+
+
फिल्म र समाज :

कलाको झस्काइले झस्काइरहने ‘कला’

सुरज सुवेदी सुरज सुवेदी
२०७९ माघ २० गते ७:५५

एउटै फिल्मबाट धेरै कुरा भन्न सम्भव छ । एउटै दृश्यबाट धेरै कुरा भन्न सम्भव छ । एउटै गीतबाट धेरै कुरा भन्न सम्भव छ । एउटै संवादबाट धेरै कुरा भन्न सम्भव छ । अनभिता दत्त निर्देशित ‘कला’ फिल्मले यी सबै कुरा प्रमाणित गरेको छ ।

फिल्मकी प्रमुख पात्र कला (तृप्ति डिमृ) लाई उनकी आमा आफ्नो घराना थेग्ने गायिका बनाउन चाहन्छिन् । तर छोरीले गरेको गाउने प्रयत्न पुग्दो भएको ठान्दिनन् । कलाको भनाइअनुसार ‘जति गरे पनि आमालाई पुग्दैन ।’ उनले परम्परागत बुझाइको एउटा मापन बनाएकी छन् जसमा कला कहिल्यै पास हुँदिनन् । बरु उनी अर्को युवक जगन (बाबिल खान)लाई पुत्र बनाएर घर ल्याउँछिन् । उसको स्वरले घरानाको साख थेगोस् चाहन्छिन् । उनी कलाको आवाज जगनको आवाजको तुलनामा कमजोर भएको ठान्छिन् । त्यो तुलनामा उनीभित्रको ‘पुरुषले गाएको मात्र राम्रो’ भन्ने सोच गडिएको छ ।

आमा महिला भएर पनि पितृसत्तात्मक सोचाइको उत्पादन हुन् । उनी कलालाई अवसर दिन प्रयत्न गर्दिनन् । सिकाउन पनि गर्दिनन् । बरु जगनको स्वरमार्फत आफ्नो सन्तुष्टि खोज्छिन् । जगनको स्वरमा मग्न हुन्छिन् । कलाको स्वरमा भड्किन्छिन् । उनको हरेक चिसो व्यवहारले ‘कला’लाई उनको गलाभन्दा परपर लैजाँदै लान्छ । गाउन नै सक्दिनँ कि भन्ने अवस्थासम्म पुर्‍याउँछ ।

त्यसको घाटा उल्टै जगनलाई हुन्छ । उसमा गाउनै पर्ने बाध्यता थपिंदै जान्छ । आफ्ना सबै थोक नै गायन हो भन्ने भारी थप्दै लान्छ । त्यो भारीले एकातिर उसलाई गाउन नसक्ने हुनसाथ बाँच्नुको औचित्य सकिएको सोच्ने बनाउँछ । अर्कोतिर कलालाई आफूले पाएको सफलता पनि जगनको भाग छिनेर पाइरहेको हुँ कि भन्ने पारिरहन्छ । त्यो भारीले न पुरुषलाई फाइदा गर्छ न त महिलालाई ।

यसरी आमालाई पितृसत्तात्मक बुझाइको प्रतिबिम्ब बनाउँदै फिल्मले त्यसबाट पिल्सिएका दुई फरक पात्रमार्फत भनिरहन्छ, ‘पितृसत्तात्मक बुझाइले महिला र पुरुष दुवैलाई मारिरहेको छ ।’

****

फिल्मको सेटिङ सन् १९४० आसपासको कलकत्ता (कोलकाता)लाई बनाइएको छ । गीतहरूले त्यही समयमा पुर्‍याउँछन् । रेकर्डिङ पद्धति पुरानै अपनाइएको छ । अमित त्रिभेदीले बनाएका गीतमा इतिहासको ज्यान भेटिन्छ । यसरी सबै थोक पुरानो सेटिङमा भनेर पनि फिल्मले विषय भने अहिलेको उठाएको छ । त्यसो गर्दै दुईवटा कुरा स्थापित गरेको छ ।

