+
+
समयान्तर :

रवि लामिछानेले ओढेको ‘लोकरिझ्याईं’ को खास्टो

राज्यको विसंगति र बेथितिपूर्ण अवस्थाबाट जनतालाई ‘मुक्ति दिने’ उद्घोष गर्दै टेलिभिजनको रंगीन दुनियाँबाट राजनीतिमा हाम फालेका रवि लामिछाने अहिले आफैं राज्यव्यवस्था र कानुनी जटिलताको फन्दामा परेका छन् । उनी आफैं कानुनतः विद्यमान व्यवस्थाप्रति कत्ति पनि गम्भीर रहेनछन् भन्ने कुरा साबित गरिदिए । किनकि उनको राजनीतिक आगमनको वैधानिकतामै प्रश्न रहेछ ।

मनिकर कार्की मनिकर कार्की
२०७९ माघ १८ गते ८:०९

गत साता दुई घटनाले मुलुक तरंगित बन्यो– इलामका व्यवसायी प्रेम आचार्यको आत्मदाह र निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैध ठहर गर्ने सर्वोच्च अदालतको फैसला ।

ती दुई घटनाले यो मुलुकको राज्य व्यवस्थाको अवस्था र शासकीय मनोवृत्ति पनि छर्लंग पारिदिएको छ । यसले अपारदर्शी, विकृत अनि भ्रष्ट बन्दै गएको प्रशासनिक संयन्त्रका कारण जनताले दैनन्दिन भोग्नुपरेको सास्ती, हैरानी, उल्झनले आम जनताको जीवन कति दुरुह बनेको रहेछ भन्ने कुरा उजागर गरिदियो । साथै यसले विद्यमान राज्यसत्ताको अर्थ–राजनीतिक भ्वाङलाई पनि छ्याङ्गै पारिएको छ । अनि जनबल र धनबलको सहारामा सत्तासीन सबै अनुहारहरू (नयाँ समेत) ले अजमाउने शक्तिको प्रभाव र त्यो शक्तिले स्थापित गरिदिने कथित सामाजिक हैसियत पनि छर्लंगै पारिदिएको छ ।

घटना १ – प्रेम आचार्यको हतप्रभ ‘आत्मदाह’

गत माघ १० गते काठमाडौंको संसद भवन अगाडिको चौबाटोमा इलामका प्रेम आचार्यले आफ्नै शरीरमा आगो झोसे । उनलाई वरपर देख्नेहरूले भिडियो खिचे र सामाजिक सञ्जालमा हाले । त्यो ठाउँ एकान्त पनि थिएन र कसैले त्यो घटना नदेखेको पनि होइन । तर, जसले देखे ती केवल साक्षी मात्रै भए । तिनले प्रेमको जल्दै गरेको शरीर बचाउन सकेनन् । केहीबेरमै सो घटना सामाजिक सञ्जालमार्फत उसैगरी फैलियो, जसरी उनको शरीरमा आगोको लप्को फैलिएको थियो । आखिर त्यही आफैंले लगाएको आगोको लप्कोले डढाएर उनको ज्यान लिइछाड्यो ।

प्रेम आचार्यले आत्मदाह गर्नुभन्दा अघि उनले सामाजिक सञ्जाल मार्फत नै साना व्यवसायीहरूको दुःख, पीडा र (अ)मानवीय बन्दै गएको बजार अर्थतन्त्रको बर्र्बरता, राजनीतिक बेइमानी, राज्यको प्रतिकूल नीतिनियम र प्रशासनिक उल्झनबारे लेखेका रहेछन् । उनले गरिखाने साना व्यापारीहरूले खेप्नु परेको सन्ताप अनि सत्ता र शक्तिको आडमा सानाहरूमाथि हुने गरेका ज्यादतीप्रति लक्षित गर्दै कानुनी, प्रशासनिक एवं व्यावहारिक सुधार गर्नुपर्ने विषयलाई उल्लेख गरेका रहेछन् । अहिले उनको आत्मदाहसँगै उनका विचारहरू पनि सामाजिक सञ्जालमा प्रवाहित भइरहेका छन् । उनले उठाएका सवाल जनजीविकाकै हुन् । जसको यथोचित सम्बोधन हुनु आवश्यक छ ।

