+

दाम्पत्य सुख : किन महिला यौनमा अग्रसर हुँदैनन् ?

२०७९ माघ  १५ गते १५:१८ २०७९ माघ १५ गते १५:१८
दाम्पत्य सुख : किन महिला यौनमा अग्रसर हुँदैनन् ?

काठमाडौं । अक्सर महिला यौन सम्बन्धका लागि अग्रसर हुँदैनन् । कतिपय अवस्थामा आफ्ना पति एवं पार्टनरलाई सन्तुष्ट र खुसी तुल्याउन मात्र उनीहरू यौन सम्बन्ध राख्छन् ।

यौन सम्बन्धका बेला पनि पुरुष जति सक्रिय हुन्छन्, महिलाहरू त्यति हुँदैनन् । धेरैजसो महिला निष्क्रिय जस्तै हुने गर्छन् । के कारणले उनीहरूमा यौन चाहना कम भएको हो ? यसै विषयमा केन्द्रित रहेर मनोविद् करुणा कुँवरसँग गरिएको कुराकानी :

पुरुषको मुड चल्नासाथ आफू पनि यौनमा सरिक हुनका लागि महिलाहरू शारीरिक, मानसिक रूपमा तयार हुन्छन् ?

प्रायः यौनका लागि पुरुष नै अग्रसर हुन्छन् । जब पुरुषलाई यौनको रुचि जाग्छ तब महिला पनि तयार भइरहेका हुन्छन् । धेरै अवस्थामा पुरुषको मुड चल्नासाथ आफू पनि यौनमा सरिक हुन महिला शारीरिक, मानसिक रूपमा तयार भएका नभएकी पनि हुन सक्छिन् ।

प्राकृतिक रूपमा पुरुषहरू हरेक दिन यौनका लागि तयार हुन्छन् । तर महिलामा यौन रुचि कहिले बढी त कहिले कम पनि हुन्छ । ‘फर्टिलाइजेसन’को समयमा महिलामा यौन चाहना  बढी हुन्छ भने अन्य समस्या कम हुन्छ । त्यसैले पुरुषको मुड चल्नासाथ महिला पनि तयार हुनुपर्छ भन्ने छैन ।

पुरुषलाई रुचि जाग्नासाथ महिलाले तयार हुनुपर्छ, यसबाट महिलाले पनि यौन सुख प्राप्त गर्छन् ?

पुरुषमा रुचि जाग्नासाथ महिला तयार हुँदा महिलाले यौन सुख प्राप्त नगर्न सक्छन् । किनकि यौन सुख प्राप्त गर्न महिला पनि तयार हुनु जरुरी छ । महिला यौनका लागि तयार छैनन् भने शारीरिक तथा मानसिक रूपमा पनि तयार हुँदैनन् जसले गर्दा यौन सुख भन्दा पनि पीडादायी हुन्छ । महिलामा पनि चाहना भए मात्र उनले यौन सुख प्राप्त गर्न सक्छिन् ।

करुणा कुँवर । फाइल तस्वीर

महिलाले यौनमा तुरुन्तै सहभागी हुनुपर्दा कुनै पीडा हुन्छ कि ?

मानसिक र शारीरिक रूपमा तयार नभई यौन क्रियामा सामेल हुँदा योनी सुख्खा हुन्छ र पीडादायी हुन्छ । साथै पुरुषले जबरजस्ती गर्दा यौन सम्बन्ध राख्न खोज्दा पनि उनलाई पीडाको महसुस हुन्छ ।

यसरी श्रीमानमा यौन रुचि जाग्नासाथ उनीहरूले आफूलाई मानसिक रूपमा कसरी तयार गर्छन् ?

कस्तो व्यक्तिसँगको सम्बन्ध हो कति लामो सम्बन्ध हो यस्ता कुराले पनि महिलामा रुचि जगाउन सक्छ । महिला तयार छैन तर पुरुष तयार भएर उसले यौनको माहोल बनाएको छ र पार्टनरलाई हेरविचार गरेको छ, माया र सम्मान दिएको छ भने महिला पनि छिट्टै मानसिक रूपमा तयार हुन सक्छिन् ।

श्रीमानको मुड अनुसार यौनमा सहभागी हुनुपर्ने हुन्छ, यस्तोमा महिलालाई पनि समान रूपमा यौन रुचि जाग्न सक्छ ?

सम्बन्धको लागि श्रीमान् तयार छ तर श्रीमती तयार छैन भने सम्बन्ध नै हुँदैन भन्ने हुँदैन । यौन सम्बन्ध मात्र होइन, अन्य बेलाको सम्बन्ध पनि सुमधुर छ भने महिलामा पनि समान रूपमा रुचि जाग्न सक्छ ।

किन महिला यौनमा आफू चाहिं अग्रसर हुँदैनन् ?

सामाजिक र सांस्कृतिक रूपमा हाम्रो समाजका महिलालाई यौनको कुरा गर्न हुँदैन भनेर सानै उमेरदेखि सिकाइन्छ  । महिलाले यौनको बारेमा चर्चा गर्दा चरित्रमाथि नै प्रश्न उठाउने पारिवारिक, सामाजिक प्रवृत्तिले यौनमा अग्रसर हुँदैनन् ।

प्राकृतिक रूपमा पनि फर्टिलाइजेसनको समयमा भन्दा अरू बेला महिलामा यौन चाहना कम हुन्छ जसले गर्दा पनि उनीहरू यौनमा पुरुष जति अग्रसर हुँदैनन् । तर पछिल्लो समयको शिक्षा र समाजको विकासले गर्दा यौनको बारेमा महिलाहरू पनि खुल्न थालेका छन् ।

श्रीमान् तयार नभएसम्म उनीहरूमा यौन रुचि नै जाग्दैन ?

श्रीमान् तयार नभएसम्म महिलामा यौन रुचि नै नहुने होइन । महिलाले पुरुषले जसरी आफ्नो चाहना खुलेर राख्न सक्दैनन् । उनले आफ्नो चाहना बतायो भने पनि श्रीमानले केही नराम्रो पो सोच्ने हो कि भन्ने डरले पनि आफ्नो रुचि बताउँदैनन् ।

महिलालाई अन्य कुन कुन अवस्थामा यौन सम्बन्ध पीडादायी हुन्छ ?

घर र कार्यालयको काम दुवै सम्हाल्दा महिलाको दैनिकी बोझिलो बन्छ । यसले उनीहरूमा शारीरिक तथा मानसिक थकान हुने गर्छ, फलतः यौनमा सक्रिय हुन जाँगर चल्दैन र सम्बन्ध पीडादायी हुन सक्छ ।

महिलामा यौन चाहना नहुँदा योनी सुख्खा हुन्छ, जसले गर्दा पनि यौन सम्बन्ध पीडादायी हुन सक्छ । पाठेघरको संक्रमण, यौन वा पिसाबसम्बन्धी संक्रमण तथा अन्य स्वास्थ्य समस्याले समेत महिलालाई यौनमा अरुचि जगाउँछ तथा पीडादायी पनि हुन्छ ।

दाम्पत्य सुख यौन
करुणा कुँवर
लेखक
करुणा कुँवर
मनोविज्ञ

क्रिटिलक इन्सिडेन्ट स्ट्रेस म्यानेजमेन्ट सेक्सन (सीआईएसएमएस) संयुक्त राष्ट्रसंघबाट प्रमाणित तनाव परामर्शदाता युनाइटेड नेसन असिस्टेन्स मिसन इन अफगानिस्तानमा स्टाफ काउन्सिलरका रुपमा आबद्ध

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय