+
+

यसरी गर्न सकिन्छ सडकका कुकुर व्यवस्थापन

सडक कुकुरको लागि व्यापक बन्ध्याकरण र खोप कार्यक्रम लागू गर्नु सडक कुकुरहरूको सङ्ख्या घटाउन र तिनीहरूको स्वास्थ्य परिणामहरू सुधार गर्ने मुख्य रणनीति हो ।

रमेश कुमार शर्मा रमेश कुमार शर्मा
२०७९ फागुन ६ गते १७:०१

नेपालमा सडक कुकुरको यकिन तथ्यांक छैन । विना सर्वेक्षण सडक कुकुरको संख्या अनुमान गर्न गाह्रो छ । हामी नेपालका अधिकांश बस्तीमा सडक कुकुरको संख्या अत्यधिक देख्छौं । स्थानीय निकायका पशु शाखाले यसको नियन्त्रण र व्यवस्थापनका लागि सम्पूर्ण पहल गर्दै पूर्ण जवाफदेही बोक्नुपर्छ ।

नेपालमा सडक कुकुरका लागि बन्ध्याकरण र खोप कार्यक्रमले आंशिक रूपमा मात्र सफलता पाइरहेको छ, यो सबै पालिकामा पूर्ण व्यवस्थित भइसकेको छैन ।

कतिपय शहरमा बन्ध्याकरणले सडक कुकुरको संख्या न्यूनीकरण हुनुका साथै स्वास्थ्यमा पनि सुधार देखिएको छ । जबकि बन्ध्याकरण र खोप कार्यक्रम नगरिएका स्थानहरूमा कुकुरको संख्या उच्च छ । सीमित स्रोत, सांस्कृतिक दृष्टिकोण र केही सरोकारवालाको प्रतिरोध सडक कुकुर व्यवस्थापनका मुख्य गतिरोध हुन् । तैपनि, धेरै संस्था र व्यक्ति नेपालका सडक कुकुरको जीवनस्तर सुधार्न बन्ध्याकरण र खोप कार्यक्रमका साथै शिक्षा र सचेतना प्रयासमार्फत क्रियाशील छन् ।

संख्या न्यूनीकरणमा स्थानीय सरकारसँग सहकार्य

नेपालमा सडक कुकुरको अत्यधिक सङ्ख्यालाई न्यूनीकरण गर्न स्थानीय सरकारमा रहने पशु शाखाले स्थानीय समुदायहरूसँग काम गर्नुपर्छ । पाल्तु जनावरको स्वामित्वप्रति सम्बन्धित पशुधनीलाई जिम्मेवार बनाउने, बन्ध्याकरण र खोपको महत्वको बारेमा स्थानीय समुदायहरूलाई बुझाउने र सचेतना अभियानमा उनीहरूलाई संलग्न गरी शिक्षित गराउने काम स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ । कुकुरको हेरचार र व्यवस्थापनको लागि स्रोतहरू जुटाउन र उत्प्रेरणा प्रदान गर्न समुदायहरूसँग मिलेर काम गर्नुको विकल्प छैन ।

यसको सफलताको पहिलो शर्त नै जागरुक र सचेत समुदायका सदस्यहरूको सहभागितामा सडक कुकुर व्यवस्थापन कार्यक्रम सञ्चालन हो । अझै पनि थुप्रै समुदाय सचेतनाको कमीका कारण प्रतिरोधमा उत्रने गर्छन् । यसका बावजुद केही व्यक्ति र संस्थाहरू स्थानीय समुदायसँग बलियो साझेदारी निर्माण गर्दै काम गरिरहेका छन् । तर, यसको औपचारिक जिम्मेवारी बोकेको नगरपालिका पशु शाखाको भूमिका सबैतिर प्रभावकारी बनिसकेको छैन । यो शाखाको कार्यक्रम सफल र दिगो नभई सडक कुकुर व्यवस्थापन सफल हुनसक्दैन ।

समुदायमा आधारित कार्यक्रम

सडक कुकुर व्यवस्थापनमा स्थानीय समुदायहरूलाई समावेश गरेर अघि बढाइएका प्रयास सफल हुने सम्भावना बढी हुन्छ । किनकि समुदायका सदस्यलाई स्थानीय सन्दर्भबारे राम्रो जानकारी हुन्छ । उनीहरूले कार्यक्रमको स्वामित्व लिन सक्छन् । उनीहरूले घर पालुवा र सडक कुकुर दुवैथरीलाई आवश्यक नियम र अभ्यास आ-आफ्नो समुदायमा लागू गराउन सक्छन् ।

