+
+

पृथ्वीबहादुरले ५ वर्षमा पठाएको ६१ करोड अमेरिकामा गरिएको ठगी

सरकारी कागजात कीर्तेमा पनि मुद्दा चल्ने

गौरव पोखरेल गौरव पोखरेल
२०७९ माघ २९ गते १९:४७
पृथ्वीबहादुर शाह ।

२९ माघ, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतमा रहेका पृथ्वीबहादुर शाहले अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपैयाँ शंकास्पद रुपमा नेपाल भित्र्याएको पाइएको छ ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा शाहसहितको समूहले अमेरिकी नागरिकलाई ठगेर ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर भित्र्याएको पाइएको हो ।

विभिन्न ११ वटा बैंकमा रहेको त्यो रकम नेपाल राष्ट्र बैंकले रोक्का गरिसकेको छ । तीबाहेक पनि शाहको खातामा बेलायती पाउण्ड १२ हजार ८२५ (नेपाली रुपैयाँ २० लाख ४१ हजार) जम्मा भएको देखिएको प्रहरीले जनाएको छ ।

ती सबै रकम विदेशी नागरिकलाई ठगी गरेर नेपाल ल्याइएको अनुसन्धानबाट देखिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार शाहसहितको समूहले कम्पनी रजिष्ट्रारको कार्यालयमा वर्ल्ड ट्राभल्स एण्ड इन्भेष्टमेन्ट प्रालि, वर्ल्ड फस्ट होलिडे प्रालि, वर्ल्ड वाइड रेमिट प्रालि, वर्ल्ड एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालि, टाइम्स टुडे पिस होलिडे इन्भारमेन्ट प्रालि, वर्ल्ड एट वर्क कन्सल्टेन्स प्रालि लगायतका कम्पनीहरु दर्ता गरेर रकम भित्र्याएको देखिएको छ ।

प्रहरीका अनुसार २०७४ सालयताका शंकास्पद रकमबारे अहिले छानबिन भइरहेको छ । ब्यूरोले अनुसन्धान थालेपछि अहिलेसम्म ९ जना अमेरिकी नागरिकले शाहविरुद्ध किटानी जाहेरी दिएका छन् । ब्यूरोका निर्देशक सुवेदीका अनुसार शाहको समूहले दर्जनौं कम्पनी खोलेर उद्देश्यभन्दा फरक प्रकृतिको कार्य गरेको अनुसन्धानबाट पुष्टि भएको छ ।

प्रहरीका अनुसार ब्यूरो समक्ष सुरुमा जाहेरी दिएकी अमेरिकी नागरिक जुलिया होड्याज रिकेटलाई शाहको समूहले ‘एन्टी भाइरस’ नवीकरण गर्न भन्दै सम्पर्क स्थापित गरेको थियो । त्यसक्रममा उनको कम्युटरमा पहुँच बनाएर ‘एन्टी भाइरस’ नवीकरणवापत पैसा पठाउन भन्दै झुक्क्याएर रकम चोरी गरेको थियो ।

‘एन्टी भाइरस नवीकरण गर्ने भन्दै डलर खातामा पहुँच बनाएर आफूखुशी ट्रान्सफर गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न एक अधिृकतले भने, ‘त्यसरी बेइमानीपूर्वक चोरेको रकम वायर स्क्याम गरेर स्वीफ्टमार्फत नेपाल पठाएको देखिएको छ ।’

अर्का पीडित जेम्स फार्मरले खारेज भइसकेको कम्पनीबाट ४८१ अमेरिकी डलर पाउनुपर्ने थियो । त्यो रकम फिर्ता गरिदिन्छु भन्दै सम्पर्क गरेर कम्प्युटरमा पहुँच पु¥याएर रकम चोरी गरेको अनुुसन्धानबाट देखिएको छ ।

ब्यूरोका एक अधिृकतका अनुसार उनले ४८१ अमेरिकी डलर पाउनुपर्नेमा ४ लाख ८१ हजार अमेरिकी डलर गएको नोटिफिकेसन कम्युटरमा पठाइएको थियो । र, बाँकी पैसा फिर्ता मागिएको थियो । त्यो रकम पनि नेपाल पठाएको खुलेको छ ।

