+
+

‘दिल्ली र बेइजिङसँग जोडिने हामीले नजिकैको गाउँ जोडेनौं’

हामीले ‘मार्केट चेन’ बनाएनौं । काठमाडौंको ठूलो बजारसँग जोडिने बनेपा, बनेपासँग जोडिने अर्को सानो बजार हुनुपर्ने थियो । तर, काठमाडौं दिल्ली, बेइजिङसँग जोडिन्छ, बनेपा नजिकको गाउँसँग जोडिएको छैन । यस्तो हुँदा उत्पादन बजार पस्नै पाउँदैन ।

डा. नारायणप्रसाद रेग्मी, सहसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय डा. नारायणप्रसाद रेग्मी, सहसचिव, वाणिज्य तथा आपूर्ति मन्त्रालय
२०७९ फागुन १९ गते ९:३०

आन्तरिक आपूर्ति व्यवस्थाको कुरा गर्दा मुगुमा रुस्लान भोड्का पुग्दा सिटामोल पुग्दैन । काठमाडौंदेखि भोड्का पुग्ने ठाउँमा दूध, चामल पुग्दैन तर विलासिताका वस्तु पुगेकै छ । उपभोेक्ता तिनै हुन्, ढुवानीको पूर्वाधार तिनै हुन् तर, अत्यावश्यक वस्तु नपुग्ने, विलासिताका वस्तु पुग्ने अवस्था कसरी भयो ?

यो भनेको उपभोक्ताको उपभोगको तरिकाका कारण वस्तुको उपलब्धता हुनेरहेछ भन्ने हो । यी ठाउँमा अहिले सबै प्रकारका चिसो पेय पदार्थ पुगेको छ । तर, अचम्म त्यो ठाउँका किसानले उत्पादन गरेको मोही, कोदो, लसुन नेपालगञ्ज पनि जाँदैन । हामीले थाहा पाई–नपाई बडो विचित्रको प्रणाली विकास भइरहेको छ ।

दोस्रो, भारतको गुजरातबाट वीरगन्ज हुँदै केरा वा सुन्तला सजिलै, विना अवरोध र सस्तोमा आउँछ । तर स्याङ्जाको सुन्तला पोखरा वा काठमाडौं, मुस्ताङको स्याउ पोखरा वा काठमाडौं सजिलैसँग आउन सक्दैन । बीचमा धेरै अवरोध हुन्छन् ।

अनि यी उत्पादनहरू राजधानी आइपुग्दा धेरै चर्को मूल्य पनि पर्छ । यसरी हेर्दा हामीले हाम्रो आन्तरिक उत्पादन चेनमा केही महत्वपूर्ण कुराहरू गुमाइरहेका छौं । धेरैले भन्छन् पहाडमा ठूलो आकारमा उत्पादन छैन, दोस्रो यातायात सुविधा छैन । ठूलो मात्रामा उत्पादन नभएको यो साँचो हो तर भरी मात्रामा गएको ट्रकले आधा मात्रै पनि त ल्याउन सक्ने थिए नि तर किन ल्याएन ?

यसको जवाफ हो, गाउँमा युवा नै छैनन् । युवा विदेशमा छन् । केही सक्ने मानिसहरू बजार झरे, नसक्ने वृद्ध जनशक्ति गाउँमा छ । लगानी कम भएपछि उत्पादन नै निकै कम छ । यो हरेक घरको समस्या हो । ग्रामीण कृषिमा श्रमिक सहभागिता पनि छैन । अर्को प्रश्न कृषिमा गरिने लगानीमा नाफा पनि छैन ।

पहिले जसरी कृषिमा एउटा चेन थियो, त्योभन्दा पनि राम्रो फाइदा अहिले अन्य व्यवसायमा देखिएपछि मानिसहरू कृषि छोडेर अन्यत्र लागे । त्यो भनेको किराना पसलहरूदेखि स–साना व्यवसायहरू हुन् । कृषिमा नाफाका लागि लामो समय कुर्नुपर्‍यो, अन्य क्षेत्रमा यस्तो भएन । अब हामी पनि कृषिमा जान नमान्ने अवस्था बन्यो । किनभने यहाँ नाफाको ग्यारेन्टी नै छैन । यसले उत्पादन घट्यो । यस्तो अवस्थामा आन्तरिक आपूर्ति त बर्बाद बनायो ।

सन् १९९० को दशकसम्म हाम्रो आफ्नै कृषि अर्थनीति थियो । तर हामी विश्वव्यापी हुन लाग्दा हाम्रो बीउमै बाह्य क्षेत्रबाट प्रहार भयो । त्यसपछि सरकारले पनि कृषिमा आधारित कुल गार्हस्थ्य उत्पादनलाई उद्योगमा आधारित बनाउने भयो । तर, हामीले भएको कृषिमा आधारित उद्योग धन्दा सिध्यायौं भने आधुनिक उद्योगको जग बसाल्नबाट चुक्यौं । अनि हामी यही बेला कमोडिटी ट्रेडमा छिरेका थियौं तर त्यसबाट पनि हामी सेवाको व्यापारमा छि¥यौं । यसले गर्दा हामी उद्योगमा जानै सकेनौं । यसले उत्पादन बढ्न सकेन भने भएको उत्पादनको पनि बजारीकरण गर्न सकेनौं ।

अब आपूर्तिको कुरा गरौं । आपूर्तिका लागि हामीले पूर्वाधार हेर्नुपर्छ । हामीले बनाएका सबै ठूला सडक चाहे त्यो पूर्व–पश्चिम राजमार्ग होस् वा पृथ्वी राजमार्ग वा सिमानादेखि ठूला शहरसम्मका सडक हुन्– गुणस्तर त परको कुरा ती पूर्वाधारले हाम्रो उत्पादनलाई जोड्न सकेनन् ।

