+
+
छायाकार जोस हेरमसँग संवाद :

अमेरिकी छायाकारको सुझाव : नेपाली फिल्मको आफ्नै शैली हुनुपर्छ, बलिउड बन्नुहुँदैन

विष्णु शर्मा विष्णु शर्मा
२०७९ फागुन ७ गते १६:२२

काठमाडौं । अमेरिकी फिल्म छायाकार जोस हेरम केही दिनअघिसम्म काठमाडौंमा थिए । नेपाल बसाइमा उनले नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ र रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ छायांकन गरे ।

शुक्रबारदेखि हलमा चलिरहेको ‘फूलबारी’ उनको दोस्रो नेपाली फिल्म हो । यसबाहेक अन्य केही नेपाली फिल्म छायांकन गर्ने उनको तयारी छ । ‘फूलबारी’को प्रिमियरमा सहभागी हुन अमेरिकाबाट आइपुगेका उनी शनिबार बेलुका स्वदेश फर्किएका छन् । अमेरिका फर्कनुअघि उनले नेपाली फिल्ममा काम गर्दाको अनुभव अनलाइनखबरसँग यसरी बाँडे ।

फूलबारी’ फिल्मसँग कसरी जोडिनुभयो ?

यसअघि पनि मैले नवीन सुब्बाले निर्देशन गर्नुभएको नेपाली फिल्म ‘गाउँ आएको बाटो’ खिचेको छु । भोजपुरमा दुई महिना जति बसेर मैले फिल्म खिचेको हुँ । त्यसको छायांकन सकेपछि म अमेरिका फर्किएँ । केही महिनापछि अभिनेता दयाहाङ राई र पशुपति राईले मलाई निर्देशक रामबाबु गुरुङसँग चिनाउनुभयो ।

गाउँ आएको बाटो’देखि ‘फूलबारी’सम्म तपाईंको नेपाली फिल्ममा काम गराइको अनुभव कस्तो रह्यो ?

यी दुवै फिल्मलाई लिएर भिन्न अनुभव रह्यो । ‘गाउँ आएको बाटो’ भोजपुरको एउटा सानो ग्रामीण क्षेत्र थियो । जहाँ बसेर हामीले फिल्म खिच्यौं । हामी राई समुदायको परम्परागत घरमा खिच्यौं । रामबाबुको फूलबारीलाई हामीले काठमाडौं र इलाममा खिच्यौं । वातावरण र कथावस्तु भिन्न थिए । ‘गाउँ आएको बाटो’ औद्योगिकीकरणबारे ज्यादा थियो र ‘फूलबारी’ पारिवारिक कथावस्तुमा आधारित थियो । यी दुवै फिल्म भिन्न थिए । नेपाली क्रुसँग मिलेर काम गर्न पाउँदा रमाइलो महसुस भयो । कलाकारले जसरी काम गरे, तीसँग सन्तुष्ट छु ।

फूलबारी’ हेर्नुभयो ? कस्तो लाग्यो ?

रिलिजपूर्व आयोजित प्रिमियर समारोहमै फिल्म हेर्न पाएँ । मैले सुन्दर कथावस्तुमा फिल्म बनाउन हामीले गरेको मेहनत हेर्न पाएँ । पहिलो हाफ कमेडी र दोस्रो हाफ ट्रयाजेडी महसुस भयो । सेक्सपियरले भनेजस्तै कतै कमेडी र कतै ट्रयाजेडी हुन्छ । तर यी दुवै तत्व फूलबारीमा मिश्रित छ ।

फूलबारी’ छायांकनको तयारी कसरी गर्नुभयो ?