दरबारमार्गस्थिगत टाइम्स टुडे पिस होलिडे इन्भारोमेन्ट प्रालिको खातामा जम्मा गरेको पाइएको सीआईबीले जनाएको छ । ब्यूरोका अनुसन्धान अधिकृतहरुका अनुसार शाहको समूहबाट ठगिएका परेका अमेरिकी नागरिकमध्ये अधिकांश वृद्ध अवस्थाका छन् ।

‘कतिपय अल्जाइमर्सका बिरामी छन्, कोही वल्र्ड एजका छन्’, एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने, ‘कसैलाई घरमा सामान सप्लाई गरिदिन्छु, कसैलाई कम्युटर एसोसरिज पठाइदिन्छु भन्दै ठगी गरेको देखिएको छ ।’

प्रहरीका अनुसार कतिपय घटनामा पीडितलाई स्क्रिन शेयर गर्न बाध्य पारेर पैसा ट्रान्सफर गर्न लगाएको पाइएको छ । प्रहरीका अनुसार २०७४ अघि पनि शाहले कारोबार गरेको हुनसक्ने देखिएको छ । तर, पुरानो कारोबारबारे अनुसन्धान भएको छैन ।

अनुसन्धान अधिकृतहरुसँग बयानका क्रममा शाहले अवैध रकम ल्याएको आरोप अस्वीकार गरेका छन् । उनले नेपाल घुम्न आउने पर्यटकलाई सहजीकरण गरिदिएवापत आफूलाई रकम प्राप्त भएको दाबी गरेका छन् । जबकि, कोरोना भाइरसको महामारीका कारण पर्यटन व्यवसाय ठप्प भएका बेला पनि उनको खातामा ठूलो परिमाणमा रकम आएको देखिएको छ ।

उनले आफ्नो कम्पनीहरुले विदेशीका लागि अनलाइन सर्भिसेस गरिदिने बताउँदै कतिपयको डकुमेन्ट तयारी गरिदिएवापत कमिसन लिने गरेको बताएका छन् ।

‘शाहले अवैध रकम हो भन्ने स्वीकारेका छैनन्, यद्यपि प्रमाणहरुले उनले अमेरिकामा रहेका केही व्यक्तिहरुसँग मिलेर संगठित रुपमा ठगीको ¥याकेट चलाएको देखिएको छ’, उनी भन्छन् ।

कागजात कीर्तेमा पनि मुद्दा चल्ने

ब्यूरोले २२ पुसमा पृथ्वीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका अन्य व्यक्तिहरुलाई उनले कम्पनी स्थापनाका लागि प्रयोग गरेका थिए ।

‘अरु थुप्रै कम्पनीका सञ्चालकहरु पनि प्रतिवादी बन्न सक्ने अवस्था छ, तर सबैलाई ल्याएर अहिले थुन्न सहज स्थिति छैन’, एक अधिकृत भन्छन्, ‘कतिपयलाई आफ्नो नाममा कम्पनी दर्ता भएको समेत थाहै छैन ।’

पृथ्वीका भाइ विजयविक्रम शाहलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान क्रममा पृथ्वीले सरकारी कागजात कीर्ते गरेको पनि फेला परेको छ ।

ब्यूरोका एक अधिकृतका अनुसार शाहले चाबहिलमा भाइ विजयको नाममा रहेको जग्गाको मूल्यांकन बढाएर बैंकबाट ऋण लिएको पाइएको छ । ‘उनले ९० लाखको जग्गालाई डेढ करोडको मूल्यांकन पत्र बनाएर ऋण निकालेको देखिएको छ’, उनले भने, ‘त्यसैले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने निर्णय गरेका छौं ।’

वित्तीय शुद्धीकरणबारे अनुसन्धान गर्ने अमेरिकी निकाय ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिन्सेन)’ ले मल्लको कम्पनीहरुमा आएको लगानीको स्रोतबारे शंका गरेपछि नेपाल राष्ट्र बैंकलाई रकम रोक्का राख्न पत्राचार गरेको थियो । त्यसका आधारमा नेपाल राष्ट्र बैंक, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायतले पनि अनुसन्धान थालेका थिए ।

अनुसन्धानका लागि विवरणहरु ती निकायमा पुगिसकेको अवस्थामा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकमा तोक लगाएर शाहको रोक्का भएको रकम फिर्ता गर्न दबाव दिएको सार्वजनिक भएको थियो । यही प्रकरणले गभर्नर महाप्रसाद अधिकारी र शर्माबीच विवाद उत्कर्षमा पुगेको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?