सरोकारवालाको सहभागिता सुनिश्चित गर्दा उनीहरूको जागरुकता बढ्छ । यसले कार्यक्रमको दिगोपना पनि बढाउँछ । बाहृय कोष वा समर्थनमा मात्र भर नपर्ने भएकोले समुदायमा आधारित कार्यक्रमहरू बढी दिगो हुन्छन् । स्रोतको सीमितता हुँदा पनि कार्यक्रम जारी रहन्छन् ।

कार्यक्रममा व्यापक मात्रामा जनसहभागिता बढ्दा चौतर्फी रूपमा सकारात्मक नतिजा निस्कन्छ । कुकुरप्रति नकारात्मक सार्वजनिक जनधारणा सुधार गर्न सकिन्छ । सकारात्मक सोचको विकासले कुकुरको हेरचाह बढ्छ सामाजिक स्वीकार्यता बढ्छ । यसले रोगहरूको फैलावट र अन्य स्वास्थ्य समस्या घटाउँछ । यी जनावरहरूप्रति सहानुभूति, समझदारी र अपनत्व भाव बढाउन सकिने हुन्छ ।

सही रणनीति

स्रोत, कर्मचारी र पूर्वाधारको अभाव सडक कुकुर व्यवस्थापन प्रयासका मुख्य चुनौती हुन् । सडक कुकुरप्रतिको सांस्कृतिक दृष्टिकोण र क्रूर व्यवहार पनि हाम्रा चुनौती हुन् जसले प्रभावकारी व्यवस्थापनको प्रयासमा अवरोध खडा गर्न सक्छ

विदेशी कुकुरको बच्चा उत्पादनमा नियन्त्रण र अनुगमन अर्को रणनीति हो । कुकुर बि्रडिङ्ग गर्ने कार्यको लाइसेन्स, कर लगायतमा केही नियमन र नियन्त्रण नहुँदा समस्या थपिएका छन् । घर-घरमा खोर राखी गैरकानुनी रूपमा बच्चा उत्पादनलाई तीव्रता दिने अभ्यासले पनि समस्या बढेका छन् । यिनीहरूको बच्चा समेत बिक्री नभएर सडकमा छाडिएका छन् । पालिकाका पशु शाखा, वडा र प्रशासनले यो काम लाइसेन्स प्राप्ति, पूर्वस्वीकृति र धरौटी रकम बुझाएपछि मात्र गर्न पाउने व्यवस्था गर्नुपर्छ । आवश्यक मापदण्ड पूरा गरेर र कर तिरेर मात्र सञ्चालन गर्न पाउने नीति कायम गरी लागू गर्नुपर्छ ।

स्वदेशी कुकुरका बच्चा पाल्न जोड दिनु समस्याको समाधान बन्न सक्छ । विदेशी कुकुरको एउटा बच्चा बिक्री हुनु भनेको सडकमा स्थानीय माउको एउटा बच्चा कसैले नअपनाउनु र त्यसको मृत्यु हुने अवस्था सिर्जना हुनु हो । सरकारले जोडतोडका साथ नेपाली कुकुरका बच्चा अपनाउने अभियान सुरु गरेर विदेशी कुकुरको प्रभावकारी अनुगमन गर्नुपर्छ ।

जिम्मेवार पाल्तु जनावर स्वामित्व र सडक कुकुर व्यवस्थापनको महत्वको बारेमा जनचेतना जगाउन र शिक्षित गर्न स्थानीय समुदायहरूसँग काम गर्नु व्यवस्थापन प्रयासहरूको दिगोपन सुनिश्चित गर्ने महत्वपूर्ण विधि हो ।

सडक कुकुर व्यवस्थापन प्रयासहरू दिगो र प्रभावकारी छन् भनी सुनिश्चित गर्न सरकार, पशु कल्याण संस्थाहरू, स्थानीय समुदाय, रेस्क्युअर, अभियन्ता र अन्य सरोकारवालाबीच बलियो साझेदारी पनि निर्माण गर्नु आवश्यक छ ।

भारतमा हाल पुरानो पशु कल्याण कानुन बृहत् रूपमा परिमार्जन गरिएको छ र बृहत् बनाइएको छ । हामीले पनि पुराना कानुनमा सुधार गर्दै लागू गर्न ढिला गर्नुहुँदैन । कानुन जमिन टेकेको हुनुपर्छ र व्यावहारिक समस्याको समाधानका उपाय सुझाउनुपर्छ । दण्ड-सजाय पनि स्पष्ट रूपमा किटान गर्नुपर्छ । पशु कल्याण कानुन र नियम लागू गर्दै पाल्तु जनावरको स्वामित्व र व्यवस्थापन मानवीय र जिम्मेवार ढंगले गर्नुपर्छ । यसबारे सरोकारवाला सबैलाई सुसूचित गर्नुपर्छ ।

