७ फागुन, सुर्खेत । कर्णाली नदीसँग कर्णालीको इतिहास, सभ्यता र अर्थतन्त्र जोडिएको छ । कर्णालीवासीको जीवनसँग जोडिएको छ, कर्णाली नदी ।
इतिहासमा रेसमी मार्गका रुपमा परिचित कर्णाली कोरिडोर बंगाल र भोटको व्यापार जोड्ने ठूलो आर्थिक करिडोर थियो ।
तिब्बती पठारमा पर्ने कैलाश पर्वतको फेदीमा रहेको मानसरोवरबाट सुरु हुने यो नदी गंगामा गएर मिसिन्छ ।
तीन वटा देश भएर बग्ने कर्णाली नदीका नाम पनि तीनवटै छन् । नेपालीमा कर्णाली, हिन्दीमा घाघरा र चिनियाँ भाषामा यसलाई कुङ् जिआओ भनिन्छ ।
हिन्दू धर्मावलम्विका दुई महत्वपूर्ण तीर्थस्थल कैलाश र गंगालाई जोड्ने यो नदीको धार्मिक महत्व पनि उतिकै छ, जति यसको सभ्याता र प्राकृतिक सौन्दर्यतासँग जोडिएको छ ।
नेपालकै सबैभन्दा लामो नदी कर्णालीको लम्बाइभन्दा लामो छ इतिहास । तर, हिजोको त्यो गर्विलो विरासत, आजको कर्णाली नदीसँग छैन् ।
वास्तवमा वर्तमान कर्णाली नदी फोहोर व्यवस्थापनको थलो बन्दै गएको छ । ढुंगा, गिट्टी र बालुवा उत्खनन् गर्ने फ्याक्ट्रि बनिरहेको छ ।
कर्णाली नदी दोहन भइरहेको छ । त्यसैले त आज नदी संरक्षण बहसको विषय बनेको छ ।बहसमा उत्रिएका छन्, नदी संरक्षण अभियान्ता मेघ आले, नेपाल सरकारका सहसचिव कलानिधी पौडेल, सामाजिक विकास विज्ञ मिनबहादुर शाही र आठबीस नगरपालिका दैलेखकी पूर्वउपमेयर दीपा बोहोरा ।
कर्णाली उत्सव कार्यक्रमको बहसमा सहजकर्ता नारायण वाग्ले सुरुमा दीपा बोहोरालाई सोधे- त्यो बेलाको कर्णाली नदी कस्तो थियो ?
कर्णाली नदी किनारमा जन्मिएर हुर्किएकी बोहोराले देखेको कर्णाली नदी पहिलेभन्दा अहिले धेरै फरक छ । त्यो बेलाको नदी सफा र स्वच्छ थियो । नदी किनारबाटै असला माछा खेलिरहेको प्रष्ट देखिन्थ्यो । मान्छेहरु त्यही पानि पिउँथे । नदी किनाराका बस्तीको जीविकोपार्जन गर्ने आधार बनेको थियो ।
दीपालाई आमा र कर्णाली नदी एउटै लाग्छ । ‘आमाले आफ्ना सन्तालाई जहिले पनि दिइरहन्छिन् । उनीहरूको खुसी र सुखका लागि बेहिसाब सेवा गरिरहन्छिन् । त्यसरी नै कर्णाली नदीले कर्णालीवासीको सेवा गरिरहेका छ,’ उनी भन्छिन्, ‘बदलामा हामीले के दियौं ? बस्तीको ढल, सिनो, प्लाष्टिक र फोहारको थुप्रो दिएका छौं ।’
हिजो पिउन मिल्ने कर्णालीको पानी आज गन्ध आउने बनको उनले सुनाइन् । ‘वर्षायाममा कहिलेकाँही कर्णाली रिसाउँछ, गर्जिन्छ । उसले मान्छेलाई सोध्छ, मलाई अझैं कति दोहोन गर्छौं । कति लुट्छौं ? तर हामी सबै टुलटुल हेरेर बसेका छौं । अब नदी संरक्षणमा जुटौं,’ दीपा भन्छिन् ।
नदी संरक्षणकर्मी आलेले कर्णाली नदीमा ड्याम निर्माण गरेर अतिक्रमण गर्न उपयुक्त नहुने बताउँछन् । कर्णाली नदी ‘फ्रि फ्लोइङ’ रहेको र यस्को प्राकृतिक वहावलाई रोक्न नहुने उनको तर्क छ । आलेले ‘कर्णाली नदी कहाँबाट आउँछ ?’ भन्दै दर्शक दीर्घामा रहेकाहरुलाई प्रश्न गरे ।
कैलाश मानसरोवरको काखबाट बग्ने कर्णाली नदीको बैबभ र महत्व यहाँका नागरिक र सरोकारवालाहरुले अझै बुझन नसकेको तर्क गरे । भन्छन्, ‘नेपालका प्रायः सबै नदीमा ड्याम छ । कर्णाली अहिलेसम्म फ्रि फ्लोइङ छ, ड्याम कतै छैन । यसलाई यत्तिकै छाडेर यसका शाखा नदीहरुमा विकास गरौं ।’