यी ज्वलन्त सवालका साथ उनले आफ्नो आत्मदाहलाई यो मुलुकमा व्याप्त विकृति, विसंगति, बेथिति, भ्रष्टाचार, व्यभिचार, कुशासन, कमिसनतन्त्र र लुटतन्त्रले जनजीवनमा पारेको गम्भीर असरलाई उजागर गर्ने माध्यम बनाइदिए । जुन दुर्भाग्यपूर्ण घटना हो । किनकि हामी सबैजसो गरिखाने जनताले कुनै न कुनै रूपमा त्यस्तै उल्झन, हण्डर र ठक्कर खाई नै रहेका छौं । त्यही कुरालाई उजिल्याउन उनले आत्मदाहकै मार्ग अवलम्बन नगरेको भए हुन्थ्यो । तर, घटना घटिसक्यो । अब भविष्यमा अन्य प्रेमहरूले पनि यस्तै मार्ग अवलम्बन गर्न नपरोस् । कसैले आर्थिक एवं सामाजिक जोखिमका कारण आत्महत्या गर्नु नपरोस् । कोही पनि राज्यसत्ता, व्यवस्था र बजार सिर्जित शोक र सन्तापमा पर्नु नपरोस् । यसका लागि राज्य संयन्त्रमा सुधारसहित गरिखाने जनताका लागि उद्यमशील वातावरण निर्माण गर्नु अत्यावश्यक भइसकेको छ ।

घटना २ – रवि लामिछानेको ‘नागरिकता प्रकरण’

गत माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालीन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग नेपाली नागरिकता नरहेको ठहर गरिदियो । अदालतको सो फैसलासँगै उनले मन्त्री पदसहित प्रतिनिधिसभा सदस्य र पार्टीको सभापति पद गुमाउन पुगे । यो खबर पनि खरको आगो झैं फैलियो । उनका समर्थकहरूले फैसलालगत्तै सर्वोच्च अदालतको परिसरमा भौतिक रूपमै भेला भएर विरोध गरे भने सामाजिक सञ्जालहरूमा पनि उनको पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूले अदालतको सो कदमको विरोध गर्दै प्रचार गरिरहे ।

यदि रवि लामिछानेको ठाउँमा अन्य कोही जनजाति, मधेशी, थारू, दलित वा कुनै सीमान्तकृत समुदायको व्यक्ति हुन्थ्यो भने नेपालको प्रशासनिक संयन्त्र यसैगरी केही घण्टामै नागरिकता दिन सक्रिय हुन्थ्यो होला ? उसलाई उसैगरी समाजले सहजै स्वीकार गरेर जयजयकार गर्थ्यो होला ?

तथापि रवि लामिछानेले भने फैसलालगत्तै मन्त्री पदबाट राजिनामा गर्दै आफू अनागरिक भएको र अनागरिकले अब के गर्ने ? भन्ने बारेमा सोच्नै नसकेको प्रतिक्रिया दिएका थिए । उनले सर्वोच्च अदालतको फैसलाप्रति भने कुनै टिप्पणी नगरी फैसलाको सम्मान गर्ने बताएका थिए । त्यसको दुई दिनपछि उनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट पुरानै रेकर्ड मुताबिक नयाँ नागरिकता प्राप्त गरिसकेका छन् । लगत्तै उनको पार्टीको केन्द्रीय समितिको बैठकले तत्कालै उनलाई पार्टी सदस्यता प्रदान गर्दै पुनः पार्टी सभापतिमा चयन गरिसकेको छ । केही घण्टाकै अन्तरालमा यी सबै घटनाक्रमहरू सम्पन्न भएर उनी अहिले वैधानिक हिसाबले कानुनतः नेपालको नागरिक भई पार्टी सभापतिसमेत बनिसकेका छन् ।

