+
+
८ मार्च विशेष :

न्याय माग्दा लाञ्छना, प्रक्रिया पनि झञ्झटिलो : झन् असुरक्षित हुँदै छोरीहरु

बलात्कारलाई सामान्यीकरण र अभियुक्तलाई नै नायक देखाउने पछिल्ला प्रवृत्तिले छोरीहरु झन् झन् असुरक्षित बन्दै गएका छन् । न्यायको माग गर्दा आइपर्न सक्ने लाञ्छना र झञ्झटिलो न्यायिक प्रक्रियाका कारण हिंसाबारे बोल्न समेत सोच्नुपर्ने परिस्थिति छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ फागुन २४ गते २१:२०

२४ फागुन, काठमाडौं । सुदूरपश्चिमको एक विकट जिल्लाकी १८ वर्षीया महाकाली (परिवर्तित नाम) ले उच्च शिक्षा अध्ययनका लागि महेन्द्रनगर झर्न परिवारभित्रै कडा संघर्ष गर्नुपर्‍यो । टाढाको शहरमा छोरीलाई एक्लै पठाउन बुबाआमाको मनले मानिरहेको थिएन ।

घर नजिक राम्रो कलेज थिएन, भविष्य सम्झँदा घरमै राखिराख्न पनि परिवारलाई उचित लागेन । एक जना नातेदार कहाँ बसेर पढ्ने विकल्प जुर्‍यो । तर, उच्च शिक्षा अध्ययनका लागि एक्लै भए पनि बस्ने आँट गरेकी छोरीले महेन्द्रनगर गएलगत्तै जस्तो घटनाको सामना गर्नुपर्‍यो, त्यो कल्पना गरेको विषय थिएन ।

दुई महिनाअघि ९ पुस २०७९ मा महाकाली घरबाट किताब, कापी र कलेज ड्रेस किन्न भन्दै महेन्द्रनगर बजार गएकी थिइन् । साँझ ६ बजेतिर फर्किँदा म १ ह १२७५ नम्बरको अटो चढिन् । घर नजिक पुगेपछि रोक्न भन्दा चालक रामसिंह धामीले नसुनेझैँ गरिरहे ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा परेको किटानी जाहेरीमा उल्लेख भए अनुसार महाकालीले प्रतिवाद गर्न थालेपछि धामीले उल्टै बेदकोट नगरपालिका–६, चुनपानीस्थित एकान्त स्थानतिर अटो हुइँक्याए । गणेश सामुदायिक वन नजिक पुर्‍याएपछि उनी अत्तालिइन् ।

प्रहरीका अनुसार धामीले गरेको हर्कतहरुले उनी के सोचिरहेका छन् भन्ने बुझ्न काफी थियो । त्यसपछि महाकालीले गुडिरहेको अटोबाट फाल हालिन् । उनको हात, मुख र खुट्टामा चोट लाग्यो । लडेर रुँदै गरेको अवस्थामा एक जना महिला त्यहाँ पुगेपछि उनले घटनाको बेलिविस्तार लगाइन् । भिड जम्मा भयो ।

‘पहाडबाट पढ्न आएको एक हप्ता जति भयो, अटो चालकले केही थाहा छैन भन्ने सोचेर जंगलतिर ल्याएको हो भनेकी थिइन्’, पीडित घाइते भएपछि पुगेकी स्थानीय लक्ष्मी लुहार साउदले भनेकी छन्, ‘विवाहित मान्छेले सानो बच्चीमाथि एकदमै घिनलाग्दो हर्कत गरेछ ।’

लगत्तै आफन्तको सहयोगमा पीडितले जबर्जस्ती करणीसम्बन्धी कसूरमा धामीविरुद्ध किटानी जाहेरी दिइन् । अहिले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दा विचाराधीन छ ।

कल्याणपुर नगरपालिका–१२, सिरहाकी ७ वर्षीया बालिका घरमा आएका एक जना आफन्तको मोबाइल खेलाइरहेकी थिइन् । घरमा मोबाइलको चार्जर लाग्ने प्लग नभएपछि आमाले छिमेकी कहाँ लगेर चार्जमा राखिदिइन् ।

