 
																						१५ फागुन, काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले आफ्नो मन्त्रालयको काम राहत र उद्दार पनि रहेछ भन्ने महसुस परराष्ट्रमा गएपछि मात्र भएको बताएकी छन् ।
राष्ट्रियसभा सदस्य पौड्याल २ माघमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री नियुक्त भएकी थिइन् । प्रधानमन्त्रीले आफ्नो जेनेभा भ्रमण स्थगित गरेपछि मन्त्री पौडेलले सोमबार राष्ट्रियसभामा समय मागेर सम्बोधन गरिन् ।
उनी बोलिरहँदा एमालेको सचिवालयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसको पूर्वसूचना पाएकी मन्त्री पौड्यालले जेनेभा भ्रमणबारे मात्र जानकारी गराइनन्, परराष्ट्रमन्त्रीका रुपमा ४२ दिनमा आफूले गरेको कामकारबाहीको विवरण समेत सुनाइन् ।
‘सर्वभौमसत्ताको संरक्षण र राष्ट्रिय हितको प्रबन्ध गर्ने परराष्ट्र मन्त्रालयको काम हो भन्ने लाग्थ्यो । तर परराष्ट्रको काम राहत उद्दार पनि रहेछ । त्यो मैले त्यहीँ गएर महसुस गरेँ,’ उनले भनिन्, ‘यति धेरै राहत उद्दार गर्नुपर्ने रहेछ विदेशमा भएका नेपालीहरुलाई, तर यसबारे हाम्रो नीति बोलेको छैन ।’
कतिपय लिगल डकुमेन्ट विना विदेशमा पुगेर आपतमा परेको, कोही जेलमा रहेको, कतिपयको मृत्यु भएर शव ल्याउनुपर्ने अवस्था रहेको उनले सुनाइन् ।
यसका लागि ४० वटा नियोगबाट सेवा प्रवाह हुने गरेको, तर त्यसमा धेरै गुनासो रहेको मन्त्री पौड्यालले सुनाइन् । नियोगहरुको क्षमता कमजोर भएको र नेतृत्वको प्रवृत्तिमा पनि समस्या रहेको भन्दै उनले भनिन्, ‘नियोगहरुमा फोन समेत उठ्दैन, मलाई आपत पर्यो भनेर राति १२ बजे, १ बजे फोन आउँछ ।’ कम्तिमा २४ घण्टा फोन उठ्ने व्यवस्था त गरौं भनेर आफूरुले निर्णय गरेको उनले बताइन् ।
अनलाइन पेमेन्ट लगायतका निर्णय पनि आफूले गरेको भन्दै उनले भनिन्, ‘कार्यान्वयनमा सुनिश्चितता कति हुन्छ भन्ने लिडरसिपको दिगोपनामा भर पर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4