+
+
लिग टूमा लगातार दोस्रो जित :

नेपाली ब्याट्सम्यानले जगाएको आश

कुशल तिमल्सिना नमिता दाहाल कुशल तिमल्सिना, नमिता दाहाल
२०७९ फागुन ५ गते २२:२३

५ फागुन, काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूको च्याम्पियन बन्ने निश्चित भइसकेको स्कटल्याण्डलाई ३ विकेटले हराएको छ ।

मंगलबार नामिवियाविरुद्ध कीर्तिमानी लक्ष्य भेट्टाएको नेपालले शुक्रबार दोस्रो ठूलो लक्ष्य पूरा गरेको हो । एकदिवशीय क्रिकेटमा नेपाली खेलाडीको ब्याटबाट लगातार एकरुपको प्रदर्शन भएको पहिलोपल्ट हो । लिग टूको २६ औं खेलसम्म आउँदा नेपालले लगातार जित हासिल गरेको पनि यो पहिलो अवसर हो ।

लिग टूमा नेदरल्याण्ड्सबाहेक एकदिवशीय मान्यताप्राप्त सात एशोसिएट टिमको सहभागिता छ । सन् २०१९ को अगष्टदेखि सुरु भएको तीनवर्षे लिगमा हरेक टिमले ९ वटा त्रिकोणात्मक श्रङ्ंखला खेल्नुपर्नेछ र कुल ३६ खेल खेल्नेछ ।

घरेलु मैदानमा दोस्रो श्रृङ्खला खेल्नुअघि नेपाली क्रिकेट नेपाल टी–२० लिगको स्पट फिक्सिङ र सन्दीप लामिछानेको पुनरागमन विवादबाट गुज्रिएको थियो । तर, खेलाडीहरुले सबै विवाद भुलेर मैदानमा सुधारिएको प्रदर्शन गरेका छन् ।

नामिवियाले दिएको २८६ रनको लक्ष्य भेट्टाउने क्रममा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सर्वाधिक योगफल खडा गर्यो । शुक्रबार स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य इनिङ्सको १८ बल बाँकी छँदै पूरा गर्यो ।

दुई खेलमा परिवेश भने फरक थियो । नामिवियासँग नेपालका शीर्षक्रमका ब्याटरहरुले सम्हालिएर प्रदर्शन गरेका थिए । ओपनर कुशल भुर्तेल (११५) र चौथो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेल (७१)ले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरेका थिए । जुन एकदिवशीय अन्तर्राष्ट्रियमा नेपालको सर्वाधिक साझेदारी हो । सन्दीप जोरा र करण केसीले फिनिसरको भूमिका निभाएका थिए ।

स्कटल्याण्डसँग खेल्दा भने यति ठूलो लक्ष्यको अपेक्षा थिएन । किनकी १११ रन जोड्दा स्कटल्याण्डले ६ विकेट गुमाएको थियो । तर सातौं नम्बरमा आएका माइकल लिस्कले शतक बनाएपछि ठूलो योगफल तयार भयो ।

जवाफमा नेपालको सुरुवात निकै कमजोर रह्यो । नेपालले ७७ रनाउँदा ५ विकेट गुमाइसकेको थियो । तर मध्यक्रमका ब्याट्सम्यानद्धय दीपेन्द्रसिंह ऐरी (अविजित ८५) र युवा ब्याटर कुशल मल्ल (८१)ले शतकीय साझेदारी गरे । कुशल आउट भएपछि क्रिजमा टिकेका दीपेन्द्रले फिनिसरको भूमिका निभाए ।

फरक खेलमा फरक खेलाडीले जिम्मेवारी सम्हाल्नुलाई नवनियुक्त प्रमुख प्रशिक्षक मोन्टी देशाईको ‘ह्याप्पी ड्रेसिङ रुम’को रणनीतिकै प्रतिफलका मान्न सकिन्छ ।

