+
+

स्पिरिट अफ क्रिकेट अवार्ड जितेका आसिफ अर्को अवार्डको पर्खाइमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १२:५३

८ फागुन, काठमाडौं । क्रिकेट भलाद्मीको खेल हो । गत वर्ष यस्तै भलाद्मीपन देखाएका कारण राष्ट्रिय टोलीका क्रिकेटर मोहम्मद आसिफले खुबै चर्चा बटुले ।

चर्चाको प्रमुख दुई कारण छन् । पहिलो उनले गत वर्ष खेलभावना देखाउँदै गरेको उदारता र अर्को त्यसका लागि आसिफलाई विश्व क्रिकेटको सर्वोच्च संस्थाले प्रदान गरेको ‘आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड’ ।

नेपाली खेलाडीले पहिलो पटक आईसीसीको वार्षिकी अवार्ड पाएको हो । आईसीसीले वर्ष २०२२ मा गरेको प्रदर्शन आधार मानेर विभिन्न १३ विधामा पुरस्कृत गर्दा आसिफलाई खेलभावनाको कदर गरेको भन्दै उक्त अवार्ड प्रदान गरेको हो ।

आइसीसीको अवार्ड पाउने पहिलो नेपाली क्रिकेट खेलाडी बनेपछि उनले यो अवार्ड पाउँछु भनेर आश नगरेको बताए । विशाल ह्दय बोकेका उनले भने, ‘नेपाली क्रिकेटले यो अवार्ड पाएजस्तो लागेको छ ।’

अहिले उनी अर्को अवार्ड नजिक छन् । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७८ मा उनी पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् । उनीसँगै भलिबलकी उषा भण्डारी, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामा र टेनिसकी अभिलाषा विष्टबीच को वढी चर्चित हुने होडबाजीमा छन् ।

यसको आफ्नै छनोट प्रणाली छ । यसमा खेल पत्रकार र राष्ट्रिय खेलका प्रशिक्षकले २५–२५ प्रतिशत मत राख्ने छन् भने भोटिङबाट आएको ५० प्रतिशत मतबाट विजेता घोषणा गरिने छ । फागुन २३ मा पल्सर स्पोर्टस अवार्डको दिन विजेता घोषणा गरिनेछ ।

ओमानको मस्कटमा चार राष्ट्र सम्मिलित ट्वान्टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेल आयरल्यान्डविरुद्ध खेल्दै थियो । आयरल्यान्ड १८ ओभरमा ११३–८ को दयनीय अवस्थामा थियो । आयरल्यान्डमाथि तोकिएको ओभरभित्र विजय हात पारे नेपालले प्रतियोगिता जित्ने थियो । आयरल्यान्ड छिटो रन बटुल्न आतुर थियो ।

१९ औं ओभरको तेस्रो बलमा मार्क एडेयरले प्रहार गरेको बल लेगसाइडमा गएको थियो । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरी फलो थ्रु बाट केही अगाडि गएर बल नियन्त्रण गर्नेक्रममा नन स्ट्राइकबाट दौडिरहेका एन्डी म्याकब्रिनसँग ठोक्किन पुगे । लड्न पुगेका म्याकब्रिन उठेर स्ट्राइक एन्डमा जाँदा ढिला भइसकेको थियो ।

कमलसिंहले बल नियन्त्रणमा लिएर विकेटकिपर आसिफलाई फयाँके । तर विपक्षी खेलाडीलाई सजिलै रन आउट गर्न सक्ने भए पनि आसिफले रनआउट गरेनन् । उनले म्याकब्रिन ठोक्किएर लड्न पुगेको भन्दै रनआउट गरेका थिएनन् । उक्त घटनापछि आसिफ र म्याकब्रिनले हात मिलाउँदै खेल चालु गरेका थिए ।

अपर्झट आएको यस्तो क्षणमा के गर्ने भन्ने आसिफको पूर्वतयारी केही थिएनन् । स्टम्प नजिकै फिल्डिङ गरेका केही खेलाडीले रनआउट नगर भनेको उनले सुने । तर त्यसै पनि उनी रनआउट गर्ने पक्षमा थिएनन् । उनलाई स्कुलका प्रशिक्षक जहोर अन्सारीदेखि तत्कालीन प्रशिक्षक पुबुदु दासानायके सबैले यस्तै खेल भावना सिकाएका थिए । त्यसैले आफूले चिट गर्ने, विवाद गर्ने जस्ता भावना उनलाई कहिल्यै आएन भने स्वभावले पनि दिएन । आफू जस्तो छ्, त्यस्तै भलाद्मीपन आसिफले मैदानमा देखाए ।

सो खेलमा आयरल्यान्डले निर्धारित २० ओभरमा १ सय २७ रन बनाएको थियो । र १ सय ११ रनमा अलआउट भएको नेपाल १६ रनले गुमाएको थियो । खेल गुमाए पनि खेल भावनामा नेपाल जित्यो । आसिफ शेखले पनि जिते। विश्व क्रिकेटमा नेपालको, नेपाली खेलाडीहरुले वाहावाही पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?