट नभएको गल्तीका लागि उनले फेसबुकमा स्टाटस लेखेर माफी नै माग्नुपरेको थियो ।
यही प्रसंगमा टिप्पणी गर्दै शर्मा भन्छिन्, ‘अभिभावकहरूले बालबालिकालाई लोकदोहोरी जस्ता कार्यक्रममा पठाएर वयस्कले बुझ्ने छेडखानीहरूको सिकार बनाउनु नै गलत हो ।’
परिपक्व भइसकेका स्टारको जस्तो स्टारडमसँग स्वतः जोडिएर आउने बोझ बाल कलाकारले खेप्न नसक्ने हुन्छन् । कला देखाएर सामाजिक सञ्जालमार्फत सानै उमेरमा चुलिएका बालबालिका कति खेर स्टारडमको भोकमा तल्लीन हुन पुग्छन् उनीहरूलाई थाहा नै नहुने मनोविद् शर्मा बताउँछिन् ।
‘सुरु–सुरुमा उनीहरूको प्रतिभामा वाहवाही गर्नेको कमी हुँदैन । त्यही नै संसार हो जस्तो लाग्छ । जब उनीहरूको लोकप्रियता हराउँदै जान्छ जब आलोचना आउन सुरु हुन्छ वा उनीहरूको क्रेज धमिलो हुँदै जान्छ उनीहरू वास्तविकता पचाउन नसक्ने हुन्छन्’, उनले भनिन् ।
एक्लो हुने, वास्तविकता बुझ्दा उनीहरू मनोरोगी बन्ने, एन्जाइटी हुने, सहन नसक्ने जस्ता जोखिम हुनसक्ने उनी बताउँछिन् । थुप्रै एशियाली कलाकारले वास्तविकता सहन नसकेर आत्महत्याको बाटो रोजेका घटनाहरू देख्दै र सुन्दै पनि आएका छौं ।
यस्तो अवस्था आउन नदिन कच्चा उमेरका बालबालिकालाई जीवनमा सफलता र असफलता, सुख र दुःख, समाजको राम्रो र नराम्रो पक्ष अवगत गराउँदै उनीहरूलाई हुर्काउनु हरेक अभिभावकको जिम्मेवारी रहेको मनोविद् शर्मा सुझाउँछिन् ।
समाजशास्त्री निर्मला ढकाल भाइरल हुने बहानामा सामाजिक सञ्जालमा बालबालिकालाई प्रयोग गर्न बन्द गर्नुपर्ने बताउँछिन् । ‘वयस्कको जस्तो बोल्न र हाउभाउ त्यस्तै बनाउन लगाउने, अपाच्य भाषा, द्विअर्थी टुक्का, दोहोरी गाउन लगाइएको देखिन्छ । हेर्दा पक्कै पनि सानो उमेरले गरेको त्यस्ता अभिनय र गीत राम्रो लाग्छ । सबैको ध्यान पनि खिच्छ’ उनी भन्छिन्, ‘त्यो हेरेर आफैं मनोरञ्जन लिने र उनीहरूलाई त्यही नै संसार जस्तो गराउँदा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बालबालिकाको अधिकार हनन भइरहेको हुन्छ ।’
क्षणिक नाम कमाउनका लागि बालबालिकालाई जे पनि गराउने प्रवृत्तिले बालबालिकाको नियमित सिकाइ र मानसिक विकासमा बाधा पुर्याउने भएको कारण अभिभावकले सचेतता अपनाउनुपर्ने देखिन्छ । साथै स्कुलमा पढाउने शिक्षकहरूमा पनि चेतनाको विकास गर्नु जरूरी रहेको उनको भनाइ छ ।
पडकास्ट पनि सुन्नुहोस्
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4