त्यसमात्र होइन, लगातार विकेट गइरहेको अवस्थालाई कसरी संहालेर खेल्ने भनेर पनि आजको खेलमा नेपाली खेलाडीहरुले देखाए । ‘उनीहरुले एक प्रतिस्पर्धात्मक लक्ष्य बनाए । हामीले ड्रेसिङ रुममा आएर हामीले सक्छौं भन्ने मानसिकता बनायौं । यसको लागि सबै खेलाडीको साहसलाई मान्नै पर्छ । खेलाडीसँग स्किल छ उनीहरुले कसरी देखाउने भन्ने कुरा हो,’ खेलपछि पत्रकार सम्मेलनमा उपस्थित भएका प्रशिक्षक मोन्टी देशाईले भने ।

एकदिवशीय क्रिकेटमा ठूलो लक्ष्यलाई कसरी सम्हाल्ने भनेर आत्मविश्वास भर्न नयाँ प्रशिक्षक मोन्टीको भूमिकाबारे कप्तान रोहित र सिनियर खेलाडी दीपेन्द्रले प्रशंशा गरे ।

प्रशिक्षक मोन्टी भने खेलाडीहरुको तारिफ गरे । ‘नेपाली खेलाडीमा बाउन्ड्री तथा रन हान्ने क्षमता छ । त्यही क्षमतालाई अहिले उनीहरुले देशको लागि खेल्दा देखाइरहेका छन्,’ उनले भने, ‘यो सबै उनीहरुकै मिहेनत हो । नामवियासँगको अर्को खेलमा पनि यस्तै परिणामले निरन्तरता पाएको देख्न चाहन्छु ।’

लिग टू अन्त्यतिर लयमा देखिएको नेपाल

नेपालले २ चैतसम्म लिग टूमा अब १० खेल खेल्नुछ । त्यसमध्ये ६ खेल त्रिवि मैदानमा हुनेछ भने चार खेल दुबईमा हुनेछ । शुक्रबार प्लेयर अफ द म्याच चुनिएका दीपेन्द्र त हरेक खेल फाइनल बराबर मान्छन् । प्रशिक्षक देशाईले विदेशी भूमिमा पनि यस्तै प्रदर्शनका लागि टिमलाई तयार पार्दै गरेको बताएका छन् ।

किनकी एकदिवशीय विश्वकपका लागि ग्लोबल क्वालिफायरमा पुग्ने अवसर र चार वर्षअघि पाएको एकदिवशीय मान्यतालाई अर्को चार वर्षसम्म निरन्तरता दिन बाँकी सबै खेलमा यस्तै ब्याटिङ निरन्तरता दिनुपर्ने हुन्छ ।

यसअघि नेपालले धेरैजसो खेलमा जित नजिक पुगेर पनि पराजित हुनुपरेकाले पनि यस्तो नतिजा अनिवार्यजस्तै भएको छ ।

लिग टू मा २०२१ मा ओमानमा भएको खेलमा अमेरिकाले दिएको २३१ रनको लक्ष्य पूरा गरेको थियो भने २०२२ जुनमा अमेरिकामै भएको खेलमा घरेलु टोलीविरुद्ध २७४ रन बनाएको थियो । त्यो खेलमा स्कोर बराबर भएपछि अंक बाँडियो ।

घरेलु मैदानमा श्रृङ्खला खेल्नुअघि नेपालले ६ श्रृङ्खलामा २४ खेल खेल्दा जम्मा एक तिहाई अर्थात ८ खेल मात्र जितेको छ । १४ खेलमा नेपाल पराजित भएको थियो । एक खेल बराबर भएको थियो भने एक खेल वर्षाले प्रभावित बन्दा अंक बाँडिएको थियो । नेपालले अमेरिकालाई ३ पटक, ओमान र पपुवा न्यु गिनीलाई २–२ पटक तथा स्कटल्याण्डलाई १ पटक पराजित गरेको थियो ।

