+
+
राष्ट्र बैंकको निष्कर्ष :

चाँडै नाफा कमाउन खोज्नेहरूका कारण लघुवित्त बदनाम भए

रेवतीप्रसाद नेपाल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक रेवतीप्रसाद नेपाल, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक
२०७९ फागुन ८ गते २०:५०

लघुवित्तका कारण नेपालमा धेरै ठूला उपलब्धि भएका छन् । वित्तीय साक्षरता, गरिबी निवारण, महिला चेतना, शिक्षा, स्वास्थ्य, शौचालय निर्माण, खानेपानीजस्ता यावत क्षेत्रमा लघुवित्तले ठूलो योगदान गरेको छ ।

एउटा सानो समस्याका कारण ठूला उपलब्धीहरु ओझेलमा पर्नु हुँदैन । समस्या आउँछन्, आपसमा छलफल गरेरै समाधान खोज्न सकिन्छ । त्यसो नगर्ने हो भने ३० औं वर्षदेखि लघुवित्तले गरेका ठूलाठूला योगदान नजरअन्दाजमा पर्न सक्छन् । त्यसकारण आजै एक सटमा लघुवित्त बन्द गरौं भन्ने माग जायज हुन सक्दैन ।

लघुवित्तको समस्यालाई केस्राकेस्रामा केलाएर हेर्नुपर्छ । लघुवित्तबाट समस्यामा पर्नेमा सामुमहाजनसँग ऋण लिएका ऋणी, ऋणलाई उपभोगमा खर्च गर्ने ऋणी र व्यवसाय फस्टाउन सक्दा समस्यामा पर्ने ऋणी गरी ३ प्रकारका देखिन्छन् । गाउँका साहु महाजन पनि जोडिएको ठाउँमा बढी समस्या देखिएको छ ।

जो वास्तवमै मर्कामा छन् उनीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुसँग भएको क्लाइन्ट प्रोटेक्सन फण्डसहितका उपाय लगाएर समस्या समाधानमा जान सकिन्छ । आवश्यक पर्दा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआएर) तथा अर्वानेसको प्रयोजनमा हुने खर्चलाई समेत ऋणीको समस्या समाधानमा प्रयोग गर्न सकिन्छ ।

वास्तविक रुपमा समस्यामा परेका ऋणीलाई कसरी सहयोग गर्न सकिन्छ, त्यसलाई केस्रा केस्रामा केलाएर एक महिनाभित्र खाका पेश गर्न लघुवित्तहरुलाई राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । उक्त खाका आइसकेपछि हामी बसेर, छलफल गरी समस्या समाधानको उपाय खोज्न सक्छौं । तर लघुवित्तको ऋण ऋण मिनाहा हुन्छ भन्ने भ्रम कसैले पनि राख्नुहुन्न ।

कुनै एक व्यक्तिले लिएको ऋण अर्को व्यक्तिले गरेको बचतको रकम हो भन्ने कुरा ऋणीले कहिल्यै पनि बिर्सनु हुँदैन । आज कसैले म ऋण तिर्दिन भन्यो भने बैंकले बचतकर्ताको रकम फिर्ता दिन सक्दैन, त्यतिबेला ठूलो आन्दोलनको अवस्था आउन सक्छ । सर्वसाधारणले खाइ–नखाई गरेको बचतबाटै बैंक तथा वित्तीय संस्थाबाट ऋण÷सापटी लिएर लघुवित्तले ऋण दिएको हो ।

कोरोना महामारीपछिको आर्थिक स्थिति र तरलताको अभावले लघुवित्तमा समस्या सुरु भएको बुझ्न सकिन्छ । पहिले लघुवित्त संस्थासँग पैसा थियो, अतिरिक्त ऋण दिएर कर्जा असुलीको प्रक्रिया पनि व्यवस्थित भइरहेको थियो । जब कोरोना महामारीको समयमा सबैजना घर भित्रै बस्नु पर्ने भयो, उत्पादन बिक्री भएन, भएको पैसा खर्चमै सकियो ।

पछिल्लो समय बैंक वित्तीय संस्थामा तरलताको संकट आएपछि लघुवित्तले पनि सापटी लिन सकेनन् । त्यसपछि लघुवित्तले थप ऋण दिन नसक्ने भए । यी विविध कारणको एकमुष्ट स्वरुप नै आज समस्याका रुपमा देखिएको हो । यो आजको आजै आएको होइन । विगत केही वर्षदेखिको विकसित रुप हो ।

लघुवित्त स्वशासित संस्था हुन् । यी संस्थाका संस्थापक, लगानीकर्ता, कर्मचारी र ऋणीहरु समेत सुशासनमा बस्नुपर्छ । सोही मान्यताका कारण राष्ट्र बैंकले अलिकति लचक भएर हेरेको हो । लघुवित्तका ३३ लाख ऋणी छन् । यी सबैको एक एक गरी राष्ट्र बैंकले फाइल हेर्न सक्दैन । यो फाइल हेर्ने काम सम्बन्धित लघुवित्त संस्थाको हो ।

