+
+

लागतसँगै निरन्तर बढ्दै कर्जाको ब्याजदर, कहाँ पाइन्छ सस्तो कर्जा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते २०:१७

१५ माघ, काठमाडौं । बैंकहरुको दाबी छ, कर्जाको ब्याजदर कोभिड-१९ महामारीअघिको भन्दा १ प्रतिशतले मात्रै माथि भएपनि हल्लाखल्ला बढी भयो ।’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मंगलबार संघले नै गरेको अन्तरक्रियामा अमेरिका जस्तो अर्थतन्त्रमा २/३ प्रतिशत ब्याजदरमा लिएको कर्जाको ब्याजदर ८ प्रतिशतसम्म पुगेको र दोस्रो त्रैमासमा बेसरेटमा भएको वृद्धिको आधारमा कर्जाको ब्याजदर बढ्दा पनि १३ प्रतिशतको हाराहारीमा पुग्ने भन्दै नेपालमा ब्याजदरका सबालमा धेरै हल्ला भएको बताएका थिए ।

तर, तथ्यांक उनले दाबी गरेजस्तै भने हैन । पछिल्लो एक वर्षको तथ्यांक हेर्ने हो भने कर्जाको ब्याजदर औसतमा ३ प्रतिशत विन्दु भन्दा बढीले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास (पुस मसान्तमा) ९.४४ प्रतिशत रहेको कर्जाको भारित औसत ब्याजदर करिब १३ प्रतिशतको नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार २०७९ मंसिर मसान्तमा कर्जाको भारित औसत ब्याजदर १२.७४ प्रतिशत पुगेको छ । पुसमा अझै कर्जाको भारित औसत ब्याजदर थप बढ्न सक्छ ।

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दर (बेस रेट) सँग आवद्धता गराएको छ । बैकहरुले निक्षेपमा दिने ब्याजको औसत लागतमा अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात र बैंकहरुको सञ्चालन लागत जोडेपछि आधार दर निर्धारण हुने गर्छ । निक्षेपको लागतमा हुने घटबढअनुसार आधार दर पनि तलमाथि हुने गर्छ ।

नेपाल राष्ट्र बैंकले कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरेको छ । कर्जाको बढाउँदा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र पुर्‍याउन सकिने छ । यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिन्छ ।

हरेक त्रैमासमा बैंकहरको औसत बेसरेटमा हुने घटबढअनुसार कर्जाको ब्याजदर पनि घटबढ हुने गर्छ । नेपाल बैंकर्स संघले १ माघदेखि निक्षेपको ब्याजदर घटाउन निर्णय गरेपनि दोस्रो त्रैमासको बेस रेटमा भएको औसत वृद्धिको आधारमा तेस्रो त्रैमासकमा कर्जाको ब्याजदर वृद्धि हुन जान्छ ।

मंगलबार बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा बैंकर्स संघका अधयक्ष सुनिल केसीले दोस्रो त्रैमासमा बैंकहरुको औसत बेसरेटमा भएको वृद्धिको आधारमा तेस्रो त्रैमासमा कर्जाको व्याजदर वृद्धि हुँदा कर्जाको भारित औसत ब्याजदर १३ प्रतिशत भन्दा माथि पुग्नेसक्ने बताएका थिए ।

असोजमा १०.३४ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत बेसरेट पुसमा १०.७१ प्रतिशत पुगेको नेपाल बैकर्स संघको तथ्यांक छ । कुल निक्षेपमा महँगो लागत भएको मुद्दती निक्षेपका अंश बढ्दै जाँदा पनि असोजयता निक्षेपको ब्याजदर नबढेपनि कोषको लागत सँगै बैंकहरुको बेस रेट पनि बढेको हो । असोज मसान्तमा ८.१६ प्रतिशत रहेको निक्षेपको औसत ब्याजदर पुसमा आउँदा ८.५६ प्रतिशत पुगेको बैंकर्स संघको तथ्यांकले देखाउँछ ।