शिक्षा र सचेतना अभियानले दीर्घकालमा सडक कुकुरको संख्या घट्न र तिनीहरूको स्वास्थ्य सुधारमा सकारात्मक नतिजा दिन्छ । यसले हाम्रो सोचमा परिवर्तन ल्याउँछ र नकारात्मक सोच न्यूनीकरण गर्दै कुकुरमाथि हुने आपराधिक गतिविधि घट्छ । सूचनाप्रविधिको प्रयोग गर्दै अनुगमन, मोबाइल क्लिनिक र जीपीएस ट्रयाकिङमार्फत सडक कुकुर व्यवस्थापन प्रयासलाई थप प्रभावकारी बनाउन सकिन्छ ।

सरोकारवालाबीच साझेदारी

पशु कल्याणमा कार्यरत संस्थाहरूसँग बलियो साझेदारी निर्माण गर्नु प्रभावकारी सडक कुकुर व्यवस्थापनको लागि महत्वपूर्ण छ । यहाँ साझेदारीका केही चरण र महत्वबारे उल्लेख गरिएको छ :

खुला सञ्चारः सबै पक्ष साझेदारीको लक्ष्य र उद्देश्यमा पंक्तिबद्ध छन् भनी सुनिश्चित गर्न पशु कल्याण संस्था र रेस्क्यु सेल्टरहरूसँग खुला र नियमित सञ्चार हुनुपर्दछ । स्थानीय निकायले उनीहरूसँग गहिरो र प्रभावकारी सहकार्य गर्नुपर्छ । अभिभावकीय भूमिका प्रदान गर्दै आवश्यक पर्दा उनीहरूलाई आर्थिक सहयोग पनि गर्नुपर्दछ ।

पारस्परिक लाभः सडक कुकुर, समुदाय र अन्य सरोकारवालाहरूका लागि साझेदारीका सम्भावित लाभबारे बुझाउनुपर्छ ।

संयुक्त योजनाः बन्ध्याकरण र खोप कार्यक्रमबारे शिक्षा र सचेतना अभियानहरू सहित सडक कुकुर व्यवस्थापन सम्बन्धी समग्र कार्यक्रमको विकास र कार्यान्वयन गर्नुपर्छ । यसका लागि पशु कल्याण संस्था र सडक कुकुरप्रति क्रूरतापूर्ण व्यवहार नियन्त्रण सजायबारे स्थानीय तह र प्रहरी प्रशासनसँग सहकार्य गरिनुपर्छ ।

स्रोत साझेदारीः साझेदारीमा चलेको सडक कुकुर व्यवस्थापन कार्यक्रमको प्रभावलाई अधिकतम बनाउन कोष, कर्मचारी र विशेषज्ञता सहित सबै आवश्यक स्रोतहरूको साझेदारी गरिनुपर्दछ । वाषिर्क कार्यक्रम, बजेट र आय-व्ययको विस्तृत विवरण आफ्नो वेबसाइट वा सूचनापार्टी मार्फत सबैको पहुँचमा राख्नुपर्छ ।

पारदर्शिताः निर्णय र कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गरिनुपर्दछ, र नियमित रूपमा प्रगति र परिणामहरू सबै साझेदारसँग साझा गर्नुपर्छ । सूचना, रिपोर्ट र वाषिर्क प्रगति प्रतिवेदन वेबसाइट वा अन्य माध्यमबाट सार्वजनिक पहुँचमा हुने गरी उपलब्ध गराउनुपर्छ ।

संघ र स्थानीय तहको भूमिका

नेपालमा प्रभावकारी सडक कुकुर व्यवस्थापनमा संघ र स्थानीय नगरपालिकाको महत्वपूर्ण भूमिका राखिएको छ । नगरपालिकाभित्र पशु शाखा राखिएको छ । यो शाखाले यस सम्बन्धी सबै विषय हेर्ने र कार्यक्रम चलाउने जिम्मा पाएको हुन्छ । उनीहरूले निर्वाह गर्नुपर्ने जिम्मेवारी यसप्रकार छन् :

नीति विकासः संघ र स्थानीय सरकारले सडक कुकुरको मानवीय र प्रभावकारी व्यवस्थापनलाई समर्थन गर्ने, क्रूर व्यवहार हुन नदिने, लाइसेन्स विना वा घरायसी गैरकानुनी रूपमा बि्रडिङ्ग फार्महरू चलाउन नपाउने नीति ल्याउनुपर्छ । पालेको कुकुर पछि सडकमा छाड्ने, बच्चा कुकुर फ्याल्न ल्याउने लगायतका अपराधपूर्ण काम पत्ता लगाई कारबाही गर्ने नीति सुनिश्चित गर्नुपर्छ । यस्तो नीतिमा दण्ड जरिवानाहरू तोक्दै त्यसलाई लागू गराउनुपर्छ ।