एकदिन आफ्नै अनिच्छाका कारण (अ)नागरिक कहलिएका रवि लामिछानेले यही देशमा जन्मिएर, यही धर्तीमा खाइखेली गरिरहेका, यहीं पाखुरी बजारिरहेका लाखौं युवा जो नागरिकताबाट वञ्चित छन्, उनीहरूको सकसबारे अनुमान गरे, गरेनन् ? त्यो उनैले जान्ने विषय भयो । तर, तिनै रविले कुनै बेला नागरिकता विधेयक संसदबाट पास हुँदा चर्को स्वरमा विरोध गरेका थिए ।

यदि रवि लामिछानेको ठाउँमा अन्य कोही जनजाति, मधेशी, थारू, दलित वा कुनै सीमान्तकृत समुदायको व्यक्ति हुन्थ्यो भने नेपालको प्रशासनिक संयन्त्र यसैगरी केही घण्टामै नागरिकता दिन सक्रिय हुन्थ्यो होला ? उसलाई उसैगरी समाजले सहजै स्वीकार गरेर जयजयकार गर्थ्यो होला ? कि उसलाई जालसाजी र किर्ते गरेको आरोपमा झ्यालखानामा हालिन्थ्यो होला ? यी धेरै प्रश्नहरूले मुलुकको एकात्मक सामुदायिक वर्चस्ववादी शासनसत्ता र प्रशासनिक संस्कृतिलाई उजिल्याउँदै राज्यसत्ताको अर्को भ्वाङ देखाएको छ ।

मनिकर कार्की

यी दुई घटनाले सारतः मुलुकको शासन व्यवस्थामा विद्यमान चरहरू र ‘व्यक्तिगत हैसियत’का आधारमा नागरिकलाई गरिने फरक व्यवहारलाई पुष्टि गरिदिएको छ । पहिलो घटनामा आफैंले शरीरमा आगो लगाएर आत्मदाह गरेका प्रेम आचार्यको उक्त कदम सुविचारित नै देखिन्छ । उनले एक विद्रोहात्मक रूपले सो अवसादपूर्ण कदम उठाए । संभवतः उनले पृष्ठभूमिमा अरब विद्रोहको कारक बनेको ट्युनिसियाली नागरिक मोहमद बाउजीजीको आत्मदाह वा यस्तै कुनै प्रसंगलाई उत्प्रेरक ठानेर त्यो स्तब्ध र हतप्रभ कदम उठाए । अहिले कतिपय व्यक्तिहरूले सोही सन्दर्भलाई जोड्दै अवस्था परिवर्तनका लागि प्रेम आचार्यले सहादत प्राप्त गरेका विचार पनि प्रवाहित गरिरहेका छन् ।

तर, अहिलेको हाम्रो समय र सन्दर्भ अनि अरबी विद्रोहको झिल्कोको रूपमा काम गरेको सन् २०११ को त्यो उत्तर अफ्रिकी र अरबी विश्वको पारिस्थितिकीय अवस्था बिल्कुल फरक छ । किनकि अहिले हामी भर्खरै निर्वाचनको प्रक्रियाबाट गुज्रिएका छौं । लोकतन्त्रमा आवधिक निर्वाचन नै जनताका लागि एकखालको आन्दोलन हो । जनताले अभिमत प्रकट गर्ने माध्यम हो । त्यो माध्यमबाट भर्खरै मात्र आफ्नो जनमत प्रकट गरेको अवस्थामा अहिले नै अर्को कुनै विद्रोह वा आन्दोलनको आँधीबेहरीको परिकल्पना केवल मृगमरीचिका मात्रै हो । किनकि अहिले नेपालमा तत्कालै कुनै विद्रोह वा आन्दोलनले आकार लिने अवस्था छैन ।