राष्ट्र बैंकले वित्तीय संस्थालाई नियन्त्रण होइन, सहजीकरण गर्छ, लघुवित्त संस्थाहरुले पनि ऋणलाई कसरी सहज बनाउने, त्यसतर्फ ध्यान दिनुपर्छ । वाणिज्य बैंक, विकास बैंकलाई राष्ट्र बैंकले जसरी कस्छ, लघुवित्तलाई त्यसरी कडाई गरिएको छैन । यो कस्ने खालको बिजनेस मोडल होइन, उहाँहरु आफै स्वःशासित भएर जानुपर्छ ।

पछिल्लो समय लघुवित्त बढी नै व्यापारीकरण भएको छ । केही सेयर बजारका खेलाडी यसमा पसेर पनि विकृति आएको हो । यसलाई सुधार गर्न कम्पनी ऐनमा दर्ता गर्ने, अहिलेको मोडालिटी परिवर्तन गर्ने, लाभांशमा बन्देज लगाउने जस्ता विषय उठेका छन्, यसलाई दीर्घकालीन रुपमा सोच्नुपर्छ । चाँडै मुनाफा कमाउने केही लघुवित्तले बजारमा ल्याएको विकृतिले सबै लघुवित्त बदनाम भएको हो ।

धेरै लघुवित्तले कर्मचारीलाई निश्चित रकम ऋण लगानी गर्नुपर्ने लक्ष्य तोकिदिने गरेका छन् । कर्मचारीले लक्ष्य भेट्टाउन घरघरमा गएर पैसा बाँड्ने गरिरहेका छन् । आउनुस्, हामी दिन्छौं भनेर सजिलै रकम वितरण गर्ने र फिर्ता लिँदा ज्यादै कडा गर्ने काम भइरहेको छ ।

संस्थाहरु बढी भए भन्ने गुनासो सुनिन्छ, यस्तो विषयलाई सच्याउँदै जाने हो । एकै पटक बन्द गर्नुपर्छ भन्ने सोच्दै नसोचौं । यसले ठूलो उपलब्धि गुम्छ र हामी धेरै वर्ष पछाडि धकेलिन्छौं ।

अब राष्ट्र बैंकले सकेसम्म एउटा मात्र र त्यो सम्भव नभए दुई वा तीन भन्दा बढी संस्थामा संलग्न हुन नपाउने निर्देशक चाँडैनै जारी गर्ने प्रक्रियामा छौं । एउटा लघुवित्तले ऋणीसँग १५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन, त्यस्तो सूचना आए हामी तत्कालै कारबाही गर्छौं । सेवा शुल्कका नाममा विगतमा लघुवित्त संस्थाले केही कमीकमजोरी गरेका छन् । सेवा शुल्क फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको छ ।

लघुवित्तका ऋणी पनि उत्तिकै सचेत हुनुपर्छ । ऋण लिनु भन्दा अगाडि ब्याज कति लिन्छ, सेवा शुल्क कति लिन्छ, परियोजनामा ऋण थप्ने हो भने कति शुल्क लाग्छ भन्ने बारे ऋणीले पनि राम्रोसँग ध्यान दिनुपर्छ ।

समूहका सबैले सबैको जिम्मेवारी लिन्छौं भनेर सही गरेर ऋण दिइएको हुन्छ । अहिले अप्ठ्यारो प¥यो, फलानासँग सम्बन्ध बिग्रियो भनेर गुनासो गर्नु अगाडि संस्थाबाट नबुझिकन प्रवेश गर्नु भएन ।

लघुवित्तहरुले पनि सेवा प्रदायकलाई राम्रोसँग कुरा नबुझाई ह्वारह्वारी पैसा बाँडेको देखिएको छ । अर्कोतर्फ आप्mना ऋणीप्रति सम्मानजनक र व्यवसायिक व्यवहार गर्नुपर्छ । रातिको १०, ११, १२ बजे ऋणीको घरमा गएर बाख्रा–पाठा तान्ने, घरमा आग्लो लगाइ दिनेसम्मको काम गरेको गुनासो आएको छ । यस्ता काम कदापि गर्नु हुँदैन । लघुवित्तहरुले आफ्ना कर्मचारीलाई तत्कालै यसबारे सचेत गराउनुपर्छ ।

यहाँ लघुवित्त संस्था र ग्राहक दुबै पक्षबाट गल्ती भएको छ । त्यसकारण मिलेर समस्या समाधान गरौं । सरकार, राष्ट्र बैंक र संस्थाहरुले के गर्नुपर्छ, ऋणीले के गर्नुपर्छ यसबारे छलफल गरौं र निष्कर्षमा पुगौं ।

(सोमबार आर्थिक पत्रकार समाज सेजनले आयोजना गरेको ‘लघुवित्तमा संकट ः कारण र समाधान’ विषयक कार्यक्रममा नेपालले राखेको धारणाको सम्पादित अंश)

 

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?