+
+

ओलीको सम्बोधन : देउवालाई प्रश्न, रविलाई ढाडस

ओलीले भने कांंग्रेसमाथि लगातार प्रश्न र प्रचण्डलाई दबाव सिर्जना गर्ने क्रममा रास्वपा सभापति रवि लामिछानेलाई ढाडस दिएका थिए । ‘प्रक्रियागत त्रुटि हुन गएछ, त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो, धेरै चिजमा धक्का लाग्यो’ उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते २२:००

२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली कांग्रेसविरुद्ध चर्को आक्रोश पोखेका छन् । सोमबार प्रतिनिधिसभाको विशेष समयमा एक घण्टा १६ मिनेट सम्बोधन गरेका ओलीले कांग्रेस राजनीतिक अस्थिरताको कारक बन्न खोजेको आरोप लगाए ।

‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछाजस्तै छटपटीमा देखिन्छ । सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा छ’ ओलीले भने, ‘सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेसका साथीहरूसँग छ ।’

चार हजार ६८४ शब्दको टिपोट बोकेर रोष्ट्रममा उभिएका ओलीले कांग्रेस प्रतिपक्षमै रहनु देश र जनताको हितमा हुने बताएका थिए । ‘लोकतन्त्रमा प्रतिपक्ष सुरक्षित हुन्छ, हुनुपर्छ । भिन्न मत राख्ने स्वतन्त्रता हुन्छ, हुुनुपर्छ । वैधानिक र जेन्युन (स्वस्थ) प्रतिस्पर्धा गर्ने अवसर हुन्छ, हुनुपर्छ’, ओलीले सुझाव दिएका छन् ।

तर राष्ट्रिय सहमतिको नारा लगाएर राष्ट्रपति र सभामुखको लोभमा कांग्रेसले राजनीतिक अस्थिरता निम्त्याउने प्रयत्न गरिरहेको ओलीको आरोप थियो । ‘प्रधानमन्त्री, राष्ट्रपति लगायत मुख्य पदहरुमा आफूबाहेक अरुको नेतृत्वलाई स्वीकार गर्न नसकेर प्रतिपक्षमा पुगेको नेपाली कांग्रेसले सरकार गठन भइसकेपछि सरकारलाई हठात विश्वासको मत दियो’ ओलीले पुरानै अभिव्यक्ति दोहो¥याए, ‘कांग्रेसको यो व्यवहारलाई उसले सरकारमाथि विश्वास गरेको मान्न सकिंदैन, बरु राष्ट्रपति र सभामुख लगायतका पदको निर्वाचनमा खिचोला खडा गर्ने उसको दूराशय प्रष्ट देखिन्छ ।’

२६ पुसमा कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिइरहँदा नै आफूले सत्ता गठबन्धनमा किचलो निम्त्याउने प्रयत्न नगर्न कांग्रेसलाई सचेत गराएको ओलीले सम्झिए । त्यसबेला भनेजस्तै प्रधानमन्त्रीलाई विश्वासको मत दिएर कांग्रेसले थापेको ढोक्सा रित्तै हुने विश्वासमा अडिग रहेको पनि ओलीले बताए ।

मुुलुकले सधैं राजनीतिक अस्थिरता खेप्नु परेको निष्कर्षबाट सम्बोधन सुरु गरेका ओली अधिकांश समय कांग्रेसविरुद्ध खनिएका थिए । त्यसका निम्ति ओलीले केही उदाहरण, कथा, तथ्याङ्क, नेताहरुको अभिव्यक्ति र घटना विश्लेषणको प्रयोग गरेका थिए । ‘..अनिश्चय र अस्थिरताको बीऊ स्वयंका लागि प्रत्युत्पादक हुनसक्छ भन्ने बुझौं, कोही पनि जालन्धर नबनौं । कम्तीमा पनि २०५२, २०५८ र २०७२ सालका अनुभव हामीसँग छन्’, ओलीले भनेका थिए ।

