+
+

जनमत पार्टी सरकारबाट बाहिरिँदैन : सिके राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १४:५१

१६ फागुन, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरागर्दै अध्यक्ष राउतले जनमत पार्टी सरकारबाट नबाहिरिने बताए ।

‘अहिले त्यस्तो कुनै महत्वपूर्ण परिस्थिति भएको छैन जसले सरकार बाहिर आउनु परोस, सरकारबाट बाहिरिने कुनै परिस्थिति नै बनेको छैन जनमत पार्टीको,’ उनले भने, ‘अरु पार्टीहरु त माग पूरा भएन, कसैलाई राष्ट्रपति भएन, कसैलाई मन्त्रालय भएन भनेर बारिरिएको हो । जनमत पार्टीको लागि कुनै त्यस्तो कुनै नयाँ परिस्थिति सिर्जना भएको छैन । त्यही भएर जनमत पार्टी सरकारमा यथावत छ ।’

माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकोले सरकार बदलिएको भन्न नमिल्ने उनले बताए ।

उनले भने, ‘यो भन्दा पहिला पनि माओवादीकै नेतृत्वमा सरकार थियो । अहिले पनि माओवादीकै नेतृत्वमा सरकार छ । सरकार कहाँ बदलिएको छ त ? सरकारमा सामेल भएका दलहरु फेरिएका । सरकार फेरिएको छैन । सरकार बदलिएको होइन । हामी त्यही भएर सरकारमा यथावत छौँ ।’

अध्यक्ष राउतले राष्ट्रपतिमा आफूहरुले स्वच्छ छवि भएको र दल विशेषको भुमिका नखेल्ने व्यक्ति खोजेको उल्लेख गर्दै सोही बमोजिमको पात्रको रुपमा रामचन्द्र पौडेललाई समर्थन गरेको बताए । जनमत पार्टी राष्ट्रपति र सभामुख एउटै पार्टीलाई दिन नहुने पक्षमा रहेकाले पनि पौडेललाई समर्थन गरेको उनले स्पष्ट पारे ।

राउतले भने, ‘सभामुख र राष्ट्रपति सकेसम्म एउटै दलको नहोस् भन्ने हामी चाहन्छौँ । किनभने त्यसले देशमा निरंकुशता जन्माउन सक्छ भनेर प्रशस्त आधारहरु रहेका छन् । त्यसैले हामीले नयाँ गठबन्धनले प्रश्तावित गरेको राष्ट्रपतिलाई समर्थन दिने पक्षमा रहेका छौँ ।’

नागरिकता विधेयक, राजबन्दीको रिहाइ र किसान आन्दोलन लगायतका आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन हुने अवस्था नआएमा सरकारलाई गरेको समर्थन फिर्ता हुनसक्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?