आर्थिक र प्राविधिक सहायताः यो कामका लागि निरन्तर रूपमा निश्चित कोषको आवश्यकता पर्छ । बन्ध्याकरण, खोप, शिक्षा र सचेतना अभियान स्थानीय सरकारले चलाउनुपर्छ र अन्य गैरसरकारी संस्था र समुदाय स्तरबाट सञ्चालित कामको अनुगमन गर्दै सहकार्यमा काम गरिरहेका संस्थाहरूलाई आर्थिक सहायता प्रदान गर्नुपर्छ ।

कानुनी समर्थन र सहयोगः सरकारले सडक कुकुर व्यवस्थापन प्रयासहरू मानवीय र जिम्मेवार ढंगले सम्पन्न भएको सुनिश्चित गर्न पशु कल्याण कानुनको निर्माण, कार्यान्वयन र कानुनी समर्थन प्रदान गर्नुपर्छ ।

सडक कुकुर व्यवस्थापनका प्रयासलाई सक्रिय रूपमा समर्थन गरेर, केन्द्रीय र स्थानीय सरकारले सडक कुकुरको संख्या घटाउन, कुकुरहरूको स्वास्थ्यमा सुधार गर्न र नेपालमा कुकुर र मानिसबीचको सम्बन्ध बढाउन मद्दत गर्न सक्छ । यस्बाट जनावर तथा मानवीय जोखिम कम हुनुका साथै सरसफाइ र पर्यटन प्रवर्धन पनि सम्भव हुनसक्छ ।

अप्ठ्यारा-सप्ठ्यारा

नेपालमा सडक कुकुर व्यवस्थापनमा सप्ठ्यारा र अप्ठ्यारा दुवै पक्ष छन् । स्रोत, कर्मचारी र पूर्वाधारको अभाव यो कामका मुख्य चुनौती हुन् । सडक कुकुरप्रतिको सांस्कृतिक दृष्टिकोण र क्रूर व्यवहार पनि हाम्रो चुनौती हुन् जसले प्रभावकारी व्यवस्थापनका प्रयासहरूमा अवरोध खडा गर्न सक्छ ।

जनसंख्या बढ्दा कुकुरको पनि संख्या बढ्ने संभावना हुन्छ, जसले कुकुर र मान्छेबीचको द्वन्द्व बढ्न सक्छ । यसलाई न्यूनीकरण गर्न जनचेतना बढाउनुपर्छ । कुकुरको संख्या घटाउन र स्वास्थ्य अवस्था सुधार गर्न समुदायलाई परिचालित गर्न सार्वजनिक चेतना र शिक्षाको ठूलो भूमिका हुन्छ ।

शिक्षालयका पाठ्यक्रममा यो विषयलाई समावेश गर्दै आमसञ्चारका माध्यमबाट पनि सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । सूचनाप्रविधिमा आएको क्रान्तिलाई सदुपयोग गर्दै मोबाइल क्लिनिक, जीपीएस ट्रयाकिङ, माइक्रो चिप, आईडी ट्याग नेक बेल्ट, रिफ्लेक्टिभ नेक बेल्ट जस्ता नवीन प्रविधिको प्रयोगले सडकमा कुकुर व्यवस्थापनका प्रयास सफल बनाउन सकिन्छ ।

समग्रमा, नेपालमा सडक कुकुर व्यवस्थापनसँग जोडिएका चुनौतीको सामना र अवसरहरूको सदुपयोग गर्न सरोकारवालाहरूको निरन्तर प्रयास जरूरी छ । यस्ता प्रयासमा गैरजिम्मेवारीपन, अपारदर्शिता र भ्रष्टाचारजन्य गतिविधि हुनुहुँदैन । त्यस्तो देखिएमा कानुनी उपचार खोजिनुपर्छ । स्थानीय समुदायको सहभागिता सुनिश्चित गर्दै दिगो र सार्थक नतिजा निकाल्न सकिन्छ । यो सत्प्रयासमा लाग्ने सबै व्यक्ति, संघसंस्था, स्थानीय तह र सडक कुकुरप्रति सदासयता राख्ने करुणामयी, इमानदार र चोखो काम अगाडि बढाउन आवश्यक छ ।

लेखक नेपाल स्ट्रीट डग म्यानेजमेन्ट अर्गनाइजेसनका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?