तर, एक्काइसौं शताब्दीको दोस्रो दशकको सुरुवाती चरणमा देखापरेको अरब विद्रोहको याम भने अर्कै थियो । यो सन् २०११ को मध्यतिरको कुरा हो । त्यतिबेला सडकछेउमा ठेलागाढामा खानेकुरा बेचेर आफ्नो गुजारा चलाउँदै आएका एक जना ट्युनिसियाली स्नातक सडक व्यापारी मोहमद बाउजिजीको ठेलागाडा विना कारण त्यहाँका सुरक्षाकर्मीले खोसिदिए । उक्त घटनाबाट निकै निराश बनेका उनले आफू निकै लामो समयदेखि बेरोजगार रहनुपर्दाको पीडा र केही गरिखान लाग्दा पुलिस प्रशासनले गरेको दमनविरुद्ध सामाजिक सञ्जालमा एउटा विद्रोही कविता लेखेर आफ्नै शरीरमा आगो झोसी आत्मदाह गरे ।

त्यही विन्दुबाट सुरु भएको ट्युनिसियाली जनविद्रोहले २३ वर्षदेखि एकछत्र शासनसत्ता चलाइरहेका त्यहाँका राष्ट्रपति अबिदिन बिन अलीको एकदलीय तानाशाही शासन पलट भयो र त्यसले समग्र उत्तर अफ्रिका, मध्यपूर्व र अरब विश्वसम्म जागरणमुखी आन्दोलन र विद्रोहको ज्वाला दन्कियो । ट्युनिसियाली जनताको सौर्य, उत्साह र जागरणले एक महिनासम्म जारी रहेको उक्त आन्दोलनलाई ट्युनिसियाली इतिहासमा ‘जस्मिन रिभोलुसन’ (चमेली क्रान्ति) नामकरण गरियो । (स्मरण रहोस् चमेली ट्युनिसियाको राष्ट्रिय फूल हो) । तथापि आन्दोलनको शक्ति संस्थागत नहुँदा त्यसले कुनै सर्वस्वीकार्य नेतृत्व निर्माण गर्न सकेन । परिणामस्वरूप आन्दोलनका उपलब्धिहरू क्रमशः क्षयीकृत हुँदै गए र तीन वर्षको अन्तरालमा त्यहाँ प्रतिक्रान्ति नै भयो । मूलतः चेतनशील र संस्थागत नेतृत्वको अभावकै कारण ट्युनिसियामा क्रान्ति र प्रतिक्रान्तिका विभिन्न परिघटना अद्यापि जारी छन् । त्यहाँ अझै पनि राजनीतिक स्थायित्व र शान्ति कायम हुनसकेको छैन ।

बाउजीजीकै शैलीमा अवसादपूर्ण आत्मदाह गरेका प्रेम आचार्यले मुलुकको बेथितियुक्त शासन–प्रशासन र अमानवीय बन्दै गएको बजार अर्थतन्त्रको चेपुवामा पर्नुपर्दाको हण्डर सहन नसकी उक्त कदम उठाए । तर, उनको यो कदमभित्र बिग्रिंदै गएको आर्थिक कारोबार र व्यावसायिक असफलता मुख्य कारक बनेको देखिन्छ । उनले सो कदम उठाउनुअघि आफ्नो बलबुताले भ्याएसम्म राज्यसंयन्त्रसँग जुधे पनि । समाजमा राजनीतिक, सामाजिक र आर्थिक सक्रियता पनि देखाए । बन्दव्यापार र उद्यम गर्नका लागि ऋणधन सबैको जोहो गरेर कारोबार पनि गरे । संभवतः सुरुवाती चरणमा बन्दव्यापार र कारोबारबाट पनि राम्रै सफलता पाए । त्यही सफलताकै आडमा उनले कारोबार बढाउँदै लगे । कारोबारबाट सामाजिक, व्यावसायिक प्रतिष्ठा र आम्दानीसँगै खर्चको अनुपात पनि बढ्दै गयो । त्यसै अनुरूप विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण पनि थप्दै गए । कमाइ पनि थपिंदै र कारोबार पनि बढ्दै गयो ।

