+
+

टिकटकका ६ सकारात्मक पाटा : कसरी बदल्दैछ मान्छेलाई ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ फागुन १४ गते १८:५३

काठमाडौं । केही वर्षयता सामाजिक सञ्जाल टिकटकले नेपालीमा छुट्टै प्रकारको जादू नै चलाएको छ । सुरु–सुरुमा युवा पुस्तालाई आकर्षित गरेको टिकटकले अहिले हरेक उमेर समूहलाई लठ्याएको छ । यसमा बौद्धिक जमात पनि रमाउन थालेको छ ।

मनोरञ्जनको माध्यम मात्रै होइन, महत्वपूर्ण घटनाका भिडियो समेत सबैभन्दा पहिले टिकटकमा भेटिन्छ । त्यसैले टिकटकले बालबालिकादेखि बुढापाका समेतलाई समेटेको छ । यो कसैको एक्लोपनको साथी भएको छ भने कसैको लुकेको प्रतिभा देखाउने माध्यम पनि ।

टिकटक सूचनको स्रोत समेत बन्न थालेको छ । यसको सुरुवात हुँदा गीत र फिल्मको डायलग लिपसिंक गरेर छोटो भिडियो पोस्ट गर्ने एपका रुपमा भए पनि अहिले टिकटक बहुआयामिक बनेको छ ।

१५ सेकेन्डको भिडियो बनाएर टिकटकमा हाल्दा लाखौं–करोडौं रुपैयाँको विज्ञापनको माध्यम समेत बनेको छ । टिकटकमार्फत चर्चामा आएका कतिपयले करिअर नै परिवर्तन गरेका छन् । हिजोआज गीत–संगीतको प्रचारप्रसार गर्ने माध्यम पनि टिकटक बनेको छ । कलादेखि गला र नृत्यदेखि अभिनयको भोक मेटाउने भरपर्दो माध्यम बनेको छ ।

मनोविद् पदम जोशी भन्छन्, ‘टिकटकलाई ‘क्रियटिभ एप’ पनि भनिन्छ ।  जसले लुकेको प्रतिभालाई बाहिर ल्याउने माध्यमको रूपमा काम गरिरहेको छ ।’

मानिसहरूले आफ्ना धेरै इच्छा चाहनालाई दबाएर राखेका हुन्छन् । त्यो दबाएर राखेका सकारात्मक र नकारात्मक संवेग अहिले टिकटकमार्फत पोखेको जोशी बताउँछन् । ‘व्यक्तिहरूले आफ्नो कुरा समाजमा राख्ने माध्यमको रूपमा टिकटकको प्रयोग गरेका छन्’ उनी भन्छन्, ‘अन्य सामाजिक सञ्जालको तुलनामा टिकटकको सकारात्मक प्रभाव बढी छ ।’

जोशीका अनुसार टिकटकका फाइदाको कुरा गर्दा यो आफ्नो प्रतिभा देखाउन सक्ने राम्रो प्लेटफर्म हो । मानिसहरूको दबिएको संवेग र कुण्ठा बाहिर ल्याउने माध्यम पनि हो । दबिएको संवेग र कुण्ठा बाहिर निक्लिएपछि मानिसहरु चिन्तामुक्त हुन्छन् र उनीहरूमा मानसिक समस्या देखिने सम्भावना पनि कम हुन्छ ।

आत्मविश्वास बढाएको छ

टिकटकले धेरै व्यक्तिको आत्मविश्वास बढाएको छ । आफूलाई मन लागेको कुरा खुलस्त भन्न सक्ने, आफूमा भएको प्रतिभा खुलेर देखाउन सक्ने आत्मविश्वास टिकटकले दिएको मनोविद् जोशीको तर्क छ  ।

बाटोमा वा पार्कमा धेरै मान्छेका अगाडि पनि टिकटक एप खोलेर अभिनय गर्न सक्ने, नाच्न सक्ने, गाउन सक्ने आत्मविश्वास टिकटकले दिएको जोशी बताउँछन् ।

