+
+

आर्थिक अवस्थाबाट नागरिक होइन, प्रधानमन्त्री डराउनुपर्‍यो : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २८ गते २०:३७

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रको अवस्थाबाट नागरिक होइन, प्रधानमन्त्री डराउनुपर्ने बताएका छन् ।

आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा महामन्त्री थापाले आफ्नो राजनीतिक जीवनमा बैंकको व्याजदरविरुद्ध उद्योगी व्यवसायी पहिलोपटक सडकमा देखेको बताए ।

स्रोत साधन मात्र होइन, नागरिकको धैर्यतामा रहेको अभावलाई प्रधानमन्त्रीले बुझ्नुपर्ने भन्दै उनले भने, ‘आर्थिक अवस्थाबाट नागरिक होइन, प्रधानमन्त्री डराउनुपर्‍यो । प्रधानमन्त्री नडराए अवस्था बेहाल हुन्छ ।’

गठबन्धनको सरकार ५ वर्ष भनिरहँदा प्रधानमन्त्रीले आफूसँग ५ महिनाको समय मात्रै छ भनेर काम गर्नुपर्ने थापाले बताए । उनले संकटोन्मुख आर्थिक अवस्थालाई सही बाटोमा हिँडाउन प्रधानमन्त्रीलाई सुझाव समेत दिए ।

महामन्त्री थापाको भनाइ उनकै शब्दमा :

गठबन्धनको सरकार बनाएर हामी खुसी हुँदै गर्दा देशभरका नागरिक खुसी हुन्छन् भन्ने छैन । सरकार नै बनाउने हो भने त पहिले पनि हाम्रै गठबन्धनको सरकार थियो । व्यक्तिकै कुरा गर्ने हो भने पूर्व प्रधानमन्त्रीहरुकै क्लबबाट प्रधानमन्त्री हुनुहन्थ्यो ।

गठबन्धनका लागि ८/१० दल जति नै हुन् । अबको पाँच वर्षको अवधिमा डेलिभरीको काम गर्न सकेनौं भने त्यसको दण्ड सजाय भोग्न तयार छौं भनेर गठबन्धनका दलले नागरिकलाई भन्नुपर्छ । नागरिकलाई पाँच वर्षको विश्वास, भरोसा, आत्मविश्वास रहन्छ कि रहँदैन त्यहाँबाट गठबन्धनको यात्रा प्रारम्भ हुन्छ ।

प्रधानमन्त्री गठबन्धनको नेता हुने कि सरकारको नेता हुने प्रश्न हामी माथि छ । प्रधानमन्त्री त सरकारको नेता हुनुपर्ने हो नि । विधिको शासन, नागरिकसँग गरेको वाचा, शक्ति सन्तुलनको सिद्धान्तको आधारमा सरकार चल्नुपर्छ ।

अहिलेको सरकारको प्रमुख पाटो अर्थतन्त्रको सुधार हो । अर्थतन्त्र सुधारका लागि मुख्य नेतृत्व तयार हुन्छ कि हुँदैन ?

अर्थतन्त्र सुधारका लागि मूल रुपमा प्रधानमन्त्री नै तयार हुनुपर्छ । प्रधानमन्त्रीका लागि मन्त्री र सांसदहरु सहयोगी रहेका हुन्छन् । राम्रो गरे सबैभन्दा बढी जस पाउने प्रधानमन्त्रीले हो, गलत गरे प्रश्न उठ्ने पनि प्रधानमन्त्री माथि नै हो ।

अहिले स्रोत र साधनको अभाव छ । प्रधानमन्त्रीको कुर्चीमा बस्ने व्यक्तिले त्यो कुर्चीमा बस्नुअघि थाहा पाउनुपर्छ के अभाव छ ? समयको अभाव छ, स्रोतको अभाव छ । नागरिकमा धैर्यताको ठूलो अभाव छ । ५ वर्ष भनिरहँदा प्रधानमन्त्रीले आफूसँग ५ महिनाको समय मात्रै छ भनेर काम गर्नुपर्छ । त्यो पाँच महिनाको अवधिमा सरकारले केही हुँदैछ भनी नागरिकलाई विश्वास दिलाउन सकेन भने संख्याले थेग्छ ? नागरिकलाई भरोसा दिन सकेन भने संविधानले दिएको संख्याको अधिकारले बचाउन सक्दैन ।

राष्ट्रपति, उपराष्ट्रपतिको चुनावका कारणले समय छ भन्ने सुविधा हामीलाई छैन । राजनीतिक दलका हिसाबले हेर्दा त्यो सुविधा स्वभाविक होला । दर्जनौं मन्त्रालय अहिले खाली छन् । किन ? हामीले समयको अभाव बुझ्न सकेका छैनौं । घडी टिक टिक गरिरहेको बुझ्न सकिरहेका छैनौं ।