केही समयपछि बालिकाका आफन्त मोबाइल खोज्दै छिमेकी अघुन मियाँको घर पुग्दा भित्र कोही चिच्याइरहेको आवाज आयो । ‘बच्ची चिच्याउँदै गरेको सुनेपछि के भयो भनेर हेर्न जाँदा पीडितलाई कोठाभित्र रहेको खाटमुनि लुकाइ राखेको देखेँ’, ती आफन्तले प्रहरीसमक्ष बयान दिएका छन्, ‘सुरुमा कोही छैन भनेका थिए, पछि एक जना बहिनी आएर भित्र हेर्दा पीडित नांगो अवस्थामा भेटिएकी थिइन् ।’

बाहिर ल्याएर सोध्दा घर नजिकै रहेको पसल अगाडि खेलिरहेका बेला हात समातेर घरतिर लगेर जबरजस्ती करणी गरेको बताइन् । अहिले यो मुद्दा जिल्ला अदालत, सिरहामा चलिरहेको छ ।

****

मोरङको जाँतेमा कक्षा ७ मा अध्ययनरत एक किशोरी १२ मंसिरमा छिमेकमा भएको बिहेमा गएकी थिइन् । साँझ बिहे घरमा नाच्दा उनको छेउमा दिपेश राई नाम गरेका युवक आए ।

‘सबै नाचिरहेका थियौं, त्यसक्रममा उसलाई लड्न लागेको जस्तो देखेँ’, पीडित किशोरीले प्रहरीसमक्ष भनेकी छन्, ‘मैले किन लड्न लाग्नुभएको भन्दा उसले तिम्ले समात्छौं भनेर लडेको जस्तो गरेको भन्यो ।’

राईले फेरि कम्मरमा समात्न खोजेपछि उनले प्रतिवाद गरिन् । राईले एउटा गोप्य कुरा छ भन्दै किशोरीलाई अलि पर जान भनिरहे । ‘त्यो कुरा नभनी भएको छैन भन्दै धेरैबेर जिद्दी गरेपछि के रहेछ भन्ने भयो’, उनी भन्छिन्, ‘थोरै अगाडि एउटा खाली ठाउँ थियो, त्यहीँ भन्नु भनेँ । तर, राईले मानेनन्, अझै पर जान कर गरिरहे ।’

त्यसबेला रातिको झण्डै ११ बज्न लागि सकेको थियो, बिहेमा आएकाहरुले नदेख्ने ठाउँमा पुगेपछि राईले आफ्नो हातमा समातेर खुट्टामा छिर्के लगाएर लडाएको उनको बयान छ । त्यसपछि मुख पनि थुनिदिएको उनले भनेकी छन् ।

घम्साघम्सी भएपछि उनी भागेर घरतिर आइन् । त्यो दिन भएको घटनाबारे उनले कसैलाई बताउन सकेकी थिइनन् ।

तर, पाँच दिनपछि उनै राईसहित ३/४ जना घरमा आएर त्यसदिन भएको घटनाबारे कसैलाई नभन्न धम्की दिए । जिल्ला प्रहरी कार्यालय, मोरङका एक अधिकृतका अनुसार पहिल्यै विक्षिप्त रहेकी उनी धम्कीपछि थप तनावमा थिइन् । त्यहीबेला घरमा बुबा आइपुगे, उनले घटनाबारे बताइन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङमा राईविरुद्ध किटानी जाहेरी दर्ता भयो । अहिले जिल्ला अदालत, मोरङमा मुद्दा चलिरहेको छ ।

****

बूढानीलण्ठ बस्दै आएकी १४ वर्षीया ‘महाराजगञ्ज २६१’ सुनिल मानन्धरलाई अंकल भनेर सम्बोधन गर्थिन् । आमा काम गर्ने फ्याक्ट्रीमै काम गर्ने भएकाले उनीसँग मानन्धरको चिनजान थियो । डेरा पनि नजिकै थियो ।