उनमा पलाउँदै गरेको दम्भ र अहंकारको आकार क्रमशः बढ्दै जाँदा लोकरिझ्याईंको खास्टो भने उघारिंदै जानेछ । आखिर उनी वैधानिक र कानुनी हिसाबले राज्यको जुन व्यवस्था सुधार्ने कुरा गर्दैथिए, आफ्नै नागरिकताको सवालमा भने त्यही राज्यको विद्यमान सामान्य कानुनी प्रक्रिया अवलम्बन गर्नमा समेत उनी इच्छित देखिएनन् ।

संभवतः उही उपक्रममा उनको कारोबारमा उधारो पनि बढ्दै र दायित्व पनि थपिंदै गयो । हरेक व्यापार–व्यवसाय र कारोबारको उच्चतम जोखिम बहन गर्ने विन्दु हुन्छ । व्यापार व्यवसायमा संलग्न जो–कोहीले आफूलाई सहज हुने विन्दुसम्म मात्रै जोखिम मोल्नुपर्छ । त्योभन्दा बढ्दा जोखिम लिइयो भने जोखिम व्यवस्थापन गर्न गाह्रो हुन्छ । संभवतः उनको हकमा पनि त्यही लागू भयो । उनले कारोबार र व्यवसायमा जोखिम थप्दै गए तर, त्यस अनुरूप तरल सम्पत्ति थपिएन । अन्ततः उनी चल्नै नसक्ने अवस्थामा पुगे र निर्विकल्प यो कदम रोजे । आखिर उनलाई यही समाजले त्यो अवस्थामा पुर्याएको हो । किनकि समाजले जहिल्यै व्यक्तिको आर्थिक सफलतालाई नै मानक ठान्छ । सोही कुरालाई उनले पनि प्रश्नरहित ढंगले पछ्याउँदै र जोखिमको मात्रा थप्दै गए । अनि त्यही व्यावसायिक जोखिमले उनलाई आत्मदाहको अवस्थासम्म पुर्यायो ।

उनले आफ्नो आत्मदाहलाई सामाजिक सञ्जालमार्फत राज्यको विसंगति र बेथितिपूर्ण अवस्थाप्रति आक्रोशको रूपमा अभिव्यक्त गरे । जुन घटनाले आम जनतालाई समेत तरंगित तुल्याइदिएको छ । तथापि विगतमा व्यवसायीहरूले बढ्दै गएको व्यावसायिक जोखिम र दायित्वका कारण आत्महत्या गरेका धेरै दृष्टान्त छन् । प्रेमकै आत्मदाहपश्चात् पनि विराटनगरका एक उद्योगीले पनि व्यावसायिक दायित्व थाम्न नसक्दा आत्महत्या गरेको समाचार आएको छ । यी र यस्ता सबै घटनालाई मसिनो गरी केलाउने हो भने व्यवसायका नाउँमा अत्यधिक र अनियन्त्रित रूपले लिइने जोखिम नै ती घटनाका कारण बन्ने गरेका छन् ।

किनकि ऋणमा पाइएको नगद वा सम्पत्ति तत्कालका लागि मुफ्तमा प्राप्त धन साबित हुन्छ र त्यसले व्यक्तिको अनावश्यक खर्च बढाइदिन्छ । जब ऋणमा खेल्ने बानी पर्छ, तब ऋण थपिंदै जान्छ र ऋणले ऋण सल्टाउने चक्र सुरु हुन्छ । त्यसपछि मिटरब्याजी ऋण थपिन्छ र त्यही मिटर ब्याजको गलपासोमा प्राण जान्छ । यो हामीले आँखै अगाडि देखेका, भोगेका तथ्यहरू हुन् । बस् फरक यति मात्र हो कि ती अनगिन्ती घटनाहरू रिपोर्टमा आएका छैनन् र आउने पनि छैनन् । अर्थतन्त्रमा विद्यमान संकट र राज्यको असहयोगी व्यवहारका कारण प्रताडित व्यवसायी थपिंदै छन् ।

