१८ फागुन, काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले २०७२ माघदेखि कांग्रेसको एउटा धारको नेतृत्व गर्दै आएका थिए । पौडेलले आफ्नो धारलाई करिब १४ औं महाधिवेशन (२०७८ मंसिर) सम्म धाने ।
एउटा समूहको नेतृत्वकर्ताको हैसियतमा रहँदा नेता कार्यकर्ता अवसरको खोजीमा पुग्थे । गुनासा राख्थे । संस्थापन पक्षप्रति आक्रोश व्यक्त गर्थे । पार्टीभित्र हुने भागवण्डामा हिस्सेदारी खोज्न पौडेललाई बल दिन्थे । आफ्नो भूमिका पार्टीमा सुनिश्चित हुने आश्वासन पौडेलबाट सुन्न चाहन्थे ।
१४ औं महाधिवेशनमा पौडेल नेतृत्व गरेको समूहबाट सभापतिको प्रत्यासी को हुने विवादले उनी सभापतिको प्रत्यासी हुने अवस्था रहेन । समूहको मियो डा शेखर कोइराला बने । पौडेल समूहविहीन हुने प्रयत्नमा लागे । सामूहिक बल उनीमा घट्यो । संस्थापनइतरको लगाम पौडेलबाट छुटेसँगै बोहोराटारस्थित उनको निवासमा नेता कार्यकर्ताको उपस्थिति पातलिन थाल्यो ।
अवसरको खोजी गर्दै उनलाई भनसुन गर्नेको संख्या कम भयो । बोहोराटारमा आउनेको चहलपहल घट्दै गयो । उनलाई पच्छ्याउनेको ठूलो पङ्ति शेखरतिर लाग्यो । कार्यकर्ताको भिडभाड पौडेलले आफ्नो निवासमा करिब १५ महिना देख्न पाएनन् । पौडेलको घरमा चहलपहल नहुनुको कारण उनको शक्तिमा ह्रास आउनु थियो ।

माओवादीसहितको गठबन्धनका पहलकर्ता पौडेलका लागि पुनः समय अनुकुल बनिदियो । देशको सर्वोच्च पदको नजिक रहेका पौडेललाई भेट्न नेता कार्यकर्ता धाउन लागेका छन् । यो क्रम बढेको राष्ट्रपतिमा पौडेलको उम्मेदवारी परेदेखि हो । पौडेल निवासमा शुभेच्छा व्यक्त गर्न आउनेहरुको लर्को छ । पौडेलसँग निकट सम्बन्ध राखेकाहरु उनलाई शुभकामना व्यक्त गर्न पुग्नु स्वभाविक हो ।
पौडेल निकट नेताहरुको बुझाईमा दुई अभिलाषाले उनलाई भेट्नेको भिड लागेको छ । पहिलो, कार्यकारी पदमा पुग्न नपाएका पौडेल सर्वोच्च पदमा पुग्नै लाग्दा कांग्रेसको ठूलो पङ्ति खुसी छ । शुभकामना व्यक्त गर्ने चाहना राख्दै गर्दा केहीको अपेक्षा उनी शक्तिमा पुग्दा पाइने लाभका लागि छ । उनलाई शुभेच्छा दिन यसअघि बोहोराटारमा कहिले नदेखिएका नेता कार्यकर्ता समेत पुगेका छन् । पौडेल निकट नेता भन्छन्, ‘शक्ति कस्तो रहेछ । बल्ल देख्दैछु ।’
विहान सबेरैदेखि शुभेच्छा व्यक्त गर्न जाने नेता कार्यकर्ता हुन्छन् । त्यो क्रम साँझसम्म निरन्तर हुन्छ । विहान भेट्न जानेहरु कतिपय सम्पर्क समेत नगरी पुग्छन् । दिउँसो र साँझ भेट्न समय निर्धारण गरेर आउनेहरु हुन्छन् । पौडेललाई भेट्न केन्द्रीय सदस्य उर्मिला नेपालले बुधबार विहान तीन घण्टा प्रतीक्षा गरिन् । लामो धैर्य गरेपनि भेटेर शुभकामना दिन पाएकोमा उनी प्रफुल्लित देखिन्थिन् ।

