+
+

यूएसएआईडी प्रमुखले घोषणा गरेको साढे ७ अर्ब सहयोग कहाँ खर्च हुन्छ ?

दिपेश शाही दिपेश शाही
२०७९ माघ २६ गते १७:१८

२६ माघ, काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरले नेपालको दुई दिने भ्रमणका क्रममा नेपाललाई ६ करोड ८५ लाख अमेरिकी डलर (करिब साढे ७ अर्ब रुपैयाँ) सहयोग घोषणा गरिन् ।

उक्त सहयोग घोषणाबारे स्पष्ट पार्दै पावरले नेपालमा लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरण, सञ्चारमाध्यमको समर्थन तथा स्थानीय निर्वाचन एवं कानुनी शासनलाई मजबुत बनाउन र मानव बेचबिखनविरुद्ध लड्नका लागि सहयोग दिन लागेको बताइन् ।

अमेरिका नेपाललाई आर्थिक सहयोग गर्ने पहिलो मुलुक भएको भन्दै उनले यूएसएआईडीमार्फत ६ दशक अघिदेखि सहयोग गर्दै आइरहेको उल्लेख गरिन् ।

घोषणा भएको रकममध्ये एक करोड ८३ लाख डलर नयाँ सहयोग हो भने बाँकी चार करोड दुई लाख डलर सन् २०२२ मा सम्झौता गरिएको ६५ करोड ९० लाख डलरकै अंश हो । सहयोग घोषणा गर्दै गर्दा उनले कुन–कुन क्षेत्रमा खर्च हुनेछ भन्ने बारेमा समेत स्पष्ट पारेकी थिइन् ।

‘यूएसएआईडीको लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीहरूका निम्ति अझ बृहत् समृद्धि भित्र्र्याउन मद्दत पुग्ने विश्वास छ,’ उनले ललितपुरमा आयोजित कार्यक्रममा भनेकी थिइन् ।

उनले घोषणा गरेको यो सहयोग नेपालले कसरी प्राप्त गर्छ र यो रकम खर्चको प्रक्रिया के हुन्छ ?

अन्तर्राष्ट्रिय सहयोग र विकास मामिला जानकार हिरा विश्वकर्मा नेपालमा काम गरिरहेका अमेरिकी आईएनजीओमार्फत खर्च गर्ने क्षेत्रसम्म उक्त रकम पुग्ने बताउँछन् ।

‘नेपालमा सक्रिय अमेरिकी आईएनजीओहरूलाई कहिले प्रतिस्पर्धा त कहिले अनुदानमार्फत यूएसएआईडीको रकम दिइन्छ । ती आईएनजीओमार्फत नै नेपालमा भएका विभिन्न संघ संस्थाहरूसम्म उत्त सहयोग रकम पुग्छ,’ उनी भन्छन्, ‘त्यसमध्ये पनि केही सीमित रकम उनहरूले लिएर जान्छन् । तर, त्यो सिधै लिने भन्ने हुँदैन । विभिन्न किसिमका काममा आफ्नो उत्पादन वा जनशक्तिको प्रयोग गरेर लिने हुन्छ ।’

अहिले घोषणा भएको रकम नागरिक समाज र सञ्चार माध्यमको समर्थनमा खर्च गरिने जनाइएको छ । नेपालमा सञ्चार माध्यमको हकमा काम गर्ने विभिन्न संघ संस्थाहरूले उक्त रकम प्रतिस्पर्धा वा अनुदानमार्फत प्राप्त गर्छन् । सञ्चार क्षेत्रको हकमा काम गर्ने  र मानव अधिकारको क्षेत्रमा काम गर्ने संस्थाले यो रकम प्राप्त गर्न सक्छन् । त्यस्तै दलित अधिकारका लागि काम गरिरहेका दलित महिला अधिकार संघ, दलित सेवा संघ जस्ता संस्थाले सोही क्षेत्रमा काम गर्नका लागि यो रकम पाउँछन् ।

पावरले भनेको अर्कौै महत्वपूर्ण समुदाय एलजीबीटीआईक्यू अर्थात, लैंगिक अल्पसंख्यक हो । त्यसका लागि ब्लू डाइमन्ड सोसाइटीलगायत विभिन्न संघ संस्था छन् । त्यस्तै मानव बेचविखन विरुद्ध काम गरिरहेका माइती नेपालजस्ता संस्था छन् । विश्वकर्मा यसरी सम्बन्धित विषयमा काम गरिरहेका संस्थाबाट उक्त रकम खर्च हुने अनुभव रहेको बताउँछन ।

अमेरिकाले कहिलेकाहीँ ‘एम्बास्डर फन्ड’ का नाममा विभिन्न क्षेत्रमा सिधै सहयोगको घोषणा समेत गरिरहेको हुन्छ । तर उक्त सहयोग रकम एक लाख अमेरिकी डलरभन्दा कम मात्रै हुन्छ । त्यो भन्दा बढी रकम हुँदा विभिन्न आईएनजीओमार्फत नै अमेरिकाले सहयोग गर्छ । सेभ द चिल्ड्रेन, एसिया फाउन्डेसल लगायत विभिन्न अमेरिकी आईएनजीओमार्फत उक्त खर्च गराइरहेको हुन्छ ।

खर्चको प्राथमिकता कुन विषयमा हुने भनेर यूएसएआईडीले अमेरिकाबाटै प्राथमिकता निर्धारण गरेर पठाएको हुन्छ । आफ्नो हित र त्यही अनुसार प्राथमिकता तोकेर यो रकम खर्च हुन्छ ।

पावरले घोषणा गरेको सहयोग कुन–कुन शीर्षकमा हुन्छ खर्च ?

समावेशी लोकतन्त्रको सुदृढीकरण :

घोषणा गरिएको रकममध्ये समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि २ करोड डलरसम्म समावेश गरिएको यूएसआईडीले जनाएको छ ।

उक्त घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न खर्च हुने भनिएको छ ।

नागरिक समाज र सञ्चार माध्यमको समर्थन :

उक्त लगानीमा सामुदायिक आवश्यकता, आधारभूत स्वतन्त्रता र जवाफदेहितालाई अघि बढाउन महिला, युवा र सीमान्तकृत समुदायको नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थाहरूलाई सहयोग गर्न १ करोड ८५ लाख डलरसम्मको रकम समाविष्ट गरिएको जनाइएको छ ।

सरकार र आमजनतासँग प्रभावकारी रूपमा संलग्न हुन आवश्यक सीप, विश्वसनीयता र विधिहरू विकास गर्दै गर्दा उक्त नागरिक समाजका संगठनहरूसँग यूएसएआईडीले काम गर्ने समेत भनिएको छ ।

त्यस्तै यूएसएआईडीले सञ्चार माध्यममाथिको सामाजिक विश्वास बढाउने किसिमका विश्वसनीय सूचना र अझ बढी विविधतायुक्त भाष्यहरूमा सार्वजनिक पहुँच सुधार गर्ने प्रयासहरूलाई सहयोग गर्न सञ्चार माध्यमहरूसँग पनि साझेदारी गर्ने यूएसआईडीले जनाएको छ ।

स्थानीय निर्वाचन तथा कानुनी शासनलाई मजबुत बनाउने र मानव बेचबिखनविरुद्ध लड्ने :

कानुनी शासनलाई मजबुत बनाउन, स्वतन्त्र र निष्पक्ष निर्वाचनलाई थप टेवा पुर्‍याउन र मानव बेचबिखनविरुद्ध लड्न पनि यूएसएआइडीले स्थानीय नेपाली सङ्गठनहरू र सरकारी संस्थाहरूसँग निकट रही काम गर्ने र तिनलाई सहयोग गर्ने भएको छ ।

यी नयाँ लगानीहरू नेपालका लक्ष्य र आकांक्षाहरूलाई टेवा पु¥याउन यहाँको सरकार, जनता, निजी क्षेत्र र अन्य क्षेत्रसँग रहेको यूएसएआईडीको ६० वर्षभन्दा लामो साझेदारीमा आधारित रहेको पावरको भनाइ छ ।

यूएसएआईडीले नेपालीहरू आफ्नो लोकतन्त्रलाई कसरी सुदृढ बनाउने भनेर राम्ररी जान्दछन् भन्ने विश्वास रहेको भन्दै सम्मानजनक र पारस्परिक सहयोगबाट मात्र नेपाललाई समृद्ध बन्न मद्दत गर्न सक्छौँ भन्ने मान्यतामा आधारित भएर सहयोग गरेको जनाएको छ ।

नेपालको नयाँ सरकारले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्ट गरेका र अन्य सरकारी प्राथमिकताहरूसँग आफ्नो सहयोगलाई समायोजन गर्न र नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न यूएसएआइडी तत्पर उनको भनाइ छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?