+
+

बाह्रकिलो–बारपाक सडक : ६ पटक म्याद थप्दा पनि काम भएन

विकास मरहट्टा विकास मरहट्टा
२०७९ माघ १८ गते १२:४३

१८ माघ, गोरखा । बाह्रकिलो–बारपाक सडक कालोपत्रेका लागि काम सुरु भएको करिव सात बर्ष पुग्न लाग्यो, तर हालसम्म काम सम्पन्न भएको छैन ।

लोहनी एण्ड ब्रदर्श प्रालि र रसुवा इलाइट सूर्य जेभीले जिम्मा लिएको खण्डमा काम अलपत्र छ । यी दुई निर्माण कम्पनीको लापरवाहीले समयमै काम हुन नसकेको हो ।

अर्कुल बजारदेखि बालुवासम्मको ८ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको लोहनी एण्ड ब्रर्दश प्रालिको हालसम्म ६ पटक म्याद थप भइसक्यो । ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक योजनाका अनुसार २०७२ साल असार ३१ गते सम्झौता गरेर काम सुरु भएको थियो । तर, हालसम्म कामको भौतिक प्रगति ७९ प्रतिशत मात्र छ । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० साल असार २५ गते काम सक्नुपर्छ । तर कामको गति हेर्दा सम्पन्न गर्न मुश्किल देखिन्छ ।

बालुवादेखि बारपाकसम्मको १६ किलोमिटर सडक कालोपत्रेको जिम्मा लिएको रसुवा इलाइट सूर्य जेभीको पनि काममा उस्तै लापरवाही छ । २०७३ असार ३० गते सम्झौता गरेर काम सुरु गरेको जेभीको पाँच पटकसम्म म्याद थप भइसकेको कार्यालयकी इन्जिनियर आस्था देवकोटा बताउँछिन् । तर कामको भौतिक प्रगति ७८ प्रतिशत मात्र छ । अन्तिम पटक थप भएको म्याद अनुसार २०८० असार २५ गतेभित्र काम सक्नुपर्ने हुन्छ । कामको गति हेर्दा सम्भव देखिदैन ।

अहिले दुवै खण्डमा काम भइरहेको कार्यालयकी इन्जिनियर देवकोटाले बताइन् । ‘कामदारहरु ल्याएर राख्नुभएको छ, काम पनि सुरु गरेका छौं भन्नुभएको छ,’ उनले भनिन् । उक्त सडकका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ विनियोजन भएको उनले जानकारी दिइन् ।

कुल ४६ किलोमिटरको उक्त सडक चार खण्डमा बिभाजन गरी ठेक्का लगाइएको हो । बाह्र किलोदेखि मसानेठाँटीसम्मको ४ किलोमिटर कालोपत्रेको जिम्मा गोरखा एप्रोउप्रियट फर कन्स्ट्रक्सन, निबेलदेखि अर्कुलसम्मको ५ किलोमिटर कन्काइ गोरखा जेभीले पाएको थियो । दुवै खण्ड कालोपत्रे भइसकेको कार्यालयले जनाएको छ । तर बाँकी दुई खण्डको काममा भने ढिलासुस्ती भएको छ ।

कोरोनाका कारण पनि केही समय ढिलाइ भएको कार्यालय प्रमुख पशुपति ज्ञवाली बताउँछन् । भन्छन्, ‘एउटा कारण त कोरोना पनि भयो, अर्काे सरकारले गरेको सार्वजनिक खरिद नियमावलीको १२ औ संशोधनले पनि केही समय म्याद थपियो ।’ उनका अनुसार अहिले लोहनी एण्ड ब्रर्दशको काम सुस्त भएपनि रसुवा इलाइटको काम भने तीव्र गतिमा भएको छ । थप भएको समयमा काम सम्पन्न हुने उनले अपेक्षा गरेका छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?