+
+

पृथ्वीबहादुर शाहको खाता रोक्का नगर्दा चार वटा बैंक परे राष्ट्र बैंकको कारबाहीमा 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २५ गते १३:४९

२५ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा वाणिज्य बैंकलाई ५० लाखको दरले नगद जरिबानासहित कारबाही गरेको छ । आपराधिक क्रियाकलपबाट आर्जित स्रोत नखुलेको रकम नेपाल ल्याउन खोजेका पृथ्वीबहादुर शाहको बैंक खाता रोक्का राख्न दिएको निर्देशन पालना नगरेपछि राष्ट्र बैंकले ४ वटा वाणिज्य बैंकलाई ५० लाख रुपैयाँको दरले नगद जरिबानासहित कारबाही गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

कारबाहीमा पर्नेमा कुमारी बैंक, ग्लोबल आईएमई बैंक (तत्कालीन बैंक अफ काडमाण्डू), प्राइम कमर्सियल बैंक र प्रभु बैंक रहेका छन् । राष्ट्र बैंकले बैंक खाता रोक्का राख्न निर्देशन दिएपछि पनि यी ४ वटा बैंकको खाता प्रयोग गरी शाहले कारोबार गरेको पाइएपछि कारबाही गरिएको राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागले पुष्टि गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको भन्दै ४ वटा बैंकलाई ५० लाखका दरले राष्ट्र बैंकले जरिवाना गरेको हो । सोही मुद्दामा नबिल बैंकले पनि खाता रोक्का नगरेको भएपनि बैंकको खाता प्रयोग गरी शाहको कारोबार नभएको हुँदा बैंकलाई सेचत मात्रै गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

‘नेपाल राष्ट्र बैंक ई. प्रा. निर्देशन नं. १९/०७८ (सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था), बुँदा नं. २० कारबाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्रसं. २ मा रहेको ग्राहक पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले बैंकलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७ , उपदफा १ (क) अनुसार नबिल बैंकलाई सचेत गराइएको छ’ राष्ट्र बैंकले भनेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन नं. १२/०७८ को कर्जा सूचना तथा कालोसूची सम्बन्धी व्यवस्था प्रभु बैंकले पालना नगरेको पाइएकोले सचेत गराइएको राष्ट्र बैंकको जनाएको छ ।

तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकसहित माछापुच्छ्रे बैंक र सिभिल बैंकलाई कर्जाको प्रिमियमा वृद्धि गर्ने र डिस्काउन्ट दिनेजस्ता कार्य गर्न नपाई व्यवस्था उल्लंघन गरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ मा एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्तावपत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागु गर्न नपाइने व्यवस्था भएकोमा सोको अनुपालना भएको नभएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम ती ४ वटै बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ’ राष्ट्र बैंकले भनेको छ ।

माछापुच्छ्रे बैंकलाई नै पूँजी पर्याप्तता सम्बन्धी व्यवस्था २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना नभएको कारणले पूँजीकोष पर्याप्तताको यथार्थ विवरण पेश नगरेको देखिएको राष्ट्र बैंकले जनाएको छ । सोही विषयमा बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।

सानिमा बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत भुवन दाहाललाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई उलंघन गर्दै थप सेवा सुविधा प्रदान गरेकोले बैंकलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ । ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (७) को उल्लंघन हुने गरी तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई थप सुविधा प्रदान गरेको देखिएकोले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९९ को उपदफा (१) (क) अनुसार सानिमा बैंकलाई सचेत गराइएको’ राष्ट्र बैंकले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?