+
+
Shares
तस्वीर कथा :

सिस्ने हिमाल पौडीरहेको गुप्त दह

कुलदीप न्यौपाने कुलदीप न्यौपाने
२०७९ फागुन २० गते ९:३१

२० फागुन, दाङ । दुवै रुकुम एक भएको बेला रुकुमलाई बाउन्न पोखरी, त्रिपन्न टाकुरीको जिल्ला भनेर चिनिन्थ्यो । संघीयता कार्यान्वयनसँगै रुकुमको भूगोल पूर्वी रुकुम र पश्चिम रुकुमको रुपमा विभाजित भयो । पोखरी र टाकुरीहरु पनि दुई जिल्लामा बाँडिए ।

तर यहाँका कतिपय तालहरु प्रचारप्रसारको अभावमा ओझेलमा छन् । तीनैमध्येको एक हो रुकुमपूर्वको गुप्त दह । रुकुमपूर्वको कमल दहको बढी चर्चा हुने गरे पनि गुप्त दह साँच्चिकै गुमनाम छ ।

जंगलबिचको अग्लो टापुमा रहेको यो सुन्दर तालमा सिस्ने हिमाल पौडिरहेको दृश्य निकै मनमोहक देखिन्छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पर्ने यो ताल समुद्री सतहबाट तीन हजार छ सय मिटर उचाइमा छ । यस वडामा मात्रै दर्जन बढी ताल तलैया छन् । नौ वटा ताल मिलेको नौ दह ताल, दोसान्त ताल, रक्त ताल आदि वडा नं. १ मा पर्ने वडाध्यक्ष बुढाले जानकारी दिए ।

लिरु मारे भनिने ठाउँको गुप्त स्थानमा रहेकाले यहाँको तालको  नाम गुप्त दह राखिएको वडाध्यक्ष रजबहादुर बुढाको भनाइ छ । उनका अनुसार परापूर्वकालमा शिकारीले लिरु भन्ने जनावर मारेकाले ‘लिरु मारे’ नाम रहन गएको किंवदन्ती छ ।

यसको उत्तरतर्फ सिस्ने र द्वारी भञ्ज्याङ तथा प्रशस्त हिमचुलीहरु देख्न सकिन्छ । गुप्त दहमा पौडिरहको सिस्ने हिमालको दृश्यावलोकनले यहाँ पुग्ने हरेक व्यक्तिलाई मोहित बनाउँछ भने यसको दृश्यावलोकनले कसैको धित मर्दैन ।

कुनै पनि ठाउँको दिगो आर्थिक उन्नतिको आधार पर्यटन भएकाले यो ठाउँमा सजिलै पर्यटन लैजान सकिने पदयात्राकै क्रममा गुप्तदह पुगेका रुकुमपूर्वका जिल्ला सरकारी वकिल प्रकाश शर्मा पौडेल बताउँछन् । ‘यहाँ पर्यटक पुर्याउन करोडौं खर्चेर सडक बनाउनुपर्ने पनि छैन, मात्र प्रभावकारी पैदल मार्ग बनाए पुग्छ,’ उनी भन्छन् ।

पौडेलको जस्तै सुझाव यो ठाउँमा आउनेहरुले दिने गरेको वडाध्यक्ष बुढा बताउँछन्, । ‘हामी स्थानीय सरकारका जनप्रतिनिधिहरुलाई पर्यटक पुर्याउन हरेक ठाउँमा सडक नै बनाउनु पर्छ भन्ने हुँदैन, सबै ठाउँमा धुवाँ धुलो उडाउँदै, ध्वनि प्रदूषण गर्दै गाडी गुड्यो भने प्राकृतिक ठाउँहरु रहँदैनन् ।’

सिस्ने गाउँपालिकाको वडा नम्बर १ को पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, उत्तरमा डोल्पा जिल्ला, पश्चिममा रुकुमपश्चिमको आठबीसकोट नगरपालिका र दक्षिणमा सिस्ने गाउँपालिकाको वडा नम्बर २ पर्दछ । वडा नम्बर १ का दमारगाउँ, ठूलो सिस्ने, लाम्पाखा, ओख्रेना, पाखापानी, भट्टेचौर मुख्य गाउँहरु हुन् । हिउदमा चार महिना हिउँले ढाक्ने, सबैभन्दा नजिकका गाउँ दमारगाउँ र ओख्रेना हुन् ।

५ हजार ८४९ मिटर अग्लो सिस्ने हिमाल यसै वडामा पर्दछ । सिस्ने हिमालको फेदीमा पर्दछ गुप्त दह । यहाँ पुग्ने पर्यटकले गुप्त दहमा पौडी खेलिरहेको सिस्ने हिमाल मात्रै देख्दैनन्, दहकैै वरिपरि नाचिरहेका मुनाल र डाफे चरासँग पनि साक्षात्कार गर्न पाउँछन् । गुप्त दह लगायत यो ठाउँं सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि पनि  स्वदेशी तथा बिदेशी पर्यटको रोजाइको केन्द्र बन्न सक्दछ ।

वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जंगल र बीचमा नीलो आकाशझैं मनै लोभ्याउने पानी यो दहको मुख्य आकर्षण हो । दहको भौगोलिक क्षेत्रफल तथा गहिराइ कति छ भन्ने अझै वैज्ञानिक नाप हुनसकेको छैन । तालको संरक्षणसँगै प्रचारप्रसार पनि गर्न सकेमा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकास हुने संभावना रहेको पहिलोपटक पदयात्रामा पुगेका सिस्ने गाउँपालिकाका इञ्जिनियर कर्ण केसीको बुझाइ छ ।

सिस्ने गाउँपालिकाका लेखापाल ठकेन्द्र देवकोटाका अनुसार उच्च पहाडी भेग भएकाले यहाँका सबै तालहरुको अवस्थाको बारेमा विस्तृतमा थाहा पाउन सकिएको छैन । किनकि यहाँ गहकिलो अध्ययन भएको छैन । विश्वले जलवायु परिवर्तनको मार खेपिरहेका बेला हिमाली क्षेत्रमा रहेका यस्ता तालको संरक्षण गर्नु राज्यको दायित्वभित्र पर्ने उनी बताउँछन् ।

स्यानो गुप्त दहको पानी ठूलो दहमा जाने गर्दछ भने ठूलो गुप्त दहको पानी रोचका खोलामा जाने गरेको छ । स्यानो दह खासमा मूलपानीको दह हो तर पछि यसलाई सानो गुप्त दहको रुपमा चिनिन थालेको स्थानीय बृद्ध नरबहादुर केसीको भनाइ छ । ठूलो गुप्त दहबाट बगेर बनेको रोचका खोलाबाट निकालिएको बिजुलीले सिस्नेको १ नम्बर वडा झिलिमिली छ । हिमाली क्षेत्र भएकाले गर्मीयाममा पनि पानी सुक्दैन । वर्षायाममा भने तालबाट झर्ने खोला तर्न सकिँदैन । वर्षाको समयमा दहको पानी दमारगाउँ थर्काउँदै बग्ने स्थानीय बताउँछन् ।

प्वाङ, ओख्र्यानी, पाखापानी, दमारगाउँ, भट्टेचौरका मानिस पूजाआजाका लागि यो दहमा बिहान आउने र साँझ फर्कने गर्दछन् ।  ‘कोहीकोही मात्रै बास बस्ने गरी आउँछन् र रुपैयाँ चढाएर पूजा गरी जान्छन्,’ वडाध्यक्ष बुढाले भने । जेठदेखि भदौ, असोजसम्म हजारभन्दा बढी भेँडा लिएर गोठालाहरु यो ठाउँमा आउने भएकाले गोठ संस्कृति पनि यहाँको आकर्षणको रुपमा रहेको छ ।

तालको पानी लोभलाग्दो र निकै सफा रहेको भएपनि मानिसहरुले फोहर गर्न सक्ने हुँदा सरसफाइमा ध्यान दिन आवश्यक देखिन्छ । तालको वरिपरी तारवार गरेर सुरक्षित गर्नेजस्ता सावधानी अपनाएमा यसको महत्व झनै बढ्ने छ । दहको संरक्षण गर्दा जैविक विविधताको पनि संरक्षण हुने देखिन्छ ।

कसरी पुग्ने गुप्त दह ?

गुप्त दह पुग्न मुख्यरुपमा तीन वटा रुट प्रयोग गर्न सकिन्छ । रुकुम पूर्वको सदरमुकाम सिस्ने गाउँपालिकाको केन्द्र रुकुमकोटबाट दुई दिनको पैदल यात्रामा यहाँ पुग्न सकिन्छ भने रुकुमपश्चिमको बाफिकोट गाउँपालिकामा रहेको रुकुमपश्चिमको प्रसिद्ध ताल स्यार्पुबाट खाल्टी हुँदै दुई दिनमा यहाँ पुग्न सकिन्छ । त्यस्तै बाफिकोटबाटै आठबीसकोट नगरपालिका १ को थुम, रोकाजा, ओख्ले हुँदै तीन दिनको पैदल यात्राबाट पनि यहाँ पुग्न सकिन्छ ।

पश्चिम नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको सिस्ने राउण्ड पदमार्गभित्र एउटा गन्तव्यको रुपमा यो दह परेको छ । यहाँबाट पश्चिम धौलागिरी हिम श्रृंखला अन्तर्गतको सिस्ने हिमाल आमनेसामने रहेकाले यसलाई सिस्ने हिमालको रुटमा राखिएको हिमालय पदमार्ग अन्वेषक मनबहादुर खत्रीको भनाइ छ ।

खत्रीका अनुसार दहको नजिकै रहेको पाथिभरे डाँडा (जाङेथला )पनि यहाँको अर्को आकर्षणको केन्द्र बन्न सक्दछ । चार हजार एक सय मिटर उचाइमा रहेको उक्त डाँडाबाट पश्चिम धौलागिरी हिमश्रृंखला अन्तर्गतका थुप्रै महत्वपूर्ण हिमाल, चुचुरा र मनमोहक दृश्य देख्न सकिन्छ । सिस्ने मात्र नभएर अन्य प्रशस्त हिउँचुलीको पनि यहाँबाट दृश्यावलोकन गर्न सकिने खत्रीले जानकारी दिए ।

   

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कुलदीप न्यौपाने

न्यौपाने नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?