मैले अघिल्ला फिल्ममा जस्तै लाइटिङ यसमा पनि प्रयोग गरेको छु । मसँग दुईवटा फोरके र दुई वान-एटके क्यामेरा थिए फिल्म खिच्नको लागि । सकेसम्म प्राकृतिक लाइटमार्फत फिल्म खिच्न मन पर्छ । निर्देशक र सहायकसँग कुरा गर्नुअघि मैले डली वर्कमार्फत छायांकन गर्न प्रयास गरें । यदि कलाकार चलायमान छन् भने क्यामेरा पनि चल्नुपर्छ र यदि एक्टर स्थिर छन् भने क्यामेरा पनि स्थिर हुनुपर्छ भन्ने अवधारणा मेरो रह्यो समग्र फिल्मको समयसम्म, फिल्म हेर्दा तपाईंले त्यो खिचाइ देख्न सक्नुहुन्छ ।

म राम्रो ढंगबाट फिल्म चम्किलो देखिनुपर्छ भन्ने मान्यता राख्छु । फिल्मको सुरुवातमा दृश्यहरु चम्किला देखिन्छन् तर कथा अघि बढ्दै जाँदा र पात्रको मनोदशा बदलिएको समयमा दृश्य गाढा देखिन्छन् । यी प्लटमा छाया पारिएका दृश्यहरु देख्न सक्नुहुन्छ । फिल्म खिच्नका लागि हामीले केही लेन्सहरु भारतबाट ल्याएका थियौं । यी लेन्सले दृश्यलाई निकै गहिराइमा खिच्न सामथ्र्य राख्थे र दर्शकले यी दृश्य हेर्दा पनि महसुस गर्न सक्थे । कुनै पनि नेपाली फिल्म एचफाइभमा खिचिएको छैन । सुटिङमा पृष्ठभूमिलाई ब्लर तुल्याउने प्रयास पनि मैले यसमा गरेको छु जुन भिन्न पनि देखिन्छ ।

निर्देशकको अवधारणासँग कसरी क्यामेराको कार्यलाई सन्तुलन मिलाउनुभयो ?

निर्देशक गुरुङले मेरो आइडिया सुन्नुभयो र रुचाउनुभयो । उहाँले आफूले चाहेजस्तो दृश्य खिच्ने बेला आइडिया पनि सेयर गर्नुभयो । निकै राम्रो सहकार्य भयो । म अमेरिकाबाट आउनुअघि फिल्मको स्क्रिप्ट पढें । हामीले केही दृश्यबारे छलफल गर्‍यौं । प्रि-प्रोडक्सन पनि २० दिन सँगै रहें । त्यसपछि छायांकन सुरु भयो र हामीले धेरै कुरामा छलफल गर्‍यौं ।

तपाईंको विचारमा के क्यामेराले अभिनय गर्न सक्छ ?

मलाई लाग्छ, सिनेम्याटोग्राफर अभिनेतासँग निकट हुनुपर्छ । हातमा क्यामेरा र ट्राइपड भएपनि कलाकारसँग निकट हुनुपर्छ भन्ने मेरो बुझाइ छ । निकट मात्र होइन, छायांकारले अभिनेतासँग कुराकानी पनि गर्नुपर्छ । कसरी क्लोज-सट लिने र कसरी सही एंगलमा दृश्य खिच्न यस्तो निकटताले फाइदा पुग्छ । मलाई लाग्छ, क्यामेरा अभिनयको ठूलो पक्ष हो र क्यामेरा अभिनेता पनि बन्न सक्छ ।

प्रायः फिल्म समीक्षक भन्छन्, सिनेम्याटोग्राफर र डीओपीबीच भिन्नता हुन्छ । यसबारे तपाईंको अवधारणा के छ ?

मलाई त्यहाँ कुनै भिन्नता हुन्छ भन्ने लाग्दैन । तपाईं भन्न सक्नुहुन्छ, सिनेम्याटोग्राफरले भिजुअल पक्षमा बढी हेर्छ र क्रु तथा बजेटको पक्षमा कम । तर मलाई लाग्छ, डीओपी नै छायांकारको अर्को नाम समेत हो । मलाई लाग्दैन कि त्यहाँ कुनै भिन्नता हुन्छ ।

सिनेम्याटोग्राफीमा भविष्य बनाउन चाहने नेपाली छायांकारहरुलाई के सुझाव दिन चाहनुहुन्छ ?