‘मलाई र दिदीलाई नै पहिलेदेखि कहिलेकाहीँ घुमाउन लाने र खाने कुराहरु किनिदिने गर्नुहुन्थ्यो’, पीडित किशोरीले सरकारी वकिलको रोहबरमा प्रहरीसमक्ष दिएको बयानमा भनेकी छन्, ‘प्रायः शनिबार छुट्टीको दिन उहाँले बाहिर बाइकमा घुमाउन लैजानु हुन्थ्यो ।’

मानन्धरको राम्रो व्यवहार मात्रै देखेकी आमाले छोरीमाथि त्यस्तो हर्कत गर्लान् भन्ने सोचेकै थिइनन् । तर, गत १५ फागुनमा कोठामा आमा, बुबा र दिदी कोही नभएका बेला भएको घटनाले अहिले आमा पनि विक्षिप्त छिन् ।

कोही नभएका बेला मानन्धर कोठामा आएर घुमाउन लैजान्छु भन्दै बाइकमा चढ्न भने । बाइकमा राखेर उनलाई बूढानिलकण्ठ नगरपालिका–२ स्थित तारेभिरमा लगेको देखिएको प्रहरी वृत्त, महाराजगञ्जले जनाएको छ ।

‘त्यहाँको पञ्चावती सामुदायिक वनमा पु¥याएर डर, त्रास र धम्की दिएर जबर्जस्ती गरेको पाइएको छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘बच्चीलाई वियर समेत खुवाएको देखिन्छ ।’

कसैलाई भनेमा मारिदिने धम्की दिँदै पटकपटक जबर्जस्ती करणी गरेको भन्दै प्रहरीसमक्ष जाहेरी परेको छ । त्यसपछि आफू एक्कै पटक साँझमा घर आइपुगेदेखि मात्रै याद भएको पीडित किशोरीको भनाइ छ ।

‘बाइकमै राखेर कोठासम्म ल्याइदिएको याद छ, त्यो बाहेक केही थाहा छैन’, उनले भनेकी छन् । यो घटनाभन्दा अघि पनि उनले यस्तै धम्की दिएर जबर्जस्ती करणी गरेको खुलेको प्रहरी अधिकृतहरु बताउँछन् । पछिल्लो घटना भएको दिन साँझ अवेरसम्म नआएपछि आमाले सोध्दा उनले अंकलले कसैलाई भने परिवारका सबैलाई मारिदिने भन्दै जंगल लगेर जबर्जस्ती करणी गरेको खुलाइन् ।

प्रहरीले अनुसन्धानपछि मानन्धरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) अनुसार करणीको कसूरमा १८ देखि २० वर्षसम्म कैद सजाय माग गर्न जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

अपराध संहितामा पीडित १० वर्ष वा त्यसभन्दा बढी १४ वर्षसम्म भए १८ देखि २० वर्षसम्म कैद हुनसक्ने व्यवस्था छ । प्रहरीले मानन्धरसँग ७ लाख रुपैयाँ जरिवना र क्षतिपूर्ति पनि माग गर्न सरकारी वकिललाई राय दिएको थियो । अहिले सरकारी वकिल कार्यालयले दायर गरेको मानन्धरविरुद्धको मुद्दा जिल्ला अदालत, काठमाडौंमा चलिरहेको छ ।

८३ प्रतिशत अभियुक्त चिनजानकै व्यक्ति

जबर्जस्ती करणीका कसूरमा चिनजानकै व्यक्तिहरु धेरैजसो कसूरदार हुने केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेल बताउँछन् । उनका अनुसार नेपाल प्रहरीले आर्थिक वर्ष २०७८/०७९ मा दर्ता भएका यौन हिंसा सम्बन्धी मुद्दाका विवरणलाई केलाउँदा ८३.१५ प्रतिशत अभियुक्त चिनजानकै व्यक्ति भएको पाइएको थियो ।