कांग्रेसविरुद्ध आक्रोश पोखिरहँदा ओलीले प्रचण्ड नेतृत्वमा बनेको सरकारको औचित्य पुष्टि गर्न खोजे । देउवा सरकारले गर्न नसकेको काम यो सरकारले गरेर अगाडि बढ्ने ओलीको भनाइ थियो । ‘म नेपाली कांग्रेसका साथीहरूलाई आश्वस्त पार्न चाहन्छु, १० वर्षभित्रै हामी देशलाई विकसित बनाउँछौं’ ओलीको प्रतिवद्धता थियो ।

तर ओलीले कांग्रेसविरुद्ध आक्रोश पोखिरहँदा प्रधानमन्त्री प्रचण्ड भने अप्ठ्यारोमा परेको उनको हाउभाउले देखिन्थ्यो । बेलाबेला हाँस्ने प्रयत्न गरेपनि अधिकांश समय प्रचण्डले असहज महसुस गरेको अनुमान लगाउन सकिन्थ्यो । हुन पनि चुनाव अगाडिको देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्र मुख्य सत्ता साझेदार दल थियो । माओवादीका जनार्दन शर्मा अर्थमन्त्री थिए ।

ओलीले भने कांग्रेसविरुद्ध खनिने क्रममा शर्मा अर्थमन्त्री रहेकै सरकारका कारण मुलुकको आर्थिक सूचकांक कमजोर बनेको निष्कर्ष प्रस्तुत गरेका थिए । ओलीले तयार पारेको टिपोटको ३७ पृष्ठ मध्ये १२ पृष्ठ देउवा नेतृत्वको सरकारले मुलुकको अर्थतन्त्र नकारात्मक दिशातिर लगेको, तर आफ्नो नेतृत्वको सरकारले गति लिइरहेको तथ्य प्रस्तुत गर्न खर्चिएको थियो ।

‘कांग्रेस नेतृत्वको सरकारले कालोधनलाई वैधानिक बनाउने तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अनुसन्धानलाई फितलो बनाउने काम गरेका कारण मुलुक अन्तर्राष्ट्रिय जगतमा कालोसूचीमा पर्ने जोखिममा पुगेको रहेछ । यो सरकारले अविलम्ब यसमा आवश्यक करेक्सन गर्नेछ’, ओलीले भनेका थिए ।

यस्तो निष्कर्ष सुनाइरहँदा माओवादीका अरु सांसदहरु समेत अप्ठ्यारोमा परेको बुझ्न सकिन्थ्यो । तर देउवाको सरकार पूर्णतः असफल सिद्ध बनेको दावी लगातार प्रस्तुत गरिरहे ।

सत्ता समीकरणबारे जस्तो दृष्य, गतिविधि र निर्णय भइरहेको छ, यस्तो बेला प्रधानमन्त्री प्रचण्डको सम्बोधन आवश्यक थियो । नयाँ बानेश्वरमा संसद चलिरहँदा बसुन्धरास्थित पार्टी कार्यालयबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय लिइरहेको थियो । तर ओलीले सरकारको नीति तथा कार्यक्रमकै झल्को दिनेगरी सम्बोधन गरिरहँदा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा सुनेर बसिरहे ।

ओलीले भने कांंग्रेसमाथि लगातार प्रश्न र प्रचण्डलाई दबाव सिर्जना गर्ने क्रममा रास्वपा सभापति रवि लामिछानेलाई ढाडस दिएका थिए । ‘प्रक्रियागत त्रुटि हुन गएछ, त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो, धेरै चिजमा धक्का लाग्यो’ रविलाई साथ दिदै ओलीले भने, ‘रवि लामिछानेलाई न्याय भएन भने कसलाई चाहिँ न्याय भयो त ? कसले पायो न्याय ?’

विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिने भन्ने बहस चलिरहँदा रविको नागरिकतामाथि भएको फैसलाले अरु प्रश्न सिर्जना गरेको ओलीले बताए ।

‘विदेशमा रहेका नागरिकको मतदानको अधिकार भन्दैछौं, त्यो भनेको उम्मेदवार हुने अधिकार पनि होला’ ओलीले भने । सर्वोच्च अदालतको फैसला स्वीकार्ने तर कानूनी मान्यता र न्यायको सिद्धान्त भन्दा बाहिर गएर फैसला आएको ओलीको भनाइ थियो । जनताको मतबाट जितेर आएका रविमाथि न्याय नभएको ओलीले पुष्टि गर्न लामै तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?