+
+

स्पट फिक्सिङ : सबैले फेरे बयान, रकम बरामद नहुँदा धरौटीमा छुटे

नेपाली क्रिकेटमा पहिलो पटक देखिएको स्पट फिक्सिङमा ११ जना संलग्न देखिएपनि ५ जनाविरुद्ध मात्रै मुद्दा दर्ता भयो । तीमध्ये तीन जना रकम बरामद नभएको भन्दै छुटेका छन्, विदेशी प्रतिवादीमाथिको अनुसन्धान पनि अलपत्र छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ फागुन २४ गते १८:४५
आदिल अन्सारी र महबुब आलम ।

२४ फागुन, काठमाडौं । नेपाली क्रिकेटर पहिलो पटक मुछिएको स्पट फिक्सिङ प्रकरणमा मिलेमतोका लागि लेनदेन भएको भनिएको रकम बरामद नहुँदा तीन आरोपी धरौटीमा छुटेको खुलेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले स्पट फिक्सिङका लागि लेनदेन भएको रकम बरामद नभएको जिकिरसहित तीन खेलाडीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

४ फागुनमा अदालतले धरौटीमा छाड्ने आदेश दिएलगत्तै राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम, पूर्वराष्ट्रिय कीर्तिमानी खेलाडी महबुब आलम र वीरगञ्जका स्थानीय क्रिकेट खेलाडी नितेश गुप्ता रकम बुझाएर छुटेका थिए ।

अनलाइनखबरलाई प्राप्त आदेशको विवरणमा आरोपीहरुबाट मिलेमतो तथा अनियमितता गरेर प्राप्त गरेको रकम बरामद भएको नदेखिएको भन्दै प्रतिवादीलाई तत्काल थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने अवस्था विद्यमान नदेखिएको भनिएको छ ।
‘पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादीहरुबाट ३ लाख नगद धरौटी लिइ तारेखमा राख्नू’, आदेशमा भनिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा गरेको छानबिनले लिगका खेलहरुमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र नेपाल क्रिकेट संघ (क्यान) को व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टर्सका सञ्चालक जतिन अलुवालियाको समूहले फिक्सिङका लागि खेलाडीहरुलाई अफर गरेको देखिएको थियो ।

ब्यूरोले गरेको अनुसन्धानका क्रममा एउटा अडियो रेकर्ड फेला परेको थियो, जसमा ६ म्याचको ३६ लाख रुपैयाँ हुने भन्दै उनले खेलाडीलाई प्रलोभनमा पार्ने कोशिस गरेको गरेका थिए । उनले आफूलाई पनि प्रति म्याच २ लाख रुपैयाँ दिने बताएका थिए ।

प्रहरीको रोहवरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा दिएको बयानमा समेत उनले खेलका निश्चित गतिविधिमा मिलेमतोका लागि प्रस्ताव गरेको स्वीकारेका थिए ।

आफ्नो छिमेकी रवि माझीले पोखरा एभेन्जर्सका लागि एक खेलाडी र फार वेष्ट युनाइटेडका अर्का खेलाडीले कुनै खेलमा ब्याटिङ गर्दा ५ भन्दा कम रन बनाएर आउट भए अथवा बलिङ गर्दा एक ओभरमा विपक्षीलाई १० भन्दा बढी रन बनाउन दिए नेपाली ६ लाख रुपैयाँ दिने प्रस्ताव राखेको समेत स्वीकारेका थिए ।

प्रहरी अनुसन्धानका क्रममा आदिल अन्सारीलाई ह्वाट्स एपमा समिर शेख नामक व्यक्तिले ‘एउटा नो बल र अर्को वाइड बल फाले’ त्यसवापत १ लाख रुपैयाँ दिने प्रस्ताव राखेका थिए । उनले त्यही प्रस्ताव अनुसार काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौं ओभर र जनकपुर रोयल्स र फार वेष्ट युनाइटेड बीचको खेलको छैठौं ओभरमा नो बल र वाइड बल फालेका थिए प्रहरी अनुसन्धानले देखाएको छ ।

तर, प्रहरीलाई दिएको बयानमा उनले आफू बिरामी भएकाले दुखाइका कारण त्यस्तो भएको दाबी गरेका थिए । सामान्य रकम प्रस्ताव गरेकाले आफूले मजाक गरेको होला भन्ने सोचेको उनको दाबी थियो ।

अर्का खेलाडी नितेश गुप्ताले हात्तीवनको ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा गएर एक जना खेलाडीलाई स्पट फिक्सिङका लागि प्रस्ताव राखेको खुलेको थियो ।

उनले प्रहरीलाई दिएको बयानमा आफन्त वीरन्द्र शाहले घरमा आएर ती खेलाडीसँग भेट गराइदिन भनेपछि हात्तीवन गएको बताएका थिए । वीरगञ्जबाट ७ पुसमा काठमाडौं आएर भेट गर्दा आफूले गाली खाएको उनले बताएका थिए ।

अदालतमा फेरियो सबैको बयान

जिल्ला अदालत, काठमाडौंमा भएको थुनछेक बहसका क्रममा सबैले बयान फेरेको भेटिएको छ । प्रहरी अधिकारीसमक्ष बयान दिँदा आदिल आलमले फिक्सिङका लागि प्रस्ताव आएपनि गम्भीरतापूर्वक नलिएको बताएका थिए ।

