मानवताको भावसहित साथी खोज्ने नैसर्गिक प्रवृत्तिले प्रेमको रचना भएको हुनुपर्छ । तर आज प्रेमको स्वरुप बदलिंदो छ । आधुनिक प्रेममा पुँजीवाद हाबी भएको छ । किनभने अहिले मानिसहरु उपभोक्तावाद र चरम पुँजीवादको चंगुलमा फसेका छन् । त्यसको बाछिटा प्रेम सम्बन्धमा पनि परेको छ । यसले प्रेमलाई भावविहीन र चेतनाविहीन बनाइदिएको छ ।
किनभने मान्छेलाई रातदिन पैसाको चासो छ । पैसाकै खाँचो छ । पैसाले सबै कुरा पाइन्छ भन्ने मनोविज्ञानले ग्रस्त छ मान्छे । प्रेम पनि पैसाकै तागतले किन्न सकिन्छ भन्ने भ्रम व्याप्त छ ।
कुनैबेला सिनेमामा देखाइने प्रेममा जात, धर्म, भूगोल, वर्गको कुनै सीमा हुँदैनथ्यो । त्यसैले यसलाई एक पवित्र बन्धनको रुपमा मान्छेले अर्थ लगाउँथे । तर आजको प्रेम कहाँ त्यस्तो छ र ? प्रेम पनि किनबेच हुने वस्तु भएको छ । वर्ग, सत्ता, जातले प्रेमलाई विभाजित गरेको छ । धनी र निर्धनबीच, कथित उच्च जात र तल्लो जातबीच प्रेम सम्बन्ध स्थापित हुन कठिन छ । यो चरम पुँजीवादी समाजमा प्रेम जात र वर्गअनुसार फरक छन् ।
मान्छेका दुःखसुख, विवाह र पारिवारिक संघर्षको तह फरक छ । अर्थात पुँजीपति वर्ग र सर्वहारा वर्गले गर्ने प्रममा यहाँ फरक छ । कर्णालीको विपन्न जोडी प्रेम सम्बन्ध बनाउन गोठालो जान्छन् भने शहरका संभ्रान्त जोडी प्रेम सम्बन्ध बनाउन महंगा रेस्टुरेन्ट छिर्ने गर्छन् । यहाँ प्रेमको रुप एक छैन ।
प्रेम मात्र होइन, यौन र विश्वास पनि चरम पुँजीवादको दोसाँधमा फसेको छ । महिलाहरु आफ्नो रोजाइको प्रेम सम्बन्धका बारेमा र भए–गरेका यौन हिंसाका बारेमा खुलेर बोल्न थालेका छन् । तर के पुँजीवादको हाबीले हाम्रा सबै मानसिकता, संस्कार र बुझाइमा परिवर्तन आउन सकेका छन् त ?
सामाजिक व्यवहारहरु जडसूत्रवादी छन् । परम्परा, संस्कार र संस्कृतिहरु महिलामाथि विभेदकारी छन् । र हाम्रा अपेक्षाहरु पनि पृथक छन् ।
अहिलेको जुन वर्तमान अवस्था छ, त्यसमा चरम पुँजीवादको पासोमा पर्ने प्रेमिल सम्बन्धहरुलाई आदर्श मान्न सकिन्न । त्याग र समर्पणयुक्त हुनुपर्ने प्रेममा चरम पुँजीवाद हाबी छ । यति शाश्वत मानिने प्रेमलाई पुँजीवादको तराजुमा लेनदेनको विषय बनाइदिंदा जरुर प्रेमको दुःखद अन्त्यलाई रोक्न सकिएको छैन । यति चोखो निर्मल सम्बन्धलाई विवाह अघि महंगो बनाएर होस् वा विवाहसम्म पुग्दा दाइजो र दाइजो नदिंदा घरेलु हिंसा खेपेर सम्बन्धविच्छेद भएका घटना हेर्दा प्रेमको सोझो अर्थलाई औचित्यहीन बनाउन चरम पुँजीवादको योगदान छ ।
जीवन भनेकै तंरगिनु, चलमलाउनु, लहराउनु हो । रहस्यका झिल्काहरुमा आफूखुसी आनन्द लिनु पनि हो । समयक्रममा हाँस्न, खेल्न, रमाउन साथी चाहिन्छ । जिन्दगीको लामो दुरी पार गर्न जीवनसाथी चाहिन्छ । तर जीवनमा प्रेमी वा प्रेमिका किन चाहिन्छ ? के प्रेमी–प्रेमिकाबिना हाम्रा सुख–दुःख, प्राप्ति–हानि, हार–जित, आँसु–हाँसो, आदर्श–सपना, दृश्य–भावना सबै अपूरा हुन्छन् त ?