यसअघि नेपालले पराजय ब्यहोरेको खेलमा ब्याटिङकै कमजोर प्रदर्शन कारण थियो । आवश्यक समयमा ब्याटरहरुले रन जोड्न नसक्दा नेपालले सामान्य लक्ष्यसमेत भेट्टाउन सकेन भने विपक्षीलाई पनि ठूलो लक्ष्य दिन सकेको थिएन ।

सन् २०२० फेब्रुअरी (२०७६ माघ)मा नेपालले घरेलु मैदानमा ओमानविरुद्ध खेल्दै लिग टु मा डेब्यू गरेको हो । उक्त खेलमा १९८ रनको लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा अलआउट हुँदा १८ रनले पराजित भयो । त्यसपछि नेपालले अमेरिकालाई ३५ रनले पराजित गर्द लिग टू मा पहिलो जित दर्ता गरेको हो ।

ओमानविरुद्ध अर्को खेलमा २४९ रन बनाउँदासमेत नेपाल ८ विकेटले पराजित भयो । अर्कोे खेलमा अमेरिकालाई ३५ रनमा अलआउट गर्दै नेपालले कीर्तिमानी जित निकाल्यो ।

घरेलु मैदानमा पहिलो लिग टू श्रृङ्खला मिश्रित प्रदर्शन गरे पनि नेपालले त्यसपछिका श्रृङ्खलामा कायम राख्न सकेन । पहिलो श्रृङ्खला खेलेको झण्डै डेढ वर्षपछि मात्रै नेपालले २०२१ सेप्टेम्बरमा ओमान र अमेरिकासँगै ओमानमा दोस्रो श्रृङ्खला खेल्यो । जहाँ नेपालले दुवै टिमलाई एक–एक पटक हरायो भने एक–एक पटक पराजित भयो ।

मार्चमा युएई र पपुवा न्यु गिनीसहितको श्रृङ्खला यूएईमा खेल्यो, जहाँ नेपालले पपुवा न्युगिनीलाई दुवै खेलमा हरायो । तर घरेलु टोली युएईसँग नेपालको ब्याटिङ चलेन । १६९ र २०३ रनको लक्ष्य पछ्याउँदा पनि ३६ ओभरमै अलआउट हुँदै नेपालले हार बेहोरेको थियो । सन् २०२२ जुनमा नेपालले ओमान र अमेरिकासँग खेल्यो । नेपालले ओमानलाई एक खेलमा हराउँदा घरेलु टोली अमेरिकासँग एक खेलमा बराबर गरेको थियो । बाँकी दुई खेलमा पराजित भयो ।

त्यसपछिका दुई श्रृङ्खलामा नेपालको प्रदर्शन झन् कमजोर रह्यो । जुलाई २०२२स्कटल्याण्डमा नेपालले स्कटल्याण्डलाई हराएर इतिहास रचे पनि नामिबियासँगको दुई खेलमा पराजित भयो र स्कटल्याण्डसँग पनि एक खेलमा पराजित भयो । गत डिसेम्बरमा यही दुई टोलीसँग नामिवियामा खेल्दा नेपाल जितविहीन बन्यो । तीन खेलमा पराजित हुँदा नामिबियासँग एक खेल वर्षाले रद्द भयो । यो मात्रै एक श्रृङ्खला हो जहाँ नेपालले एक खेल पनि जित्न सकेन ।

यसअघिका ६ श्रृङ्खलामा नेपालले ब्याटिङमा एकरुपको प्रदर्शन थिएन । पूरा ओभर खेल्न नसक्नु र व्यक्तिगत ठूलो स्कोर गर्न नसक्नु नेपालको कमजोरी थियो । ६ श्रृङ्खलामा शतक प्रहार गर्न नसकेका नेपाली खेलाडीले अहिले त्यो सफलता पाएका छन् र, बाँकी खेलका लागि आश जगाएका छन् ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?