म भन्न चाहन्छु, साथीहरुसँग मिलेर फिल्म खिच्नुस् तर पैसाको लागि होइन । छोटो फिल्म खिच्नुस् सुरुमा । आफ्नो काम र दृश्य पछाडिका कुराबारे सामाजिक सञ्जालमा पनि जानकारी दिनुस् । ट्रेलर र फोटोबाट पनि मानिससँग सम्पर्कमा रहनुस् । त्यसपछि तपाईंलाई निर्माता र निर्देशकले पछ्याउन सक्छन् । तपाईंसँग पैसा छैन भनेपनि केही छैन, सुरुमा रुचिअनुसारको छोटो फिल्म खिच्न सक्नुहुन्छ ।

अमेरिका र नेपालमा फिल्म छायांकनको भिन्नता कस्तो रहेछ ?

छायांकन पक्षको कुरा गर्दा नेपालमा गीतका दृश्य छायांकन चम्किलो लाग्छ र त्यसलाई महसुस पनि गर्न सकिन्छ । मलाई लाग्छ फिल्म बनाउँदा नेपालले बलिउडलाई पछ्याइरहेको छ, चाहे त्यो डान्सिङ होस् या अभिनय । अमेरिकामा निकै कम संख्यामा सांगीतिक फिल्म बन्छन् । अमेरिकामा म्युजिकल फिल्म बन्न पनि सक्छ र नबन्न पनि । तर नेपालमा प्रत्येक फिल्म म्युजिकल हुन्छ । यो एउटा सबैभन्दा ठूलो भिन्नता हो ।

छायांकनको कुरा गर्दा अमेरिकामा निकै डार्क (कम प्रकाशमा खिचिने दृश्य)का फिल्म बन्छन् । त्यहाँ प्रकाशलाई पनि विषयवस्तु पछाडि लुकाउने गरिन्छ । अनुहारमा पनि धेरै छाया सिर्जना गर्न सकिन्छ । अमेरिकामा हलिउड शैलीमा गिम्बल सटहरु लिइन्छ । डलिज र क्रेनबाट सट लिइन्छ नेपालमा । भिन्नता यी हुन् ।

नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान के गर्नुपर्छ ?

हामीले खिचेको नेपाली फिल्म ‘गाउँ आएको बाटो’लाई कान्ससहित भेनिस र बर्लिनमा लैजाने तयारी भएको छ । मैले दीपक रौनियार निर्देशित ‘ह्वाइट सन्’ पनि हेरें, निकै मन पर्‍यो । म ठ्याक्कै यही गर्नुपर्छ भनेर भन्न त सक्दिन तर यति मात्र भन्न सक्छु, आफ्नो पहिचान खोज्नुस् । नेपाली संस्कृतिलाई दर्शाउनुस् । बलिउड बन्ने प्रयास नगर्नुस् । आफ्नो स्टाइलमा फिल्म बनाउनुस् । अमेरिका, फ्रान्स, जापान र दक्षिण कोरियाली फिल्महरुको विशेषता भिन्न भिन्न छ । दक्षिण कोरियातिर हेर्नुस् त निर्देशक बोन जुन होनले प्यारासाइटमार्फत ओस्कार अवार्ड जिते । उत्कृष्ट फिल्म विधा जित्ने पहिलो अन्तर्राष्ट्रिय फिल्म समेत बन्यो । अन्य मुलुकले जस्तै नेपालले पनि आफ्नो शैली बनाउनुपर्छ ।

अन्य नेपाली फिल्ममा पनि काम गर्ने योजना बनाउनुभएको छ कि ?

मैले अन्य चार-पाँच जना फिल्ममेकरसँग छलफल गरिरहेको छु । सन् २०२४ मा म निर्देशक सफल केसीसँग काम गर्न चाहन्छु । निर्देशक रामबाबु गुरुङसँग पनि अर्को फिल्ममा काम गर्नेबारेमा सोच बनाइरहेको छु, कुराकानी भइरहेको छ । अन्य फिल्म पनि नेपालमा छायांकन गर्न चाहन्छु ।

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?