+
+

गोरखामा थोत्रा सरकारी गाडीले कार्यालय परिसर ढाकिँदै

२ सरकारी गाडी, १४ मोटरसाइकल अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १४:३४

२४ फागुन, गोरखा । जिल्ला समन्वय समिति मातहत रहेको बा २ झ ५५७ नम्बरको गाडी थन्किएको तीन महिना भयो । बा २ झ ३७९८ नम्बरको गाडी चालु आर्थिक बर्षदेखि नै सञ्चालनमा छैन ।

तीन वटा मोटरसाइकल पनि वर्षौदेखि कार्यालय परिसरमा थन्किएको छ । प्रयोगमा नआउँदा ती सवारी साधन थोत्रिसकेका छन् । मर्मतसम्भार गर्ने बजेट अभावले सञ्चालनमा ल्याउन नसकेको जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल बताउँछन् ।

‘दुई वटा गाडी बिग्रिएर बसेको छ तर मर्मत गर्न सकेका छैनौ’, उनले भने, ‘पुरानो मोडलको गाडी भएकाले मर्मत गर्न पनि समस्या छ ।’ मर्मत खर्चका लागि आएको बजेट सधै अपुग हुने भन्दै उनले थपे, ‘प्रमुखज्यू चढ्ने गाडी पनि पुरानो भइसक्यो, प्राय बिग्रिरहन्छ, मर्मतका लागि आएको पैसाले अरु गाडी बनाउने कुरा त त्यस्तै हो, प्रमुखज्यू चढ्ने गाडी बनाउदै ठिक्क हुन्छ ।’

मोटरसाइकल पनि मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था रहेको तर बजेट नभएको पोखरेलको भनाइ छ । मर्मत गर्न नसके लिलाम बिक्री गर्नुपर्ने विकल्प भए पनि प्रक्रियागत झञ्झट धेरै भएको उनी बताउँछन् ।

जिल्ला समन्वय समितिको मात्र होइन जिल्लाका अधिकांश सरकारी कार्यालयमा कम्तीमा एउटा सवारी साधन थोत्रिएर बसेका छन् । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजनाका तीन वटा मोटरसाइकल वर्षौदेखि सञ्चालनमा छैन ।

पूर्वाधार विकास कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, शिक्षा बिकास तथा समन्वय इकाइ र कृषि ज्ञान केन्द्रको पनि एक÷एक वटा मोटरसाइकल प्रयोगविहीन छन् । प्रयोग भएका सवारी साधन पनि ‘कन्डिसनमा’ नरहेको कार्यालय प्रमुखहरु बताउँछन् ।

‘हाम्रो कार्यालयको पाँच वटा बाइकमध्ये एउटा चल्दैन, बाँकी चार वटा पनि पुराना भइसके, मर्मतमै धेरै खर्च हुन्छ’, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रकी प्रमुख शर्मिला कुमालले भन्छिन् । जिल्ला प्रहरी कार्यालयको दुई वटा मोटरसाइकल र जिल्ला ट्राफिक प्रहरी कार्यालयको एउटा मोटरसाइकल पनि लामो समयदेखि प्रयोगमा छैन ।

जिल्लाका सरकारी कार्यालय मातहतका १४ मोटरसाइकल सञ्चालनमा नरहेको तथ्याङ्क छ । कतिपय थोत्रो भएर काम नलाग्ने भइसके भने कतिपय मर्मत गरेर सञ्चालनमा ल्याउन मिल्ने अवस्थाका छन् । तर मर्मत नहुनुमा सम्बन्धित कार्यालयले बजेट अभावको कारण देखाएका छन् ।

लिलाम बिक्रीका लागि पनि उनीहरुले हालसम्म प्रक्रिया अघि बढाएका छैनन् । प्रयोगमा नआउँदा राज्यको लाखौंको सम्पत्ति सदुपयोग हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?