+
+

डीआईजी अशोक सिंह राजीनामा दिने तयारीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते ११:१६

१० फागुन, काठमाडौं । नयाँ प्रहरी प्रमुखको दाबेदार मानिएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिने तयारी गरेका छन् । प्रहरी प्रधान कार्यालय पुगेर बुधबार (आज) उनले राजीनामा बुझाउने तयारी गरेका हुन् ।

सिंहले राजीनामा दिएमा भावी आईजीपीको दौडमा डीआईजी वसन्त कुँवर, टेकप्रसाद राई र दीपक थापा मुख्य प्रतिष्पर्धी हुनेछन् ।

बढुवाका लागि रस्साकस्सी चलिरहेका बेला सिंहको नागरिकता र प्रहरी सिटरोलमा रहेको उमेर फरक-फरक भेटिएपछि प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिन थालेको थियो । जन्ममिति विवाद सार्वजनिक भएपछि सिंह राजीनामा दिने तयारीमा लागेको स्रोतले बतायो ।

जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता अनुसार उनको जन्ममिति २०२४ हुनुपर्ने हो ।

सिंहको शैक्षिक प्रमाण पत्रमा जन्ममिति १६ पुस २०२५ जन्ममिति उल्लेख छ । त्यही अनुसार प्रहरी प्रधान कार्यालयको सिट रोलमा उनको जन्ममिति कायम गरिएको देखिएको छ ।

तर, प्रहरी नियमवालीमा सेवा प्रदेश गर्दा सम्बन्धित व्यक्तिले लिएको नागरिकताको प्रमाण पत्र, शैक्षिक योग्यताको प्रमाण पत्र र वैयक्तिक विवरण सबैमा एउटै मिति नभए जुन मितिबाट पहिले अवकाश हुन्छ, सोही मितिका आधारमा हिसाब हुने भनिएको छ । त्यस अनुसार उनको जन्ममिति नागरिकता अनुसार कायम २०२४ कायम हुनुपर्ने प्रहरी प्रधान कार्यालयका अधिकृतहरु बताउँछन् ।

नागरिकता अनुसारको उमेर कायम भएको भए सिंहले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को उमेर हदका कारण २२ जेठ २०७९ मै अवकाश पाउनुपर्ने हो । सिटरोलमा फरक विवरण हुँदा उनी डीआईजी बढुवा मात्र भएनन्, एआईजी बढुवामा पनि बलियो दाबेदारी प्रस्तुत गरिरहेका थिए ।

जन्ममितिको विवाद सहतमा आएपछि सिंहले आफूमाथि प्रतिशोध साँधिएको बताउने गरेका छन् । ‘यत्तिका वर्षसम्म कुनै समस्या भएको थिएन, अहिले आएर विवाद झिक्नु प्रतिसोध मात्र हो’, उनको दाबी छ ।

प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले भने यसबारे अनविज्ञता प्रकट गरे । उनले भने, ‘बाहिर आएका विषयहरुबारे मात्रै जानकार छु, थप थाहा छैन ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?