काठमाडौंमा केरा पुगेन भने हामी गुजरातमा फोन गर्छौं, चितवनमा केरा छ भन्ने काठमाडौंको बजारलाई थाहा छैन ।

यी सडकले गाउँबाट मानिसलाई शहरमा पस्न त दियो तर उत्पादन बजार आउने गरी गाउँ जोडेन । जसको उदाहरण धादिङ, सिन्धुपाल्चोक वा नुवाकोटमा कृषि गर्ने, त्यहाँ भण्डारण गृह राख्ने र त्यहाँको उत्पादन शहर आउने गरी कुनै राजमार्ग बनेको छैन । जति बनेको छ ती सबै अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने खालमा मात्रै छन् ।

यस्तै हामीले मार्केट चेन बनाएनौं । जस्तै काठमाडौंको ठूलो बजारसँग जोडिन बनेपा, बनेपासँग जोडिने अर्को सानो बजार हुनुपर्ने थियो तर यहाँ यस्तो चेन नै बनेन । काठमाडौं दिल्लीसँग, बेइजिङसँग जोडिन्छ तर बनेपा वा त्यहाँको नजिकको गाउँसँग जोडिएको छैन । यस्तो हुँदा उत्पादन बजार पस्नै पाउँदैन ।

अर्को कुरा हामीले गाउँ र शहरलाई जोड्नै सकेनौं । खासमा गाउँ  र शहर भनेको एक अर्कोमा परिपूरक छन् तर शहर बस्यो, गाउँ बिर्सियो, गाउँ बस्यो शहर बिर्सियो भएको छ । यसले उत्पादनमा पनि असर गरेको छ । त्यो भनेको किसान काठमाडौंले के चाहेको छ भनेर उत्पादन गर्दैनन्, उसलाई जे ठिक लाग्छ त्यही उत्पादन गर्छ ।

यस्तो भएपछि उत्पादनले कसरी बजार पाउँछ ! यस्तो हुँदा सरकारले हस्तक्षेप गर्नुपर्ने थियो तर, यसमा सरकारको बल पुगेन । हामीले गलत ठाउँमा लगानी गर्‍यौं । लगानी र प्रविधि भित्र्याएनौं । खाद्यको उपयोग शैली बदल्यौं तर उत्पादन बदलेनौं । चामल खान थाल्यौं तर धान खेती छाड्यौं ।

अब किसानलाई प्रोत्साहन गर्न कर कानुन पनि बलियो हुनुपर्ने हो, हामी त्यसमा पनि चुक्यौंं । जस्तै मौसमी उत्पादनका बेला हामीले आयात गर्ने कृषि उपजको हार्मोनी कोडहरूलाई विस्तृतमा अध्ययन गरेर यहाँको उत्पादन थुप्रिने बेलामा आयातमा कठिनाइ हुने गरी करको नीति बनाउनुपर्ने थियो ।

जस्तो आयातित स्याउ, सुन्तला र तरकारीको मौसमी कर प्रणालीमा हामी जानुपर्‍यो । यस्तै हामीले आयातित वस्तुमा गुणस्तर परीक्षणमा कडाइ गरेनांै, हाम्रो उत्पादनलाई गुणस्तर र प्याकेजिङमा बल पुर्‍याएनौं । यसले गर्दा हामीलाई चाइनाको स्याउ भन्दा मुस्ताङको नराम्रो लाग्न थाल्यो । हामीले मागलाई बेवास्ता गरेर आपूर्तिमा बल गर्‍यौं ।

हामीले आन्तरिक आपूर्तिमा अनुदान दिनुपर्ने थियो तर गलत ठाउँमा अनुदान दियौं । अर्को समस्या भनेको केन्द्रीय सरकारसँग स्थानीय सरकार जोडिएन, साना उत्पादनसँग ठूलो उत्पादन वा उद्योग जोडिएन । जसका कारण अहिले हामीसँग उत्पादन र उपभोगको तथ्यांक पनि छैन । उत्पादक युनिट र खपत युनिटबीच समन्वय, लिंकेज नै छैन ।

काठमाडौंमा केरा पुगेन भने हामी गुजरातमा फोन गर्छौं, चितवनमा केरा छ भन्ने काठमाडौंको बजारलाई थाहा छैन । अथवा उत्पादनमा अनुदान दिन नसक्दा गुजरातको केरा गुडेर आउँदा भन्दा चितवनको केरा महँगो भयो । कैयौं वर्षदेखि एउटै समस्यामा किसान रहनुको कारण हामीले केही काम नगरेरै हो । पाँचखाल र बनेपाको सडक नबनाएका, कोल्डस्टोर नबनाएका हामीले छिमेकीको उत्पादन जोड्ने बजारको बाटो चार लेनको बनायौं ।

यो सबै समस्याको समाधान भनेको उत्पादन बढाउने हो । उत्पादनलाई बजारसँग जोड्ने पूर्वाधार बनाउने हो । लगानी र प्रविधिमा लगानी भित्र्याउनुपर्छ । गाउँलाई शहरसँग जोड्नु पर्‍यो । सरकारी उत्पादन र तथ्यांक रियल टाइम हुनुपर्‍यो । माग, आपूर्ति र उत्पादनको अवस्थाबारे सबैमा सरकारले पनि नियमन गर्नुपर्‍यो । अनुदान प्रणाली आपूर्ति व्यवस्थामा आधारित हुनुपर्‍यो ।

 (सहसचिव डा. रेग्मीसँग अनलाइनखबरका नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?