राज्यले नीतिगत र क्षेत्रगत प्राथमिकता अनुरूप आर्थिक नीति तय गरेको छैन । साना व्यवसायी, उद्यमी र गरिखाने जमातलाई अर्थतन्त्रको औपचारिक संरचनामा छिर्ने सहज मार्ग प्रदान गरेको छैन । सानालाई सहयोग हुने नीति र कार्यक्रम ल्याएको छैन । बरु व्यवहारमा सानालाई ऐन, ठूलालाई चैनको नीति नै कायम छ । उही प्रशासनिक डण्डाकै भरमा शासन चलेको छ । त्यसैले समाजले यी आत्महत्याका घटनाहरूलाई पनि मूलतः व्यावसायिक असफलता र जीवनसँगको हारको परिणतिका रूपमा अभिलेख गर्ने गरेको छ ।

राज्यको यस्तै विसंगति र बेथितिपूर्ण अवस्थाबाट जनतालाई ‘मुक्ति दिने’ उद्घोष गर्दै टेलिभिजनको रंगीन दुनियाँबाट राजनीतिमा हाम फालेका रवि लामिछाने अहिले आफैं राज्यव्यवस्था र कानुनी जटिलताको फन्दामा परेका छन् । उनले आफू निर्वाचित भएर गृहमन्त्री बन्ने बेलासम्म सयौं पटक भाषण गर्दै कानुनी राज्य र नीतिनियमको पालना गर्दै नागरिकलाई सुशासन दिने उद्घोष गर्दथे । आफू गृहमन्त्री भइसकेपछि पनि मन्त्रालय मातहतका राज्यका अंगहरूलाई दर्जनौं पटक नीतिनियमको पालना गर्दै काम गर्ने निर्देशन दिएर चर्चामा आइरहे । तर, उनी आफैं भने कानुनतः विद्यमान व्यवस्थाप्रति कत्ति पनि गम्भीर रहेनछन् भन्ने कुरा साबित गरिदिए । किनकि उनको राजनीतिक आगमनको वैधानिकतामै प्रश्न रहेछ । उनी कानुनतः नेपाली नागरिक नभइकनै दल खोलेर चुनावी प्रक्रियामा सामेल भएका रहेछन् ।

त्यसो त नेपालको विद्यमान कानुन अनुरूप रवि लामिछानेको नागरिकता वैध छैन भन्ने कुरा उतिबेलै उठेको हो । उनी निर्वाचित भएर गृहमन्त्री बनाइँदासम्म राज्यको कुनै पनि निकायले सो विषयलाई गम्भीर रूपमा नलिंदा नेपालको राज्यसत्ता कति निम्छरो रहेछ भन्ने पुष्टि भएको छ । अनि रवि लामिछाने आफैंले पनि विद्यमान कानुनी प्रावधान हेरी आफ्नो कमजोरी सच्याउन सक्थे । त्यसमाथि सार्वजनिक रूपमै प्रश्न उठेपछि झन् त्यसलाई अवसरको रूपमा प्रयोग गर्न सक्थे । उनीसँग आफ्नो त्रुटि सच्याउन प्रशस्त समय पनि थियो । तर, टेलिभिजनमार्फत ‘जनताका मुद्दा’ उठाएर चर्चा र ‘स्याबासी’ पाएका रविले त्यो लेठो गर्न जाँगर गरेनन् ।

