+
+

‘नेपाली फिल्मका ट्रेलरले स्टारको मात्र विज्ञापन गरे, कथा र निर्देशकको उपस्थिति भएन’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १८:१५

काठमाडौं । पछिल्लो नेपाली फिल्मको ट्रेलरलाई लिएर दर्शक र समीक्षकले चासो दिन थालेका छन् । प्रायः फिल्मको ट्रेलरले कथाको नभएर स्टारको मात्र विज्ञापन गरिरहेको जस्तो देखिन्छ । कुनै ट्रेलर निकै राम्रो भएपनि फिल्म झूर हुने, कुनै ट्रेलर कमजोर भएपनि फिल्म आकर्षक हुने अन्तरविरोध नेपाली फिल्ममा देखिएका छन् ।

कतिपय फिल्मको ट्रेलर एकअर्कासँग उस्तै देखिने खालको टिप्पणी पनि छ । फिल्ममा ट्रेलर निर्माण कसरी गर्ने ? कस्तो ट्रेलर बनाउँदा फिल्म र दर्शकबीच सम्बन्ध राम्रो बन्छ भन्ने बारेमा निर्देशक तथा समीक्षक मनोज पण्डितले केही सुझाव दिएका छन्-

फिल्मको ट्रेलर बनाउँदा मुख्यतः दुईवटा कुरालाई ध्यान दिनुपर्छ । पहिलो, कथा र दर्शकबीचको सम्बन्ध स्थापित गर्ने हो । को कसको लागि, को किन, केका लागि कसरी संघर्ष गरिरहेको छ भन्ने कुरा स्पष्ट पार्दाखेरि त्यो ट्रेलरले सबैभन्दा बढी प्रभाव जमाउँछ । ट्रेलरको आधारभूत काम त्यो हो ।

त्यसले कथा र कथावाचकबीचको सम्बन्धलाई स्थापित गर्छ । दर्शकले सुरुमा आफूलाई ट्रेलरले कहाँनिर उपस्थित गराएको छ भन्ने दृश्य हेर्न चाहन्छ । जुन कुरा राम्रो ट्रेलरमा स्पष्ट देखिन्छ । हालै हलिउड फिल्म फास्ट एण्ड फ्युरियस १० को ट्रेलर हेर्दा किन उनीहरु लडिरहेका छन्, कसका लागि लडेका छन् भन्ने स्पष्ट हुन्छ ।

दर्शकलाई त्यो संघर्ष र टकराव कुन तहमा पुग्छ र यसले कस्तो परिस्थिति निर्माण गर्छ भन्नेबारेमा स्पष्ट थाहा हुन्छ । यसले दर्शकमा कौतुहलता सिर्जना गर्छ । तर हाम्रोमा कसको लडाइँ हो, कसको कथा हो, केका लागि संघर्ष गरिराखेको छ, कुन पात्र के चाहिरहेको छ भन्ने कुराको एक थोपा झलक पनि आउँदैन ।

हाम्रो ट्रेलर निर्माण केही दृश्यहरुको संयोजन गरेर शैली निर्माण गर्ने, कुनै अमूक कलाकारको फिल्म हो भनेर स्थापित गर्नेतिर लाग्छ । हामी पात्रसँगको सम्बन्ध विकास गर्दैनौं, हामी स्टार फिल्म आउँदैछ है भनेर विज्ञापन गर्छौं । मानौं, दयाहाङको फिल्म आउँदैछ । अनमोलको फिल्म आउँदैछ भन्ने पार्छौं । ट्रेलर बनाउने बेला फिल्ममेकरकै उपस्थिति हुँदैन हुँदैन ।

कथा र कथाकारको सबै गुण ट्रेलरमा गुमनाम हुन्छ । खाली स्टारको हाबी भएर ट्रेलर बनिरहेको छ । ट्रेलरमा सबै खुलाउँदा कथा खुल्छ भन्ने पनि गरिन्छ । तर फिल्मभन्दा कथाको विज्ञापन गर्नु जरुरी छ । मान्छेलाई त फिल्ममा यस्तो कथाको उत्पादन छ भन्ने बुझाउनुपर्छ । फिल्म त अन्ततः कथाको प्रोडक्ट हो । कथाको इमोसनको विज्ञापन हो त्यो ।

ट्रेलरले कथा र दर्शकबीच सम्बन्धको काम गर्नुपर्छ । तर दुर्भाग्य कलाकार, हिरो, स्टारको विज्ञापन भइरहेको छ । किन यस्तो भइराखेको छ भने बनाउने बेलामा मैले कथाको व्यापार गर्दैछु भन्दापनि स्टारहरुको व्यापार भएकाले समस्या भएको हो । हाम्रो पात्र, कथा, इमोसन भन्दा पनि बढी चाहिं स्टारलाई बिक्री गर्ने सोच भएकाले अलिकति ट्रेलर निर्माणमा पनि स्टारलाई मात्र बेच्न खोजिएको देखिन्छ । यसतर्फ गम्भीर भएर सोच्नुपर्छ ।

रानी मुखर्जीको नयाँ फिल्म ‘मिसेस चटर्जी भर्सेस नर्वे’ ट्रेलर निर्माणको गज्जब उदाहरण हो । आमा पात्रसँग दर्शकको सम्बन्धलाई त्यसमा गज्जबले स्थापित गरिएको छ ।

ट्रेलरको लागि पनि हामीलाई कथा चाहियो र कथामा मेहनत गर्नुपर्‍यो । फिल्म कथाको व्यापार हो भन्ने स्थापना हुनुपर्‍यो । स्टारको यस्तो फिल्म आउँदैछ भन्ने कुराको सञ्चार मात्र भयो । यस्तो कथामा यस्तो फिल्म आउँदैछ भन्ने कुराको जानकारी भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?