केन्द्रीय सदस्य नेपालले अगुवाई गरेर पुगेको टोलीमा नेविसंघमा आवद्ध विद्यार्थी नेताहरु पनि थिए । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा नेविसंघको राजनीति गर्ने दर्जन बढी कार्यकर्ता पौडेल निवास पुगेका थिए । सामूहिक भेटका लागि घरभित्रबाट निस्किएका पौडेललाई नेपालले शुभकामना दिइन् । शुभकामना व्यक्त गर्दागर्दै उनले पौडेलप्रति आशा राख्दै भनिन्, ‘हजुरहरुले मलाई केन्द्रीय सदस्य बनाउनुभयो । ३५ वर्षदेखि कांग्रेसमा मेरो राजनीति देखेर कल्याण होस् ।’
गठबन्धन बनेकोप्रति पौडेल खुसी देखिए । संविधानको रक्षाको बोली दोहो¥याए । पौडेलले नेता कार्यकर्तालाई भने, ‘अन्योल अन्योल थियो । अब ढुक्क हुने स्थिति बन्यो ।’ भेट्न आउने कार्यकर्ताको आशय पनि बुझेर हुनसक्छ, पौडेलले भ्रातृ संस्थाले पूर्णता पाउने संकेत गरे । पौडेल बोल्नुअघि नेविसंघका कार्यकर्ताले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएपछि धेरै खुसी भएको विचार राखे । उनले भने, ‘हामी यति खुसी भयौं कि । अग्रिम बधाई दिउँ भनेर आएको ।’
राष्ट्रपति निर्वाचनलाई ध्यानमा राखेर सार्वजनिक कार्यक्रममा सम्बोधन गर्न पौडेल जान छोडेका छन् । उनको अन्तिम सार्वजनिक कार्यक्रम महेन्द्रनारायण निधिको जन्म जयन्तीको अवसरमा थियो । महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताले सार्वजनिक रुपमा बोल्न उपयुक्त नहुने उनलाई सुझाव दिएका थिए ।
गत शनिबार सार्वजनिक मञ्चमा विचार राखेपछि त्यसयता बोलेका छैनन् । बिहीबार आठ दलीय गठबन्धनले संघीय सांसदका लागि आयोजना गरेको अभिमुखीकरणमा भने उनले आफूलाई मत मागेका छन् ।

राष्ट्रपति पद आलंकारिक हो । नेता कार्यकर्ताले त्यसलाई बुझेका छन् । विगतका राष्ट्रपतिले शक्तिको अभ्यास गरेकाले उनी सर्वोच्च पदमा पुगे भने लाभको आशा पनि कतिपयमा हुनसक्ने कांग्रेसमा चर्चा हुन्छ । संवैधानिक सीमा मिच्नुको साथै सरकार तथा पार्टीमा भागवण्डा खोज्ने गलत प्रवृत्ति बनेको छ । विगतका अनुभवबाट ज्ञान प्राप्त पौडेलले संवैधानिक परिधि नमिच्ने कांग्रेसका नेताहरु ढुक्क देखिन्छन् । मंगलबार पौडेललाई शुभकामना दिन बोहोराटार पुगेका केन्द्रीय सदस्य नैनसिंह महर भन्छन्, ‘राष्ट्रपति भए पश्चात् संविधानको रक्षा गर्नु नै आफ्नो प्रमुख कार्यभार हुने बताउनुभयो ।’
आठ दलीय गठबन्धनमा रहेको मतभारका आधारमा राष्ट्रपतिमा पौडेलको जित सहज देखिन्छ । राष्ट्रपति निर्वाचित भएपछि कतिपयमा आशंका छ, संवैधानिक सीमाको ख्याल राख्दै गर्दा उनले आस्था राख्ने पार्टीमा अप्रत्यक्ष भूमिका खोज्ने हुन् कि ?
पार्टी तथा मन्त्रिपरिषद्मा भाग खोजेको आरोप वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना हुँदै आएको छ ।
भण्डारीको प्रवृत्ति पौडेलमा नदोहोरिने उनी पक्षीय नेताहरुको दाबी छ । ‘१४ औं महाधिवेशनसम्म एउटा समूहको नेतृत्व गर्नुभएको हो । त्यसपछि उहाँ कुनै समूहमा हुनुहुन्न’, पौडेल पक्षीय नेता भन्छन्, ‘उहाँ सबै पक्षको हो । एउटा समूहलाई संरक्षण गर्नुहुन्छ भनेर आशा राख्नेहरु छैनन् ।’

 
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4