+
+

वीरगञ्जमा रात्रि बजार लगाउने तयारी गर्दैछौं : मेयर राजेशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १८:०७

२२ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगञ्जमा रात्री बजार सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पर्यटन प्रवर्द्धन तथा पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका विषयक कार्यक्रममा उनले त्यस्तो बताएका हुन् ।

रातिको १० बजेपछि वीरगञ्जका होटलमा प्रहरी पुगेर बन्द गराउने गरिएको प्रति उनले असन्तुष्टि जनाए ।

‘रातिको १० बजेपछि वीरगञ्जका होटलमा प्रहरी पुगेर बन्द गराउँछ । हामी रात्री बजार सञ्चालनको तयारीमा छौं ।’ उनले भने ‘ वीरगञ्ज नाका रातभर खोल्नुपर्छ, दुवै देशका सर्वसाधरणले रातमा पनि आवतजावत गर्न पाउनुपर्छ ।’

त्यसका लागि भारतीय पक्षसँग समन्वय भईरहेको जानकारी उनले गराए । नाईट मार्केटको कन्सेप्टमा छलफल गर्न आएका भारतीय व्यापारीको पासपोर्ट, १ लाख भारु नगद लगायत सामान भएको झोला वीरगञ्जको एक होटलमा बास बसेको ठाउँबाट नै चोरी भएको उनको भनाइ छ ।

वीरगञ्जलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न शुरु गरिसकेको बताउँदै उनले वीरगञ्ज आउने भारतीय पर्यटकलाई लक्षित गरेर कामहरु गरिरहेको बताए ।

‘भारतीय पर्यटक दारु मासु खान पैसा लिएर आउँछन्, प्रहरी प्रशासनले ५ वटा दुई हजारको नोट देख्यो भने समातेर भित्र राखिदिन्छ । २० हजार गोजीमा राखेको हुन्छ भने त्यो पनि खोसिदिन्छ ।’ उनले भने ‘ भारतीय पर्यटकलाई प्रहरीले दुःख मात्रै दिएको छ, महानगरले सवारी कर खारेज गरेर उनीहरुको पक्षमा काम गर्न शुरु गरिसकेको छ ।’ संघ सरकारले नाकामा एउटा पर्यटक सूचना केन्द्र समेत नराखेको गुनासो उनले गरे ।

वीरगञ्जलाई राम्रो बनाउन जो जहाँ छन्, त्यहीबाट महानगरले साथ खोजेको उनको भनाइ छ ।

‘होटल व्यवसायी साथीहरु होटलको कोठामा तन्ना चिटिक्क पार्नुहुन्छ तर होटलको फोहोर सडकमा फाल्नुहुन्छ । कोहि चिया खाएर सडकमा कप फाल्छन् । रातुपुल कटेपछि मात्रै चेत खुल्छ ।’ उनले भने ‘भन्सारदेखि पावरहाउससम्म परिवार लिएर जान लाज लाग्छ, सफा वीरगञ्ज बनाउन होटल व्यवसायीको पनि जिम्मेवारी हुन्छ नी । ज्ञापनपत्र, डेलिगेसनले मात्रै चल्दैन, जो जहाँ छ त्यहिबाट सहयोग गर्नुपर्छ ।’

भिश्वा डाँडालाई रमणीय पर्यटकीय क्षेत्र बनाउन टेन्डर भईसकेको बताउँदै उनले वैशाखदेखि त्यसको काम सुरू हुने बताए ।

‘ वीरगञ्जमा डेढसय वषए पुरानो नृसिंह भगवानको मूर्ति छ, किन प्रचार प्रसार हुन सकेको छैन । वीरगञ्जलाई पर्यटकीय क्षेत्र बनाउने हो, चैत महिनासम्ममा वीरगञ्जको मुहार फेरिएको देख्न सक्नुहुन्छ ।’ उनले भने ‘ दैनिक १ हजारदेखि १ हजार ५ सय पर्यटक वीरगञ्ज घुम्न आउँछन भने यहाँको पर्यटन क्षेत्र पनि मौलाउँछ । ’

वीरगञ्जमा विकासको काममा राजनीति भईरहेको बताउँदै उनले एक वर्ष कुरेर टिका टिप्पणी गर्न आग्रह गरे ।

पर्यटनक प्रहरी कार्यालय भृकुटीमण्डप काठमाण्डौं र होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जको आयोजनामा कार्यक्रम भएको थियो ।

पर्यटक प्रहरी कार्यालय वीरगञ्जसँगको सहकार्यमा आयोजित कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पर्यटक प्रहरी निरीक्षक चन्द्र किशोर साहले पर्यटक प्रहरीले नेपाल आएका पाहुनालाई अप्ठेरो पर्दा सहयोग गर्ने गरेको बताए ।

सबैभन्दा बढी उजुरी लस एण्ड मिसिङको आउने गरेको बताउँदै उनले जानकारी दिए । २०३५ साल माघ १२ गते प्रहरी निरीक्षकको कमाण्डमा ७ जना पर्यटक प्रहरी नियुक्त गरेर पर्यटक प्रहरीको स्थापना गरिएको थियो ।

हाल काठमाण्डौं उपत्यकामा १० ठाउँ, १२ जिल्लाको १८ गरी २८ स्थानमा पर्यटक प्रहरी खटिएको छ । प्रहरी नायब उपरीक्षकको कमाण्डमा २ सय ३९ जना पर्यटक प्रहरी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?