यदि कुनै परमपूज्य प्रेमिकाको जालमा परेको भए म कस्तो हुन्थें होला ? एकचोटि त्यो पाटोलाई पनि नियालौं । केटी उस्तै खर्चालु र रिसाहा परेको खण्डमा, कुरा नबुझ्ने र जिद्दी गर्ने खालको भएमा, समस्याको गहिराइमा नपुगी सतही बकवासमा रुमल्लिने भएको खण्डमा जिन्दगी झन् विरक्तलाग्दो हुन्छ ।
महंगो चमेनागृहमा छिरियो, धेरै थोक मगाइयो, खाने कुरा खाँदा बहुत मीठा गफ पनि गरियो, एकअर्काका लागि आकाशको तारा झार्नेदेखि लिएर समुद्रको मोती टिप्नेसम्मका कुरा समेटियो तर बिल तिर्ने बेलामा मैले मात्र आफ्नो गोजीबाट पर्स वा डिजिटल वालेट निकाल्नुपर्यो भने सोच्नुस्, यो सम्बन्ध कहिलेसम्म टिक्ला ? र, चमेनागृहबाट निस्किएर मैले घर पुग्दै गर्दा सोच्छु, यो सम्बन्धमा समभाव खोई ?
अर्को उदाहरण, म घरमा बिरामी भएर सुतिराखेको हुन्छु तर गर्लफ्रेण्डको जिद्दीकै कारणले मन नभएर पनि म सिनेमा हलसम्म पुग्छु, फिल्म त हेर्छु तर म मनोरञ्जन गर्न सक्दिन । घर आएपछि मैले पनि सोच्न बाध्य हुन्छु, यो सम्बन्धमा त्याग र योगदान जहिले पनि मैले नै गर्नुपर्ने ? त्यसो भए यो सम्बन्धको अर्थ के ? यो त मालिक र नोकरको जस्तो सम्बन्ध भएन र ?
हामी फूलबारीका फूलहरु टिप्ने तँछाडमछाडमा हुन्छौं । कल्पना र भावनामा बोलिदिन्छौं । गर्नुसम्मका त्याग र दिनुसम्मका भाउ दिन्छौं । तर यसमा कहींकतै सन्तुलन बिग्रन्छ । एकअर्काबीच माया र भरोसा टुट्न थाल्छ । त्यसपछि हामी आफैं बिथोलिन थाल्छौं । संसार नै अन्धकार भएको महसुस गर्न थाल्छौं । अनि आफैंलाई भित्रभित्र जलाउँछौं । यसले हाम्रा आमाबुवा, घरपरिवारलाई पनि सास्ती दिन थाल्छ । प्रेमले त मीठो आभास दिलाउनुपर्ने तर आज हामीले जोड्ने धेरै प्रेम सम्बन्धले मनमा आगो सल्काइदिन्छ । यस्तो प्रेमले हाम्रो जीवनको लय नै टुट्न पुग्छ ।
प्रेम त त्यस्तो होस्, जसले जीवन सुमधुर बनाइदिन्छ । पे्रम त्यस्तो नहोस्, जसले जीवन बर्बाद बनाइदिन्छ । त्यसैले प्रेममा बहकिएर आफ्नो सन्तुलन नगुमाऔं । जीवनको लय र धुन कायम राखौं ।
प्रतिक्रिया 4