अरु तनाव हुँदै गर्दा पनि आजको दिनमा भारत र चीनको व्यापार सम्बन्ध यथावत छ । त्यही कुरा नेपालको आँखाबाट हेर्दा सबल र कमजोर पक्ष के हो भनी चिन्तन गर्ने जिम्मेवारी प्रधानमन्त्रीको हो । हामी उभिएको ठाउँ थाहा भए पो कुदाएर कहाँ पुर्‍याउने थाहा हुन्छ ।

सार्वजिनक वित्तको क्षेत्रमा मात्रै हेर्‍यौं भने २४/२५ वर्षपछि कमजोर अवस्थामा छौं । विगतमा के हुँदै आएको थियो भने प्रधानमन्त्रीले सोंचे/नसोचे पनि खुत्रुके भरिने कार्य भइरहेको थियो । विप्रेषण, ढाँट थापेर, अरु प्रकृतिका करबाट खुत्रुकेमा पैसा जम्मा भइरहेको हुन्थ्यो । अहिले खुत्रुकेमा पैसा जम्मा हुने क्रम सोचे भन्दा कम भएको छ । यो क्रम अझै बढ्ने देखिन्छ ।

मैले थाहा पाएदेखि उद्योगी व्यवसायी बैंकको व्याजदर बढी भयो भनेर सडकमा देखेको पहिलो पटक हो । कर्जा पाउन गाह्रो छ । ऋण तिर्न नसकेको तथ्यांकहरु देख्न सक्छौं । सार्वजनिक वित्त, निर्यात/आयात लगायत सबै क्षेत्र हेर्दा आर्थिक सूचकांक सुधारोन्मुख देखिन्न । आर्थिक अवस्थाबाट नागरिक डराउने अवस्था बनाउनुभएन । प्रधानमन्त्री डराउनुपर्‍यो । प्रधानमन्त्री नडराए अवस्था बेहाल हुन्छ ।

आयातमा केही वस्तु केही समय प्रतिवन्ध गर्‍यौं । केही सकारात्मक पनि भयो । त्यो अवस्था त सधैं रहन्न । लघुवित्त, सहकारीमा कहाँ कहाँ समस्या छन्, अहिले नै काम गर्नुपर्‍यो नि । बैंक मर्जरको नीति राष्ट्र बैंकले लियो । केही बैंक मर्जर पनि भए । त्यसले सकरात्मक प्रभाव पार्‍यो कि पारेन ?

अरु अरु काम गर्ने तर आर्थिक विषय भएकाले कसैलाई जिम्मेवारी दिएका छौं भनेर प्रधानमन्त्रीले छुट पाउने अवस्था छैन ।
स्वास्थ्य बीमाको व्यवस्था अहिले करिब करिब निष्प्रभावी हुँदै गएको छ । ‘इकोनोमी गभर्मेन्ट’को महत्वपूर्ण पार्ट स्वास्थ्य बीमा पर्दछ । यो कसले हेर्ने हो ?

नेपालले उत्पादनको क्षेत्रमा काम नै गर्न नसक्ने हो ? उत्पादन गर्न के सक्छौं र के सक्दैनौं ? उत्पादन के गर्ने र के नगर्नेको राष्ट्रिय नीति हुनुपर्छ । ‘नलेज टेक्नोलोजी’ मा रोजगारी वृद्धि गर्नसक्छौं भने त्यसमा ध्यान किन नदिने ? पाँच वर्षको लागि आएको सरकारले यसलाई कसरी हेर्छ ?

हाम्रो विद्यार्थीहरु स्कुल गएपनि सिक्ने क्रम घटेको छ । पास/फेलको आँकडा मात्रै निकालेर हामी सन्तुष्ट हुने अवस्था छैन ।
पाँच वर्षमा गठबन्धनको को प्रधानमन्त्री हुने नागरिकको आँखामा गौण हो । उसले हेर्ने/सोच्ने भनेकै प्रधानमन्त्री हुनुहुन्छ, प्रत्येक कुराको हिसाब दिनुपर्छ । यी सबै कुरा गर्न प्रधानमन्त्री तयार हो कि होइन ? प्रदेश र स्थानीय तहका सबै सरकारसँग काम गर्न तयार हो कि होइन ?

हामीसँग समय छैन । त्यसकारण प्रधानमन्त्रीलाई मेरो आग्रह छ । मन्त्रिपरिषद विस्तार चाँडो टुंग्याउनुस् किनकी, हामीसँग समय छैन । मन्त्रिपरिषद विस्तारपछि सरकार काममा देखिनुपर्छ । गठबन्धन भन्यो, बैठक बस्यो । हेर्दाहेर्दै नागरिक थाकिसकेको हुन्छ । परिणाम कहिं पनि केही देखिएको हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?