यसरी निक्षेपको लागतसँगै पुससम्म भएको आधार दरको वृद्धिले १ माघबाट बैंकहरुले निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदर तत्काल नघट्ने अवस्था छ ।

तर, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बैंकहरुको औसत स्प्रेड ४.४ प्रतिशतबाट ४ प्रतिशतमा झार्ने निर्णय गर्‍यो । जसअनुसार बैंकहरुले आगामी चैत मसान्तभित्र औसत बेसरेट ४.२ प्रतिशत हुँदै असार मसान्तमा ४ प्रतिशत कायम गर्नुपर्ने हुन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंसिर मसान्तमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको भारित औसत ब्याजदर बीचको अन्तर ४.२८ प्रतिशत छ ।

माघबाट बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् । निक्षेपको ब्याजदर घटेसँगै हाल बैंकहरुले लिएको मुद्दती निक्षेपको ब्याजदर तत्काल नघटेपनि बचत र कल निक्षेपको ब्याजदर तत्काल घट्न जान्छ । कुल निक्षेपमा करिब ३० प्रतिशत हिस्सा रहेको निक्षेपको लागत घट्ने र स्प्रेड रेट पनि घटाउनुपर्ने भएकोले बैंकहरुले विस्तारै कर्जाको ब्याजदर पनि घटाउनुपर्ने बाध्यता छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउन त्रैमासिक रुपमा बेसरेट बढ्नुपर्ने व्यवस्था गरेको भएपनि घटाउन सक्ने व्यवस्था गरेको छ । त्रैमासिक औसत आधार दरमा वृद्धि हुँदा ब्याजदर वृद्धि नगर्न, ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न तथा जुनसुकै समयमा पनि ब्याजदर घटाउन कुनै वाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ । बेस रेटका आधारमा नै कर्जाको ब्याजदर निर्धारण हुने भएकोले जुन बैंकको कम बेसरेट हुन्छ, सोही बैंकमा कम ब्याजदरमा कर्जा पाइन्छ ।

सिद्धान्ततः कर्जाको जोखिम र राष्ट्र बैंकले तोकेको जोखिम भारको आधारमा बैंकहरुले कर्जाको प्रिमियम लगाउनुपर्ने हुन्छ । तर, बैंकहरुले कतिपय अवस्थामा जोखिमभन्दा पनि पहुँचको आधारमा ‘बेस रेट’मा प्रिमियम लगाउने गरेको भन्दै व्यवसायीले विरोध गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकले कर्जा रिकभरीमा जोखिम नभए पनि अर्थतन्त्रमा योगदान नपुर्‍याउने क्षेत्रमा कर्जा लगानी निरुत्साहित गर्न भन्दै जोखिम भार उच्च राख्ने गर्छ । जसले गर्दा बैंकहरुले उक्त क्षेत्रको कर्जाको प्रिमियम पनि उच्च लगाउने गर्छन् ।

सबैभन्दा कम बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको छ । बैंकको बेसरेट ९.२९ प्रतिशत हुँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.६७ प्रतिशत, नेपाल बैंकको ९.९ प्रतिशत र एभरेष्ट बैंकको ९.९७ प्रतिशत बेसरेट रहेको छ ।

एकल अंकमा बेसरेट रहेका ४ वटा बैंक मात्रै रहेका छन् । ८ वटा बैंकको बेसरेट १० देखि ११ प्रतिशत हुँदा १० वटै बैंकको बेसरेट ११ प्रतिशत नाघेको छ ।

११ प्रतिशत भन्दामाथि बेसरेट भएको बैंकले बेसरेटमा २ प्रतिशत मात्रै प्रिमियम लगाउने हो भने पनि कर्जाको ब्याजदर १३ प्रतिशत पुग्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ९.७४ प्रतिशत बेसरेट रहेको सिभिल बैंक र ८.९३ प्रतिशत बेसरेट रहेको कुमारी बैंकको २०७९ पुसमा ११.७३ प्रतिशत पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको पनि बेसरेट २०७८ पुसमा ६.१४ प्रतिशत रहेकोमा २०७९ पुसमा ९.२९ प्रतिशत पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?