तर, अदालतमा उनले कोही कसैबाट प्रस्ताव नआएको भनेका छन् । प्रहरी प्रतिवेदनमा उल्लेखित समिर शेखलाई समेत आफूले नचिन्ने बताउँदै उनले भनेका छन्, ‘निजसँग मेरो वाट्स एपमा कुराकानी भएको भन्ने कुरा पनि गलत हो, मेरो निजसँग कुनै किसिमले सम्पर्क भएको छैन ।’

उनले आफ्नो कम्मरको मांसपेशीमा समस्या भएकाले कप्तानलाई खेल्न नसक्ने बताएपनि टिममा फास्ट बलरको कमी रहेकाले जसरी पनि खेल्नुपर्छ भनेको बताएका छन् ।

‘दबाव दिएकाले मजबुरीमा खेलेको हुँ’, उनले भनेका छन्, ‘कम्मरको मांसपेशीमा समस्या भएको कुरा टिमको फिजियोलाई थाहा थियो, निजले एक÷दुई दिन आराम गरेपछि ठीक हुन्छ भनेका थिए ।’

दिल्लीको विजयदया क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दै आएका नितेश गुप्ताले पनि अदालतमा बयान फेर्दै हिट विकेटका लागि प्रस्ताव नराखेको बताएका थिए । ‘छिमेकी दाइ भएकाले मैले ती खेलाडीलाई सानैदेखि चिन्दछु’, उनले भनेका छन्, ‘एक जना आफन्तले उहाँको फ्यान हुँ भनेपछि भेटाउन लगेको थिएँ । तर, क्रिकेटबारे नराम्रो कुरा गरेपछि मलाई साह्रै रिस उठेको थियो ।’

उनले आफूले सरी भन्दै म्यासेज गरेको समेत भन्दै भनेका छन्, ‘यस्तो खराब कुरा गर्छ भन्ने थाहा पाएको भए हजुरसँग भेट गराउने थिएन भनेर माफी पनि मागेको हुँ ।’

पूर्वकीर्तिमानी खेलाडी महबुब आलमले आफूलाई गलत आरोप लगाएको सुन्दा निकै दुख लागेको बताउँदै कुनै नराम्रो काम नगरेको दाबी गरेका थिए । उनले आफूले दुई खेलाडीलाई प्रलोभन र प्रस्ताव राखेको झुठो भएको दाबी गरेका छन् ।

महबुबले नेपाल टी–२० लिग हुँदा आफू काठमाडौंमा समेत नभएको बताउँदै आफ्नो लिगका रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टस् प्रालिका कोही सदस्यसँग पनि चिनजान नभएको बताएका थिए । उनले आफूले १८ वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेपनि नेपालमा पहिलो पटक स्पट फिक्सिङबारे सुनेको दाबी गरेका छन् ।

‘पहिले पेश गरेको बयान आफूखुशी व्यहोरा लेखेर मलाई पढ्न दिएर, व्यहोरा नसुनाइ सही छाप मात्र गर्न लगाएको हो’, उनको दाबी छ, ‘उक्त बयानमा यस्तो झुठो व्यवहार लेखिएको छ भन्ने आज थाहा पाएँ ।’

त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म भएको नेपाल टी–२० लिग उद्घाटन हुनु अगावै विवादित थियो । नेपाल क्रिकेट संघ (क्यान) ले व्यापारिक तथा रणनीतिक साझेदारका रुपमा विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टर्सलाई खेल व्यवस्थापनको जिम्मा दिँदा समेत विरोध भएको थियो ।

खेल चलिरहेका बेला खेलाडीहरुलाई अफर आएको भन्दै राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले खुलासा गरेका थिए । त्यसबारे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन युनिटलाई पनि उनले जानकारी गराएका थिए । पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिम्सिनाले पनि फिक्सिङ भएको दाबीसहित जिम्मेवारीबाट बाहिरिएको घोषणा गरे ।

सीआईबीले गरेको अनुसन्धानका क्रममा क्यानको रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टस् प्रालिकै योजनामा विभिन्न खेलमा स्पट फिक्सिङ भएको देखाएको थियो । तर, सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दर्ता गर्दा मुख्य योजनाकार मानिएका सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन अलुवालिया प्रतिवादी बनाइएनन् ।

जतिन मात्र होइन, कम्पनीका अभिषेक सक्लानीसहित भारतीय नागरिक समिर शेख, वीरेन्द्र शाह, विकास ध्यानी, राहुल शर्मा र एन्ड्री म्याक्यार्थीलाई पनि प्रतिवादी बनाउन सीआईबीले सरकारी वकिल कार्यालयलाई राय दिएको थियो । तर, उनीहरुलाई प्रतिवादी बनाइएन, उनीहरुको नाम अभियोग पत्रमा समावेश थियो ।

पाँच जनाविरुद्ध खेलकुद विकास ऐन, २०७७ को दफा ३१, ३२ र ३३ अनुसार कारबाही गर्न माग दाबी गरिएको थियो । यस अनुसार खेलमा मिलेमतो गर्ने कार्यमा ससंलग्नलाई तीन वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ । लेनदेनको रकम खुले त्यो समेत जफत हुने व्यवस्था थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?