+
+

भीम पराजुलीले सुरु गरेको विराटनगरको आकाशे पुल नागेशले रोके

हरि अधिकारी हरि अधिकारी
२०७९ माघ २३ गते १३:१४

२३ माघ, विराटनगर। विराटनगरमा अघिल्लो कार्यकालमा ठेक्का लागेका तीनवटा आकाशे पुल मेयर नागेश कोइरालाले निर्माण गर्न नचाहँदा सुरु भइसकेको काम अलपत्र परेको छ ।

कञ्चनबारी, बरगाछी र रोडशेष चोक (पाञ्चाली मोड) मा २०७७ माघमा २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लागेका आकाशेपुल नयाँ नेतृत्वले चासो नदेखाएपछि निर्माण अलपत्र परेको हो ।

ठेक्का लागेपछि कञ्चनबारीमा पुल निर्माणका लागि एकतर्फ जग बनाइएको छ । पाञ्चाली मोडमा जग बनाउनका लागि खाल्डो खनिएको छ । ‘हिजो भीम पराजुलीले शिलन्यास गरे, तर अवरोध हुँदा काम अगाडि बढेन’, महानगरपालिका स्रोतले भन्यो, ‘नागेश कोइराला आएपछि पुल निर्माणको प्रक्रिया बढाउनै चाहेनन् ।’

महानगरपालिकाले आकाशे पुल बनाउने भनिएको तीन वटै ठाउँमा स्थानीय वासिन्दाको अवरोध छ । कञ्चनबारीमा कांग्रेस नेता चुमनारायण तबदारलगायतले आफ्नो घर अगाडि आकाशे फुल नबनाउन दबाव दिएका थिए ।

पाञ्चाली मोडमा निर्माण गर्न लागिएको आकाशे पुल मेयर नागेश कोइरालाको जग्गा अगाडि पर्छ । मेयर हुनभन्दा अगाडि नै उनले आफ्नो जग्गा अगाडि पुल नबनाउन दबाव दिएका थिए । मेयर भएपछि उनले पाञ्चालीमा मोडमा पुल नबनाउने बताउँदै आएका छन् ।

पाञ्चाली मोडमा निर्माण गर्ने भनिएको पुल सुरुमा गुद्री बजारको घाँस चोकमा बनाउने तयारी थियो । तर प्रदेश १ सरकारले घाँस चोकमा आकाशे पुल बनाउने योजना अगाडि सारेपछि महानगरले बसपार्कमा बनाउने योजना बनायो । बसपार्क जमिन नभएपछि वसपार्कबाट करिब पाँच सय मिटर दक्षिण पाञ्चाली मोडमा सारेको थियो । तर काम अघि बढेन ।

दुई महिनापछि २०७७ चैत २ गते तत्कालिन मेयर भीम पराजुलीले बरगाछीस्थित पुलको शिलान्यास गरेका थिए । शिलान्यासका क्रममा उनले ६ महिनाभित्र पुल निर्माण सकिने बताएका थिए ।

विराटनगर महानगरपालिकाका अनुसार बरगाछी चोक र पाञ्चाली मोडको आकाशे पुल निर्माणको ठेक्का कला बिल्डर्सले पाएको छ भने कञ्चनबारी चोकको ठेक्का आरके बिल्डर्सले पाएको छ ।

आकाशे पुलको जग कङक्रिट र बाकीँ संरचना स्टिलको बनाउने गरी पुलको डिजाइन गरिएको विराटनगर महानगरपालिकाका इन्जिनियर अर्जुन थापा बताउँछन् ।

महानगरले जग बनाउन कञ्चनबारी र पाञ्चाली मोडको सडक छेउमा खनेको खाल्डो त्यत्तिकै छाडिएको छ । कञ्चनबारीका व्यवसायी सविन दाहालले व्यस्त सडक छेउमा खनिएको खाल्डो लामो समयसम्म नपुर्दा दुर्घटनाको जोखिम बढेको बताए ।

ठेकेदारको पनि गुनासो

कला बिल्डर्सका सञ्चालक सञ्जयकुमार यादव महानगरपालिकाका कारण ठेक्कामा घाटा भएको बताउँछन् । पुलमा प्रयोग हुने संरचना किनेर ल्याइसकेपछि जग बसाउनै नदिएको उनको गुनासो छ ।

‘मैले सामान पहिले नै ल्याएर राखेको थिएँ, तर महानगरले ल्याण्ड क्लियर नगरेपछि सामान थन्किएर बस्यो’, उनले भने, ‘ठेक्का लो बिडमा गरँे, अहिले पुलका लागि ल्याएको सामान बेच्दा बैंकको ब्याज पनि बोक्दैन ।’

पछिल्लो समय भने महानगरपालिकाले पुलको आवश्यकता नभएकाले बनाउन नसक्ने जवाफ दिएको उनले गुनासो गरे । ‘अहिले आवश्यकता छैन, ठाउँ पनि छैन भन्छ महानगरले’, सञ्चालक यादव भन्छन्, ‘नबनाउने भए हाम्रो लागत फिर्ता दिन पर्‍यो, पेनाल्टी पनि दिनुपर्‍यो ।’

वर्तमान र पूर्व मेयरका आफ्नै कुरा

विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला आकाशे पुलका विषयको जवाफ आफूसँग नभएको बताउँछन् । ‘यसको जवाफ हामी कर्मचारीसँग छैन’, उनले भने, ‘मेयर र पूर्व मेयरलाई सोध्नुपर्छ ।’

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आकाशे पुल निर्माणको विषय नगर कार्यपालिकाले निर्णय गर्ने बताउँछन् । ‘वडा नम्बर ४ को (कञ्चनबारी क्षेत्र) का वडा अध्यक्षले नगर कार्यपालिका बैठकमा विषय पेश गर्न भन्नुभएको छ’, उनले भने, ‘बाँकी दुई वटा के गर्ने भन्ने निर्णय भइसकेको छैन ।’

उनले विराटनगर घाँस चोकमा प्रदेश सरकारले आकोश पुल बनाइदिने भएका कारण त्यस वरपर अर्को आकाशेपुल आवश्यन नपर्ने ताए । ‘घाँस चोकमा प्रदेश सरकारले बनाउने योजना छ,’ उनले भने, ‘महानगरले बनाउने पुलको विषयमा अबको परिषदले निर्णय गर्छ ।’

विराटनगर महानगरपालिकाका पूर्वमेयर भीम पराजुली ठेक्का लागेको विषयलाई काम नगर्ने नियतले नगर परिषद्मा लगिएको बताउँछन् । पछिल्लो नेतृत्वले पुल नबनाउने नियत राखिएको उनले बताए ।

‘पुल नबनाउने चाहना हुँदा जता लगेपनि हुन्छ,’ उनले भने, ‘जनताको करको पैसा प्रयोग भएको छ, काम नभए ठेकेदारले क्षतिपूर्तिसहित लिन्छ, यसले राज्यलाई घाटा हुन्छ ।’

व्यस्त सडकको आवश्यकतालाई ध्यानमा राखेर आफू नेतृत्वमा हुँदा पुल निर्माणको प्रक्रिया अगाडि बढाएको उनको भनाइ छ ।

‘सडकको बीचमा डिभाइडर राखिएका छन्, सर्वसाधारणलाई आवतजावत गर्न आकाशे पुल आवश्यक छ’, पराजुली भन्छन्, ‘आकाशे पुल निर्माण भए दुर्घटनाको जोखिम हुँदैन ।’ अरु सहरमा पनि आकाशे पुल भएको बताउँदै उनले विराटनगरमा पनि पुल आवश्यक रहेको बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?