पहिलो, यसले भारतीय संगीतको इतिहासलाई नयाँ कोणबाट भनेको छ । त्यो संगीत कसरी विगतमा महिलाप्रति असमान थियो र संगीतमा लाग्न महिलाहरूले के के सङ्घर्ष गर्नुपर्थ्यो केलाएको छ । फिल्मको सुरुवातमा संगीत बनाउने प्रक्रियामा महिलाहरू कम छन् । बिस्तारै तीनको संख्या बढ्दै जान्छ । दोस्रो, यसले त्यो बेलाको अवस्थाभन्दा अहिले पनि धेरै फरक छैन भन्दै वर्तमान समयका असमानतालाई संकेत गरेको छ । गलत बुझाइहरूलाई कोट्याएको छ । किनकि फिल्मले पुरानो समयको कथा बताए पनि त्यो कथा आज पनि समाजमा भइरहेका छन् । फिल्ममा एउटा संवादमा चर्चित गायिका बनिसकेकी कलालाई उनका नजिककाले कुनै युवकलाई आफ्नो सेक्रेटरी राख्न सुझाउँछन् । किन महिला राखेको भन्दै प्रश्न गर्छन् । कला भन्छिन् ‘महिला सेक्रेटरी भन्नुको साटो सेक्रेटरी मात्र भन्दा हुँदैन ?’ उनले दिएको जवाफ अहिलेको समयलाई दिएको जस्तै लाग्छ जसले महिला सम्मिलित हरेक पेसा अगाडी ‘महिला’ झुन्ड्याइहाल्छन् । वा कुनै काम महिलाले गर्न सकेकोमा आश्चर्य मानिहाल्छन् ।

एउटा दृश्यमा कलाको आवाजलाई अर्का गायक कोइलीको आवाजसँग तुलना गर्छन् । तब आमा भन्छिन्, ‘हो कोइलीजस्तै नै हो । अर्काको गुँडमा अण्डा पार्ने कोइली ।’ त्यो संवादले महिला सफल भएर पुरुषको भाग खोसेका हुन् भन्ने आमाको गलत बुझाइलाई बल पुर्‍याएको छ ।

एउटा दृश्यमा कलालाई अन्तर्वार्ता लिन केही मानिसहरू बसेका छन् । त्यहाँ भएका फोटोग्राफरहरू सबैजसो पुरुष छन् । उनी भएका तमाम पुरुष फोटोग्राफरहरूको बिचबाट एक महिला फोटोग्राफरलाई अगाडि आउन भन्छिन् र उनलाई नै पोज दिन्छिन् । उनको त्यो पहलले अहिलेको समयलाई चेतना दिएको जस्तै लाग्छ जसले अग्रभागमा केवल पुरुषहरू मात्र उकालिरहेका छन् ।

तर उनको त्यो विद्रोह लामो समयसम्म अडिन सक्दैन । अर्थात् लैङ्गिक समानताको लडाइँ एक दुई पहलले मात्र बाँच्दैन । त्यसपछि उनलाई प्रश्न सोधिन्छ । उनी आफ्नो सफलतामा आमा कति खुसी होलिन् भन्दै सुनाउँछिन् अनि आमाले गरेका व्यवहार सम्झिँदै टोलाउँछिन् । कस्तो बाध्यता । आफूमा भएको कति धेरै पीडा घर र समाजको लागि झुट बोलेर टारिदिनुपर्ने । आफ्नो पीडा कसैको इज्जतको लागि लुकाइदिनुपर्ने । त्यसबेलै उनलाई सोधिन्छ, ‘बिहे कहिले गर्दै हुनुहुन्छ ?’

त्यो प्रश्नले उनी झस्किन्छिन् । उनी झस्किन्छिन् किनकि त्यो प्रश्न उनको कलाको बारेमा सोधिएको थिएन । उनको गायनको बारेमा सोधिएको थिएन । यो फिल्मले यस्ता प्रश्नहरूले पटकपटक झस्काइरहने झस्काइको कुरा गर्छ । त्यो झस्काइ फिल्ममा पटकपटक भइरहन्छ । स्पटलाइटमा भएको बेलामा पनि उनी आफूले जगनको भाग पो खोसेकी हुँ कि भनेर झस्किरहन्छिन् । त्यो झस्काइ उनको बाल्यकालदेखि नै छ । आमाले उनले भनेको जस्तो गाउन नसक्दा घरबाट बाहिर निकालेर ढोका लगाएकी थिइन् । त्यसरी ड्याम्म ढोका लगाउँदा उनी झस्किएकी थिइन् । पछि पहिलो गीत गाउनेबेला सङ्गीतकारले ‘कट’ भन्दा उनी उस्तै गरी झस्किएकी थिइन् ।

त्यो झस्काइ समग्र महिलाको प्रतिनिधि झस्काइ हो जो हरेक पाइलामा आइरहन्छ । हरेक पाइलामा बढेका अपेक्षाको झस्काइ । नसोचेको कुरा अकस्मात् आउँदाको झस्काइ । उनी जे हुन् त्यो नसोधेर उनले जवाफ दिन नचाहेका प्रश्नहरू सोधिंदाको झस्काइ । त्यति चर्चित गायिका भइसक्दा पनि उनलाई सोधिने प्रश्नहरू सामान्य गसिप र मसलाको लागि चाहिने जवाफ खोज्नमा तल्लीन छन् । समाचारको बिकाउ हेडलाइन पाउनमा तल्लीन छन् । फिल्मले भनिरहन्छ ‘महिलाहरूलाई समाजमा पटकपटक यसरी नै झस्काइएको छ । उनीहरूलाई सोधिनुपर्ने प्रश्न नसोधी नसोधिनुपर्ने प्रश्नहरूले यसरी नै झस्काइएको छ ।’

त्यो दृश्यले अहिलेको समयमा महिला कलाकारलाई प्रश्न सोध्ने प्रश्नकारलाई औंला ठड्याएको जस्तो लाग्छ जो कति बेला उनको मुखबाट भाइरल हुने शब्द निस्किन्छ भनेर प्रश्न सोधिरहेका छन् । जो उनको अनुमति बिना नै उनको व्यक्तिगत परिधिमा धावा बोलिरहेका छन् । उनका सम्बन्धको बारेमा खोतल्दै चरित्रहत्या गरिरहेका छन् ।

****

फिल्ममा एउटा खेलको बिम्ब छ । त्यो खेलमा बाटोबाटैको बीचमा भएको एउटा बललाई गुडाउँदै निकासतिर लैजानुपर्छ । त्यो बलको बाटो सिधा छैन । त्यसलाई एकातिर लग्न खोज्दा अर्कोतिर जान्छ । कुनै बाटो अलिक अगाडि पुगेर टुंगिन्छ । फेरि फर्किनुपर्छ । त्यो बिम्ब पहिलोपल्ट स्थापित हुँदा कला र जगनसँगै हुन्छन् । उनीहरूलाई माथिबाट खिचिन्छ । क्यामेरा बिस्तारै माथि माथि हुँदै जान्छ । उनीहरू सानो सानो देखिंदै जान्छन् ।

त्यो बाटो समाजले बनाइदिएको निश्चित बाटो हो जसको आधारमा उनीहरूलाई यतिमा मात्र हिंड्नु भनेर तोकिएको छ । यस्तै हुनु भनेर ठप्पा लगाइदिएको बाटो हो जसमा पुरुषलाई अनेकौं अपेक्षाहरूले बाँधिएको छ र महिलाहरूलाई त्यही काम गर्न पनि गाह्रो हुने पारिएको छ । अनि मुख्य कुरा त उनीहरू त्यो बल जस्तै हुन् जसलाई अरू कसैले ढल्काएर चलाइरहेको छ । अरू कसैले बनाइरहेको छ । त्यसले उनीहरू दुवैलाई सास फेर्न नसक्ने पारिदिएको छ । तर त्यसको बारेमा कसैलाई भन्न सक्ने अवस्था पनि छैन ।

एउटा दृश्यमा कला बिरामी हुन्छिन् । उनी डाक्टरलाई दिमाग देखाउँदै भन्छिन् ‘हल्ला यहाँ छ’ अनि मुटुमा देखाउँदै भन्छिन् ‘पीडा यहाँ छ’ । दु:खको कुरा त के भने ती दुवै कुरा डाक्टरले पनि बुझ्दैनन् । अझ त्यसलाई केवल ‘महिलाको कुरा हो’ मा सीमित पार्दै भनिदिन्छन् ‘महिलाहरूलाई यस्तो भइरहन्छ ।’ उनले भनिरहेको त्यो कुरा जगनले कुनैबेला उनलाई भनेको थियो । ऊ पनि उनी तड्पिरहेजस्तै तड्पिएको थियो । दु:खको कुरा त यो हो कि उसले त्यो कुरा कतै पनि भन्न पाएन । ऊ पुरुष हो, त्यसैले पनि पाएन । यो फिल्मले पितृसत्तात्मक कसरी महिला र पुरुष दुवैलाई बाँच्नै नसक्ने गरी घुँडा टेकाइरहेको छ पनि भन्छ ।

आमा कलालाई जगनको सहयोगी बन्नेभन्दा ठूलो भूमिकामा देख्दिनन् । पुरातनवादी समाजले कुनै महिलालाई पतिको धर्मपत्नी हुनुभन्दा धेरै केही नदेखेजस्तै । एउटा दृश्यमा उनले छोरीको अस्तित्व नस्वीकारेको स्पष्ट हुन्छ । उनीहरू डुंगामा बसेर गीत गाउँदै कतै गइरहेका छन् । त्यहाँ आमासँगै कला, जगन अनि एक चर्चित गायक छन् । ती गायक पहिला गीत गाउँछन् । त्यसपछि जगन गाउँछन् । बीचको एउटा भागमा कला गाउँछिन् तर आमा उनको अन्तरा पूरा हुन दिन्नन् । उनी बीचमा नै उनलाई रोक्छिन् र छोरालाई थप गाउन भन्छिन् । त्यसपछिको दृश्यमा डुंगालाई पछाडिबाट खिचिन्छ । जसमा आमा, चर्चित गायक र जगन देखिन्छन् तर कला देखिन्नन् । अर्थात् पितृसत्ताको सामुन्ने उनको अस्तित्व मेटिन्छ ।

फिल्मले विषयगत रूपमा उठाएका कुरालाई त्यसका यस्तै ट्रिटमेन्टले सघाएका छन् । एउटा दृश्यमा क्यामेराको फोकस सिफ्ट साङ्केतिक छ । कलाको बिहे उनलाई नसोधी निश्चित गरिएको छ । उनको अगाडि एक युवक छन् । आमाहरू निस्किएपछि कला उनीहरू गएतिर हेर्छिन् । क्यामेरा बिस्तारै घुम्छ । उनको पछाडि युवक देखिन्छ । युवकको स्थान बिस्तारै फ्रेममा बढ्छ । उनको अनुहारमा भएको फोकस बिस्तारै उसमा सर्न थाल्छ । त्यसरी सर्दा सर्दै ऊ सोध्छ ‘उसो भए तिमीलाई संगीत मन पर्छ ।’ त्यसपछि उसको अनुहार फोकस हुन्छ । कलाको अनुहार ब्लर हुन्छ । अर्थात् पितृसत्ताको सामुन्ने उनको अस्तित्व छोपिन्छ ।

सिद्धार्थ दिवानको सिनेम्याटोग्राफीले फिल्ममा यस्ता धेरै कालजयी दृश्य र तस्वीर निर्माण गरेका छन् ।

****

गीतले फिल्मको कथा र ट्रिटमेन्टसँग संवाद गर्छन् । सन् १९४० को दशकको सेटिङ ल्याउन मात्र नभएर कथाको गहिराइ अनि चरित्रको मनको भावलाई पनि ती गीतले बोक्छन् । अमिताभ भट्टाचार्यले लेखेको ‘घोडे पर सवार’ गीतले त अझ फिल्मको पोलिटिकल टेकलाई अझै बलियो बनाउँछ । यो गीत फिल्ममा त्यति बेला आउँछ जतिबेला कला पहिलोपल्ट व्यावसायिक गीत गाउन लागिरहेकी छन् । एक पुरुष संगीतकार उनलाई गीत गाउन सिकाइरहेका छन् । त्यो गीतको भावले महिलाले नाइँ भने पनि खासमा नाइँ भनेको होइन भन्ने बताइरहेका छन् । उनको त्यो भनाइले महिलाको अस्तित्वलाई स्वीकार्दैन । उनी त्यही काम गरिरहेका छन् जुन गीतका शब्दले नगर्नु भनिरहेका छन् । उनी कलालाई यौन दुर्व्यवहार गर्छन् ।

अनि फेरि गीत गाउन लगाउँछन् । यो गीतले महिला र पुरुष बीचको हरेक सम्बन्धमा हुनुपर्ने पूर्वस्वीकृतिको पक्षमा आवाज उठाउँदै पुरुषप्रधान समाज त्यसमा पटक पटक चुकिरहेको बताउँछ ।

गीतको शब्दले भन्छ-

कोही कैसे उनको ये समझाए

सजनिया के मनमें अभी इंकार है

जाने बलमा घोडे पर क्यूं सवार हैं

 

धीरे धीरे जतन करने से

दुल्हनिया के खुलते हृदय के द्वार हैं

जाने बलमा घोडे पर क्यूं सवार हैं

**** 

फिल्मले केही बिम्बलाई उत्कृष्ट तरिकाले निर्माण गरेको छ । ती बिम्ब कथाको गतिअनुसार बढ्दै जान्छन् । कलाले लगाएको लुगामा एउटा पुतलीको संकेत छ । त्यो त्यही संकेत हो जसलाई उनकी आमाले जगनको लुगामा लगाइदिएकी थिइन् । गायनमा उत्कृष्ट भएर पाएको त्यो पुतली कहिल्यै पनि कलाको हुँदैन । तर उनको लुगामा त्यसको बुट्टा छुट्दैन । त्यो पुतली बिस्तारै उनको लुगामा बढ्दै जान्छ । फिल्म सुरु हुँदा सानो रहेको त्यो पुतली अन्तिमतिरका दृश्यहरूमा उनको लुगामा शरीरभन्दा ठूलो हुने गरी बढ्दै जान्छ । त्यसले आमाको व्यवहारको असरले उनलाई कसरी निल्दै लान्छ भन्दै बुझाउँछ ।

एउटा दृश्यमा कलाको आवाजलाई अर्का गायक कोइलीको आवाजसँग तुलना गर्छन् । तब आमा भन्छिन्, ‘हो कोइलीजस्तै नै हो । अर्काको गुँडमा अण्डा पार्ने कोइली ।’ त्यो संवादले महिला सफल भएर पुरुषको भाग खोसेका हुन् भन्ने आमाको गलत बुझाइलाई बल पुर्‍याएको छ ।

उनलाई गीतको संगीतकारले यौन दुर्व्यवहार गरेपछि उनी उठ्दा कोलकाताको हावडा पुल बनिरहेको छ । त्यो पुल बनाउन फलाम जोड्दाको झिल्कोको उज्यालोमा उनको अनुहार पटकपटक देखिन्छ । त्यसरी आधुनिक मेसिनसहित विकासतर्फ अगाडि बढिरहँदा पनि महिलाको अवस्था कसरी पुरानै छ भन्ने त्यो दृश्यले देखाउँछ । विकास भनेको भौतिक निर्माण मात्र होइन भन्ने कुरालाई यसले स्थापित गर्छ ।

 फिल्ममा यस्ता धेरै दृश्य छन् जुन एक तस्वीरको रूपमा पनि धेरै कुरा भन्छन् । फिल्मको पछिल्लो अवधितिर पुग्दा उनका घरका झ्यालका सिसा मैलिएका छन् । अर्थात् उनको आफूलाई हेर्न सक्ने क्षमता कमजोर भएको छ । एउटा दृश्यमा गाइरहेको बेला उनको वरपर पूरै बादल छ । उनी स्पटलाइटमा छिन् । त्यस्तो समाजमा एक सफल महिला हुनु भनेको बादल नै बादलबीचमा सानो उज्यालोजस्तै हुनु हो भन्ने कुरा त्यो दृश्यले भनिदिन्छ ।

जुन रेकर्डिङ स्टुडियोमा पहिलोपल्ट गीत गाउन जाँदा कलामाथि यौन उत्पीडन हुन्छ, त्यो स्टुडियोको नाम क्वाइट अर्थात् ‘चुपचाप’ छ ।

****

फिल्मको एउटा दृश्यमा कला अर्का गायकलाई दूध पुर्‍याउन गएकी छन् । त्यो गायक उनको भाइ जगनको सार्वजनिक गर्ने सांगीतिक प्रस्तुतिको लागि आएको हुन्छ । उनलाई देखेपछि गायक सोध्छ, ‘कस्तो छौ ?’ उनी जवाफ दिन्छिन्, ‘मलाई देख्न सक्नुहुन्छ ? म त सोचिरहेको थिएँ म अदृश्य छु । मलाई कहिल्यै सुन्नुभएको छ ? म पनि गाउँछु नि थाहा छ ?’

त्यो संवादले क्षमता भएर पनि महिला भएकै कारण गुमनाम बनाइएका अनेक महिलाहरूको प्रतिनिधित्व गर्छ जो सायद कसैलाई सुनाउन नसके पनि भित्रभित्रै आफूलाई सुनाइरहेका होलान् ‘म पनि धेरै कुरा गर्न जान्दछु नि थाहा छ ? के तपाईंहरू मलाई देख्न सक्नुहुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?