यो आर्थिक बर्षमा तीन हजार ८२९ मुद्दा दर्ता भएकोमा एक हजार ३८ घटनामा छिमेकी, ४८ वटा घटनामा शिक्षक, ३२३ घटनामा पारिवारिक नाताभित्र पर्ने व्यक्ति संलग्न थिए । यस्तै सामान्य चिनजान भएका एक हजार ७ सय ७५ जनाविरुद्ध पनि मुद्दा दर्ता भएको थियो । अपरिचित अभियुक्तको संख्या ६४५ मात्रै थियो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोखरेलका अनुसार यो आर्थिक वर्षमा १८ वर्षभन्दा कम उमेर समूहका एक हजार ५ सय ६० जना बलात्कारमा परेका थिए । यही उमेर समूहमा आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ६६५, ०७६/०७७ मा एक हजार ३९३ छोरीहरु बलात्कृत भएका थिए ।

आर्थिक वर्ष ०७९/०८० को माघ मसान्तसम्ममा यो उमेर समूहका पीडित किशोरीको संख्या ८१७ पुगिसकेको छ ।

अधिवक्ता राधिका खतिवडा आफूले बहस गरेका बालिकाहरु जोडिएका जबर्जस्ती करणीका मुद्दाहरुको प्रकृति हेर्दा उनीहरुलाई कहिले ललाइफकाइ प्रलोभनमा पारेर त कहिले गाली गरेर समेत हिंसा गरेको देखिन्छ ।

‘नाबालिगको चेतनास्तर विकास भएको हुँदैन, कुन सही कुन गलत छुट्टयाउन सक्ने अवस्था पनि हुँदैन’, उनी भन्छिन्, ’ठूलो मान्छेले भनेपछि यो कुरा होला भनेर छिट्टै विश्वास गर्ने हुनाले पनि यो उमेर समूहमा जबर्जस्ती करणीका घटना बढिरहेको भन्ने लाग्छ ।’

उनको बुझाइमा उमेर, शारीरिक र मानसिक हिसाबले पनि १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिका परिपक्व हुँदैनन् ।

‘पढाइका हिसाबले पनि परिपक्वता हासिल गरिरहेका हुँदैनन्, यसको फाइदा अभियुक्तहरुले उठाइरहेका छन्’, उनी थप्छिन्, ‘यसको नियन्त्रणका लागि बालिकाहरुलाई हेर्ने दृष्टिकोण सबैले बदल्नुपर्छ, यस्ता खाले घटनाको गम्भीरता सरोकारवालाले बुझेको जस्तो लाग्दैन ।’

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष राजेश शर्मा घटना भइसकेपछि आरोपितलाई कानुनी दायरामा ल्याउने चरणमा समेत पीडितले अनेक व्यवधान व्यहोर्नुपर्ने अवस्था रहेको बताउँछन् ।

‘किटानी जाहेरी दिँदादेखि सरकारी वकिल र अदालतसम्म पुग्दासम्म पीडितमैत्री व्यवहार नहुँदा पनि यस्ता घटना बढिरहेका हुन्’, शर्मा थप्छन्, ‘अझ पल शाह, सन्दीप लामिछाने जस्ता प्रकरणमा पीडककै पक्षमा बलियो आवाज सुनिँदा हिंसामा संलग्नलाई थप प्रोत्साहन मिलिरहेको छ ।’

यसले बलात्कारका घटनाहरुलाई सामान्यीकरण गराइदिएको भन्दै शर्मा थप्छन्, ‘एकातिर न्यायिक प्रणाली लामो हुनु, अदालतबाट फैसला हुन वर्षौं लाग्नु र अर्कातिर परिवार र समाजतिरै घटना सामसुम बढाउने प्रयास समेत हुनुले राम्रो संकेत गर्दैन ।’

अझ समाजले महिलालाई मात्र ‘हिंसा हुनसक्छ’ भनेर सिकाउने तर, पुरुषलाई समाजको अपराधी बन्नु हुन्न भनेर नसिकाउनाले पनि छोरीहरु झन् झन् असुरक्षित बन्दै गएको शर्मा बताउँछन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?