+
+

जब रास्वपा बैठकमा पार्टी फुटको चर्चा चल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते २१:५८

१९ माघ, काठमाडौं । बिहीबार दिउँसो फेसबुकमा लेख्दा रवि लामिछाने ‘अभिमन्यु’ नबन्ने झोंकमा थिए । धेरैपछि बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा छिर्दै गर्दा त्यो झोंक मत्थर भइसकेको थियो ।

संयुक्त बैठकमा पार्टी सभापति रविले सुरुमा संक्षिप्त बोले, ‘आज तपाईंहरुको कुरा सुन्छु । अरु बेलाजस्तो दुई मिनेटमा बोलिसक्नुपर्ने नियम आज छैन । तर सकभर छोटोमा राख्नुहोस् ।’

राष्ट्रिय स्वतन्त्र पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिने आम चर्चाका बीच सुरु बैठक हलबाहिर जम्मा भएका मिडिया र सर्वसाधारणको ठूलो भीड छिचोल्दै भित्र छिरेका प्रत्येक नेताहरुले आज बोलेका थिए ।

केही नेताहरुले नरम र परोक्ष भाषामा सरकार नछाड्दा नै राम्रो सन्देश जाने बताए पनि अधिकांश केन्द्रीय सदस्य र सांसदहरुले प्रचण्ड विगतको सहमतिबाट पछि हट्न खोजेको भन्दै उनलाई सबक सिकाइदिनुपर्ने लाइनमा थिए ।

बीचमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका फोन रिसिभ गर्नेबाहेक रवि एकाग्र भावमा सहभागी नेताहरुका कुरा सुनिरहे ।

पार्टी उपसभापति तथा श्रम रोजगार सामाजिक सुरक्षा मन्त्री डिपी अर्यालले पार्टीलाई सही बाटोमा हिँडाउन सबै पदाधिकारी, सदस्यको बराबर भूमिका हुने भन्दै त्यसभन्दा आफ्नो छुट्टै कुरा नभएको संक्षिप्त वक्तव्य दिए ।

महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले भने केही दिनयता भएका भेटघाट तथा कुराकानीको फेहरिस्त सुनाउँदै आफ्नो दललाई नियोजित रुपमा कर्नर गर्न खोजिएकाले रणनीतिक कदम चाल्न आवश्यक भएको बताएका थिए ।

उनले गृहमन्त्री नपाउने अवस्थामा सरकार छाड्दा नै उचित हुने भन्दै भिन्न कोणबाट बाहिर टिप्पणी नगर्न अरुलाई आग्रह पनि गरे । उनले मिडियामा को–को कसरी बोलिरहेको छ भन्ने कुरालाई आफूले नियालिरहेको भन्दै घुमाउरो भाषामा चेतावनी पनि दिए ।

आफ्नो बोल्ने पालोमा सांसद तथा केन्द्रीय सदस्य सोविता गौतमले आफूले बाहिरी चर्चाहरुमा पार्टी फुट्दैछ भनेर सुनेको भन्दै असन्तुष्टि जनाइन् । ‘रास्वपा फुट्दैछ भनेर हल्ला चलाइएको छ, तर पार्टी फुट्ने आधार छ कि छैन भनेर कसैले केलाएर हेरेको छ ?’ उनले प्रश्न सोध्दै व्याख्या गरिन्, ‘राजनीतिक दलसम्बन्धी ऐनको धारा ३३ को दफा २ र ३ हेर्नुहोस् । दफा २ ले फुट्न सक्ने आधार दिएको छ । तर दफा ३ ले पार्टी दर्ता भएको ५ वर्ष पुगेपछि मात्रै फुट्न सम्भव हुन्छ ।’

उनले फेरि सोधिन्, ‘हाम्रो पार्टी दर्ता भएको कति भयो ?’

प्रश्नमै जवाफ सन्निहित थियो । सात महिनाअघि गठित रास्वपा फुट्नुको राजनीतिक औचित्य र कानुनी आधार दुवै पुष्टि नहुने भन्दै उनले पार्टीभित्रका मतभेदहरुलाई रचनात्मक र वैधानिक बाटोबाट अघि बढाउन आग्रह गरिन् । उनले पार्टीभित्र प्रभावकारी सञ्चार र पारदर्शिताको वकालत गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

बैठकपछि अनलाइनखबरसँग संक्षिप्त टिप्पणी गर्दै गौतमले अहिले आफ्नो पार्टी फुट्दै नफुट्ने भएकाले यसतर्फ चासो र चिन्ता व्यक्त गर्नुको कुनै अर्थ नहुने तर्क गरिन् ।

‘बाहिर आएका हल्लाहरुबारे मैले संकेत गरेकी हुँ, तर पार्टी नै फुट्न लाग्यो भन्ने अर्थमा पटक्कै होइन,’ उनले भनिन्, ‘अहिले विभिन्न कोणमा हाम्रो बारेमा बाहिर कुरा उठेका छन् । तर पार्टीले सही र आवश्यक राजनीतिक निर्णयहरु मात्रै गरेर अघि बढ्छ ।’

अर्की नेता निशा डाँगीले सरकारबाट निस्कन हतार नगर्न आग्रह गरिन् । गृह मन्त्रालय आफ्नै भएकाले रास्वपाले नै पाउनुपर्ने उनको तर्क थियो ।

‘सरकारको बारेमा छरपष्ट धारणा आएको थियो, के कसो गर्ने भन्नेमा स्पष्ट निर्णय भएको छैन’, उनले बैठकपछि भनिन्, ‘मैले अहिले सरकार छाड्नेमा हतार नगरौं भन्ने राय दिए । सभापतिले दुई दिनको समय माग्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?