+

ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर

२०७९ माघ  १६ गते १६:०४ २०७९ माघ १६ गते १६:०४
ग्यास्ट्रिक बिग्रिएर बालबच्चामा हुन सक्छ अल्सर

आमाशय वा सानो आन्द्रा सुन्निनुलाई ग्यास्ट्रिक भनिन्छ । बोलीचालीको भाषामा ग्यास्ट्रिक भने पनि यसको वास्तविक नाम ग्यासट्राइटिस हो । ग्यासट्राइटिस बच्चादेखि वृद्ध उमेरका जोसुकैलाई देखिन सक्छ ।

धेरैलाई देखिने भएकाले ग्यासट्राइटिसलाई ‘राष्ट्रिय रोग’ समेत भन्न थालिएको छ । बालबालिकामा हुने ग्यास्ट्रिक दूषित पानी र खानाबाट सर्ने जीवाणुको संक्रमणबाट हुने गरेको छ, जसलाई एचपाइलोरी इन्फेक्सन भनिन्छ । त्यसबाहेक समयमा खानपिन नहुँदा, अन्य दुखाइसम्बन्धी पेनकिलर औषधि सेवन गर्दा पनि ग्यास्ट्रिक हुन सक्छ ।

ग्यास्ट्रिक भएको संकेत वा लक्षण

बान्ता आउने, खाना नरुच्ने, भोक कम लाग्ने, पेटको माथिल्लो भाग दुख्ने, पेट बाउँडिने, दिसाको रङ कालो हुने, शरीर दुख्ने र कमजोर महसुस गर्ने जस्ता लक्षण दृखिन्छन् । यद्यपि बालबालिकामा सबै खालको लक्षण नदेखिन पनि सक्छ ।

उपचारमा ढिलाइ भएर ग्यास्ट्रिक बिग्रिएमा बालबालिकामा अल्सर समेत देखिन सक्छ । सुरुमा इन्डोस्कोपीमार्फत हेर्दा रातो देखिन्छ, जसलाई इराइडोमा भनिन्छ । इराइडोमा हुँदा औषधि खायो भने ठीक हुन्छ । यदि उपचार भएन धेरै समयसम्म इराइडो हुँदा इरोजन्स हुन जान्छ त्यसलाई बेवास्ता गर्दै जाँदा अल्सर हुन्छ । प्रायः बालबालिकामा अल्सर सानो आन्द्रामा हुन्छ । जसको नियमित औषधि खाँदा पूर्णरुपमा ठीक हुन्छ । तर आमाशयमा अल्सर छ र औषधि खाँदा पनि ठीक भएको छैन भने आमाशयको क्यान्सर हुन सक्छ । जुन विरलै बालबालिकामा देखिने गर्छ ।

अमिलो डकार आउने, पेटमा घाउ भएको महसुस हुनु, पेट पोल्ने, पेट ढुस्स हुने र सुन्निनु, शरीरको माथिल्लो भाग दुख्नु वा पोल्नु, दिसामा रगत देखिनु वा रंग गाढा हुनु र रगत बान्ता हुनु अल्सरका संकेत हुन् ।

डा. अखिलेश कश्यप

पहिचान तथा उपचार

बालबालिकामा लक्षण देखिएपछि इन्डोस्कोपीबाट ग्यास्ट्रिक छ वा छैन भनेर पत्ता लगाइन्छ । ग्यास्ट्रिक भइसकेपछिको उपचार बालबालिकामा होस् वा युवा वर्गमा सहज छ । ग्यास्ट्रिक भएका बालबालिकालाई औषधि नियमित खाँदा र सन्तुलित खानपानले आफैं ठीक भएर जान्छ  । त्यस्तै, एचपाइलोरी संक्रमण भएकाहरुको लागि १४ दिनसम्मको लागि एन्टीबायोटिक औषधि सेवन गर्दा ठीक हुन्छ ।

ग्यास्ट्रिकबाट बच्ने उपाय

समयमा खाने, जंकफुड नखाने, पानी उमालेर मात्र खाने, दूषित पानी नपिउने, चिल्लो, पिरो र अमिलो धेरै नखाने गर्दा ग्यास्ट्रिक लाग्नबाट बच्न सकिन्छ । यस्तै धेरैबेरसम्म खालीपेट नबस्ने, स्वस्थ आहार गर्ने गर्नुपर्छ ।

ग्यास्ट्रिक देखिएको छ वा पेट दुखिरहेको छ भने फार्मेसीमा गएर डाक्टरको सल्लाहविना औषधि खानुभन्दा एकपटक अस्पतालमा परीक्षण गराउनु उपयुक्त हुन्छ । जति छिटो उपचार त्यति छिटो निको हुने भएकाले पेट दुख्यो भन्दैमा बेवास्ता गरेर बस्नु हुँदैन ।

(डा. कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् । उनीसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

अल्सर ग्यास्ट्रिक
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय