+
+

७ कुरा : कसरी आफ्नो दिनचर्या राम्रो बनाउने ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ २७ गते १३:४६

काठमाडौं । घरबाट निस्कनुअघि हामी कति काम गर्छु भनेर सोचिरहेका हुन्छौं । तर साँझ घर फर्कंदा थाहा हुन्छ हाम्रो मुख्य मुख्य काम नै बाँकी रहेछ । किनभने हामी सही काममा केन्द्रित हुने भन्दा पनि अनावश्यक कुरामा अलमल गरिरहेका हुन्छौं ।

बिहान चाँडै उठ्ने 

बिहान चाँडै उठ्दा शरीरमा विभिन्न हार्मोनहरु रिलिज हुन्छन्, जसले शरीरलाई ऊर्जा दिन्छ । बिहान चाँडो उठ्दा हाम्रो दैनिक कामको लागि पर्याप्त समय हुन्छ । बिहान ५ देखि १० बजेसम्म तपाईंले जति काम गरेर भ्याउनुहुन्छ त्यो दिनभरिको काम बराबर नै हुन्छ । बिहानको त्यो महत्वपूर्ण समयलाई गुमाउनुभयो भने त्यो समय परिपूर्ति गर्न कहिल्यै सकिंदैन ।

दिनभरिको कामको सूची बनाउने

घरबाट निस्कँदा हामी दिनभरि यो यो काम गर्छु भनेर निस्कन्छौ । तर धेरै पटक बिहान हतारको कारण हामी आफ्नो काम सही समयमा र सही तरिकाले गर्न सकिरहेका हुँदैनौं । यसको मुख्य कारण आफ्नो कामको योजना बनाउन नसक्नु हो । त्यसैले दिनभरि के गर्ने ? कुन कामलाई बढी प्राथमिकता दिने ? समय छुट्याउनुपर्छ । कामको प्राथमिकतालाई छुट्याएर सूची बनाउनुपर्छ र त्यो सूचीअनुसार काम गरियो भने महत्वपूर्ण काम बिर्सिंदैन र समयको पनि बचत हुन्छ ।

कसलाई भेट्ने पनि तय गर्ने 

दिनभरि हामीले धेरै व्यक्तिलाई भेटिरहेका हुन्छौं । कतिलाई भेट्ने योजना हुन्छ भने कसैलाई बिनायोजना पनि भेटिन्छ । यदि तपाईंलाई आज धेरै भेटघाट गर्नुछ भने दिनभरमा कस–कसलाई भेट्नैपर्ने छ, कुन समयमा भेट्ने भनेर समय पनि तय गर्नुस् । यसो गर्दा तपाईंले भेट्नुपर्ने व्यक्तिलाई समयमा भेट्न सक्नुहुन्छ ।

आफूलाई खुसी बनाउने काम पनि गर्ने 

आज कुनै एक यस्तो काम गर्ने योजना बनाउनुहोस्, जसले तपाईंलाई खुसी बनाउँछ । तपाईंलाई केही कुनै खेल खेल्न मन पर्छ वा हेर्न मन पर्छ भने त्यसको लागि पनि केही समय छुटाउनुहोस् । जुन काम गर्दा तपाईंलाई राम्रो लाग्छ, त्यस्ता कामले तपाईंलाई खुसी दिन्छ । सधैं केही नयाँ र फरक काम गर्नुपर्छ, जसले आफूलाई खुसी मिलोस् । त्यो खुसी दिने कामलाई आफ्नो दैनिक सूचीमा समावेश गर्नुहोस् ।

अनावश्यक भेटघाट र खर्च कटाउने 

बिहान घरबाट बाहिर निस्कनुअघि अनावश्यक भेटघाट, अनावश्यक खर्च गर्दिन भनेर अठोट गर्नुस् । हामी दैनिक धेरै अनावश्यक भेटघाट गरिरहेका हुन्छौं । कसैले तपाईंलाई भेटघाटको लागि बोलायो भने त्यो भेट कत्ति महत्वपूर्ण छ, त्यो सोच विचार गरेर मात्र भेट गर्नुस् यसो गर्दा तपाईंको समयको बचत हुन्छ । अन्य महत्वपूर्ण काममा त्यो समयलाई तपाईं खर्चिन सक्नुहुन्छ ।

दैनिक हुने खर्चलाई पनि कटौती गर्न सकियो भने महिनाको अन्त्यमा हुने खर्च अभावलाई त्यसले परिपूर्ति गर्न सकिन्छ । केही महत्वपूर्ण कुरामा त्यो पैसालाई खर्च गर्न सकिन्छ ।

साँझ कुन समयमा घर फर्किने तय गर्ने 

साँझ कुन समयमा घर फर्कने हो, टुंगो गर्नुहोस् । तपाईंको दैनिक तालिका एकदमै राम्ररी बित्यो भने तपाईं ठीक समयमा नै घर पुग्नुहुन्छ । तपाईं समयमा घर पुग्नुभयो भने परिवारका सदस्य पनि खुसी हुन्छन् । मानौं, तपाईं ७ बजे घर पुग्नुभयो भने ८ बजे खाना खानुहुन्छ अनि १० बजे सुत्नुहुन्छ । तर यदि तपाईं १० बजे घर पुग्नुभयो भने खाना ढिलो हुन्छ र सुत्ने समय १२ बजे पुग्छ । त्यसैले घरबाट निस्कने भन्दाअघि म आज यति बजे घर फर्कन्छु भनेर टुंगो गर्नुपर्छ । यसो हुँदा तपाईंको भोलिको दैनिकी पनि राम्रो हुन्छ ।

आजको दिन सर्वोत्तम हुनेछ भन्ने प्रण गर्ने 

घरबाट निस्कनुअघि एउटा मात्रै प्रण गर्नुहोस्, आजको दिन मेरो लागि सर्वोत्तम छ । यस्तो प्रण गरेर तपाईं बाहिर निस्कनुभयो भने दिन साँच्चै सर्वोत्तम हुन्छ । भोलि परीक्षा छ, मलाई छिटो उठ्नु छ भनेर प्रण गरेर सुत्नुभयो भने तपाईं समयमा नै उठ्नु हुन्छ । त्यस्तै कुनै कुरामा तपाईंले प्रण गर्नुभयो भने त्यो काम राम्ररी सही समयमा हुन्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?