हाम्रो भान्सामा दैनिकजसो केही न केही कुरा खेर गइरहेको हुन्छ । भान्सामा उब्रिएको कतिपय कुरालाई त हामी बेकार सम्झेर फ्याँक्ने पनि गर्छौं । जबकि तिनीहरूलाई धेरै तरिकामा पुनः प्रयोग गर्न सकिन्छ ।
भान्सामा उब्रिएर खेर जाने खानेकुरादेखि भान्साबाट निस्किने फोहोरलाई पनि हामी पुनः प्रयोग गर्न सक्छौं ।
साग
अहिले सागको सिजनमा सबैको घरमा साग हुन्छ । घरमा अलि धेरै साग छ भने कतिलाई त खेर जान्छ कि भन्ने चिन्ता पनि होला । सागलाई ओइलिएर खेर जान नदिन हामी त्यसलाई गुन्द्रुक बनाएर खान सक्छौं ।
उब्रिएको तरकारी
हामी बजारबाट दुई-तीनथरी तरकारी किनेर ल्याउँछौ । सबै एक-दुई छाक पकायो, अलिकति उब्रिन्छ । उब्रिएको अलिकति पकाउँदा छाक पुग्दैन त्यसैले त्यो त्यसै खेर जान्छ । त्यो अलिअलि उब्रिएको तरकारीलाई हामी ‘मिक्स भेज’ तरकारी बनाएर पकाएर खान सकिन्छ ।
भात
भात उब्रिएर खेर जाने त आम समस्या नै हो । उब्रिएको भातलाई खेर फाल्नुभन्दा त्यसलाई खाजाको रूपमा खान सकिन्छ । भातबाट फ्राई राइस, खिर बनाएर खान सकिन्छ । थोरै मात्र उब्रिएको छ भने त्यसलाई फाल्नुभन्दा छतमा राखिदिए चराचुरुङ्गीले खान पाउँछन् ।
फाटेको दूध
फाटेको दूधलाई काम नलाग्ने मानेर धेरैले फ्याँक्ने गर्छन् । तर फाटेको दूधको पनि विभिन्न परिकार बनाएर प्रयोगमा ल्याउन सकिन्छ । फाटेको दूधबाट पनीर बनाउन सकिन्छ । साथै रसबरी पनि बनाउन सकिन्छ ।
चियापत्तीको छोक्रा
चिया पकाइसकेपछि उब्रिएको चियापत्तीको छोक्रालाई पनि हामी पुनः प्रयोग गर्न सक्छौं । चिया पकाइसकेपछि बचेको चियापत्तीको छोक्रामा फेरि पानीमा उमालेर घिउ, तेलका चिल्ला बट्टालाई त्यो पानीले सफा गर्न सकिन्छ । यसो गर्दा बट्टाबाट गन्ध हट्छ ।
चियापत्तीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ । चियापत्तीको छोक्रा यसै फाल्नुभन्दा बोटबिरुवामा हाल्न सकिन्छ ।
अण्डाको बोक्रा
अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ । जसले गर्दा छालालाई जवान र चम्किलो बनाउँछ । त्यसैले घरमा अण्डाका विभिन्न परिकार बनाउँदा अण्डाको बोक्रालाई जतन गरेर राख्नुहोस् ।
अण्डाको बोक्रालाई राम्ररी सफा गरेर घाममा सुकाएर, सुकेपछि त्यसलाई मिक्स्चरमा पिसेर धुलो बनाउनुस् । यसलाई अन्य सामग्रीसँग मिसाई प्रयोग गर्न सकिन्छ ।
गोलभेंडा
गोलभेंडा छिट्टै बिग्रिने गर्छ । घरमा अलि बढी गोलभेंडा भएको बेला धेरै त कुहिएर जान्छ । गोलभेंडालाई खेर जान नदिन त्यसको केचअप बनाउन सकिन्छ ।
गोलभेंडालाई दुई टुक्रा बनाएर त्यसलाई खाँदेको अचारको रूपमा सिसीमा राख्न पनि सकिन्छ ।
अन्त्यमा भान्साका यी सबै खेर जाने कुहिने फोहोरलाई कम्पोस्ट मल पनि बनाउन सकिन्छ । भान्साबाट निस्किएको कुहिने फोहोरबाट कम्पोस्ट मल बनाएर बोटबिरुवामा हाल्दा बोटबिरुवा राम्ररी सप्रिन्छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4