रमाउने मेलो बनेको छ

टिकटक मनोरञ्जनको माध्यम पनि भएको जोशी बताउँछन् । ‘दिनभरि काममा व्यस्त भएर घर फर्केपछि फुर्सदको समयमा टिकटक भिडियो बनाएर तथा अरूको भिडियो हेरेर मान्छेहरू रमाउने गर्छन् । यसले मानिसलाई चिन्तामुक्त बनाएको छ’, उनी भन्छन् ।

कला र शिल्प उजागर गरेको छ

अहिले धेरै व्यक्तिले टिकटकलाई आफ्नो कला शिल्प उजागर गर्ने माध्यम पनि बनाएका छन् । केहीले आफ्नो अभिनय कला त केहीले आफ्नो पाककला टिकटकमार्फत उजागर गरिरहेका छन् । आफूसँग भएको जुनसुकै कला यसमा प्रदर्शन गर्न सकिने जोशी बताउँछन् ।

‘कसैलाई राम्रो गाउन आउँछ भने गाएको भिडियो हाल्न सक्छन् । कुनै प्रतिभा छ र त्यसलाई संसारसँग उजागर गर्न चाहन्छन् भने प्रतिभा झल्किने टिकटक भिडियो बनाएर पोस्ट गर्न सकिन्छ । यसो गर्दा कला शिल्प उजागर हुन्छ र विभिन्न अवसर पनि पाइन्छ’, उनी भन्छन् ।

एकअर्काप्रति सद्भाव बढाएको छ  

खेतीकिसानी गर्ने किसानको भिडियोलाई पनि टिकटकमा उत्ति नै माया गरिन्छ, जति एक मोडलले नाचेर बनाएको भिडियो रुचाइन्छ । टिकटकमार्फत मान्छेले एकअर्काप्रति सद्भाव देखाएका छन् भन्दा हुन्छ । कसैलाई आर्थिक संकट छ भने उसलाई सहायता जुटाउने माध्यम पनि टिकटक बन्न थालेको छ ।

एक्लोपनको साथी बनेको छ

अहिले समाज संयुक्त परिवारबाट एकल परिवारमा ढल्किएको छ । घरका तीन–चार जना सदस्यमध्ये पनि युवा विदेशिएका छन् भने कोही काममा व्यस्त छन् । घरमा वृद्धवृद्धा एक्लै बस्न बाध्य छन् । त्यसैले होला वृद्धवृद्धा पनि आजभोलि टिकटकमार्फत एक्लोपनबाट टाढिन खोजिरहेको जोशी बताउँछन् ।

‘टिकटक भिडियो बनाएर तथा टिकटकमा भर्चुअल साथीहरूसँग मनको कुरा साटेर पनि धेरैले एक्लोपनबाट छुटकारा पाएका छन्’, उनी भन्छन् ।

समाजको मनोविज्ञान बुझ्न सघाएको छ

समाजमा मानिसहरुको सोच कस्तो छ ? कस्तो कुरालाई रुचाइरहेका छन्, कस्तो रुचाउँदैनन् ? भन्ने बुझ्ने माध्यम पनि टिकटक बनेको छ । त्यसैले टिकटकले सामाजिक मनोविज्ञान बुझ्ने मौका पनि दिएको मनोविद् जोशी बताउँछन् ।

सँगै विकृति पनि

हरेक कुराको राम्रो र नराम्रो दुईवटा पाटो हुन्छन् । टिकटकको पनि सकारात्मकसँगै नकारात्मक पाटो पनि भेटिन्छ । केही प्रतिशत व्यक्तिले टिकटकलाई आफ्नो प्रतिभा उजागर गर्ने माध्यम बनाएका छन् । तर धेरैले टिकटकमा घण्टौं समय बिताएर उत्पादनशील समयलाई बर्बाद पनि गरिरहेको मानवशास्त्री डम्बर चेम्जोङ बताउँछन् । ‘टिकटक प्रयोगकर्तामध्ये पाँच प्रतिशतले यसको सही उपयोग गरिरहेका छन् भने ९५ प्रतिशत मान्छे भने यसमा अलमलिरहेका छन्’, उनी भन्छन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?