हिन्दू धर्मावलम्बीका दुई महत्वपूर्ण तीर्थस्थल कैलाश र गंगालाई जोड्ने यो नदीको धार्मिक महत्व पनि रहेको आलेले बताए । नदीलाई पृथ्वीको रक्त नली बताउने आले भन्छन, ‘हिन्दू धर्मावलम्बीको एउटा ठूलो तीर्थस्थल कैलाशबाट निस्केर अर्को ठूलो तीर्थ गंगा नदीमा गएर मिसिन्छ, कैलाश र गंगा नदी कर्णालीले जोड् छ ।’
कैलाशदेखि गंगासम्म ४५ दिन यात्रा गरेका आले कर्णाली नदीको जैविक विविधता पवित्र राख्दै यो नदीलाई ‘रिभर ट्रेल’को रुपमा विकास गर्न सकिने तर्क गर्छन् । ‘कर्णाली नदी बचाउनुपर्ने वैज्ञानिक आधारसहितको रिर्पोट सरकारलाई दिएको थिएँ । त्यो रिर्पोटमा धुलो जमिसक्यो । तर सरकारले खोल्दै खोलेन,’ उनी भन्छन् ।
अन्य सहायक नदीहरूबाट विद्युत निकाल्न सकिने उनको सुझाव छ ।
धेरै लगानी र ठूलो परियोजनाले मात्रै विकास नहुने उनको ठहर छ । ठूलो परियोजनाको सट्टा धार्मिक, प्राकृतिक र नदी पर्यटकीय मार्गको रुपमा कर्णालीको विकास गर्दा स्थानीयवासीले प्रत्यक्ष लाभ पाउने उनी बताउँछन् ।
हिमाली माछादेखि गोहीसम्म पाइने कर्णालीलाई आले भर्जिन रिभरको रुपमा अर्थ्याउँछन् । ‘कर्णाली इज अ स्टिल भर्जिन रिभर’ यसलाई बिगार्नुभन्दा पहिले हजार बार सोचौं,’ उनले भने ।
रिभर एड्भेन्चर टुरिजमका लागि पनि कर्णाली नदी संसारकै पाँच नम्बरमा पर्ने उनले बताए । ‘प्रदेशको नामसमेत यही नदीबाट रहेकाले छ । यसको महत्व ‘ग्रेट वाल चाइना’ भन्दा कम छैन् । प्रचार गर्न जान्नु पर्छ ।’
सामाजिक विकास विज्ञ मिनबहादुर शाही भने नदी प्रणालीको बचाउनका लागि संरक्षण र विकास सँगसँगै लौजानुपर्ने बताउँछन् । कर्णाली जस्तो गरिबीको रेखामुनि रहेको प्रदेशमा ठूला योजना निर्माणका लागि नदी हस्ताक्षेप गर्नुपर्ने उनको तर्क छ । ‘विद्युत मात्रै नभइ बाटोघाटो पनि यहाँको आवश्यकता हो । विकास र संरक्षणलाई एकसाथ दिनुपर्छ,’ उनी भन्छन्, ‘नेपालको नदी प्रणालीमा आएका समस्याबारे राज्य गम्भीर हुनुपर्छ । आवश्यक नीति निर्माण गर्नुपर्छ ।’
जलस्रोत विज्ञ डा. हरिमान श्रेष्ठले लेखेको ‘द केस अफ अपर कर्णाली हाइड्रो इलेक्ट्रिक प्रोजेक्ट’ नामक प्रतिवेदनमा पनि ‘छोटो दूरीमै धेरै उचाइ फरक पर्ने भएकाले उपल्लो कर्णालीको जलविद्युत क्षमता विराट छ । २.५ किलोमिटरको सुरुङ्बाट पानी खसाल्दा १३० मिटरको उचाइ घट्छ, जसले पानीमा भीमकाय टर्वाइन घुमाउने अधिक चाप सिर्जना गरिदिन्छ’ पुस्तकमा लेखिएको छ ।
नदी संरक्षणका लागि सरकारले आवश्यक ऐन कानुन निर्माण गरिहको नेपाल सरकारका सहसचिव कलानिधि पौडेलले बताए । तीनै तहका सरकारले एकीकृत योजना तर्जुमा गरेर चासो नदिएसम्म नदी संरक्षण हुन नसक्ने उनको भनाइ छ । ‘जंगलको बिनास भए, वन मन्त्रालय छ । भूमिको, भुमि मन्त्रालय छ । नदी संरक्षणका लागि सरकारसँग के छ ?’ उनले सरकारलाई नै प्रश्न गरे ।
नदीको संरक्षणका लागि शक्तिशाली कानुनको अभाव रहेको पौडेल बताउँछन् । उनी भन्छन्, ‘राजनीतिमा सर्वथा, कर्मचारीमा प्रतिबद्धता, विज्ञमा स्पष्टता, कानुनमा गतिशीलता र सोतसाधान सुनिश्चितता हुनआवश्यक छ । अनि मात्रै यस्ता ओझेलमा परेका कामहरुले गति लिन्छ ।’
प्रतिक्रिया 4