किनकि सायद उनलाई टेलिभिजनको लोकप्रियताले आफैंलाई ‘कानुन’ बनाइदिएको भ्रम पर्न गयो । सायद उनलाई सबैको रक्षक बन्न पुगेको भ्रम पर्न गयो । सामाजिक सञ्जाल र मिडियाहरूमा उनीलक्षित प्रश्नप्रति उनी आफ्नो टेलिभिजन शोमार्फत नै हुँकार गर्दै– आफूलाई जनताको पक्षमा बोल्न कुनै प्रेसपास र नागरिकताको कागजी खोस्टाको आड लिनु जरूरी नभएको तर्क गर्दथे । आखिर रवि लामिछानेमा त्यस्तो उन्मुक्त अभिव्यक्ति कसरी आयो ? कहाँबाट पाए उनले त्यो शक्ति ? कसले दियो त्यो शक्ति ? अनि कसरी आफू शक्तिशाली भएको अनुभूति गरे ? संभवतः राज्य र कुलीनतन्त्रलाई प्रश्न गर्दै उदाएका रविको वैचारिकी नै त्यही लोकरिझ्याईंको दुहाई थियो, जसमा उनी सफल पनि भए ।

अनि त्यही लोकरिझ्याईंले आर्जन गरेको शक्तिकै उन्मादमा उनी पनि क्रमशः महत्वाकांक्षी बन्दै गए । लोकरिझ्याईंवादकै खास्टो ओढेर टेलिभिजन शोमार्फत कमाएको लोकप्रियतालाई राजनीतिक शक्तिमा रूपान्तरण गर्ने ध्येयका साथ उनी राजनीतिमा होमिए । जनताले रवि लामिछानेलाई पुरातन सोच, शैली र नेतृत्वले थिलथिलो भएका पारम्परिक पार्टीहरूको विकल्पको रूपमा चुने । र, उनको पार्टीले गएको प्रतिनिधिसभा निर्वाचनमा ऐतिहासिक सफलता पनि पायो । उनी आफैंले सोचेभन्दा धेरै शक्ति हासिल पनि गरे ।

तर, जनताले उनलाई दिएको मतादेश अनुरूप उनले आगामी राजनीतिक यात्रा तय हुनेमा भने सन्देह देखिन थालेको छ । किनकि उनका हरेक गतिविधिभित्र त्यही ‘लोकरिझ्याईं’वाला वैचारिकी नै अभिव्यक्त हुने गरेको छ । अनि निर्वाचनपछिका उनका बोली र व्यवहारबीच पनि दूरी बढ्दै गएको देखिन्छ । उनले जे–जसरी सरकारमा जान हतार गरे र त्यसयता जेजस्ता परिघटनाहरू आन्तरिक एवं बाह्य रूपमा देखा पर्दैछन् ती सबै उनको यथोचित राजनीतिक निरन्तरताका लागि प्रश्नवाचक बनेका छन् । तथापि भोलिको अनुमान अहिल्यै गर्नु हतारो हुनेछ ।

उनमा पलाउँदै गरेको दम्भ र अहंकारको आकार क्रमशः बढ्दै जाँदा लोकरिझ्याईंको खास्टो भने उघारिंदै जानेछ । आखिर उनी वैधानिक र कानुनी हिसाबले राज्यको जुन व्यवस्था सुधार्ने कुरा गर्दैथिए, आफ्नै नागरिकताको सवालमा भने त्यही राज्यको विद्यमान सामान्य कानुनी प्रक्रिया अवलम्बन गर्नमा समेत उनी इच्छित देखिएनन् । यसर्थ, दिवंगत प्रेम आचार्यले जसरी जनजीविका सम्बन्धी ‘विद्रोह’ का लागि गरेको हतप्रभ आत्मदाहले तत्कालै विद्रोहको जग हाल्न सक्दैन, त्यसरी नै राजनीतिमा विद्यमान ‘फोहोर’ सफा गर्न राजनीतिमै छिरेका रवि लामिछानेको लोकरिझ्याईंकेन्द्रित अभिव्यक्ति र हाउभाउले व्यवस्थामा देखिएका अर्थ–राजनीतिक भ्वाङ टालेर जनतालाई सुबिस्ता दिलाउन उति सहज देखिंदैन ।

लेखकको बारेमा
मनिकर कार्की

वैकल्पिक अर्थतन्त्रमा रूचि राख्ने कार्की अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ ‘समयान्तर’ प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?