+
+

राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

रामकुमार डिसी रामकुमार डिसी
२०७९ फागुन २४ गते २०:०५

२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन बिहीबार हुँदैछ । कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् । राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् ।

पार्टी कार्यालय, धुम्बाराहीमा बसेको बैठकमा बोल्ने कार्यसम्पादन समितिका अधिकांश सदस्यले तटस्थ बस्नुपर्ने धारणा राखेका थिए । पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क थियो ।

बैठकपछि सञ्चारकर्मीलाज्ञ प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले राष्ट्रपतिका उम्मेदवारबाट निष्पक्षताको आशा गर्न सक्ने अवस्था नभएकाले मतदान नगर्ने निर्णय गरेको बताए ।  ‘दुबै उम्मेदवार सक्रिय राजनीतिमा रहनुभएको र गत निर्वाचनमा एउटा एउटा पार्टीबाट प्रतिनिधिसिभामा निर्वाचित भएको हुनाले अभिभावकीय भूमिका र निष्पक्षताको परिकल्पना गर्न सकेनौं’ लिङ्देनले निर्वाचनमा तटस्थ बस्नुको कारणबारे भने ।

यसअघिका दुबै राष्ट्रपति दल निरपेक्ष रहन नसकेको भन्ने विवाद उठेको भन्दै लिङ्देनले अहिलेका दुबै उम्मेदवारमा पनि त्यो सम्भावना रहेको बताए । ‘अहिलेको उम्मेदवारबाट त्यही कुराले निरन्तरता प्राप्त गर्ने र फेरि पनि यो संस्था निष्पक्ष हुन सक्ने सम्भावना नदेखेर मतदान नगर्ने निर्णय गरेका हौं’ लिङ्देनले भने ।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले एजेण्डा प्रस्तुत गर्दै खुला छलफल आह्वान गरेका थिए । उनको आग्रह थियो, ‘राष्ट्रपतिलाई किन भोट दिने, किन नदिने भन्ने खुलस्तरुपमा छलफल गरौं ।’

नेताहरुका लागि छलफलको वातावरण सहज बनाउन लिङ्देनले थपे, ‘यसमा मेरो कुनै आग्रह, पूर्वाग्रह र विशेष धारणा छैन ।’

त्यसपछि नेताहरुले धारणा राख्ने क्रम सुरु भयो । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नहुने प्रष्ट अडान राखे । त्यसमा उनले दुईवटा तर्क गरे । एउटा, राप्रपा राष्ट्रप्रमुखको रुपमा राजसंस्था रहनुपर्छ भन्ने मान्यता राख्ने पार्टी हो । ‘पार्टीको केन्द्रमा राजसंस्था छ, र, त्यो केन्द्रको राजसंस्था स्थापनाका लागि संस्थागत रुपमा लामो लिगेसी बोकेको राजनीतिक पार्टी हुनाले त्यो कुरालाई दृष्टिगत गर्दै निर्णय हुनुपर्छ’ उनको भनाइ थियो, ‘त्यसो हुनाले राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको पार्टी हुनाले हामीले राष्ट्रपतिलाई भोट हाल्नु हुँदैन ।’

दोस्रो, उनले राष्ट्रपति चुनावमा विदेशी हस्तक्षेप भएको दाबी गरे । ‘जस्तो किसिमको देशी विदेशी हस्तक्षेप, दबाव, प्रभाव नेपाली राजनीतिमा रहँदै आएको छ, त्यसले यसपटक पनि निरन्तरता पायोे’ मिश्रको भनाइ उधृत गर्दै बैठक स्रोतले भन्यो, ‘राष्ट्रपतिको निर्वाचनमा कस्तो समीकरण बनाउने भन्नेसम्मको हस्तक्षेप भयो । यो मुलुकको दूरगामी हितमा छैन ।’

मिश्रपछि बोलेका अन्य धेरै नेताले पनि राष्ट्रपति निर्वाचनमा तथस्ट बस्नुपर्ने धारणा राखे । नेता डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशमशेर राणा लगायत नेता पनि राष्ट्रपति चुनावमा भाग लिन नहुने पक्षमा उभिए । राष्ट्रपति चुनावमा राप्रपा तटस्थ बसोस् भन्ने जनधारणा भएको भन्दै यसले नै पार्टीलाई फाइदा पुर्याउने उनीहरुको धारणा थियो ।

यसअघि १२ फागुनमा बसेको बैठकमा राष्ट्रपति निर्वाचन प्रजातान्त्रिक प्रक्रिया भएकाले यसलाई उपयोग गर्नुपर्ने धारणा राखेका नेता पशुपतिशमशेर राणा भने बिहीबारको बैठकमा स्वास्थ्य कारण देखाउँदै बोलेनन् ।

बैठकमा २४ जनाले धारणा राखेकोमा अधिकांशले राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने राखेको एक नेताले जानकारी दिए । पार्टीका अधिकांश नेताहरु चुनावमा भाग लिन नहुने पक्षमा देखिएपछि अध्यक्ष लिङ्देन बैठकको अन्तिममा पनि कूटनीतिक रुपमा प्रस्तुत भए । ‘एकदमै सौहाद्र रुपमा छलफल भयो’, बैठक टुंग्याउँदै लिङ्देनले भनेका थिए, ‘यसरी नै हो हामीले पार्टीको वृहत्तर हितका बारेमा सोचेर निर्णय गर्ने ।’

त्यसपछि बैठकबाट सर्वसम्मत रुपमा राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय भएको एक नेताले बताए । ‘भोट हालौं भन्ने पक्षमा उहाँको विशेष अनुराग केही थिएन,’ अध्यक्ष लिङ्देनबारे एक नेताले भने ।

राप्रपाका नेताहरुका अनुसार तटस्थ बस्ने निर्णयले एकातिर राप्रपाले एमालेतिर बढ्ता लगाव राखेको भन्ने कुरालाई काट्ने छ भने अर्कोतिर आगामी दिनमा सरकारमा जान सहज बनाउने छ । ‘यही कारण पनि अध्यक्षले धेरै नबोल्ने नीति लिएको हुन सक्छ’, राप्रपाका एक पदाधिकारीले भने ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?